ऊ आयो भर्र भाषण ठोक्यो
वरिपरि कीराहरू सलबल गरे
फर्र ताली पड्काए
एउटाले नाक छाम्यो
अर्कोले पाखुरा बजार्यो
टाउको छाम्ने कोही भएन
फेरि ताली बज्यो
तालीको बेइज्जत भएको कसैले पत्तै पाएन
अलि पर
अर्कै भाका गाउने कीरा कराए
कालो कपडा ओढे
भर्र ढुङ्गा फुलाए सडकभरि
सक्दो खराब गरे
सत्तो सराप गरे
हुने केही गरेनन्
नहुने सबै गरे
अलि पर चोकमा दुईथरी कीरा जम्काभेटमा परे
एउटाले कालो ढुङ्गाको मूर्ति राम्रो भन्यो
अर्कोले कालो ढुङ्गा आफैमा कुरूप भन्यो
सेतो ढुङ्गाको मूर्तिमात्र राम्रो हुन्छ
उसको निष्कर्ष सुनायो
यत्तिकैमा एकअर्कामा जाइलागे
कसैले पखेटा च्याते कसैले खुट्टामा ठुँगे
र सडक नै घाइते बनाए
कीराहरू कोही थिएनन्
क्षेत्रबहादुर र खड्गबहादुरका
अन्धभक्त
पटमूर्ख
आसेपासे
कपासे
नाथे
अन्धा
लफङ्गा
फोडुवा
भँडुवा…
ती कीराहरू
मूर्ति टोक्छन्
र श्रीपेच बनाउँछन्
फूल तोड्छन्
र माला बनाउँछन्
अनि क्षेत्रबहादुरहरूमा समर्पण गर्छन्
कीराहरू
क्षेत्रबहादुरका पाउमा राम देख्छन्
क्षेत्रबहादुरका हातमा परम धाम भेट्छन्
चाकडीले लुछुप्पै भिज्छन्
शिर निहुर्याउँछन्
दर्शन गर्छन्
फूलपाती टक्र्याउँछन्
आशीर्वाद पाउने ठुलो आशा पाल्छन्
र फेरि सडकमा आएर मूर्ति उखाल्छन्
अनि सुर्ती चपाउँदै पिच्केरी फाल्छन्
राम्रो के हो चिन्दैनन्
हाम्रो को हो जान्दैनन्
बस क्षेत्रबहादुरवरिपरि आरती गाउँछन्
पिरती भएको भ्रम पाल्छन्
आफ्नो कपाल फुल्दै गएको
आमाको केश झर्दै गएको
आकाशमा घाम डुब्दै गएको
देख्ने सोच्ने फुर्सद नै पाउँदैनन्
क्षेत्रबहादुर भन्छ
म योग्य सर्वज्ञ
ऊ हरुवा पानी मरुवा
म नभए को हुने
मैले नगरे कस्ले गर्ने
मैले जति कस्ले पढ्या छ
मैले जति कस्ले जान्या छ
जिङ्ग्रिङ्ङ परेर दरबार छिरेको ऊ
चिप्लिने भएर बसेको छ
भन्छ सुपर रकेट बनाउँछु
तिमीहरूलाई आकाशमै पुर्याउँछु
ताली बज्छ
आरती चल्छ
क्षेत्रबहादुरको टाउकाले श्रीपेच खोज्छ
कीराहरू नयाँ श्रीपेचका श्रमिक बन्छन्
फेरि भाषण ठोक्छ
फेरि ताली फुट्छ
फूलपाती नैवेद्य सबै जुट्छ
पार्श्वमा भजन चलिरहेको हुन्छ
क्षेत्रबहादुरको …
जय…!
-जगन्नाथ पौडेल
प्रतिक्रिया