टुक्का साहित्य समाजकाे आयाेजनामा छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०७९ मंसिर ५ गते २३:०२ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ मङ्सिर ३ गते  “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३८” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षक अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्‍याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खलाहरू सञ्चालन भई रहेका छन् । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत भुजङ्गप्रयात छन्दकाे पुनः अभ्यास गर्दै सुन्दर टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई भुजङ्गप्रयात छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

भुजङ्गप्रयात छन्द
~ १२ अक्षर हुन्छन्।
~ चारवटा य गण हुन्छन्
~ सूत्र – ISS ISS ISS ISS

अभ्यासकाे क्रममा सङ्कलन गरिएका भुजङ्गप्रयात छन्दका केही टुक्का कविताहरू 

[१]
म भन्दैछु साथी सुनौँ है गुनासो,
दिए भोट आफ्नो स्वयम् बन्छ पासो।
~ अनिल खग्रास
[२]
१.
दुखेकाेे छ आत्मा झरेकाे छ आँसु
बिरामी छ चाेला कहाँबाट हाँसु ।
२.
झरीमा रुझेझैँ निरासा भरेर
कुनामा छु एक्लै म पीडा परेर ।
~ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
१.
दिने भोट भन्छौ कहाँ भोट हाल्नु
पुराना बुढामा दिई हुन्न फाल्नु ।
२.
चुनावी छ नारा यहाँ चन्द्र झार्छन्,
गए हाँक्न सत्ता सबै झ्वाम्म पार्छन् ।
~ चूडा निर्भीक
सिम्पानी गोरखा, हालः देश बाहिर ।
[४]
१.
छ बेला बुझेरै तिमी भोट हाल्नु
पुरानाहरू जो सबै ता नफाल्नु ।
२.
लगाएर माया विथोलेर टाऱ्यौ
उचालेर आफैँ पछारेर माऱ्यौ ।
~ गुणनिधि घिमिरे
अमेरिकाबाट
[५]
१.
भनेको  नमान्ने  कुरा नै  नसुन्ने,
न आफैँ तिमीले गरेको छ गुन्ने ।
२.
दियौ चोट गैह्रो छ आत्मा दुखेको,
हियो यो  पुरैमा छ पीडा लुकेको ।
~ वसन्त अनुभव
घोराही, दाङ
[६]
दिएँ साथ तिम्रो हटोस् द्वन्द सारा
अहो! लाग्छ यस्तो तिमी हौ सहारा ।
~ सूर्यमणि रेग्मी
चितवन
[७]
१.
भए भ्रष्ट नेता गयो देश खाडी
उनै भोट किन्छन् अझै लाज छाडी।
२.
बने जो नि मन्त्री यहाँ देश डस्ने
चुसी देश आफन्त पोसेर बस्ने।
~ रामशरण न्यौपाने
भक्तपुर
[८]
मडारेर आकाश आएछ राजा,
छताछुल्ल  हुनेछ बज्नेछ बाजा।
~ धन कुमारी रेग्मी
चितवन भरतपुर
[९]
१.
चुनेको थियो एउटा चाह राम्रो,
नजानी हरायो बनाएर चाम्रो।
२.
नभन्ने कहानी छ मेरो हियारो,
कसोरी बनेको म मेरै पियारो।
~ अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१०]
१.
गरे काम राम्रो  रुदैनन् बिहानी,
तुसाराे नलागाेस् कुनै जिन्दगानी ।
२.
छ टुक्का मिलेकाे अहाे! छन्द राम्रो,
बुझेरै जिताए नछानेर हाम्रो  ।
~ इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[११]
१.
भनेको कसैले नमानी करायो
लुटेको उसैले नजानी हरायो ।
२.
नटेर्थ्यो नहेर्थ्यो हरामी उसैले
रमाई सधैं नै नपुग्ला घुसैले ।
~ प्रेम थापा “मन”
बागलुङ
[१२]
१.
चुनाबी कुरा छन् घरैमा बसेर
विकासै भएनन् नराम्रा पसेर।
२.
निराशा  छ  चारैतिरै भ्रष्टचारी
पठाऊँ बरू ती चुलोका त नारी।
~ तेजप्रसाद खनाल
लमही दाङ।
[१३]

१.

सुसम्पन्न बन्ने ठगाहा छ जान्ने,
चहारेर जस्को फकाएर तान्ने।

२.
कुरा गर्छ बाठा म नै देश हाँक्ने,
उसैको छ फुर्ती ठुलै स्वाद चाख्ने।
~ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[१४]
१.
सुकायौ तिमीले अनुहार  राम्रो
मलाई भुलाई  भयैा नी त चाम्रो।
२.
जवानी  सकेरै गयैा नी त हाम्रो
झुकायैा  मलाई  त बाँधेर  काम्रो ।
~ पवन कुमार बुढाथेाकी
काठमाडौं
[१५]
१.
चुनावी छ बेला खटेको हुनाले
बिगारे सबैथोक जित्यौ रुनाले।
२.
करायो करायो दक्षिणा हरायो
नसुन्ने छ बानी खुत्रुक्कै बनायो।
~ भगवती ढकाल
चितवन ।
[१६]
१.
छ धेरै  मलाई  तिमीकै त माया ,
सधैँ नै म पाऊँ तिमीकाे ल छाया ।
२.
ल आयाे चुनाैती, युवा ती जिताऔँ,
सबैले मिलेरै पुराना पठाऔँ ।
~ शाेभा आचार्य गाैतम
काठमाडौँ
[१७]

कुनैको इशारा तिमीले लिएछौ
चुनावी घरैमा बसेरै दिएछौ ।
२.
करायौ भुकायौ लुटायौ जसोरी
निलेका कुरा त्यो पचायौ कसोरी।
~ अम्विका अधिकारी
झापा विर्तामोड
[१८]
१.
धनैले किनेकाे अरे भाेट कस्ताे
मनैमा धनैकाे भरी लाेभ सस्ताे ।
२.
नठानाैँ न आफ्नै धनै बाँढ्छ जाली
भरे लुट्छ हाम्रै नमानेर माली ।
~ निरज काेइराला
बेलका १ उदयपुर, हालः इटहरी
[१९]
१.
लुकेको छ माया चुकेको छ छायाँ,
कतै दान दाता उठेको छ बायाँ ।
२.
मनैमा सजाई उकाली चढेको ,
तनैको हटाई पिरैमा बढेको ।
~ जमुना आचार्य
सिन्धुपाल्चोक
[२०]
१.
जमाना सबैको छ यस्तै भनेर
बसेका रहेछन् त औंला गनेर ।
२.
फुलेको रहेछौं त ढाकेर बारी
कुराले नटारे गुनासो नपारी ।
~ बेदु न्यौपाने
काठमाडौ
[२१]
हवा, घाम, पानी सुनौलो बिहानी
सिनेमा सरी हुन्न यो जिन्दगानी ।
~ आयुस खनाल
हाल: काठमाडौं
[२२]
१.
बसेका थियौ त्यो हिमाली धरामा
सुनाैलाे बिहानी बनेनाै गरामा ।
२.
कसाेरी हरायाै पलायाै कि काँही
बचाई  दिनेले गरेकी त  दाँही।
~ शर्मिला खतिवडा
विर्तामोड ,झापा ।
[२३]
१.
भएकाे छ पीडा झरेकाे छ आँसु
तिमी साथ छैनाै कसोरी म हाँसू ।
२.
चुनावी भएकाे छ  माहाेल आज
खुलेआम लाग्ने छ हाेला नि राज ।
~ सुस्मिता नेपाल
सुनसरी
[२४]
१.
अलेखौँ कमाई धनी लौ बनेछौ,
विरोधी युवाको जरो नै खनेछौ ।
२.
तिमी हौ लुटेरा दिदैनौँ सु मौका
युवाको छ पालो बजारौँ लु चौका।
~ बाबुराम गौतम
गुल्मी

[२५]
१.
कहानी भएका सुनाएर सारा
भुलाएर  पीडा  हँसाएर  तारा ।
२.
पढाएर छोरी उ माथी पुगेको
सकेनौ नहेरी सुबाटो  झुकेको ।
~ तारा घिमिरे
सङ्खुवासभा
[२६]
सिरानी भिजाई निशामा करायो,
विछिप्तै भई त्यो कहाँ पो हरायो ।
~ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[२७]
बजाएर ताली नचाएर छोड्यौ,
लगाएर माया अन्तै लौ न मोड्यौ।
~ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६ संखुवासभा

:::::: जय टुक्का! जय साहित्य!! ::::::

प्रतिक्रिया