काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ कार्तिक २६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३७” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षक अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २३ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत वसन्ततिलका छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई वसन्ततिलका छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~
::: वसन्ततिलका छन्द :::
~ १४ अक्षर हुन्छन्।
~ यसमा त, भ, ज, ज गण र अन्तिममा दुईवटा दीर्घ वर्ण हुन्छन्।
~ सूत्र :– ssi sii isi isi ss
उदाहरण :-
झारेर आँसु कसरी, मन याे हरेकाे
थाहै हुदैन मनमा, ममता भरेको ।ताराप्रसाद चापागाईँ
~~~~~~~~~~~~~~~~
अभ्यासकाे क्रममा सङ्कलन गरिएका वसन्ततिलका छन्दका केही टुक्का कविताहरू
[१]
हालेर भोट जनले कुन पो पठाए,
टेक्दैछ आज मुटुमा अब झन् डराए।
~ खग्रास
[२]
१.
लागेछ प्यास दिलमा खुब तिर्सनाकाे
लेख्दै छु आज कविता प्रिय सिर्जनाकाे ।
२.
यी हात पाउ यसरी श्रममा रमाऊ
देदीप्यमान बनी यश ओैँ कमाऊ ।
~ मीरा ज्ञवाली
बुटवल
[३]
१.
ज्ञानी बनौं न ! अब लौ हुनु हुन्न छुच्चो,
लेख्ने गरौं कलमको निब हुन्छ चुच्चो ।
२.
लाग्यो नि ! बादल उड्यो त पहाड माथि,
पानी नि ! पर्छ कि छिटो घर जाउँ साथी ।
~ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[४]
हाँसेर काँतर अझै नि छलेर गाछन्
पीडा अझै नयनमा कि तनाव भाछन् ।
~ प्रेम थापा “मन”
बागलुङ
[५]
सम्हाल इज्जत तिमी, सुपुत्रै बनेर
बेचिन्छ भूमि छलमा, डलरै गनेर ।
~ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[६]
यो देश एक जुट भै कन लौ बचाओ,
आमा रमाउनु छ है अब देश आओ ।
~ बिबस पारदर्शी
भद्रपुर झापा,
[७]
१.
झारे म आँशु किन ब्यर्थ भएर बग्याे,
याे जीवनै दुख छ जे गर लाै न ठग्याे ।
२.
छाडेर जान मन रैँछ यसै ल माया,
देखेर तै पनि गयौंँ ल त हेर्छु छाया।
~ शाेभा आचार्य गाैतम
काठमाडौ
[८]
छाडेर त्यो सहरमा किन आज आयौ
देखेर नै नजरले मन यो रुवायौ ।
~ बेदु न्यौपाने
काठमाडौ
[९]
बोकेर पीर मनमा जहिल्यै नबाचौं,
रोपेर क्रोध दिलमा कहिल्यै नहासौं।
~ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१०]
१.
आयो चुनाव घुमि देश सखाप पार्छन्
बढ्ने भएर महँगी जन आँसु झार्छन्
२.
नेता चुनेर जनले मन खिन्न पार्छन्
चुन्दा विकल्प नभए कसरी सपार्छन् ।
~ बाबुराम गौतम
गुल्मी
[११]
आनन्दमा छन सबै , रमिता छ धेरै,
नेताहरू अझ खुशी , जय भन्छ मेरै।
~ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग, भारत।
[१२]
१.
नेताहरू घरघरै मत माग्न आए,
गर्दै कुरा किसिमका जनता फकाए ।
२.
गल्ती हुँदैन अब भन्छ अगाडि जस्तो,
बिन्ती पुन: मत दिनोस् ठग रुन्छ कस्तो ।
~ वसन्त अनुभव
घाेराही, दाङ
[१३]
पाखा सबै शिखरमा खुब सान लिन्छौ
माटो भनेपछि तिमी पनि ज्यान दिन्छौ ।
~ आर्त अकुलीन
कैलाली
[१४]
नारा मिठा मधुर दिsव्य लिएर आए
नेता उनै घरघरै मत माग्न धाए।
~ सुर्यमणी रेग्मी
[१५]
ढाँटेर आज यसरी जुन भोट माग्छ
जितेर जान्छ पछि ता सुन चोट लाग्छ ।
~ गुणनिधि घिमिरे
[१६]
१.
हानेर त्यो नजरले मुटुमा छ माया
छोडेर छैन मन जान छु साथ छाँया
२.
बिर्सेर जान्छु म कतै जब लाग्छ गाह्रो
तिम्रो छ याद मुटुमा तब लाग्छ प्यारो ।
~ तारा घिमिरे
सङ्खुवासभा
[१७]
नाता प्रमाणित गरेँ, मिति एक खोजी,
वाचा गरेर रहरे, तिथि शुद्ध रोजी।
~ म्यामराज राई
हतुवागढी -६, होम्ताङ्, भोजपुर
[१८]
तिम्रो हुँदा मिलन साथ भुलेर टाढा,
माया बढेर सब हुन्छ चुलेर गाढा ।
~ भगवती दवाडी
झापा
[१९]
मागेर नोट तनले खुन पो उठायौ
देखेर भोट नरले धुन त्यो छुटायौ।
~ जमुना आचार्य
सिन्धुपाल्चोक
[२०]
१.
मान्दैछ झोँज दुनियाँ मतदानलाई
नेता उदार दिलको तगडा नपाई।
२.
यो देशमा कहर शोषणको छ चर्को
हिड्छन् युवा र युवती परदेश लर्को।
~ रामशरण न्यौपाने,
भक्तपुर
[२१]
१.
लाग्दा चुनाव किन यो मन हर्ष छैन
जित्नेछ धूर्त पुन त्यो शुभलो हुँदैन ।
२.
चुन्दैछ राष्ट्र अहिले नव जोश ल्याई
यो स्वर्गभूमि धमिलो नरहोस् बधाइ ।
~ चूडा निर्भीक
[२२]
लौ उम्र आँगनभरी गमला भरेर,
माली म हुन्छु बरिलै मुटु झै चलेर।
~ होम प्रसाद नेउपाने
धरान
[२३]
काटेर हात किन पाइनँ आँसु झारी
ढाँटेर जान कुन को परि ठाउँ बारी ।
~ अम्विका अधिकारी
झापा विर्तामोड
:::: जय टुक्का! जय साहित्य!! ::::
प्रतिक्रिया