देशैभरका डिजिटल स्टार्टअप र इन्नोभेसन एकै ठाउँमा, सुरु भयो ‘यार्सा ल्याब्स स्टार्टअप फेस्ट २०२२’

इनेप्लिज २०७९ कार्तिक १८ गते ११:२१ मा प्रकाशित

२०७९ कार्तिक १८

लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प’ शुक्रवारदेखि सुरू भएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा भएको कार्यक्रममा स्टार्टअप र इन्नोभेसन सम्वन्धि १०० बढि स्टलहरु रहेका छन् ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । द स्क्वाड अफ चेन्ज मेकरले सोहि स्थानमा रकेट प्रदर्शनी तथा स्टिम ल्याम्प पनि आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन ८ हजारबढिले अवलोकन गरेका छन् ।

शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्टको उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, विशिष्ट अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो ।

त्यस्तै अतिथिको रूपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेल लगायत सरकारी निकायका उच्च व्यक्तित्व र निजी क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको छ ।

उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले इन्नोभेसन र प्रविधिको क्षेत्रमा नेपाल कमजोर नरहेको तर प्रोत्साहनको आवश्यकता रहेको बताए । स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न मन्त्रालय सधैं तयार रहेको जानकारी दिए ।

फेस्टमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संयोजक लम्सालले देशभरका युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसन देखाउन तथा यसको इकोसिस्टम विकास गर्न स्टार्टअप तथा आईडिया फेस्ट आयोजना गरिएको बताए ।  

त्यस्तै पूर्व मन्त्री साहले राजनीतिले गर्न नसेकेको क्रान्ति सूचना प्रविधि क्रान्तिले गर्ने बताए । उनले स्टार्टअपलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम देशका १६५ वटै निर्वाचन गर्न सके उत्तम हुने पनि बताए । 

शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२  सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।

कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत गर्न सकिने छ । विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफुलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आईडियालाई भोट गर्न सकिने बताइएको छ । फेस्टमा रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ ।

यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिननै स्टार्टअप एण्ड आईडिया फेस्टमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रम शनिबारसम्म संचालन हुनेछ ।

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भइरहेका छन् । 

फेस्टबाट नेपाल टेलिकमले ई-सिम समेत वितरण गरिरहेको छ । फेस्टमा आएर प्रयोगकर्ताले ई-सिम लिन सक्ने छन् । फेस्टमै टेलिकमको टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।

यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

प्रतिक्रिया