दर्शक बटुल्न सफल भएको महापुरुष चलचित्रभित्र नियाल्दा

डा. गोबिन्दसिंह रावत, टोरान्टो २०७९ मंसिर १ गते १०:३० मा प्रकाशित

डा. गोबिन्दसिंह रावत, टोरान्टो

महापुरुष चलचित्रको सफलता नेपाली चलचित्र विकासमा एउटा टर्निङ्ग पोईन्ट भएर देखा परेको छ । डि.बि. परियारको सत्य हरिश्चन्द (सन् १९५१) बाट शुरु भएको नेपाली चलचित्रको इतिहास नेपाल सरकारको पहलमा हिरासिंह खत्रीको निर्देशनमा आमा (सन् १९६४) आएपछि सर्वसाधरण अर्थात प्राईभेट सेक्टरबाट माईतीघर (सन् १९६६) निर्माण हुन्छ । अनि त्यसपछि नेपाली चलचित्रले विस्तारै गति पाउँदै गएको देखिन्छ । नेपाली चलचित्र निर्माणको सत्तरी वर्षपछि आएको महापुरुषले चलचित्र निर्माणका सबै विधामा मिहिनेतका साथ काम गरेर कथालाई स्वभाविक तरिकाबाट सफलतापूर्वक डो¥याएर दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । कान्तिपुर दैनिककका अनुसार प्रदीप भट्टराई मह जोडीको स्कुलिङ्गबाट हुर्की बढेर हाँस्य विधालाई राम्ररी बुझ्ने मौका पाएका थिए । प्रदीप  ‘लेफ्टराईत लेफ्ट’ टिभी चलचित्रबाट निर्देशकका रुपमा यस क्षेत्रमा ओर्लेका हुन् । त्यसपछि ठुलो पर्दामा उनको यात्रा ‘जात्रा’बाट शुरु भएर सफलताको किल्ला गाडेपछि ‘जात्रैजात्रा’ ले उनलाई परिपक्क निर्देशकका रुपमा परिचिय गरायो । हुन त ‘शत्रु गते’ ले त्यति सफलता नपाए पनि उनको परिपक्कतालाई घटाएको भने थिएन । हाँस्य प्रस्तुति भनेको मुँख बङ्याएर वा आवाज बिगारेर मात्रै गरिने विधा होइन भन्ने बारेमा उनले कमेडी च्याम्पियनको निर्णायक भएको बेला मनग्यै बुझेका थिए । त्यसैले उनको चलचित्रमा महजोडीभन्दा बढी अन्य पात्रहरुले हँसाउन सफल भएका छन् । उनको ‘महापुरुष’ चलचित्रले उनमा चलचित्र निर्माणका सबै थ्योरी रहेको प्रमाणित गरी दिएको छ ।  यसरी नेपाली दर्शकको मनमा उब्जिएको राम्रो चलचित्र हेर्ने रहरलाई उनले मेटाई दिएका छन् ।

चलचित्र भनेको एउटा कोठाभित्र दुई ढाई घण्टा दर्शकलाई बाँधेर राख्ने क्षमता भएको तमाशा हो । दर्शक बाध्न सके चलचित्र सफल मानिन्छ बाध्न नसके असफल मानिन्छ । यो दुईतीन घण्टाभित्र चलचित्रले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह, हाँसो, आँशु, गीत आदि सबैलाई राम्ररी समेटिएको हुनु पर्दछ । कथालाई बाध्ने माध्यम हो द्वन्द्व । चलचित्रमा छोराहरुका बीचको द्वन्द्व एकातिर देखिन्छ भने अर्कोतिर बाउको द्वन्द्वले चलचित्रलाई गति दिदै गएको पाइन्छ । चुस्त पटकथाले द्वन्द्वलाई अल्मलिन दिएको छैन । नेपालीमा एउटा भनाई छ : तेरो बाउको बिहे देखाई दिन्छु । यही भनाईलाई निर्देशकले यथार्थमा देखाउन खोजेका छन् । यही बाउको बिहे देखाउने माध्यम चलचित्रको मुख्य विषयवस्तु बनेको छ । चलचत्रिले प्रस्तुत गरेको विषयवस्तुमा आजको समाजको मुद्दा जोडिएको छ । यो मुद्दा नेपाली समाजको मात्र नभएर सबै समुदायको हो । सन्तान लाखापाखा लागेर आमाबुवा विचल्लीमा पर्नु एकातिर छ भने अर्कोतिर एक्लो आमा वा बुवालाई साथी रोज्ने अधिकारबाट समाजको आडम्बरी भनाईको पछि लागेर सन्तानले बञ्चित गर्न खोज्ने वृद्धहरुको जीवनको समस्या भएर देखा परेको छ । चलचित्रले समातेको विषयवस्तुसँग दर्शकलाई कथासँग जोडेर राख्ने काममा प्रदीपको लेखन र निर्देशन दुवै सफल भएको छ । कथा अनुरुपको संवाद र अभिनयले दर्शकको ध्यान भडकिन दिएका छैनन् । यसमा कथा अनुरुपको पात्र–संवाद–अभिनय र वातावरणका बीच साँठगाँठ मिलेको हुनाले दर्शक अल्मलिन पाउँदैनन् । त्यसैले चलचित्र हेर्ने क्रममा विरलै दर्शक बाहिर गएको देखिन्छ । 

कथामा हरीबंश (बाउ) एक आदर्श पिताका रुपमा स्थापित भएका छन् । आकाश (काञ्छा छोरा) नेपालका प्रत्येक युवाको चाहना अनुरुप विदेश जाने सपना बोकेर नायिका (अन्जना) को डिपेन्डेन्ड भिसामा अष्ट्रेलिया जाने दाऊमा हुन्छन् भने रबिन्द्र सिंह (जेठो छोरा) आफ्नो बुवालाई आदर्श व्यक्तीका रुपमा उपस्थित गराएर उनलाई ईश्वरमा आरोपित गराउँदै पुस्तक निकालेर आफ्नो विद्यालय संचालनको व्यापारमा नयाँ पार्टनर खोज्ने धुनमा हुन्छन् । छोराहरुका लागि आफुलाई समर्पित गरेको बाउमो जीवनमा नाटकको रिहर्सल हेर्दा एउटा नयाँ मोडले जन्म लिन पुग्छ । अझ भनौं कथामा टुईस्ट आउँछ । नाट्य कलाकार (गौरी मल्ल) सँगको सामिप्यता र व्यवहार सौहार्दताले घनिष्ठता बढ्दै जान्छ । अनि त्यसपछि शुरु हुन्छ वास्तविक चलचित्र । प्रदीपले चुस्त पटकथा बनाएकोले प्रत्येक द्दश्यले न्याय पाएको छ । एकपछि अर्को घटनाका बीच अन्तरसम्बन्ध समन्वय गरेर तयार पारिएको पटकथाले मुल कथालाई बहकिन दिएको छैन । बाउलाई वृद्ध अवस्थामा अधितम् नेपालीलाई लाग्ने उच्च रक्तचाप र मधुमेहको रोगी देखाइएको छ । श्रीमती बितेपछि एक्लो भएका बाउ सुगालाई बोल्ने साथी बनाएका हुन्छन् । मानिसको एक्लोपनले घरमा पशुले स्थान पाउनु स्वभाविक हो

चलचित्रमा घटनासँग सम्झौता भएको देखिदैन । अर्थात छोराहरुको भविष्यका लागि बाउले सम्झौता गर्दैनन् बरु समाजका देखापरेको वृद्ध विवाहप्रतिको नकारात्मक सोचलाई बदल्ने काम गरेको देखाएको छ । यसले समाजमा सही हुन खोज्ने मानिसहरुको द्दृढ संघर्षको कथा देखाएको छ । यसले बाउआमाप्रति नियन्त्रण राख्न खोज्ने सन्तानलाई सोच्न बाध्य गराउने काम गरेको छ । यसले आजका पुस्ताहरुबीचको भावनालाई मुखारित गर्न खोजेको छ । मानिसको बाँच्ने ईच्छाशक्ती बढाउने काम गरेको छ । यसले दुई पुस्ताको भावनालाई देखाउँदै आफ्नो मर्यादा जोगाउन परिवारभित्र अराजकता सिर्जना गर्ने कुरा देखाएको छ । समग्रमा महापुरुष चलचित्रले नेपाली समाजको यर्थाततालाई देखाएको छ । यसले आजको समाजको कथालाई प्रस्तुत गर्दै त्यसबाट उब्जने उतारचढाव देखाएर दर्शकलाई जोड्ने काम गरेको छ । निर्देशक प्रदीप भट्टराईले एउटा समाजको अपच्य कथालाई रमाईलो तरीकाबाट हाँस्यको मसला मिसाएर प्रस्तुत गरेका छन् । चलचित्रले पात्रको अभिनयका माध्यमबाट दर्शकसँग समन्व्य गराएर भावनात्मक सम्बन्ध जोडेर अन्तरक्रिया गराएका छन् । यसमा उनी सफल पनि भएका छन् ।

प्रत्येक द्दश्यमा निर्देशको बलियो उपस्थिति रहेको छ । त्यसैले दर्शकलाई चलचित्रसँग जोडेर राख्न सफल भएको छ । आफु विदेश जानबाट बञ्चित हुने देखेपछि छोराको स्वार्थमा दर्शक बाउको पक्षमा देखा पर्न थाल्छन् । तर भाउजु (सीरु बिष्ट) बाट बाउको त्यागका कुराहरु सुनेपछि चलचित्रमा अचानक मोड (टुईस्ट एण्ड टर्न) आउँछ । अनि छोराले बाउको बिहे गराइ छाड्ने अठोट लिएपछि दर्शक पनि उतैतिर ढल्किन्छन् । यसरी नाटकीय दृश्यका साथ सुखान्त शैलीमा चलचित्र समाप्त हुन्छ । चलचित्रलाई सफल बनाउनमा कथा पटकथासँगै मित्र गुरुङ्गको संपादन पनि दृश्यानुरुप भएको छ । जसले दर्शकलाई कथासँग बाँधेर राख्न सफल भएको छ । निर्देशन गर्दा पटकथाले चाहेको ठाँउमा भीएफएक्सको प्रयोगलाई सहजतापूर्वक प्रयोग भएको छ । विशेष गरेर दुखान्त दृश्यको छायाङ्कनमा पानी परेको देखाउन प्रयोग उपयुक्त भएको छ । 

महापूरुषमा दुईवटा गीत राखिएको छ । एउटा मुख्य नायक हरिवंशमाथि राखिएको ‘बा…’ बोलको गीतलाई प्रख्यात कवि नवराज पराजुलीले लेखेका हुन् भने संगीतसँगै स्वर पनि रिदम कँडेलले दिएका छन् । अर्को राम अविरल विष्टले लेखेको ‘अब गुडाउ हामी’ गीतलाई संगीतकार एस.डी. भोगीसँगै रेश्मा पुनले स्वर दिएका छन् । कर्णप्रिय बनेका दुवै गीतहरुले कथालाई समेटेरको छ ।  चलचित्रले लिएको पाश्र्व संगीतले पनि दृश्यानुरुप न्याय गरेको छ ।

महापुरुषले धेरै अन्तरालपछि मानिसलाई हलभित्र तान्ने काम गरेको छ । यसको सफलतामा कथा–निर्देशन–अभिनयका बीचको तगडा समन्वय  रहेको छ । चलचित्रमा पटकथा महत्वपूर्ण अङ्ग हो । चुस्त पटकथाले चलचित्रलाई गति प्रदान गर्ने गर्छ ।  प्रदीप भट्टराईले आफै कथा लेखेको हुनाले लेखक (कथा–पटकथा–संवाद) भएर निर्देशकका सबै निर्देशहरु ईमान्दारीपूर्वक पालना गरेको देखिन्छ । कथाले मागेका पात्र रोजेर आएका मदनकृष्णको दिदी, हरिबंशको विद्यार्थी, आदर्श नगरको विक्षिप्त होस वा वृद्ध छिमेकी, अमेरिका जाने आसमा बाजा बजाउनेहरुको जमात, बाटोमा माँग्ने अन्धो र छोरा, मलमा ब्रेक डान्स गर्ने केटाहरुबाट लिएर दुलहा बनेको केटो र एउटामात्र संवाद बोलेर कथालाई नयाँ मोडमा धकेल्ने डाक्टर सबै पात्रहरुको अभिनय बेजोड रहेको छ ।

चलचचित्रको निर्माण मनोरञ्जनका लागि मात्र नभएर सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनहरूका लागि पनि गरिएको पाइन्छ । चलचित्रले समाजको नकारात्मकमात्र नभएर सकारात्मक पक्षहरुलाई पनि  प्रतिबिम्बित गरेको हुन्छ ।  मदनकृष्ण, हरीवंश, गौरी मल्ल, राजाराम पौडेल, अरुण छेत्री, सीरु बिष्टको अब्बल अभिनयले दर्शकलाई बाँधी राख्न सफल भएको छ । पहिलोपटक अभिनयमा आएका अरुणले पहिलो चलचित्रबाटै आफ्नो अभिनय क्षमता देखाई दिएका छने । निर्मातासमेत रहेका रविन्द्रसिंह बानियाले कथालाई बेला बेलामा गति दिदै उत्कषृतिर बढाउनमा सक्षम देखिएका छन् । सिरु विष्टको भूमिकाले कथामा टर्निङ्ग पोईन्ट अर्थात नयाँ मोड दिएको छ । उनको भूमिका छोटो भए पनि दमदार अभिनयले सबैको ध्यान तान्न सफल भएको छ । उनको संवादबाटै अरुणको चरित्रमा टुईस्ट आएको देखिन्छ । अनि उनी  बाउको बिहे गराउने अठोटमा आफ्नो बिहे दाऊमा राख्न पुग्छन् । यहाँ आएर कथाको गतिमा कौतुहलताले ठाँउ पाउँछ र दर्शक कथाको प्रतिफल हेर्न आतुर हुन थाल्छन् ।  नायिका अन्जना बरालीले आफ्नो उपस्थितिमात्र देखाएका छन् । मोटर साईकलमा बाउलाई लिएर गएको आकाशले स्पिडब्रेकरमा बाउलाई खसालेर आफुमात्र गएको दृश्य र पछि आफु एक्लै मोटर साईकलमा त्यही स्पिडब्रेकरनिर पुग्दा विस्तारै चलाउनुसँग अन्धो र उनको छोरोको दृश्यले प्रतीकात्मक अर्थ दिएको छ । डाक्टरले छोराहरु विदेशमा गएर बाउलाई एक्लै पारेको अनि बाउको मुख हेर्ने दिनमात्रै बाउलाई नहेरेर सधै हेरे यस्तो दिन आउदैन भन्नुको उपदेशात्मक संवादले दर्शकको आँखा रसाउन सफल भएको छ ।

चलचित्रमा महजोडीले हँसाउनेभन्दा बढी चलचित्रलाई अघि बढाउने काम गरेका छन् । यसको समसामयिक कथा, चुस्त पटकथा र पात्रानुसारको संवादले चलचित्रलाई अघि बढाउँदै लगेको छ । यो आजको समाजको कथा हो । आजको युगमा मानिसको जीवन शैली परिवर्तन भई सहेको छ । सबैलाई बाच्ने सहारा चाहिन्छ । यही सत्य तथ्यलाई चलचित्रले देखाएको छ । त्यसैले आदर्श भएर हैन खुशी अर्थात ह्याप्पी भएर बाँच्नु पर्छ भन्ने सन्देश दिन आदर्श नगर अन्त्यमा ह्याप्पी कोलोनी बन्न पुग्छ ।

यस चलचित्रका बारेमा वरिष्ठ साहित्यकार रंतथा गकर्मी किशोर पहाडीले चलचित्र हेरेपछि फेसबुकमा प्रशंसा गर्दै हँसाउने खित्का छुट्ने गरी अनि रुवाउने आँखा भिजाउने गरी भनेर स्टेटस लेखेपछि त्यसमा प्रलोस सिन्धुली थप्छन् : यस्ता नेपाली फिल्म दुर्लभै बन्छ । मोहन चापार्गा भन्छन् सामाजिक कहानी, घरघरको कथा । ईश्वर पोखरेल लेख्छन् : अन्त्यतिर भने बढी नाटकीय भए जस्तो लाग्यो । कपिल घिमिरे भन्छन् सबैले अभिनयमा न्याय गरेका छन् । पारीवारिक चलचित्र

अन्त्यमा, पहिलोपटक नेपालसँगै उत्तर अमेरिका र अस्ट्रेलियामा एकै दिन (नोभेम्बर ११) प्रर्दशन गराएर ‘महापुरुष’ ले नयाँ इतिहास रचेको छ । त्यसैले आप्रवासी नेपालीहरुले पनि एकैपटक चलचित्र हेर्ने अवसर पाएका छन् । क्यानडामा आयोजनाको जिम्मा लिएर सबै माध्यमबाट प्रचार प्रसार गराएर दर्शन बटुल्नेमात्र नभएर एउटा उत्कृष्ट चलचित्र हेर्ने मौका दिनु भएकोमा आयोजक टिमलाई हार्हिक धन्यवाद । (टोरन्टो)

प्रतिक्रिया