युधिष्ठिर रविन्द्र, शकुनि राजेन्द्र!

अधिवक्ता डा• होम थापा (मगर) २०७९ मंसिर ६ गते २३:३७ मा प्रकाशित

अधिवक्ता डा• होम थापा (मगर)

महाभारतको युद्धका विविध कारण र त्यसको पृष्ठभूमि र आवरणमा कैयौ पात्रहरू भएता पनि मूलत: शकुनिको कुटिल र छली चालको चर्चा र र युधिष्ठिरको सपाट, ईमान्दार व्यक्तित्व ,चरित्र र प्रवृति नै केन्द्रमा थिए भन्दा अतिशयोक्ति नहोला।महाभारतको युद्ध भएको अहिले ५ हजार बर्ष भन्दा बढी भईसक्यो।तर आज पनि समाजका हरेक क्षेत्रमा सानातिना महाभारत भई नै रहेका छन र हुन्छन नै। ति घटित भैरहने हरेक समाजमा कुनै न कुनै रूपमा युधिष्ठिर र शकुनिको चरित्र बिद्यमान र क्रियाशील हुन्छन पनि। पृष्ठभूमिमा महाभारत् हुनुका बिबिध कारणहरू भएता पनि आवरणको मूल केन्द्र राजनीति नै थियो।राजनीतिको चौसरमा होस या कुरूक्षेत्रको युद्ध भूमीमा,यत्र तत्र शकुनि र युधिष्ठिर प्रवृति आजपर्यन्त देख्न पाईन्छ। ५ हजार बर्षको लामो कालखण्डमा राजनीतिले धेरै उतार चढाब पारगर्दै परिष्कृत र परिमार्जित भएको दाबीगरिएता पनि अझै राजनीतिको क्षेत्रमा शकुनि र युधिष्ठिर पात्र र प्रवृतिको अस्तित्व र उपस्थिति यत्र तत्र सर्बत्र देख्न र भोग्न पाईन्छ। यसै परिपेक्षमा हेमन्त ॠतुको मन्द मन्द चिसो र गृष्मकालिन तापमान बोकेको नेपाली निर्वाचन परिणामको सेरोफेरोमा काठमाण्डौ क्षेत्र नम्बर १ को निर्वाचन परिणामले महाभारतकालिन शकुनि प्रवृति र धर्मरुपी युधिष्ठिरको स्मरण गर्न विवश बनाएको छ।भलै सिधा र मोटो हिसाबले निर्वाचन प्रतिष्प्रधा नेपाली काँग्रेसका प्रकाशमान सिंह र राप्रपाका रविन्द्र मिश्रका बिचको किन नहोस् । तर वास्तविकता यो निर्वाचनको पृष्ठभूमीमा शकुनि चरित्र र युधिष्ठिर प्रवृति लुकेको र रहेको प्रस्ट र स्पष्ट छ।

मूलत: २०४६ सालको राजनैतिक परिबर्तनपश्चात संस्थागत रूपमा मौलाएको विकृति,विसंगति र भ्रष्टाचारले देशको हरेक क्षेत्रलाई तहसनहस बनाई रहेको अबस्थामा, देशमा ईमान्दार तथा निष्ठापूर्ण राजनीतिका निम्ति रविन्द्र मिश्रले एक शिक्षित र सम्भ्रान्त परिवारको नेपालीका निम्ति पनि सपना सरह मानिने एक आकर्षक जागिर छाडेर आफुलाई राजनीतिमा समाहित र समर्पण गरे। निश्चय पनि मिश्रसंग चाणक्यको अर्थशास्त्र र मेकियाबलिको ” द प्रिन्स” को सैद्दान्तिक ज्ञान नभएको होइन होला तर त्यसभित्रको निर्मम तथा कुटिल ब्यबहारिक चाल र चरित्रका क्रमश कदम र ब्यबहारीक तौरतरिकामा अभाब भएको भने सहजै अनुमान र विश्लेषण गर्न सकिन्छ।उनिमा देशप्रतिको अगाध मायाँ र बफादरिपनको कारणले देशमा आस्था, निष्ठा र ईमान्दारीताको राजनीति स्थापना गर्दै दुबो झैँ फैलिएको चरम विकृति विसंगति, नाताबाद, कृपाबाद तथा भ्रस्टाचार आदिबाट सिङ्गो नेपाली समाजलाई मुक्त गर्नु पर्छ भन्ने ईमान्दार दृढ अठोट, साहस र विश्वास भएको र रहेको पनि स्पष्ट देख्न पाइन्छ। तथापि नेपालि राजनीतिमा फैलिदै गरेको संस्कार र संस्कृति, वृति र प्रवृति अनि त्यसको ब्यबस्थापन र अनुभवको अभावमा राम्रै जनसमर्थनका बाबजुद पनि आफ्नो संसदमा उपस्थितिलाइ स्थापित गर्न भने असमर्थ बन्न पुगे ।

यसरि राजनैतिक दाउपेच, चपलता , कुटिलता र कौशलतामा कमि देखिएता पनि उनको ईमान्दारितामा भने कुनै कमि देखिएन। झण्डै आधा दशकको प्रयास र प्रत्यक्ष राजनीतिको अनुभब पश्चात विचार र राजनीतिभन्दा माथि देश भन्ने निष्कर्षमा पुग्दै,नेपालको राष्ट्रिय अखण्डता,एकता,सार्वभौमिकता,स्थायित्व र बिकासका निम्ति संघियताको खारेजी,सनातन हिन्दु- बौद्ध राष्ट्र र राजसंस्थाको आवश्यकता रहेको निष्कर्षमा पुगे उनि ।उनको यो विचार र निष्कर्ष कति सही, सतही,सान्दर्भिक तथा देश, काल र जनताको हित र सर्बोपरिमा छ ? त्यो गहन बहस र छलफलको बिषय हो।तर उनको यो निष्कर्ष सत्ता प्राप्ति तथा ब्यक्तिगत स्वार्थ भन्दा माथि रहेको भने प्रस्ट देखिन्छ। सारमा भन्नु पर्दा आफ्नो बस्तुगत विश्लेषण सहित उनको अन्तर्आत्माको ठहर हो भन्ने कुरा उनका अभिब्यक्ति र उनले चालेका कर्महरूले प्रष्ट पार्दछन्। हो निश्चित र प्रत्यक्षरुपमा उनको निष्कर्ष या ठहर बर्तमान अबस्थामा अल्पमतमा छ।तसर्थ उनले लिएको विचारको यात्रा काँढा र कठिनताले घेरिएको र भरिएको छ।ब्यक्तिगत फाईदा भन्दा पनि भयानक घाटा छ, भन्ने जान्दाजान्दै अस्ताउदै गरेको राप्रपामा विचारको बचाऊ कै निम्ति उनले पार्टी प्रवेश गरे भन्दा कुनै अर्घेल्याइ नहोला ।

यसै सन्दर्भमा राप्रपाको प्रसङ्ग कोट्याउदा २०५१ सालको मध्यावधीले दिएको अवसरलाई ब्यक्तिगत स्वार्थमा परिणत गर्दै पछिल्लो चरणमा मुसा प्रवृतिले बदनाम नेतृत्व र प्रवृतिलाई हराउदै राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्व लिएको कुरा उल्लेख गर्नु यहाँ सान्दर्भिक छ। लिङ्ग्देनको विजय पश्चात राप्रपासंग विचारै नमिल्ने तर देशमा आस्था,निष्ठा र ईमान्दारिताको राजनीति चाहने हरेक नेपाली खुशी बन्दै स्वतफूर्त र स्वाभाविक रुपमा अध्यक्ष लिङ्ग्देन र राप्रपाप्रति आशावादी बने।राजेन्द्र लिङ्देन प्रति आम नेपालीको आशाको दृष्टी परिरहेको परिप्रेक्षमा रविन्द्र मिश्र जत्तिको सक्षम र ईमान्दार व्यक्ति र ब्यक्तित्व पाउनु राप्रपा र लिङ्देनकै निम्ति सौभाग्यको शुभ संकेत थियो।सायद यिनै वास्तविकतालाई बस्तुगतरुपमा विश्लेषण र आत्मसात गरेरै होला,राजेन्द्र लिङ्देनले रविन्द्र मिश्रलाई पार्टी प्रवेश गराउन ठूलै पहल गरेका थिए रे भन्ने सुनिन्छ। यसरि विचार पनि मिल्ने र एक ईमान्दार, आस्था र निष्ठाको राजनीति गर्ने तल्लो तहबाट उठेर आएको जनजातीको छोरो भन्ने ठूलो विश्वासले होला,रविन्द्र मिश्रले खुल्ला हृदयले पूर्ण विश्वासका साथ पार्टी प्रवेश गरेको सहजै आभाष हुन्छ।

यस्तो उपयुक्त समयमा आम नेपाली जनताको आशा र सहानुभूति तथा रविन्द्र मिश्र लगायतका आस्थावान र निष्ठावान साथीहरूसंग हातेमालो गर्दै,नेपाली राजनीतिको सही र सटिक विश्लेषण गरि सोही अनुरूपको नीति तथा कार्यक्रम लिएर जनतामा जान राजेन्द्र लिङ्देनलाई ठूलो अवसर थियो।उनको सकारात्मक र श्रृजनशिल राजनैतिक गतिविधीहरूबाट बिगतमा राप्रपाका गतिविधीहरूले आफ्नो दल, नेताहरु र उनीहरुको प्रवृतिप्रति लागेका दाग र त्यसका धब्बाहरुको जन-अविश्वास मेटाउदै र हटाउदै राप्रपाको नयाँ छबी बनाउने सुनौलो मौका थियो।पार्टीको मात्र होइन स्वयम् राजेन्द्र लिङ्देनलाइ उनको बिद्यार्थी राजनीतिताका लागेका आरोप होउन वा होटेल/रिसोर्ट रेष्टुरेन्ट ब्यबसाय गर्दाका समयमा लागेका लान्छना होउन वा जि• बि• स•को टिके सभापति हुदा उनले गरेका कामकाज प्रतिका प्रश्नहरू होउन।यि सबैलाई गलत साबित गर्ने उपर्युक्त समय पनि थियो।तर महाधिवेशनपश्चात स्थानिय निर्वाचनसम्म आइपुग्दा पार्टी भित्रकै खिचातानी र खुराफातीमै राजेन्द्र लिङ्देनले समय बिताउदै रमाए।परिणामत: स्थानिय निर्वाचनको परिणाम आशातित हुन सकेन।तत्पश्चात पनि वैचारिक धरातल बलियो बनाउदै ससक्त र आक्रामकरुपमा पार्टीलाई नेतृत्व गर्नुको साटो आफ्नो र आफ्नो समूहको ब्यक्तिगत राजनीति कसरी बचाउने ? भन्ने शकुनि चालको पासा पल्टाइरहेको अबस्था प्रस्ट छ। परिणाम: विचार, सिद्धान्त, आस्था र निष्ठाको आवाज बुलन्द गर्दै भ्रष्टाचार गर्नु आफ्नी आमाको रगत खानु बराबर हो,भन्ने राजेन्द्र लिङ्देनले रातारात सिद्धान्त र विचारको झोलालाई घरको बलेसीमा झुण्डाउदै राजनैतिक पुष्ट्याई बिना आफु बालकोट दरबारमा धनुस्टनकार आसन सहित प्रवेश गरि लम्पसार परे।लम्पसार त परे परे,राम्रो सम्भावना बोकेका आफ्नै सहयात्रीहरूलाई कुटिल र निश्चित रणनीति, ध्येय र योजना सहित अलपत्र पार्दै ओली महाराजबाट आफु र आफ्ना अनुकूलका पात्रहरूका निम्ति मात्र आशिर्वादका ३ वटा फल निगाह बक्सिसमा पाउन बिन्ति चढाए र पाउन सफल पनि भए।परिणाम चाहे जस्तोसुकै किन नआओस! हो यहीनेर राजेन्द्र लिङ्देनको विचार, सिद्धान्त, आस्था र निष्ठाको धोति खुस्कियो।फलत: स्वार्थ र ईमान्दार अनि प्राप्ति र त्यागको परिक्षामा उनि असफल सिद्ध हुन पुगे।गठबन्धनको राजनैतिक पुष्ट्याई त धेरै परको कुरा भयो।सामान्य सामुहिक/संयुक्त नीति कार्यक्रम बिनाको सिद्धान्त र विचारबिहिन ब्यक्तिगत स्वार्थलोलुप एकता गरे।एकता पनि यस्तो एकता गज्जबको एकता ……हामी तीन जनाले त एकता गर्यौं।तपाईहरू आआफ्नो हिसाबले अगाडी बढ्नोस भन्ने अनौठो र बिचित्र खाले एकता ! हो यहीनेर उनको शकुनि चरित्र र प्रवृति छताछुल्ल भयो।यो एकताले केही ब्यक्तिलाई चुनाव त जिताउला।तर विचारले हारेको छ।यो स्वार्थको समर्पणबाट माथि उठ्न राप्रपालाई केहि मूल्य चुकाऊनु पर्नेछ र त्यसका निम्ति समय पनि निकै लाग्नेछ।

राजनीतिको चौसरमा शकुनिको कुटिल र कपटी चालको शिकारको एक अवयव द्रोणाचार्य द्वारा रचित दुर्भेद्य चक्रब्यूहको प्रतिकुलतालाई अभिमन्युले क्षेत्रिय राजधर्म पालना गर्दै सहर्ष स्वीकारी सौर्यता र बीरताका साथ लडे झैं, रविन्द्र मिश्रले आफुलाई अभिमन्युको रुप र मार्गमा होमाए।नीति धर्मका ज्ञाता बन्दै स्वार्थ र ब्यक्तिगत हितका निम्ति नचाहेर पनि दुर्योधनको हितका निम्ति काम गर्ने ठानिने भीष्म, दोर्णाचार्य र कृपाचार्य झैं अदुर्दर्शी स्वतन्त्रहरू तथा परिवर्तनकारीका उम्मेदवारीका कारण रविन्द्र मिश्रले अभिमन्युको नियति भोग्न विवश हुनु पर्यो।अर्जुनसंगको व्यक्तिगत इर्श्याले ज्ञानी, दानी र महावली कर्णले दुर्योधनलाई साथ दिए झैं, कर्णकै रुपमा नव नायक बन्न चितवनबाट विजय धनुषको टङ्कारले नेपाली राजनीतिको अन्धकार चिर्न बिजुली चम्काउने नव कर्ण रुपीले नेपाल आमाको चीरहरण गर्ने भनि व्यापकरुपमा भनिदै आएको MCC तथा SPP ठिक छ…भन्दै दुर्योधन झैँ जङ्घा पड्काउने काठमाण्डौ क्षेत्र नम्बर ४ का एक आडम्बरी खलनायकलाई अप्रत्यक्ष समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए।तर रविन्द्र मिश्रको क्षेत्रमा अर्जुनको बध गर्न ल्याकत राख्ने कर्णको अमोघ शक्ति नस्ट गर्न घटोक्चकलाइ आह्वान गरि जानी जानी युद्द गर्न पठाउने नीति पनि कारक र घातक बन्यो।यतिका बाबजुद पनि आफ्नो आस्था,निष्ठा र मर्यादामा बसेर रविन्द्र मिश्रले जुन बहादुरीका साथ लडे। त्यो अपूर्ब छ। उनले आफ्नो शिष्ट,शालिन एवं अनुशासन मात्र त्यहा प्रस्तुत गरेनन्।अपितु राप्रपा जस्तो पार्टीलाई काठमाण्डौ जस्तो ठाउँमा स्थापित गराउदै आफ्नो राजधर्म पनि पुरा गरे। यसरि राजधर्मको पालना गर्दै आफुलाई नेपाली राजनीतिको युधिष्ठिरको रूपमा प्रस्तुत गर्न सफल पनि भए। अर्कोतर्फ राजेन्द्र लिङ्देनले राजधर्म,विचार, सिद्धान्त, आस्था र निष्ठालाई स्वार्थको हाटबजारमा विनिमय गर्दै नेपाली राजनीतिको शकुनि पात्रको रूपमा आफुलाई उभ्याउन पुगे।समग्रमा रविन्द्र मिश्रले चुनाव हारे पनि जनताको विश्वास जिते।राजेन्द्र लिङ्देनले चुनाव जित्लान तर आम जनताको विश्वास माथि घात गरे। यहाँ यो भनाइ राख्नु मेरो सरोकार राप्रपाको आन्तरिक राजनीतिसंग खेल्नु पटक्कै होईन। न रविन्द्र मिश्रको हार या राजेन्द्र लिङ्देनको सम्भावित जितसंग हो।न मेरो राप्रपासंग टाढा टाढाको नाता सम्बन्ध नै छ।न त मिश्र र लिङ्देन संग मेरो कुनै चिनजान आग्रह पूर्वाग्रह नै छ।मात्र मेरो सरोकार ईमान्दार आस्था र निष्ठावान जो कुनै विचार र सिद्धान्तका भए पनि, तिनले स्थान पाउनु पर्छ र त्यस्ता मान्छेहरूहरु राजनैतिक क्षेत्रमा अगाडी आउनु पर्छ भन्ने मात्र हो।असल र निष्ठावान मान्छेहरू उपर अपवित्र तवरले गरिने छलि कपटी शकुनी प्रवृति बिरूद्धको सरोकार र खबरदारी पनि हो।रविन्द्र मिश्र जस्ता आस्था निष्ठा र ईमान्दार ब्यक्तिहरू हारेर पनि म जस्ता लाखौ लाखको मन जितेका छन् र जितिरहने छन्। राजेन्द्र लिङ्देन जस्ताले जितेर पनि हारीरहने छन्।तसर्थ आस्था,निष्ठा र ईमान्दारीताले ओतप्रोत रविन्द्र मिश्रको युधिष्ठिर चरित्र र प्रवृतिलाई नमन ,बधाई तथा साधुवाद! आगामी दिनमा अझै खरो रूपमा देश र जनताका निम्ति पूर्ण समर्पित हुदै,अगाडी बढ्न प्रेरणा मिलोस भन्ने सुभकामना पनि!

[email protected]

प्रतिक्रिया