सामाचकवामा हास्य तत्वको उपस्थिति

सञ्जय साह मित्र २०७९ कार्तिक १९ गते ८:४० मा प्रकाशित


आधुनिक युगले धेरै कुरामा आधुनिकता ल्याउन खोज्दैछ । जुन कुरामा आधुनिकता आउँदैन, त्यो विस्तारै हराएर जान्छ । स्थानीय कला, साहित्य, संगीत र सिर्जनाले आधुनिक युगसित मितेरी गाँस्न नसक्दा अँध्यारोतिर धकेलिँदै गएको देखिन्छ ।

हेर्दाहेर्दै होलीको गीत र तरिका हरायो, छठ पबनीका गीतहरु बिलाए, छठका लोककथाहरु हराए, गाउँघरबाट झिँझिया गायब भयो, जरजटिनको नामोनिसान भेटिँदैन । चैतावर गाउने सायदै कोही छन्, बरमासा मुस्किलले कतै सुन्न पाइन्छ, रोपार्इँको गीत लगभग हराइसक्यो, ब्याडमा बीउ काढ्दा गाइने गीत, हरवाहाले हलो जोत्दा गाउने गीत कहाँ गयो कहाँ ? बाटोमा हिँड्ने बटुवाहरु पनि चुपो लागेर हिँड्दैनथे । झुमर, चाँचर जस्ता अनेक गीत गाइरहन्थे । अहिले सब हराएको छ । अब त संस्कार गीतहरु विस्तारै हराइरहेका छन् । समाजमा प्रचलनमा रहेका विभिन्न लोकगाथाहरु सम्झने अब बाँकी छैनन् । यस्तै हराउँदै गएको तर अवशेषको रुपमा बाँकी रहेको एउटा संस्कृति हो – सामाचकवा ।


सामा–चखेवा, सामा चकेवा, सामाचकवा आदि विभिन्न नामबाट जानिने यो एउटा यस्तो संस्कृति हो जुन परिवेशअनुसार लोकनृत्य, लोकनाट्य, लोकगीत तथा लोकगाथा गरेर लोकअभिव्यक्तिका विभिन्न रुपमा प्रकट हुन्छ । तर सबै क्षेत्रमा भने लोकगीतको रुपमा प्रचलनमा रहेको अवश्य हो । विस्तारै यसबारे चेतना विस्तार हुँदै जाँदा यसको उद्भव र विस्तार तथा शास्त्रीय मान्यताबारे खोजी हुँदै गयो । यी सबको विषयमा केही पनि जानकारी नभएको एउटा ग्रामीण समुदायमा निरक्षर दिदीबहिनीले जसरी यसलाई मनाउँदै आएका थिए, जब यसबारेको चेतनाको आलोक विस्तार हुँदै आयो तब यो संस्कृति साँघुरिँदै आयो । उद्भव र विस्तारको मान्यतासित सहमति वा असहमतिको पाटो अर्को हो तर यसको स्वरुप र यसका पात्रको विषय पनि कम रुचिपूर्ण होइन । यसको कथानकमा पनि रोचकता रहेको छ । कथानकको एक पात्र हो – चुङला ।

सामान्यतया चुङला शब्दको अर्थ बुझ्ने मानिसको मनमा हास्यरसको उत्पत्ति हुन्छ । चुङला भनेको त्यो व्यक्ति हो जो दुवैतिर कुरो लगाउँछ । जसको उद्देश्य फरक हुन्छ । मूल कुरो बिगारेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । यस्तो गर्ने कामलाई चुङलई भनिन्छ ।

व्यवहारमा के देखिएको छ भने जब चुङलाको भण्डाफोर हुन्छ तब उसले जगहँसाइ हुन्छ । ऊ हाँसोको वा घृणाको पात्र बन्दछ । विभिन्न लोकआहान, लोककथा, लोकगाथा तथा अन्य लोकसम्पदामा यस प्रकारको अभिव्यक्ति पाइन्छ । लोकगाथाको रुपमा समेत रहेको सामाचकवामा पनि चुङलाको भूमिका यही रुपमा रहेको छ । निहीत स्वार्थ पूरा गर्नको लागि चुङलई गर्ने पात्र चुङलाको प्रतिमा वा प्रतिकृति सामाचकवासँगै देख्नेबित्तिकै दर्शकको मनमा हास्यरसको उत्पत्ति हुन्छ ।

यद्यपि रसको दृष्टिकोणले सामाचकवाको गीतमा शान्त रसको प्रधानता छ, कथानकमा कतै वीररस पनि पाइन्छ । चुङलाको भूमिकाले विभत्स रसको उत्पादन पनि गर्दछ तर जहाँ सामाचकवाको विभिन्न प्रतिकृतिमा चुङलाको दर्शन हुन्छ, त्यहाँ हास्यरसको मनोभाव उत्पन्न हुने हुन्छ ।

सामाचकवाको कथानकमा चुङलाको वास्तविक नाम चूडक हुन्छ । ऊ कुटिल स्वभावको हुन्छ । श्रीकृष्णको द्वारिकाको बासिन्दा हुन्छ चूडक । उसको दरबारमा आवतजावत हुन्छ । श्रीकृष्णकी श्रीमती जाम्बवतीतर्फकी छोरी साम्बाप्रति ऊ आकर्षित हुन्छ । एकतर्फी आकर्षित भएको र मन पराएको चूडकले साम्बालाई पाउन सक्दैन । साम्बाको बिहे चारुवाक नामक युवकसित हुन्छ । साम्बा भगवान शिवकी भक्त थिइन् । दिनहुँ वनमा रहेको शिवालयमा पूजा गर्न जान्थी । दिनहु एक्लै वनमा पूजा गर्न जाने गरेको कुरालाई नै चूडकले श्रीकृष्णलाई बढाइचढाइ गरेर नराम्रो चरित्रको भएको कुरो लगाउँछ । श्रीकृष्ण चूडकको कुरोमा लागेर छोरीलाई चरो बन्ने श्राप दिन्छन् । अन्तमा सही कुरो पत्तो लाग्छ । श्रापबाट मुक्ति पाउने उपाय बताउँछन् र त्यसअनुसार गरेपछि श्रापमुक्त भई साम्बा र चारुवाकले सुखमय जीवन बिताउँछन् । उता चूडकलाई देश निकाला हुन्छ । अनावश्यक आरोप लगाएर श्रीकृष्णकी छोरी साम्बामाथि चरित्रहीनको दाग लगाउन लगाउने खोज्ने चूडकलाई चुङला भनिएको हो । चरो बन्नु परेको साम्बा नै सामा र चरो बनेको चारुवाक नै चकवा हो अथवा सामाचकवा भनेका साम्बा र चारुवाक हुन् भन्ने मान्यता रहेको छ ।


चूडक अर्थात् चुङलालाई देश निकाला गरिएको र अपमानित गरिएको भए पनि हाम्रो समाजमा विभिन्न रुपमा चुङला अहिले पनि रहेको छ । चुङलाको चरित्रप्रति घृणाभाव वा विभत्स रस तथा चुङलाको आकृतिप्रति हास्यभाव वा हास्य रस समाजमा स्वाभाविक रुपले विद्यमान रहेको छ । अहिले पनि सामाजिक चुङलाहरु समाजमा विद्यमान छन् जसले सही कुरालाई ठाउँसम्म पुग्न नदिई त्यसलाई आफू अनुकूल बनाएर वा बताएर आफ्नो स्वार्थ सिद्ध गरिरहेका छन् । यसले गर्दा सामाचकवाको चुङलालाई प्रतीक बनाएर समाजमा अझै पनि अनेक किसिमले गाली दिइने गरिन्छ । त्यो गाली गीतमा अभिव्यक्त हुन्छ अर्थात् सामाचकवाका अहिलेसम्म प्रचलित केही लोकगीतमा चुङलालाई गरिने गालीमा वर्तमान समाजका चुङलालाई गाली गरेको जस्तो भाव हुन्छ । र, स्वाभाविक रुपमा जब छोरी चेलीहरुले चुङलालाई गाली गर्दै उसको जुँगामा आगो लगाउँछन्, मुखमा आगो झोंस्छन् तब एकातिर आक्रोशको भाव अर्थात् वीर रसको उत्पत्ति भएको हुन्छ भने अर्कोतिर हास्यभावको उदय भएको हुन्छ । चुङलालाई गीतमै गाली गर्दा किन नहोओस् तर त्यहाँ पनि हास्यात्मकता प्रस्तुत भइहाल्छ । छोरी चेलीले गीत नै आउँदा पनि हाउभाउमा केही व्यंग्यात्मकता भने आइहाल्छ ।

सामाचकवा हास्यत्मकताको दृष्टिकोणले परिचित होइन न त यो व्यङ्ग्यात्मकताप्रधान कथानक नै हो । यसको गीतमा पनि व्यङ्गात्मकताको मात्रा कम पाइन्छ, यसले हास्य रसको उत्पादन निःसन्देह अल्प नै हुन्छ तर विशिष्टतामा र व्यावहारिक परिवेशमा हेर्दा जब चुङलाको प्रसङ्ग आउँछ तब स्वाभाविक रसोत्पत्ति हुन्छ हास्यको । यसरी हेर्दा चुङलाको व्यावहारिक प्रयोग हास्य रसको स्थायी भावको रुपमा रहेको देखिन आउँछ ।

चुङलाको प्रतिमामा भएको दाह्री जुँगालाई डढाउनु र हरेक दिन उक्त प्रतिमालाई गीतसँगै कुटपिट गर्नुले पनि हास्यात्मकताको सिर्जना गर्छ । यसै गरी पूर्णिमा राति जब सामाचकवाको रुपमा रहेका सबै प्रतिमालाई कुनै पवित्र जलाशयमा सेलाउनुभन्दा पहिले भाँच्ने काम गरिन्छ तब सबैभन्दा पहिले चुङलाप्रति नै निर्दयीता देखाइन्छ । यसै गरी सेलाउने क्रममा जहाँ चरो, सामा, चखेवा र अन्य प्रतिमाहरुलाई जलाशयमा सेलाइन्छ, त्यही चाहिँ चुङलाको प्रतिमालाई फोहोर विसर्जन गर्ने ठाउँमा वा फोहोरमा नै फालिन्छ । आजभोलि शौचालय वा यस्तै फोहोर ठाउँमा चुङलालाई मिल्काउने गरिन्छ । त्यहाँ पनि गाली गरिन्छ । यसबाट यो स्पष्ट हुन आउँछ कि चुङलाप्रतिको सामाजिक दृष्टिकोण निकै पहिलेदेखि नै नकारात्मक थियो । असत्य र पापको प्रतीकको रुपमा रहेको चुङलाप्रति घृणा र विद्वेष फैलाउने काममा सामाचकवाको पनि अप्रत्यक्ष भूमिका रहेको देखिन्छ ।


सामाचकवा हाम्रो समाजमा छठको पारन अर्थात् कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म खेलिने लोकसांस्कृतिक सम्पदा हो । अब अवशेषको रुपमा मात्र बाँकी छ बाजी समुदायमा तर अझै पनि थारु समुदायमा भने तुलनात्मक रुपमा राम्रोसित मनाइन्छ । अब सामा महोत्सव पनि हुन थालेको छ तर यस संस्कृतिको गरिमालाई बुझ्नेहरुले भनिरहेका छन् – सामाचकवा अब लोप भइसक्यो । यदि यसको संरक्षण गर्ने हो भने यसमा वर्तमान समाजलाई काम लाग्ने धेरै कुरा निकाल्न सकिन्छ । कात्तिक महिनालाई धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक र चेतना दिने महिनाको रुपमा परिभाषित गर्न सामाचकवाले पनि भूमिका निर्वाह गरेको यथार्थलाई अस्वीकार गर्न सकिन्न ।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया