अनेसास स्पेनले  मनायो लक्ष्मीजयन्ती

इनेप्लिज २०७९ कार्तिक २५ गते २२:५० मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )स्पेन च्याप्टरले हालै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रममा हालै दिवंगत हुनु भएका शताब्दी पुरुष सत्यमोहन जोशी एवम् मानवशास्त्री ओम गुरुङप्रति श्रद्धाञ्जली अर्पण पनि गरेको छ ।


कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदान गर्नुको साथै रचना वाचन पनि गरिएको थियो । लोक प्रिय कथा वाचक तथा अनुपम स्वरका धनि साइग्रेस पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अनेसास स्पेन च्याप्टरका अध्यक्ष ओमर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । दिनेश रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा , शताब्दी पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री ओम गुरुङ ज्यूको तस्वीरमा माल्यार्पण गरिएको थियो । उक्त कार्यक्रममा संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री ओम गुरुङको योगदानलाई स्मरण गर्दै उहाँहरुको दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । उपस्थित सम्पूर्ण अतिथिहरुलाई अनेसासकी सक्रिय महिला सदस्य निर्मला तिवारीले स्वागत गर्नुभएको थियो भने तमु समाजका अध्यक्ष गौतम गुरुङले मानवशास्त्री डा. ओम गुरुङका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तैगरी च्याप्टरका संस्थापक अध्यक्ष शारदा पौडेल ” निशा”ले शताब्दी पुरुष सत्यमोहन जोशीका बारेमा र निर्मला तिवारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिकराम डुम्रेले अनेसास स्पेनले राम्रो कार्यको शुरुआत गरेको र अझै यस्ता कार्यक्रमहरु गर्दै जाओस् भन्दै शुभकामना दिनुभएको थियो । मन्तव्यका क्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष हेमन्त रानाभाटले अनेसास स्पेनको प्रगतिको कामना गर्नुभएको थियो । त्यस्तै गरी अन्तर्राष्ट्रिय कलाकार संघ स्पेनका अध्यक्ष डिक कार्की , जन प्रगतिशिलका अध्यक्ष विशाल ढुंगाना, स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष विमल गुरुङ, कास्की समाजका अध्यक्ष पुष्प केशी र पर्बत समाज स्पेनका सल्लाहकार गंगा भुषालले शताब्दी पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री डा ओम गुरुङलाई श्रद्धा सुमन अर्पणगर्दै अनेसास स्पेनको प्रगतिको कामना गर्नुभएको थियो भने आ- आफ्ना रचना वाचन गरेर सुनाउनु पनि भएको थियो । एन आर एन ए स्पेनकी महिला संयोजक देवी भण्डारीले यस्ता कार्यक्रम बालबालिकाहरुलाई बढी प्रभावकारी हुनेहुनाले यस्ता कार्यक्रमहरु गरिरहनुपर्ने कुरामा जोडदिनुभएको थियो भने महाकविका बारेमा कविता वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै गरेर क्षेत्री समाजका अध्यक्ष ओम बानियाँलगायत अन्य अतिथिहरुको पनि बाक्लो उपस्थिति थियो ।

मन्तव्यकै क्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका संयोजक सन्तोष पौडेलले अनेसास स्पेनले गरेको कार्यक्रमको तारिफ गर्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि साइग्रेस पोखरेलले अनेसास स्पेनले अरु नयाँ प्रतिभा जन्माउने आशा गर्दै अब संस्थामा युवाहरुको बाहुल्यता हुनुपर्ने कुरामा जोड दिँदै सबैलाई मन्त्रमुग्ध बनाउँदै कविता वाचन गर्नुभएको थियो ।उक्त कार्यक्रममा अनेसास केन्द्रबाट चलाइएको बालतारा कार्यक्रम अन्तर्गत पुरस्कृत हुनुभएका बालतारा अदिती रेग्मी एवम् लिदिया भुसालको प्रसंशा तथा प्रमाणपत्र कार्यक्रम संचालक दिनेश रेग्मीले पढेर सुनाउनुभएको थियो । अन्त्यमा अनेसास स्पेनका अध्यक्ष ओमर गुरुङले आफ्ना मन्तव्य राख्दै मर्मस्पर्शी कविता वाचन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम संचालनको पूर्व तयारी साथै सम्पूर्ण प्राविधिक व्यवस्थापन पर्वत समाजका अध्यक्ष अनन्त लामिछाने र आशबहादुर गुरुङ (बुद्ध )ले गर्नुभएको थियो ।

प्रतिक्रिया