नेपाली निर्वाचन,नेता र मतदाता !

भुपनारायण घर्तिमगर २०७९ मंसिर १ गते १२:१९ मा प्रकाशित

भुपनारायण घर्तिमगर

भनिन्छ निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष हो।प्रजातन्त्रलाई परिष्कृत र परिमार्जित गर्ने प्रकृया हो।जनताको अभिमत लिदै उनिहरूको भावनालाई राज्य सञ्चालनमा प्रतिविम्वित गराउने माध्थाम हो।समाजको सकारात्मक परिबर्तन,बिकास र रूपान्तरण गर्न जनताको सहभागिताबाट जनताले मन पराएका असल प्रतिनिधी छान्ने माध्थाम पनि हो।यिनै मूल्य, मान्यता र सिद्धान्तका कारण निर्वाचन आवधिक (निश्चित समय)  हुन्छन्। हो समय काल स्थान र परिवेश अनुसार निर्वाचन प्रकृया  तथा समय सीमा फरक फरक हुन्छन्।हाम्रै पूर्बिय सभ्यताका ईतिहासका पानाहरू पल्ट्याउदा पनि राम,कृष्ण र बुद्धका समयहरूमा पनि जनसहभागिता,जनसहमति तथा जनमत लिएका प्रशस्त उदाहरणहरू पाईन्छन्।हाम्रो देशको सन्दर्भमा पनि गोपालवंशी हुदै शाहवंशसम्म आउदा यदाकदा उदार राजाहरूले बिभिन्न कालखण्डमा जनअभिमत लिने गरेको ईतिहास पाईन्छ नै।त्यसेगरि लिच्छवी, किराँत तथा मल्लकालका कतिपय जनसहभागिता तथा जनमत समाहित गर्ने  ब्यबस्थाहरू पनि नितान्त प्रजातान्त्रिक थिए भन्दा त्यति धेरै फरक नपर्ला।

यसै सन्दर्भमा हाम्रो देशमा वालिग मताधिकारका आधारमा निर्वाचन पहिलो पटक बि• सं २०१५ सालमा भएको पाईन्छ।बि•सं २०१७ सालको राजनैतिक परिबर्तन पश्चात एक दलिय पञ्चायति ब्यबस्थामा पनि भिन्न भिन्न प्रकृयाले स्थानिय तथा केन्द्रिय निर्वाचन हुने गरेको पाईन्छ। २०४६ सालको परिबर्तनले प्रजातन्त्रको पुनर्स्थापना पश्चात निर्वाचन प्रकृया नेपाली जनताको भाग्य निर्माणको माध्थाम बन्नेमा नेपाली जनता ढुक्क थिए। तर विडम्वना संघर्षबाट आएका नेताहरू निर्वाचित हुदै हिमाल झैं चम्किए।तर कुशासन र भ्रष्टाचार संगसंगै टुकुचा झैं कुरूप बन्दै आए।परिणाम देशमा शसस्त्र संघर्ष भयो। हजारौं निर्दोष जनता मारिए।देशमा ठूलै परिबर्तन भयो।अब त साँच्चै निर्वाचन देश र जनताको भाग्य परिबर्तनको माध्थाम बन्ने भयो भनेर नेपाली पुन: जनता ढुक्क भए। २००७ साल देखि बाधक भनिएका र ठानिएका राजसंस्था,एकात्मक शासन प्रणाली तथा धर्म सापेक्षता सबै पाखा लागिसकेका थिए।यो अबस्थामा जनताका सच्चा प्रतिनिधीहरू निर्वाचन प्रकृयाबाट निर्वाचित हुदै ,जनताको सच्चा प्रतिनिधीका रूपमा शासन ब्यबस्था चलाउदै देश र जनताको सकारात्मक तथा श्रृजनशिल बिकास, परिबर्तन र रूपान्तरण गर्न पूर्ण स्वतन्त्र थिए। बि•सं २०६२/२०६३ को  पछिल्लो परिवर्तन तथा बि• सं २०७२ को संविधान घोषणा पश्चातका निर्वाचनहरूलाई फर्केर हेर्दा नेपाली जनताको ठूलो उत्साह पूर्ण सहभागिता भएको देखिन्छ। समय,ब्यबस्था तथा केही हदसम्म पात्रहरू परिवर्तन त भए। तर विडम्वना नेपाली जनताको अबस्था र भाग्यमा खासै परिवर्तन भएन। संघर्ष, आन्दोलन तथा युद्धका बेलाका देशभक्ति तथा जनपक्षिय आवाजहरू हराउदै गए।जनताका सपना पिडालुको पातको पानी सूर्योदयसंगै हराए झैं हराउदै गए।जनताको साथमा रम्ने घुम्ने नेताहरू सुकिला मुकिला हुदै दलाल तथा दलाल पुजिपतिहरूको साथ सहयोग लिदै स्व-वर्ग उत्थानमा तल्लिन बने।यिनै सेरोफेरो र यथार्थहरू बिच भूराजनैतिक,सामरिक,आर्थिक,सामाजिक,सांस्कृतिक, सार्वभौमिक एवं नैतिक रूपमा चुक्दै चिप्लदै देश संकट पूर्ण लक्षहिन पतनको यात्रातर्फ उन्मुख भईरहेको बर्तमानको अबस्थामा फेरी एक पटक निर्वाचन नामको कुम्भ मेला/पर्व सम्पन्न हुन गईरहेको छ।बर्तमानको निर्वाचन प्रकृयाका गलत अभ्यास तथा दल,नेता तथा आम मतदाताहरूको ब्यबहार र शैलिलाई दृष्टीगत गर्दा संक्षेपमा निम्न बमोजिम बुदागत रूपमा विश्लेषण गर्न सकिन्छ।

सिद्धान्त उत्तरको ब्यबहार दक्षिणको :-

राजनीतिले समाज र देशको सकारात्मक तथा श्रृजनशिल परिवर्तन,बिकास र रूपान्तरण गर्न निर्देशित र नेतृत्व गर्दछ। साथसाथै सिद्धान्तले राजनीतिलाई निर्देशित र नेतृत्व गर्दछ।सबै दल तथा पार्टीका उदेश्यहरू देश बिकास र जन कल्याण नै हुन।तथापी देश बिकास र जन कल्याण गर्ने माध्थाम र विचार फरक हुन्छन्।अर्कोको विचार सिद्धान्तले भन्दा मेरो विचार र सिद्धान्तले देश बिकास र जन कल्याण गर्न सकिन्छ भन्ने मान्यता र विश्वासकै कारण फरक फरक मतका श्रृजना हुन गई फरक फरक दल या पार्टी खोल्नु परेको हो।तिनै फरक विचार र सिद्धान्तका आधारमा आवधिक समयका निम्ति तय गरिएका नीति तथा कार्यक्रमहरूलाई लिएर नै निर्वाचनमा जाने हो। जसको नीति कार्यक्रमलाई जनताले अनुमोदन गर्छन् ,सोही दल या पार्टीले जन निर्वाचित प्रतिनिधीहरूको माध्थामबाट सुशासन प्रदान गर्ने हो। यसैका निम्ति आवधिक, स्वच्छ एवं निश्पक्ष निर्वाचन आवश्यक पर्ने हो।

तर विडम्वना हाम्रो देशमा यि त भन्ने कुरा न हुन ! भने झैं भयो।निर्वाचन विचार र सिद्धान्तका माध्थामबाट नीति तथा कार्यक्रम जनअनुमोदित गराउने पवित्र प्रजातान्त्रिक माध्थाम बनेन र रहेन।निर्वाचन त कठै फगत गणित मिलाउने बनारसका पान्डाको बही खाता जस्तो भयो।विचारमा आधारित मोर्चा गठबन्धन बन्छन् र बन्नु पनि पर्छ। तर हाम्रो देशको गठबन्धन बैंक लुट्न घोर बिरोधी र दुश्मनी ग्याङ्ग एक छिनका निम्ति मिले झैं भयो।कति गठबन्धन उत्तर र दक्षिणका छन्।टाढा टाढासम्म विचारको “व ” र सिद्धान्तको “स” नमिल्ने छन्। त कुनै गठबन्धन सर्प भ्यागुतो र बिच्छीको मैत्री गठजोड झैं छ। कतै कट्टर दक्षिणपन्थी,कट्टर वामपन्थी,साम्प्रदायिक एवं अर्ध-वामपन्थीको गठबन्धन छ। त कतै राजावादी,गणतन्त्रवादी,होली वाईनवादी तथा साम्प्रदायिकवादीको गठबन्धन बनेको छ।यि दुबै गठबन्धनलाई हेर्दा उनिहरूलाई विचार सिद्धान्त नीति तथा कार्यक्रमसंग कुनै लेनादेना छैन। न यो विचार सिद्धान्त नीति तथा कार्यक्रम आधारित निर्वाचन प्रतिस्पर्धा नै हो। यो नितान्त मात्र सत्ता प्राप्तिका निम्ति गरिएका हठकन्डा मात्र हो। यस्ता खाले निर्वाचनले न त समाज देश र जनतालाई फाईदा पुग्ने छ। न  विचार सिद्धान्त र दलहरूलाई नै फाईदा पुग्ने छ। हो नयाँ केही ब्यक्तिहरूले काँचुली फेर्लान,बर्ग उत्थान गर्लान,कोही नव माननीय मन्त्री बन्लान त कतिले प्रधान-मन्त्री बन्ने रेकर्ड बढाउलान।यो स्वार्थ लोलुप गठबन्धन राजनीति हेर्दा खासगरिकन आजभन्दा एक दुई दशक अगाडी ( अहिले पनि आंशिक देख्न पाईन्छ) उत्तर प्रदेश र विहारमा विचार सिद्धान्त बिहिन सत्ता लोलुप जाति तथा धर्म आधारित राजनीतिको आभास हुन्छ। हुन त बचाउका अनेक बाहना हुन सक्छन्। संविधान खतरामा छ।गणतन्त्रलाई चुनौति छ।प्रतिगमनको सम्भावना टरेको छैन।राष्ट्रियता संकटमा छ ।आदि आदि भन्न सकिएला। तर वास्तविकता ति हुदै होईनन्।विचार सिद्धान्त आधारित राजनीतिबाट दल तथा जिम्मेवार नेताहरू पतित भईसकेको र राजनीति सत्ता तथा स्वार्थ केन्द्रित हुन गएकोले आआफ्नो स्वार्थको स्वर्ग बचाउने स्वार्थी प्रपञ्च मात्र हो।यसले समाज, देश र जनतालाई केही फाईदा पुग्नेवाला छैन।जुन जुन देशमा जसरी पनि सत्ता कब्जा गर्ने गलत नीति नेताहरूले अपनाए ति देशहरूले ठूलो मूल्य चुकाएको ईतिहास ताजै छ।

देश ॠणमा चुर्लुम्म डुबेर ध्वस्त,नेताहरू सत्ता स्वार्थमा मस्त :-

नेपालको आर्थिक अबस्था सबैको अगाडी छर्लङ्गै छ।देश नेपाली युवाहरूले बिदेशमा पसिना बगाउदै जीवनसंग ज्याला साटेको पैसाले चलेको छ।अन्तर्राष्ट्रिय ब्यापार घाटा लगभग बार्षिक कूल गाह्रत्व राष्ट्रिय उत्पादन ( GDP) बराबर भईसक्यो।देशको घोषित ॠण लगभग २० खरब पुगिसक्यो।नेपाली बैंकहरूले ॠण प्रवाह गर्ने क्षमता लगभग सकिई सक्यो।एकै दिन २०–२५ प्रतिशत निक्षेप कर्ताहरू बैंकहरूमा पैसा लिन गए बैंकहरूले पैसा दिन सक्ने अवस्था सायदै होला ? देश दिन पर दिन परनिर्भर बन्दै छ। तर सबै पार्टीका नेताहरूको आर्थिक अबस्था आकाशिदो छ।युरोपियन अमेरिकन जीवनशैलीको नेपालमै मोज गरिरहेका छन्। उच्च नेता तथा उच्च पदस्थ कर्मचारी लगायत उच्च ब्यापारी उद्योगीका छोराछोरी तथा धन सम्पत्ति बिदेशमा सुरक्षित छन् र यो क्रम तिब्र छ।

देशको यति डरलाग्दो आर्थिक अबस्थाका बिच, यो यो आर्थिक नीति र कार्यक्रमका माध्थामबाट हामीले देशको आर्थिक रूपान्तरण र बिकास गर्छौं ,भनेर दलहरूले भन्नु पर्नेमा कसरी निर्वाचनलाई माध्थाम बनाउदै सत्ता कब्जा गर्ने ? भन्ने मात्र ध्यय देखिन्छ। देशलाई चुर्लुम्म ॠणमा डुबाएर ॠणै गरेर निर्वाचन गर्दै ॠणै थप्न सत्ता कब्जा गर्ने स्वार्थि नियतले सम्पन्न गर्न गईरहेको निर्वाचनले केही नेताहरू र तिनका आसेपासे झोलौटेहरूलाई त फाईदा गर्ला नै, तर समाज देश र जनतालाई फाईदा गर्ने छैन।राजपक्षे परिवारले लिएका यस्तै नीतिले श्री लंका जस्तो देशको दुर्गतिबाट नेपाल र नेपाली जनताले सिक्न पर्छ। अन्यथा भोलि पश्चाताप बाहेक अरू केही बाँकी हुने छैन।

नेपाली राष्ट्रियता सार्वभौमिकता देखाउदै स्वार्थ सिद्ध गर्दै :-

देशबासी जन जनका मनमा अंकुरित एवं बिकसित देशभक्ति पूर्ण पवित्र एवं निस्वार्थ भावना नै राष्ट्रियता हुन। यिनै पवित्र राष्ट्रिय भावले ओतप्रोत हुदै कर्म द्वारा देशलाई अक्षुण्ण,अखण्ड एवं स्वतन्त्र राख्नु नै सार्वभौमिकता हो।हाम्रो देशको एक एक ईञ्च भूमीमा पूर्खाको पसिना रगत बगेका छन्।हाम्रा पूर्खाले नेपाली राष्ट्रियता र सार्वभौमिकताका निम्ति शिर कटाउन तयार भए तर शिर झुकाएनन् र शिर झुकाउने कार्य पनि गरेनन्।तर पछिल्लो समयमा नेताहरूले राष्ट्रियता र सार्वभौमिकतालाई मागी खाने भाँडो बनाए। निर्वाचन जित्ने माध्थाम बनाए।कहिले १९५० लगायत असमान  सन्धी सम्झौता खारेज गर्छौं भन्छन्। त कहिले चुच्चे नक्शासम्म प्रकाशित गर्न पछि पर्दैनन्।कालापानी लिम्पियाधुरा ल्याउछौं भन्छन्। पद र पैसाका निम्ति राष्ट्रघात देशघात गर्न पछी परेनन्। बि• सं २०१५ सालदेखि  यो निर्वाचनसम्म आउदा यिनले गरेका गण्डक सम्झौता,कोशी सम्झौता,महाकाली टनकपुर हुदै नागरिकता विधेयक साक्षी छन्।पञ्चेश्वर ,कर्णाली,सेती आदि आदि सम्झौता र समय समयमा नागरिकता लिलाम बढाबढको त हिसाबै नगरौं,वर्णन गरि साध्य पनि छैन।

यिनै पृष्ठभूमीको आडमा नितान्त सत्ता स्वार्थले ओतप्रोत हुदै राष्ट्रियता र सार्वभौमिकतालाई माध्थाम बनाउदै निर्वाचन मार्फत सत्ता कब्जा गर्ने बर्तमानको कुटील रणनीति पनि देश हितमा पटक्कै छैनन्।सस्ता र नक्कली कुरा गरेर क्षणिक मुट्ठीभर स्वार्थिहरूको स्वार्थ सिद्ध होला।तर देश र जनतालाई कुनै फाईदा हुने छैन। नेपाली राष्ट्रियता र सार्वभौमिकताको त कुरै नगरौं।यिनको यस्तै हर्कत र जनताको पनि यस्तै रबैया हो भने,देशले एक दिन फिजी,सिक्किम तथा कोरियाको नियति नभोग्नु पर्ला भनेर ढुक्क हुने अबस्था छैन।

संस्कार संस्कृति मास्दै,डलर युरोमा रमाउदै:-

देश भूगोल मात्र होईन। संस्कार, संस्कृति,रितिरीवाज,भेष,भूषा,भाषा,सभ्यता आदि पनि हुन।यि कुराहरू बिकसित हुन,पन्पिन र मौलाउन सयौं हजारौं बर्ष लाग्छन्।हिमालको काखमा सयौं हजारौं बर्षका संस्कारहरूले बिकसित बेग्लै र विशिष्ट संस्कृति र सभ्यता अनि नेपाली जातीका निम्ति हाम्रा पुर्खाहरू भोट,चीन र अंग्रेजसंग लडेका हुन। पछिल्लो समयमा पुर्खाले रगत पसिनाले सिच्दै वलिदानीको छहारीमा बचाएर राखेका हाम्रा यि वैभव नीधिहरूलाई डलर र युरोको प्रलोभनमा पर्दै हाम्रै नीति निर्माता,उच्च पदस्थ कर्मचारी तथा नेताहरूले बिभिन्न सुधार र बिकासको नाममा सिध्याउदै गएका छन्। 4th Generation warfare doctrine अन्तर्गत गैर राज्य ब्यक्तिहरू तथा संघ संस्थाहरू मार्फत योजनावद्ध तवरले मनोबल गिराउने,विनाश गर्ने र परिपुर्ति एवं परिबर्तन गर्ने नीति अन्तर्गत हाम्रा संस्कार संस्कृति एवं धर्म परम्पराहरूलाई लडाउदै मास्दै र अन्तत्वगत्वा धर्मान्तरण गरिदै छ।अगुवा नेता तथा उच्च पदस्थ कर्मचारीहरू अनभिज्ञताको नाटक गर्दै पद,पैसा र सत्ताका स्वार्थ सिद्ध गर्दै छन्।सहुलियत ॠण र अनुदानका नाममा भित्रने डलर र युरोको गुलियो चास्निले लटपटिएको बिकास अनि त्यही बाछिटाले सम्पन्न हुने निर्वाचनबाट स्वार्थको सत्ता औपचारिक नविकरण हुने बाहेक कुनै आशा गर्ने ठाउँ छैन।बिगतदेखि अहिलेसम्मको निर्वाचन बिदेशी अनुदान र सहयोगबाट अछुतो हुन सकेको छैन।यस्ता सुधार र बिकासको एउटा चाख लाग्दो उदाहरण दिन सान्दर्भिकता होला।सुधारको नाममा बि•सं २०२८ सालको नयाँ शिक्षा हुदै आजसम्म आईपुग्दा धेरै शिक्षा बिकास र सुधारका डलर तथा युरोमुखी कार्यक्रमहरू आए।पाठ्यक्रम,ब्याकरण, शिक्षाको गुणस्तर तथा प्रणालीगत ह्रासको त वर्णन गरि साध्य रहेन।सामान्य भन्दा सामान्य कुरा हामीले “ग” माने गणेश पढ्थ्यौ। गणेश अमुर्त भयो।विद्यार्थीहरूले खोई गणेश भनेर सोधे के सिकाउने? भन्दै “ग” माने गमला गराईयो।  यति शुक्ष्म तवरले दिर्घकालिन मनोवैज्ञानिक एवं संस्कारगत ह्रास आउने गरि आक्रमण गर्दा पनि डलर र युरोमा र्याल चुहाउदै आफैलाई बेच्न तयार हाम्रा स्वार्थी गोबर गणेशहरूले हाँस्दै सहमति जनाए। यस्ता उदाहरण त कति छन् कति ? भनेर गनेर साध्य छैन।

जुनसुकै गठबन्धनबाट जो जहाँबाट निर्वाचित भए पनि हाम्रो संस्कार संस्कृति र धर्म परम्पराहरूलाई संरक्षण संवर्द्धन र प्रवर्द्धन गर्न युरो र डलर लत्याउने सायदै निर्वाचित होलान। यही र यस्तै तरिकाले मतदाताहरूले पनि मतदान गर्दै जाने र नेताहरू पनि निर्वाचित हुदै जाने हो भने,एक दिन हाम्रा सनातन संस्कार, संस्कृति तथा धर्म परम्पराहरू हराउदै जाने छन्।आफ्नै भूमीमा आफ्नै संस्कार संस्कृति ईतिहासका पानाहरूमा खोज्नु पर्ने अबस्था आउने छ। १५ औं सताब्दीमा स्पेनको औपनिवेशको कारण दक्षिण अमेरिकाका वैभवशाली माया ईन्का लगायत सभ्यताहरू ईतिहासका पानामा सिमीत भए। सयौ हजारौ बर्षका भाषाहरू मासिए।

सस्तो सपना बाड्दै मतदाता लोभाउदै:-

जति पटक निर्वाचन आउछन् त्यति पटक नयाँ नयाँ सपनाहरू जनतालाई देखाईन्छन्।कतिले सिङ्गापुर बनाउछु भन्छन्।त कतिले युरोप अमेरिका बनाउछु भन्छन्। कतिले घोषणा-पत्र भन्छन्।त कोहिले प्रतिवद्धता आदि आदि नामका सपना बाड्छन्।तर बिगतका सपना कति पुरा भए ? घोषणा-पत्र तथा यस्तै खाले तथाकथित प्रतिवद्धता-पत्र आदि आदिमा देखाईएका सपनाहरू के के भए ? कहाँ पुगे ? कुनै पनि सपना ब्यापारीले कहिले भन्दैन।न त मतदाताहरूले त्यसप्रति पूर्ण रूपमा ध्यान दिएको पाईन्छ।परिणाम सुन्दर काठमाण्डौ फोहोर काठमाण्डौ बन्दै संसारकै प्रदुषित शहरहरू मध्य एक शहर बनेको छ।बेरोजगारी आकिशिएर बैदेशिक रोजगारीमा नगए हजारौं लाखौं लाख परिवारको जीवन यापन नचल्ने अवस्था बनेको छ।बैदेशिक रोजगारीले विप्रेषण ( Remittance) मात्र भित्रेको छैन। अपितु नेपाली होनोहार युवाहरूको सपना तथा आत्मसम्मान झुक्दै हजारौं हजारले प्राण गुमाउदै नेपाल आमाकी छोराछोरीहरूको लाश पनि भित्रिरहेको छ।सामाजिक असन्तुलन तथा सांस्कृतिक विकृतिको त बायान गरेर साध्य छैन। यसका दुष्परिणामहरू भविष्यमा डरलाग्दो तवरले देखिने छन्।बैदेशिक रोजगारीसंगै ओरालो लागेको जन्मदर बर्ष पिच्छे ओरालिदै छ। यही अनुपातमा ओरालो लाग्दै गए निकट भविष्यमै जनसंख्याको असन्तुलित परिणाम देशले भोग्ने सुनिश्चित छ।

समग्रमा भन्नु पर्दा नेताहरू त ढाट्दै पद पड्काउदै आएका छन्।नेताहरू त अभ्यस्त छन्।तर मतदाताहरू चनाखो र जागरूक हुन नितान्त आवश्यक छ।बिगतका सपना,घोषणा-पत्र तथा प्रतिवद्धताहरूलाई खरो रूपमा नेताहरू समक्ष उठाउन आवश्यक छ।सबै कुराहरूको सही विश्लेषण गर्दै उपलब्धहरू मध्य राम्रो,असल र ईमान्दार नेतालाई भोट हाल्न आवश्यक छ।अन्यथा देश संगसंगै आम नेपली जनताले दु:ख पाउने सुनिश्चित छ।

छेपारे प्रवृतिका नेता,माखे स्वभावका मतदाता:-

नेताहरू देश जनता विचार र सिद्धान्तका निम्ति वलिदानी गर्न सदा तत्पर हुनु हो। तर यसको उल्टो पद,पैसा र स्वार्थका निम्ति छेपारोले रङ्ग फेरे झैं विचार,सिद्धान्त,दल,पार्टी,गुट फेर्न तयार हुन्छन्।निर्वाचन जित्न र पद पाउन जतिखेर जे पनि भन्दै हिड्छन्।निर्वाचन पिच्छे फरक फरक आश्वासन र  वाचाहरू बाड्दै हिड्छन्।निर्वाचनको समयमा जनताका सच्चा हितैषी बनेको नाटक गर्ने नेताहरू निर्वाचित भए पश्चात राजा महाराजाको ढोंग गर्छन्।अनेक बहुरूपी बन्दै देश र जनतालाई लत्याउदै सत्ता तथा भत्ता स्वार्थमा समय बिताउछन्।सारा समय र उर्जा दलाली तथा बिचौलिया बन्दै सकेर संसदको गरिमामय सदनलाई सयन सदन बनाएर दुनियालाई तमासा देखाउ छन्।कार्यकाल सकिईउञ्जेलसम्म अत्यधिक विधायकहरू विधेयकको “वि” कानूनको “का” नीयमको “नी” सम्म नबुझेर घर फर्कन्छन्।

अर्को तर्फ दल तथा पार्टीहरूको नीति,कार्यक्रम, विचार, सिद्धान्त तथा बिगतलाई मुल्याङ्कण गर्दै अनि नेताहरूको नैतिकता,योग्यता,क्षमता, ईमान्दारिता,अनुभव र पृष्ठभूमी हेर्दै मतदाताहरूले मतदान गर्नु पर्ने हो।तर विडम्वना शहरी क्षेत्र तथा ग्रामिण भेगकै पनि सचेत, शिक्षित र जागरूक थोरै प्रतिशत मतदाता बाहेक धेरै प्रतिशतले भोजभतेरमा भात मासु खाएर,रक्सी मासु हसुरेर,५००/१००० पकेटमा राखेर,मोटर साईकलमा पेट्रोल भरेर ,सुंगुर बंगुर तथा भैंसीको मासुको पाते बिला बोकेर मतदान गरेको देखियो।अलिक पढेलेखेका सत्ता स्वार्थ समेत नपाएकाहरू पनि भोलि कतै भनसुन आदि ईत्यादिमा काम लाग्छन् कि ? भनेर मतदान तथा समर्थन गरेको पाईयो।विचार सिद्धान्त बुझ्दै नबुझी नेताहरूका पछाडी लाग्दै स्वार्थको आहालमा खाल बसेर बुर्कुसी मार्नेहरूको त कुरै छोडौ। हुदा हुदा भारतमा रोजिरोटी गर्न गएकाहरू पनि निर्वाचनको मौका छोप्दै गाडी भाडा र खाना खर्च लिएर गाउँ गाउँ आउदै मतदान गरेको देखियो।मतदाताहरूको यस्ता ब्यबहार हेर्दा र विश्लेषण गर्दा उनिहरूमा पनि माखे स्वभाव हावी बनेको प्रष्ट देखिन्छ।

समग्रमा सबै दल र पार्टीमा गलत नेता मात्र छैनन्।राम्रा असल ईमान्दार नेताहरू पनि छन्।विडम्वना ति नेताहरू अल्पमतमा पर्दै आफ्नै अस्तित्व रक्षाको लडाईमा सिमीत बनेका छन्।स्वतन्त्रहरू पनि सबै असल ईमान्दार छैनन् होला। तथापी केही स्वतन्त्रहरूले चीर अन्धकारमा  जुनकिरीको काम गरेर निराशाको आँधी-हुरीमा पनि आशाको दियो जलाई रहेका छन्।गत स्थानिय निर्वाचनमा देशका बिभिन्न ठाउँमा मतदाताहरूले देखाएको सुजबुझ अत्यन्तै प्रशंसनीय र आदर गर्न लायक छन्।तर मूलधारमा कालीनाग झैं फन फैलाएर त्राहीमान बनाई रहेका   विकृति पूर्ण चरित्र, ब्यबहार र प्रवृतिले लोटपोत निर्वाचन प्रकृयाबाट हाम्रो समाज, देश र जनताको भलो हुनेवाला छैन। गलत नेताहरूले त जानाजानि योजनावद्ध तवरले गरेका होलान।भोलि उनिहरूको सपरिवारको कतै न कतै सुरक्षित अवतरण होला नै। तर आम मतदाताहरूले समयमै सोच्न,बुझ्न र ब्युझन आवश्यक छ।अन्यथा यही तालले अगाडी बढ्दै गरे हाम्रो देश पनि भोलि श्री लंका,अफगानिस्तान, सिक्किम, फिजी,कोरियाकरण नहोला भन्न सकिन्न ।

प्रतिक्रिया