रेतको  रीत

- कृष्ण शर्मा २०७९ कार्तिक २२ गते १०:४२ मा प्रकाशित

कृष्ण शर्मा

टेक्सासको प्राथमिक बिधालयमा घटेको गोलि कान्डको तिन महिना पनि नबित्दै अनुमति पत्र भएको खन्डमा खुला रुपमै हतियार लिएर हिड्न पाइने अमेरिकाको मिसिसिपि राज्यबाट सरुवा भई आएको मेरो अफिसमा काम गर्ने एक साथिले भर्जिनियामा लुकाएर हिड्न मिल्ने हतियारको अनुमति कसरि लिने होला भनी मेरो राय माग्यो। “मलाइ त यस बारे केहि थाहा छैन त” भन्दा उसले मलाइ यसरी हेर्यो मानौं म अर्कै ग्रहबाट आएको (अ)मानिस थिएं। उसलाइ लागेको हुंदो हो म संग पनि हतियार छ र मैले यो देशको संबिधानमा भएको दोस्रो संशोधनले प्रदत्त गरेको अधिकारको पूरा प्रयोग गरिरहेको छु। मैले त आज सम्म त्यस बारे सोचेको सम्म पनि छैन भन्दा उसले भन्यो, “प्राप्त अधिकार तथा स्वतन्त्रताहरु प्रयोग गरिएनन भने गुम्ने डर हुन्छ। त्यसैले बन्दूक नचलाए पनि किनेर राखि राख्नु उत्तम हुन्छ। के थाहा, प्रतिरक्षाको लागि प्रयोग गर्नुपर्ने दिन पनि त आउन सक्छ।” उसको कुरा सोह्रै आना सहि थियो तर पनि मैले शब्दमा ‘तिम्रो कुरा ठिक हो’ भन्न सकिन। म गएको मई महिनामा मात्रै घटेका दर्जनौं नसंहारकारी घटनाले नराम्ररि गिजोलिइसकेको थिएं। टुटिसकेको थिएं। दुखिरहेको थिएं।

सरकारी तथ्यांकका अनुसार यो वर्ष नोवेम्बरको ७ तारीख सम्ममा मात्रै ३७८६१ जनाको ज्यान जाने गरी ५८७ पटक सम्म गोलि काण्ड भएका रहेछन अमेरिकामा। ति मध्ये ४२ वटा गोलि काण्ड त स्कूलमा मात्रै घटेका रहेछन। २०२० सालमा ४६ हजार भन्दा बढि मानिसको मृत्यु बन्दुकको कारणबाट भएको रहेछ। यो बर्ष संघिय सरकारले बन्दुकबाट हुने हिंसा रोक्न तुरुन्तै कडा कानून ल्याएन र हत्याको यो शिलशिला यसरि नै कायम रहेमा ५० हजार भन्दा बढिले बन्दुकबाट हुने हिंसाको कारण आफ्नो ज्यान गुमाउने खतरा रहने छ।

अधिकार तथा स्वतन्त्रताहरु प्रयोग गरिएनन भने आवश्यक नठानिन सक्छन। संबिधानमा संशोधन हुन सक्छ र ति अधिकार तथा स्वतन्त्रताहरु गुम्ने डर हुन्छ। तर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाइ निष्फिक्रिका साथ प्रयोग गरिएकोले नै हुनुपर्छ, एक अर्को अध्ययनका अनुसार, अमेरिकामा २०१५ देखि २०१९ सम्मको समय अवधिमा प्रत्येक दिन औसतमा ३१६ जना उपर बन्दुक चलाईयो जस मध्ये १०६ जनाले दैनिक रुपमा ज्यान गुमाए, र २१० जना घाइते भई बांचे। केहि महिना अघि मात्रै न्यु योर्कको बफेलो नाम गरेको शहरको एउटा किनमेल केन्द्रमा एक ब्यक्तिले गोलि चलाउंदा मात्र तिस सेकेन्डको अवधिमा १० जना निर्दोष अश्वेत अमेरिकि नागरिकहरुको असमयमै निधन भयो। कैयौं घाइते भए। ति घाइतेहरुले जीवन भर एउटा नमिठो क्षणलाइ बिर्सन नपाई बाच्नुपर्ने छ। मृतकका परिवारजनले त्यो दिनलाइ हरेक वर्ष रुंदै सम्झनु पर्ने बाध्यता हुने छ। मानसिक क्षतिको त कुरै नगरौं।

जिम्मेवारी बिनाका केहि स्वतन्त्रताहरु मानव जीवनका लागि भारी सिद्ध भएका उदाहरण खोज्न टाढा कतै पुग्नै पर्दैन। तपाइ हामि सामु बग्रेल्ति छन। टेक्सासको स्कुलमा भएको गोलि काण्ड पछि मानसिक रुपमा म जस्तै थिलोथिलो भएकि मेरो छिमेकी शिक्षिका भन्छिन पढाउने इच्छा हुदा हुदै पनि उनि अर्को शैक्षिक सत्र देखि जागिरबाट सन्यास लिनु बाहेक अर्को बिकल्प छैन। “यो घर बेचेर अलिक टाढा गई सानो घर किन्छु र बाँकि रकमले बाँकि जीवन बांच्दछु। बांच्नकै लागि मात्र पनि यसरि डरले दिन दिनै मर्न सकिंदो रहेनछ।”

म हातहतियार राख्न र प्रतिरक्षाको लागि साथमा लुकाएर हिड्न पाउने अधिकारलाइ स्वतन्त्रताको नाममा प्रयोग गर्ने वाला थिईन र छैन पनि।

हामी सानो हुंदा स्वच्छन्द हुन चाहान्थ्यौं वा स्वतन्त्र म यसै ठोकुवा गरेर भन्न सक्तिन। तर गाउंका साथिभाइहरुसंग सांझ पख खेल मैदानमा भकुन्डो खेल्न शुरु गर्नै लाग्दा जब ठुल्दाजुले बारीमा सब्जि तथा फलफुलका बिरुवामा पानि सिंचाइ गर्ने बेला भयो भनी बोलाउनु हुन्थ्यो तव हामि दुबैका अनुहारमा एकै पटक दिक्कताका भावहरु सोहोरिएर आउंथे। मलाइ आज पर्यन्त थाहा छैन हामि स्वतन्त्र भई साथिहरु संग खेल्न नपाएकोमा दिक्किएका हुन्थ्यौं वा घरको काम कर्तब्य प्रति बेफिक्र रही स्वच्छंद हुन नपाएकोमा। तर हामि खेल मैदानमा छिटो फर्कने लालसामा रिस नमर्दै पोखरीबाट बाल्टि का बाल्टि पानि डोरिको सहयोगमा आवस्यकता भन्दा बढि बारीभरि सिचांइ गर्थ्यौं अनि हतार हतार मैदान तिर दगुर्न थाल्थ्यौं। ठुल्दाजुले भने फेरि अर्को काम थपेर फर्काउनु हुन्थ्यो, “यत्तिकै फेरि उफ्रिन जान पाउंला भनेका हौला। भोलि बिहानै सेमरा धान कुट्न जानु छ। अब यि बोराहरु लडियामा हाल्नु पर्छ। जाओ अंध्यारो नहुदै भुप बहादुरलाइ खेतबाट बोलाएर ल्याओ र बोरा उचालेर उसलाइ सहयोग गरओ “। थपिएको काम गर्दा गर्दै रात पर्थ्यो। सांझको खाना खांदा मात्रै होइन बिस्तारामा सुत्न जांदा सम्म पनि हाम्रो रिसले भरिएको दिक्दारि मरिसकेको हुन्थेन। हजुरआमा बुझक्कि हुनुहुन्थ्यो। उहाले हाम्रो आन्दोलित मनलाइ भुलाउन सुत्ने बेलामा कहिले सुटुक्क मिस्रीका टुक्रा, कहिले मिठाइं, कहिले फलफुल आदि दिनुहुन्थ्यो। त्यो एक दिनको मात्र कुरा थिएन। उक्त उपक्रम दैनिकी जस्तै भएकोले बिहान स्कूल जांदै गर्दा बाटोमा सहपाठि साथिहरुले जिस्काउंथे, “तिमिहरुको ठुल्दाइ आफुले केहि खेल्न जान्दैन त्यसैले तिमिहरुले खेलेको हेर्न सक्दैन र ईर्श्या गर्छ।”

घर आएर दिउसोको खाजा खांदा हामिले हजुरआमालाइ सोध्थ्यौं, “ठुल्दाजुले हामिले फूटबल, भलिबल आदि खेलेको किन मन पराउनु हुन्न?” हजुरआमाले आलटाले जवाफ दिनुहुन्थ्यो।

उक्त शृंखला कलेज शुरु हुने समय सम्म चल्यो। अझ अगाडि गएर भन्नु पर्दा २०४८ साल तिर माइलोदाजुको बिहेको जन्ति जाने दिन सम्म चल्यो। त्यो दिन तराइको हाम्रो घरमा बिहेको रमझम थियो। घर भरि पाहुना हुनु स्वाभाविक नै भयो। फागुन महिनाको अन्तिम साता भएकोले हल्का गर्मि शुरु भैसकेको थियो। त्यसदिन बिहान अचानक जमीनमुनि गाडेको ह्युम्पाइपको धाराबाट पानि आउन छोड्यो। बिहेको समयमा पानि नभए पछि अप्ठेरो हुनु स्वभाविकै थियो। ठुल्दाजुले सुशिल र मलाइ अर्को ठाउबाट पानि निकाल्नको लागि नयाँमील भन्ने ठाउमा गएर चार वटा बिस फुटे फलामका पाइपहरु दुइवटा साइकलमा बाँधेर ल्याउन भन्नु भयो। पाइप गाड्ने मिस्त्रिहरु गाउंमै थिए। “आफु भन्दा ठुलाले दिएको काम अस्विकार गर्ने स्वतन्त्र संस्कार थिएन। जाने मन नहुंदा नहुंदै पनि ध्रुब काकाको साइकल मागेर हामि पाइप ल्याउन भनी दुइ वटा साइकलमा हुइंकियौं। हाम्रो क्षमता भन्दा गह्रुंगा थिए ति दुइ इन्च डायमिटर भएका चार वटा बिस फुटे फलामे पाइप। बिच बाटोमा आउदा नआउदै पसलेले बांधिदिएको डोरी फुस्कियो। हामिले जति कोशिस गरी बलियोसंग बांधेपनि छिन छिनमा साइकलका डंडिबाट पाइपहरु फुस्कीरहे। जन्ति जाने बस छुट्छ कि भनेर म चिन्तित भएको जस्तो कुरा सुनेर सुशिलले रिसाउंदै भन्यो, “भांडमे जाए जन्ति।” म यदाकदा सबैले महशुस गर्ने गरी रिसाउथें तर सुशिल रिसाएको कसैले पनि देखेका थिएनन। मैले मेरो भाइ डरलाग्दो गरी रिसाएको देखेको त्यो पहिलो पटक थियो।

दुइ वटा साइकलमा दुबै तर्फ दुइ दुइ वटा फलामे पाइप बाधेर डोर्याउंदै पसिनाले निथ्रुक्क भिज्दै घर सम्म ल्याउदा सांझको पाँच बज्न लागेको थियो। अहिलेको जस्तो तार रहित सेल फोनको ब्यवस्था भएको भए हामिलाइ शायद छिटो छिटो आउन आदेश गईसकेको हुन्थ्यो होला। घरमा आउनासाथ जन्ति जान ढिला भयो किन ढिलो गरेको भनेर ठुल्दाइले उल्टै हप्काउन के थाल्नु भएको थियो हजुरआमा लगायत सबै आमा, काकि र दिदीहरुले उहालाइ गालि गर्नु भयो, “बिहेको दिन आफुहरु ठालु पल्टिएर यि साना भाइहरुलाइ त्यति अफ्ठेरो काममा पठाउने अनि ढिला गरे भनेर हप्काउन थाल्ने? काम गर्ने मान्छे खोजेर पठाउन सकिंदैनथ्यो?”

त्यसपछि शुशिल र म दुबैले सल्लाह बिनै संयोगबश एकै पल्ट “भांडमे जाए जन्ती…” भन्दै भान्सामा गएर भोक लागेको छ केहि खान दिनुस भन्यौं। मैंया दिदिले हामिलाइ मन पर्ने सेलरोटि, कांक्रोको अचार र मासु दिनु भयो अनि बाहिर निस्केर बसमा बसेर जान लागेका सबै जन्तिहरुले सुन्ने गरी भनिदिनुभयोः बाबुहरु थाकेर भोकै आएका छन। खाना खांदै छन। नुहाउनु पर्यो। कपडा लगाउनु पर्यो। “भांडमे जाए जन्ती” भन्दै छन बिचराहरु। हजुरहरु गए हुन्छ कुर्ने समय नभए। उनिहरु यहिं बस्छन। अरुको बिहेमा कहिल्यै सुबिस्ता साथ जाने भाग्य रहेनछ यिनिहरुको, आफ्नै बिहेमा सुबिस्ता साथ जालान।

पढेको मान्छेको सभ्य ताल भनेको शायद यहि थियोः मैया दिदिको कुरा सुने पछि ठुलोबुबा बसबाट निस्केर सिधै भान्सामा आउनु भयो र आफुलाइ यसबारे केहि थाहा नभएको भन्दै सबैभन्दा पहिले हामिसंग क्षमा माग्नु भयो। बिचमा बसेर पसिना नओभाएका हाम्रा कांधमा हात राख्दै भन्नु भयो “अहिले नुहाउनु पर्दैन। खाना खाए पछि दुबैले कपडा लगाउ अनि संगै जाने।”

ठुलोबुबाले, जो हामी दुबैका गायत्री मन्त्र सुनाउने गुरु पनि हुनुहुन्छ, त्यति भने पछि हामि दंग। हाम्रो रिस तत्कालै मरिहाल्यो। बाहिर निस्केर उहांले ठुल्दाजुलाइ, ‘अब आइन्दा यि पढ्ने छोराहरुलाइ अनावश्यक काममा लादेर बढि सताउने होइन। बुझ्या हो। आफुले भनेको कुरा काट्न सक्दैनन भनी यो हद सम्म गएर कजाउने?” भन्दै हप्काउनु भयो। राजनितिक सभा समारोहहरुमा अन्तिममा आउने प्रमुख अतिथिलाइ जस्तो गरि हामि कपडा लगाएर गाडिमा जाँदा ठुलोबुबाले स्वागतमा ताली पड्काइदिनु भयो अनि अरुले पनि तालि पिटे। हामि फेरि दंग। त्यस दिन देखि हामि स्वतन्त्र भएको महशुस गर्यौं। बिवाह स्थल दांग जिल्लाको सदरमुकाम लमहीमा प्रेम दाजु र शम्भु भिनाजुसंग जीवनमै पहिलो पटक ‘ह्या… हामि मात्रै कति पेलिने भन्ने सम्झिएर’ बीयर समेत पियौं।

शायद स्वतन्त्रता र स्वच्छन्दताका अनुभुतिहरु संगसंगै लिएकोले यि दुइ नितान्त फरक कुराहरु एउटै हुन कि भन्ने भ्रम धेरै समय सम्म रहिरह्यो।। ठुल्दाजुले शायद माइलोदाजुको बिहेको समयसम्म हामिलाइ काममा जोत्ने स्वतन्त्रतालाइ स्वच्छन्द साथ अलिक बढि नै प्रयोग गर्नु भएको थियो कि? हामिले पनि भर्खर प्राप्त स्वतन्त्रतालाइ पेय पदार्थमै पुर्याएर अलिक बढि नै स्वछन्द हुन खोजेका थियौं कि?

स्वतन्त्रताको बेरोकटोक एबम लगामहीन स्वच्छन्दताले मलाइ भड्कायो; केहि समयको लागि नै सही तर जंड्याहा बनायो। कसलाइ रहर हुदैनहोला जीवनको चाप रहित वायुमण्डलमा पुगेर चील जस्तै आफ्ना स्वतन्त्रताका पखेटा फैलाइ अनन्त सम्म तैरिने उत्कट अभिलाशा? कसलाइ रहर हुदैन होला जीवनको संलो पानीमा माछा जस्तै बेरोकटोक पौडीरहने इच्छा?

हामि सम्झन्छौं स्वतन्त्रता निशुल्क प्राप्त हुन्छ र यसले सबथोक दिन्छ। तर हामिले कहिल्यै सम्झन सक्दैनौ कि यसले जिम्मेबारिता बहन गर्ने क्षमताको माग गर्दछ! र यसलाइ निरन्तर सम्हाल्न सक्नु पर्छ।

जव हामि स्वतन्त्रतालाइ सम्हाल्न सक्दैनौ तव यसको बोझले हामिलाइ पीडा दिन्छ।स्वतन्त्रताको कुरा राजनितीमा मात्र लागु हुन्छ भन्ने भ्रम पालेर मानिसहरुले आफुलाइ चिन्न नसकिरहेको अवस्थामा आजको समय गुज्रिरहेकोछ। ब्यक्तिगत जीवनमा पनि स्वतन्त्रताको चाहना गर्नु र प्राप्त गर्नु एउटा कुरा हो। तर त्यसको उच्चतम उपयोग गर्नु भन्दा ठुलो चुनौति केहि हुदैन।

कल्पना गरौंः के सुशील र मैले बिवाहको दिनमा परिवारको सदस्य भएको हैसियतमा ति फलामे पाइपहरु नल्याएको भए ठुलोबुबाबाट त्यो प्रेम र स्याबास पाउंथ्यौं होला?

हिन्दुहरुको महान ग्रन्थ गीतामा भगवान कृष्णले भने जस्तै जुनसुकै स्थान वा परिस्थितिमा किन नहोस हामीले फलको चाहना नगरिकनै कर्म गर्नु पर्छ। सुकर्मको फल आनन्ददायि क्षण बनेर आउंछ। कुकर्मको फल पीडा बनेर। स्वतन्त्रतालाई गलत तरिकाले प्रयोग गरेको खन्डमा त्यसले पीडा नै दिन्छ।

तर सबै कर्महरु सधै माथिको परिभाषामा समेटिन सक्दैनन। बन्दुक राख्न र प्रयोग गर्न पाइने स्वतन्त्रताको मुद्दाले शतकौं देखि अमेरिकि राजनितीलाई यति जकेडेर राखेको छ कि यहि मुद्दा प्रत्येक राष्ट्रपतिय, सीनेट तथा संघिय एबम राज्य स्तरका हर चुनावमा पेचिलो विषय बनेर रहेको छ।

मानसिक अवस्था ठिक नभएको, कस्तो अवस्थामा बन्दुक चलाउने/नचलाउने निर्णय गर्ने उमेर भइनसकेको, अपराधिक मनस्थिति भएको ब्यक्तिले बन्दुक पाउदा भएका र हुने दुर्घटनाहरुले हरेक दिन समाचार पत्रहरु भरिएको हुने अवस्थामा म कसरि प्राप्त अधिकार तथा स्वतन्त्रताहरु नगुमाउन बन्दुकको पक्षधर बनुं?

त्यो स्वतन्त्रता जसले जीवन हरण गर्छ, जसले महिला पुरुषलाइ असमयमै बिधवा र बिधुर बनाउछ, जसले बालबालिकाहरुलाइ टुहुरो बनाउछ, जसले समाजलाइ नै बिटुलो बनाउंछ, जसले बाचेकाहरुलाइ मानसिक शिकार बनाई जीवनको रेतमा बेरस बांच्न बाध्य बनाउंछ त्यस्तो प्रकारको हिंस्रक स्वतन्त्रतालाइ कसरि ब्यवस्थित गर्ने?

अमेरिकि राजनिती मध्यावधि चुनावमा जांदै गर्दा बफेलोको जातिवादि घृणायुक्त हिंसाले केहि समय गम्भिर मन्थन र चर्चाका लागि फेरि खुराक छोडेर गएको छ। तर जव चुनाव सकिन्छ वा अरु पेचिला विषयले क्रमशः प्रवेश र प्राथमिकता पाउंछन यो मुद्दा भान्छाको पछिल्लो अगेनुमा पुग्दछ र चिसिन थाल्छ।

जीवनको रेतमा रिङ्ने रीति नै यस्तै छ। चाहे त्यो अमेरिका होस या नेपाल, मुद्दा फरक होलान तर झगडाको प्रकृति एकै प्रकारको हुंदो रहेछ।

-कृष्ण शर्मा

प्रतिक्रिया