निटफेस्टको अग्रजसँग अन्तरक्रिया ‘म त लालीगुराँश भएछु’

इनेप्लिज २०७९ मंसिर १ गते २३:२७ मा प्रकाशित

काठमाडौं, मंसिर ०१

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तरक्रिया गरेको छ । महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, संघर्ष र तत्कालिक समय सन्दर्भमा अन्तरक्रिया गरेको हो ।

नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज रङ्गकर्मीहरु पुस्कर गुरुङ, विजय विष्फोट, वीरेन्द्र हमाल सँग रङ्गकर्मी सरिता गिरीले कुराकानी गर्नुभएको हो । तेस्रो पुस्ताका समकालिन रङ्गकर्मीहरु उहाँहरुका अनुभव र संघर्षलाई श्रोताका रुपमा सहभागी थिए ।

अन्तरक्रियाका क्रममा अभिनेता, निर्देशकको रुपमा परिचित तथा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिले वर्तमान रङ्गमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तातरणको लागि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नेतृत्व गरिरहेका रङ्गमञ्चीय काम र संस्था अगाडि बढाउन नयाँ पुस्ता तयार पारिरहेको छु ।”

त्यस्तै नाटककार, निर्देशक, अभिनेता विजय विष्फोटले रङ्गकर्मीको मूल्याकंन भनेको उनको कामले गराउने बताउनुहुँदै “देशले अझैपनि रङ्गकर्मी चिनिरहेको छैन, यहाँ रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ” भन्नुभयो । उहाँले थिएटर ‘कस्मेटिक’ बन्दै गएको दावी गर्दै चिन्ता व्यक्त पनि गर्नुभयो

नेपाली रङ्गमञ्चमा कलाकार, रङ्गकर्मीहरु जन्माउन उल्लेखनीय भूमिका रहेका एमआर्ट थिएटरका संस्थापक तथा अभिनेता, निर्देशक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रङ्गमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाउनुभयो । “कुनैबेला आफूले जन्माएका कलाकारका सामू यसरी नेपाली रङ्गमञ्चको अनुभव बाँड्न पाउनु आफू भरिएको अनुभूति भइरहेको छ ।” त्यस्तै उहाँले पुस्ता हस्तातन्तरणमा रङ्गमञ्चको शैली र इतिहास हस्तान्तरण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य प्रतिकुलताका कारण अग्रज रङ्गकर्मीहरु चन्द्रमाला शर्मा र निशा शर्मा अन्तरक्रियामा सहभागी हुन सक्नुभएन ।

आयोजक मण्डला थिएटर नेपालले नाट्य महोत्सवलाई अग्रजको आशिर्वादसँगै समकालिन रङ्गमञ्चलाई महोत्सवमय बनाउनका लागि अग्रिम कार्यक्रम गरेको हो । यही मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तक्र्रिया, कला प्रस्तुतिहरु हुनेछन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरु सहभागी हुनेछन् । भारतबाट सुप्रशिद्ध अभिनेत्री शबाना आजमीलगायतले महोत्सवमा आथित्यता ग्रहण गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया