क्यानडामा नयाँ बर्ष नेपाल सम्बत ११४३ तथा म्हपुजा बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०७९ कार्तिक १३ गते ५:२० मा प्रकाशित

मिसिसागा (क्यानडा), नयाँ बर्ष नेपाल सम्बत ११४३ तथा म्हपुजाको उपल क्ष्यमा क्यानेडियन नेवाःगुठिले म्हपुजाकै दिन मिसिसागा नगर स्थित प्रित पालेस प्रेक्षालयमा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि तथा ब्राम्प्टन नगर वडा ३ र ४ का रीजनल काउन्सीलर मार्टीन मेरिडियसले बहुसास्कृतिक नगरि ब्राम्प्टनको सास्कृतिक बिबिधता लाई अझ बढि बैभबपुर्ण बनाउन गुठि द्वारा गर्दै आएका कार्यहरुको प्रशंसा गर्नु भयो । नेपाल सम्बत ११४३ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु हुदै युबाहरुको रुचिअनुसारको सस्कृति लगायत अन्य कार्यहरुमा सहयोग गर्न आफु सदैब तत्पर रहेको बताउनु भयो।

कार्यक्रममा स्वागत मन्तब्य दिनु हुदै गुठिका महासचिब बिमल श्रेष्ठले कोबिद-१९ को कारणले गर्दा गत २ बर्ष देखि सामुहिक रुपमा गर्न नसकिएको म्हपुजा कार्यक्रम यस बर्ष अनुकुल बाताबरणले गर्दा रमाइलोका साथ सामुहिक रुपमा म्हपुजा गर्न पाएकोमा खुसी ब्यक्त गर्नु हुदै सहभागि सबैलाई स्वागत गर्नु भयो भने नयाँ बर्ष नेपाल सम्बत ११४३ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भयो। सो अबसरमा गुठिको लागि नेपाल सम्बत न्हूदँ राष्ट्रिय समारोह समिति ११४३ का अध्यक्ष प्रा. डा. नरेश मान बज्राचार्यले पनि शुभकामना सन्देश पठाउनु भएको थियो ।

म्हपुजाको बारेमा प्रकाश पार्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकःजुले सबै दर्शनमा आत्मालाई सम्मान गर्ने मान्यता रहेको तर नेवाः समुदायले प्रत्येक बर्षको निस्चित दिन आत्माको बिधिपुर्बक पुजागरि आत्मा शुद्द र पहिचान गर्ने “म्हपुजा” पर्ब साँच्चिकै नेवाः समुदायको मौलिक पर्ब हो भन्नु भयो। म्हपुजाको प्रत्येक बिधिको अर्थ रहेको बताउनु हुदै म्हपुजामा परिवारको जेष्ठ महिला द्वारा पुजा गराइने भएकोले नेवाः समुदायमा महिलाको स्थान पहिले देखिनै उच्च रहेको सामाजिक सन्देश पनि दिएको छ भन्नु भयो। नयाँ बर्ष नेपाल सम्बत ११४३ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु हुदै उहाँले ब्यक्तिगत स्वार्थलाई भन्दा “सर्बजन हिताय” को सिदान्तलाई अंगिकार गर्दै शंखधर साख्वाले यो सम्बत प्रबर्तन गर्नु भएको र मुलुककै नाममा रहेको यो सम्बत नेपालकै मौलिक सम्बत हो भन्नु भयो।

गुठिका सचिब सुमन राजबन्शीले पाहुनाहरु तथा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु भयो भने म्हपुजाको सगुन पान भन्दा अघि सहभागि सबैले ३ पटक ” न्हुदँया भिन्तुना” भनि एक आपसमा शुभकामना ब्यक्त गरेका थिए।

पुजाका प्रत्येक सहभागिहरुकोलागि छुट्टा छुट्टै मण्डला एबम आबश्यक सामाग्रि सहित गरिएको उक्त म्हपुजा कार्यक्रममा गुठिका महिला सदश्यहरु शान्ति कर्माचार्य माकःजु, डा. सबिना श्रेष्ठ, सहकोषाध्यक्ष चन्दा श्रेष्ठ, मौसमि ताम्राकार, सबिना शाक्य, नन्दादेबी महर्जन, अरुणा प्रधान, सुजिता मल्ल, प्रतिमा प्रधान, रामेस्वरी पक्वान, डा. माधुरी भण्डारीले “नकीं मयजु”को रुपमा पुजा संचालन गरेका थिए भने गुठिका महासचिब बिमल श्रेष्ठले पुजा बिधिमा सहजिकरण गर्नु भएको थियो ।

सो कार्यक्रममा गुठिका भीमरथारोहण संस्कार सकिएका जेष्ठ महिला सदश्यहरु नेपाल सरकारको बनस्पति बिभागका पूर्ब महानिर्देशक एबम लेखिका डा. तारकेस्वरी राजभण्डारी र नेवाः संस्कृतिका ज्ञाता अष्ट कुमारी ताम्राकारलाई गुठिका उपाध्यक्ष उत्तम माकःजुले खादा ओढाई सम्मान गरेका थिए ।

म्हपुजा पछि संचालन गरिएको सास्कृतिक कार्यक्रममा गुठिका मिसा पुचः संयोजक रन्जना सैन्जुको सिटार बादनमा प्रसिद्द मादल बादक सानुराजा महर्जन, डा. अमर सैन्जु, रबिन प्रधान, डा. कृष्ण भण्डारी र उत्तम माकःजुको समुहले बुद्द बन्दना तथा ” सीर स्वांया हेकु जिमि दाइचां ब्युगु” गीतको धून प्रस्तुत गरेका थिए भने उत्तम माकःजुले स्व.प्रेमध्वज प्रधानले गाउनु भएको प्रसिद्द गीत “व छु गल्ली थ्व छु गल्ली मखंत्वाःया गल्ली रे” प्रस्तुत गरेका थिए। त्यसपछि गुठिका कोषाध्यक्ष राजेन्द्र महर्जन तथा सिचु अवालेको जोडीले “सालुगु गाःचा साले मते” गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा मधुर राजभण्डारीको आकर्षक डीजेमा सहभागिहरुलाई नचाएका थिए भने कार्यक्रम संचालन सहकोषाध्यक्ष चन्दा श्रेष्ठ तथा सिचु अवाले ले गरेका थिए।

प्रतिक्रिया