साँझ पर्न लागिसक्यो’

रजनी (कन्चन) मल्ल २०७९ कार्तिक २९ गते २२:४६ मा प्रकाशित

ढोकामा पुग्न नपाउदै “यो को आइमाई रहेछ यहाँ आएकी” भन्ने प्रश्न सुनेर एक छिन अचम्म परेर आमाको अनुहारमा हेरिरहन्छिन माया। आमा भने त्यहि प्रश्न डोर्याई डोर्याई सोधिरहन्छिन। बुबाले “तिनी हाम्री छोरी हुन् माया” तर आमा मान्न तयार हुदिनन। उल्टो तिनी मायाको बुबासंग प्रश्न सोध्छिन “तिमी को हौ त् ? तिमीलाई म चिन्दिन।” मायाले भन्छिन “उहा तपाइको श्रीमान, मेरो बुबा हो। म तपाइकि छोरी हु।” तर मायाकी आमा त्यो कुरालाई मान्न तयार हुदिनन भन्छिन तिनी “मेरो श्रीमान यस्तो बुढो छैन। मेरो श्रीमान त् राम्रो, फुर्तिलो, ह्यान्डसम छ। त्यो बुढोलाई बाहिर पठाइदिनु। मेरो कोठामा के गर्दै छ उ” भन्दै कराउन थाल्छिन् । तिमी पनि मेरो छोरी होइन मेरो कुनै छोरा छोरी छैनन्।” भन्दै तिनी आफुले बोकिराखेको ब्याग बाट लिपिस्टिक निकालेर लाउदै “साँझ पर्न लागि सक्यो ढिलो भएमा मेरी आमा रिसाउनु हुन्छ भन्दै छिटो छिटो ढोका तिर जान्छिन्। लाग्छअहिलेको साठी दशक लाई बिर्सिएर तिनी फेरि पहिलेकै युवा अवस्थामा फर्किए झैँ गरि। मायाको बुबा कन्चटमा हात हालेर एकछिन भुइमा टोलाएर हेरिरहन्छ। चाहेर पनि आफ्नी मनपर्ने श्रीमतीलाई अहिलेको परिवेशमा फर्काउन नसकी बेसहारा महशुस गरिरहे झैँ गरि।

माया आमालाई फकाई फकाई हात समातेर डोर्यायर खाटमा बसाउछिन । फेरि तिनी ढोकातिर जान्छिन। बल्ल बल्ल फकाएर खाटमा ल्याएर बसाउछिन आमालाई। आमा निकै थाकेकी जस्ती देखिन्छिन र घुप्लुक्क खाटमा सुत्छिन तिनी। रसाएका आखाहरुले एकपटक माया बुबालाई हेर्छिन्। बुबा पनि रसाएका आखाले छोरीलाई हेर्छिन्। मायाको आमालाई अल्जाइमर (बिर्सिने रोग) भएको पनि चार पाच बर्ष भैसकेको छ अब त्। शुरुशुरुमा अलिअलि मात्रै बिर्सीन्थिन। अहिले बढ्दै गएको छ। उपचार भए पनि त्यसलाई रोक्न नसकिने रहेछ। आज माया आमालाई भेट्न भनेर घरमा सबै बन्दोबस्त गरि धेरै समय पछि माइतिघर आएकी थिइन्। हुन् त् बुबाले तिनलाई आमाको बारेमा रोग चर्कदै गएको भनेता पनि आफैलाई नचिन्ने स्थितिसम्म पुगेको कुरा तिनलाई थाहा थिएन।

बुबाले मायालाई आमाको क्रमैसंग बिर्सदै जाने क्रम कसरि बढ्दै गयो भनि भन्दै जान्छन। अस्ताउन लागेको साँझको घामले झ्यालबाट चियाएर कोठाका भित्ताहरुलाई स्पर्श गदै बिदा लिन लागेको भान हुन्छ। त्यतिकैमा आमा बिउझिन्छिन र भन्छिन् “अहो साँझ पर्न लागिसकेछ। मेरो आमा मलाई कुरेर बसेकी होलान” भन्दै उठेर छिटो छिटो ति थाकेका असक्त पाइलाहरु ढोकातिर बढाऊछिन्।अनि माया र तिनका बुबालाई देखेर अचम्म मानेर हेर्दै भन्छिन् “तिमीहरु मेरो कोठामा कसरि आयौ ? तिमीहरु को हौ ? म पुलिसलाई बोलाउछु” भन्दै मोबाइल खोज्न थाल्छिन्। माया एकनाशसित बिबश आँखाहरुले आमालाई हेरिरहन्छिन्। यतिकैमा आमाले मायालाई हेर्दै भन्छिन् “यो मोटी आइमाईले मलाई किन त्यसरी हेरिरहेकी?” आफुलाई ‘मोटि’ भनेको सुनेर माया नहासी बस्न सक्तिनन र मुसुक्क हास्छिन तर तिनका आखाहरुबाट भने आशु बहिरहेको तिनलाई पत्तो नै हुदैन। यस्तै छ।

प्रतिक्रिया