मोरङ ४(२) प्रदेश सभा निर्वाचमा पूर्वमन्त्री र निवर्तमान महानगर प्रमुख बीच तीव्र प्रतिस्पर्धा

मनोज दाहाल २०७९ कार्तिक २५ गते २३:४७ मा प्रकाशित

विराटनगर,२५ कात्तिक । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नं ४‘२’मा प्रदेश सभाका उम्मेदवारहरुले सडक, सुकुम्वासी समस्या समाधान गर्ने आश्वासन दिई जनतासंग विजयी गराउन आग्रह गरिरहेका छन् ।

उनीहरुले घरदैलो, कोण सभा आयोजना गरी जनतालाई उधारोमा समस्या समधान गर्ने प्रतिवद्धता व्यक्त्त गरिरहेका छन् ।

उम्मेदवारहरुले जनताको घरदैलो एवं कोण सभाको आयोजनामा आगामी दिनमा जनताको समस्या समाधान गर्नुका साथै कुनै पनि गुनासो आउन नदिने , विजयीप्रछि पुनः जनताको घरदैलोमा जानुका साथै सेवकको रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त्त गरिरहेका छन् ।

यस क्षेत्रवाट जनता समाजवादी पार्टी, नेपालबाट संजयकुमार सिंह राजपुत, पूर्व गृहराज्यमन्त्री भिमबहादुर राजवंशी,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माधवप्रसाद आचार्य, नेपाली कांग्रेसबाट निवर्तमान विराटनगर महानगर प्रमुख भीम पराजुली, नेकपा एमालेवाट प्रदेश नं १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे,लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नासिन खातुन , जनमत पार्टीका अनिलकुमार झा,मंगोल नेशनल अर्गनाईसन पार्टीका शुभराज राई एवं स्वतन्त्र दुई गरी नौ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिस्पर्धा गरिरहनु भएको ४ नं निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

यस क्षेत्रबाट उम्मेदवार रहनु भएका प्रदेश नं १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले विगत कोभिड महामारीका मतदाताहरुलाई पुर्याएको सेवा,कोशि कोभिड अस्पताल निर्माण , एक विद्यालय एक नसिंङ सेवा , सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच,विराटनगरमा रहेको शहीद रङ्गशालामा फ्ल्ड लाईट जडान,सडक निर्माण, ग्रामथानमा निर्माणाधीन जेष्ठ नागरिक आश्रम लगायतका कार्यहरुको विवरण जनता समक्ष पेश गरिरहनु भएको छ ।

यसैगरी महानगरपालिकाका निर्वतमान प्रमुख भीम पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकुलको सुविधिसम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको शौदन्र्यकरण,कोभिड महामारीमा निःशुल्क एम्वुलेन्स, शव वाहन र अक्सिजन सेवा,नगरका विद्यालयहरुमा अग्रेजी माध्यमबाट पठनपाठन लगायतका कार्य रहेको जनतामा समक्ष पुर्याइरहनु भएको छ।

विराटनगर महानगरपालिकाको वडा नं १,२,३,८ र १० कटहरी गाउँपालिकाको वडा नं १,२ र ३ रहेको यस क्षेत्रमा पहाडी, मधेशी र आदिवासी राजवंशी समुदायको मिश्रित बसोवास रहेको छ ।

यस क्षेत्रमा महिला २५ हजार ३२४ , पुरुष २५ हजार ३७९ गरी ५२ हजार ७०३ मतदाता रहेका छन् भने ४० मतदान स्थलमा १२२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनु भयो ।

विसं २०७४ को प्रदेश सभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका जीवन घिमिेले १३ हजार ८०५ मत ल्याई विजयी हुनु भएको थियो भने भने उहाँको प्रतिद्धन्दीमा नेकांका विश्वनाथ रिजालले ११ हजार ६२५ र सङ्घीय समाजवादी फोरम नेपालका श्रीराम कामतले तीन हजार ६२१ मत ल्याएका थिए ।

गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नं १,२,३,८ र १० को वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको थियो । यसैगरी कटहरी गाउँपालिकाको वडा नं १ र २ मा नेकपा एमाले र वडा नं ३ मा नेकांले वडाअध्यक्षमा विजयी प्राप्त गरेको छ।

गत स्थानीय तहमा नेकपा एमालेबाट विजयी विराटनगर महानगरपालिकामा वडा अध्यक्षहरुले आठ हजार ५२९ मत ल्याएका थिए भने नेकांका अध्यक्षका उम्मेदवारहरुले पाँच हजार ८४४ मत प्राप्त गरेका थिए ।

यसैगरी कटहरी गाउँपालिकामा नेकपा एमालेका विजयी दुई वडा अध्यक्ष सहित तीन जनाले दुई हजार ५५४ मत प्राप्त गरेका थिए भने नेकांले एक वडा अध्यक्ष विजयी सहित तीन जनाले दुई हजार ६२४ मत प्राप्त गर्न सफल भएका थिए ।

मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिंचाईको सुविधा , समयमा मलको व्यवस्था, युवाहरुलाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योगस्थापना गरि रोजगारीको सिर्जना गर्नु पर्ने माग रहको छ।

निर्वाचनमा विजयी भएपछि फर्केर नआउने,भेट हुन समस्या हुने, मतदाताको समस्याको थुप्रो समाधानमा अनिच्छुक हुनु आदि रहेको विराटनगर –४ का ७८ वर्षिय मतदाता केशव अधिकारीको मुख्य गुनासो रहेको छ।

नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार घिमिरेले कामको मूल्याङकनको आधारमा मत दिने भएकोले जनताताले विजयी गराउने सुनिश्चित रहेको दावी गर्नु भयो ।

यस्तै नेकांका उम्मेदवार पराजुलीले विगतमा महानगरपालिकाकाको प्रमुखको अवस्थामा गरेको कार्य , सुशासन, कोभिडको समयमा दिनरात नभनी जनताको स्वास्थ्यलाई प्राथिमिकता दिएको कारण विजयीमा कुनै कुरा कुनै शंका नरहेको विश्वास जनाउनु भयो ।

कटहरी गाउँपालिका वडा नं २ का गृहणी मतदाता कमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालवालिकाहरुलाई रोजगारीमुलुक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलव्ध गराउने उम्मेदवारलाई मत दिने बताउनु भयो ।

पूर्वराज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार भीमबहादुर राजवंशी यस क्षेत्रका लागि सङ्घीयता स्थापनामा भूमिका,नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त्त गर्नु भयो ।

यस पटकको उम्मेदवारहरु निर्वाचनको प्रचारप्रसारको क्रममा अनुशासन देखिएको छ । जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिका संयोजक तनुजा पोखरेलले अनुगमनको क्रममा विगतको भन्दा दलहरुको व्यानर, झण्डा लगायतका निर्वाचनका प्रचार प्रसार सामाग्रीहरु अचार संहिता उल्लङ्घनको कार्य न्यून देखिएको बताउनु भयो ।

निर्वाचनको मतदान कार्य मङ्सीर ४ गते विहान ७ बजेदेखि साँझ पाँचबजेसम्म हुने छ ।

-मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया