सम्बन्धकै कारण आत्महत्याको प्रयास

बाबा राजेश्वरी थापा २०७९ कार्तिक १२ गते १९:१९ मा प्रकाशित

तिहार सकिए पनि साथीहरुलाई जुवाको ह्यंग ओभरले छोडेको थिएन, कोही भैसी तिहार त कोही पोस्ट तिहार भन्दै जुवालाई निरन्तरता दिदै थिए । अर्को हप्ता नियमित काममा फर्किनु पर्ने बोझ त् थियो नै तर म प्रकाशनको लागि कथा लेख्न नयाँ विषय खोज्दै थिए। चुनावको चहलपहलले हो कि चाडपर्वको माहौलले सामाजिक घटनाकाहरु त्यति सुनिएको थिएन। साथीहरुको तासको जोश थप्दै म हातमा भएको मोबाइल फोन खेलाउदै थिए। सामाजिक संजाल तिहारका फोटोले भरिभराउ थिए, मनमनै सोचे यो फोटो अपलोड गर्ने सुबिधा नभएको भए आधा भन्दा बढी मानिसले न त् सामाजिक संजाल चलाउथे न त् चाडपर्व नै मनाउथे। समाजमा अहिले त चाडपर्व पनि सामाजिक संजालमा फोटो देखाउन कै लागि मनाउने फेसन बढेको छ मेरो बुझाइमा। आफ्नो त पेशा नै कथाकर भएकोले होला हरेक विषयलाई कथात्मक शैलीमा सोच्ने बानी छ। कहिलेकाही मनमा लागेको कुरा भावुक भएर सुनाउदा पनि घरपरिवार र साथीहरुले कथा नै भनेको हो कि जस्तो गरिदिन्छन। आफुलाई चित्त नबुझेको केहि कुरा बोल्यो, कथा लेखिदे भनेर साथीहरु जिस्काउछन। सामाजिक संजाल र अनलाइन पत्रिका उस्तै नै हुन्छ आजभोली, कुनै समाचारको तुक नै हुँदैन, समाचारपत्र पढेर भन्दा सामाजिक संजाल हेरेर बरु छिटो र धेरै कुराको जानकारी मिल्छ। तैपनि केहि विषयवस्तु भेटिन्छ कि भनेर नेपालकै एउटा विश्वासिलो अनलाइनका समाचार पढ्न थाले।

आफुलाई चित्त नबुझेको केहि कुरा बोल्यो, कथा लेखिदे भनेर साथीहरु जिस्काउछन।

अचानक मेरो आँखा एउटा समाचारमा पर्यो, ”अबैध सम्बन्धको कारण आत्महत्याको प्रयास।” एउटी महिलाको फोटो र विवरण सहित लेखिएको उक्त समाचारमा पत्रकारिताको कुनै आचार संहिता पालन गरिएको थिएन। पछिल्लो समयमा अझै भनु प्रविधिले मानिसहरुलाई सहज सुबिधा दिए संगै हरेक दिन मानिसहरुमा अनुशासन र मानवता हराउदै गएको छ। सामाजिक संजालमा देखासिकी र छाडापनले सिमा नाघेको छ, सामाजिक संजालकै कारण मानिसहरुको दिनचर्या सिनेमाको अभिनय जस्तो बन्न थालेको छ, प्रविधिको चरम दुरुपयोग समाजको हर कुनामा भएको छ भनेर आवाज़ उठाउदा पाखण्डीको आरोप लाग्छ, त्यो समाचारमा ती महिलाको फोटो निहाल्दा मेरो मनमा यिनै कुरा खेलिरहे। समाचारको शीर्षक जति उतेजक थियो समाचार भित्र कुनै विस्तृत जानकारी थिएन तर ति महिलाको तस्विर मेरो मन मस्तिष्कमा घुम्न थाल्यो।

मलाई प्राय आत्महत्याका समाचारले बढी नै छुने गर्छ। जीत निश्चित छ भने अर्जुन बन्न जो कोही अघि सर्छ तर मृत्यु निश्चित छ भन्ने ज्ञान हुदा अभिमन्यु बन्ने साहस कसैले राख्दैन। हरेक मानव केहि कुरासंग डराउछ भने त्यो हो मृत्यु। जसले जे भने पनि जब जब आत्महत्याको समाचार पढ्ने र सुन्ने गर्छु आत्महत्या गर्ने मानिस वा आत्महत्याको प्रयास गर्ने महिला हून या पुरुष मलाई मलाई यो समाजको पिडित व्यक्ति लाग्छ। समाज, घर परिवार, साथीसंगी र आफन्तले कति पिडा दिए होलान र त् मानिसले केहि नसोची अकालमा जीवन त्याग्ने निर्णय त्यो पनि आफ्नै हातले मृत्युवरण गर्ने निर्णय लिन्छ।

समाचारमा भने झैँ ”अबैध सम्बन्धको कारण आत्महत्याको प्रयास” गर्ने ति महिलासंग मलाई भेट्न मन लाग्यो, भेटेर उनको पिडा महशुस गर्न मनलाग्यो, सके उनलाई बाच्ने आशा जगाउन मनलाग्यो, अझै पत्रकारले अबैध सम्बन्धको नाम दिएको उनको प्रेमकथा जसले एक वयस्क महिलालाई आत्महत्याको कदम चाल्न बाध्य बनायो, त्यहि कथा पिडितको मुखबाट सुन्न मनलाग्यो। तुरुन्तै समाचार प्रकाशित गर्ने अनलाइनमा फोन गरेर उक्त महिलाको बारेमा थप जानकारी मागे, तर उनीहरुले प्रहरीबाट यो समाचार आएको जानकारी दिए।

समाज, घर परिवार, साथीसंगी र आफन्तले कति पिडा दिए होलान र त् मानिसले केहि नसोची अकालमा जीवन त्याग्ने निर्णय त्यो पनि आफ्नै हातले मृत्युवरण गर्ने निर्णय लिन्छ।

साथीहरुको रमाइलो र जुवाको खाल छोडेर म हिडे पुलिसथाना। पुलिसथानाबाट पत्ता लाग्यो उपचार पछि अहिले ती महिलालाई केहि समयको लागि सुधार केन्द्रमा राखिएको रहेछ। प्रहरीबाट सम्पूर्ण विवरण र इजाजत लिएर म सुधार केन्द्रमा पुगे। तर लामो प्रयास पछि बल्लतल्ल उनि मसंग भेट्न र कुरा गर्न तयार भईन।

पहिलो भेटमै मैले उनको मुखाकृति अध्धयन गरे, मलिनो अनुहार न त मुख धोएको जस्तो लाग्थ्यो न त कुनै मेक अप नै थियो, न कपाल कोरेको थियो, उनको अनुहारमा आत्महत्या सफल नभएको ग्लानी प्रष्ट देखिन्थ्यो। त्यसैले किन आत्महत्या गर्ने खोजेको भन्नेर सोध्ने हिम्मत मैले पहिलो भेटमा गर्न सकिन। उनको कुरा सुन्नु भन्दा पनि मैले आफ्नो कथा सुनाए। जब मैले उनलाई मेरो बुवाको हत्या र मेरो पारिवारिक जिम्मेवारी नबुझेर मैले वेवास्ता गरेको बहानामा पछि मेरो पतीले लागु पदार्थको दुर्व्यसनीमा फसेर अन्त्यमा उसले आत्महत्या गरेको मेरो आफ्नै कथा सुनाए। उनले मेरो अनुहारलाई पुलुक्क हेरिन। म भन्दै गए, ”बहिनी मारेर जाने त् चुपचाप गइ दिन्छ तर बाच्नेले जानेको यादमा कति तड्पीन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ, मेरो पतीले यो संसार छोडेको कयौ वर्ष भयो तर म हरेको हरेक दिन उसकै यादमा रोएर बिताउछु, जिम्मेवारीको कारण मर्न सक्दिन। ” यति भनिरहदा मेरो आँखाबाट आशुको धारा बग्न थालेछ, उसले बिस्तारै मेरो आँशु पुछ्दै भनी, ” दिदि! हजुर घर जानुहोस, भोलि मलाई भेट्न आउनुहोस, म हजुरसँग दिल खोलेर रुन चाहन्छु।” आज्ञाकारी बालक झैँ हस भनेर, म भोली आउने वाचा गरेर हिंडे। घरमा पुगेर म त्यहि बहिनी स्मृतिलाई सम्झिरहे, राम्रो घरपरिवारकी छोरीबुहारी जस्तो देखिन्छे, बोलीमा मिठास छ, व्यवहार पनि उस्तै राम्रो छ, उच्चशिक्षा हासिल गरेकी जस्तो देखिन्छे, किन प्रयास गरी होली आत्महत्याको त्यो पनि अबैध सम्बन्धको कारण! म रातभर उसैलाई सोचिरहे, कहिले बिहान बितेर बित्ला जस्तो भयो। १० बजे केहि सामान र खानेकुरा बोकेर सुधार केन्द्र लागे। सुधार केन्द्रको ढोकामै मलाई कुरेर बसेकी रहिछे स्मृति, मलाई देख्ने बितिक्कै अंगालो हालेर भनी, ”कति ढिलो गर्नु भएको दिदि आज आउन ? हजुरलाई रातभर सम्झिरहे। कति सहासिलो हजुर, मलाई पनि हजुर जस्तै बनाइदिनुहोस न। ” उसको कपाल सुम्सुमाउदै मैले भने, ”बहिनी ! पिर नगर अब तिम्रो साथमा म छु।”

सुधार केन्द्रमा अनुमति लिएर म स्मृतिलाई लिएर लन्चको लागि एउटा रेस्टूरा छिरे। खाना अडर गर्ने जिम्मा उसैलाई दिए। खाना अडर गरेपछि मैले प्रसंग कोट्याए, ”स्मृति! यो दिदीलाइ विश्वास गर्छौ भने तिम्रो मनको पिडा मलाई सुनाउ।हल्का हुन्छ, अब तिमीले अगाडिको जीवन सोच्नु पर्छ, हासीखुशी बाच्नु पर्छ।” उनको अनुहारमा पिडा झाल्क्यो र आँखा आँशुले भरियो। मैले बलियोसँग उसको हात समाते, उसले आँशु भरिएको आँखाले केहि मुस्कुराउदै मलाई हेरी, ”दिदी! म सबको नजरमा गिरे।” मैले उनको हात अझै कसिलो समाउदै भने, ‘स्मृति! कोहि कसैको नजरमा गिर्ने र महान बन्ने हुँदैन, यहा त् मानिसहरुले तिमीलाई आफ्नो अनुकुल प्रयोग गर्छन, आज तिमि कसैको नजरमा महान छौ, भोलि उसको अनुकुल बनेनौ भने क्षणभर मै तिमि गिरछौ। आफन्त हुन या पराई, मानिसहरुलाई त्यस्तै व्यवहार तिमि गर जस्तो व्यवहार उनीहरुले तिमिलाई गर्छन, त्यतिबेला उनीहरुलाई नराम्रो लाग्छ, उनीहरुको चित्त दुख्छ तर उनीहरुले तिमिप्रति गरेको व्यवहारमा न उनीहरुलाई खेद हुन्छ न त पश्चाताप, यदि हुन्छ भने कारण। दुनिया स्वार्थी र मतलबी छ, त्यसैले मेरी बहिनी त्यही गर जे तिम्रो अन्तरआत्माले भन्छ।दुनियाँको ठेक्का लिन छोडीदेऊ।” मैले थप्दै भने, ”स्मृति! जीवन त्यतिबेलासम्म सुन्दर लाग्छ जबसम्म सबै तिमीले सोचे जस्तो हुन्छ। आफुले सोचेजस्तो नहुदा मानसिक तनाव हुन्छ, त्यसैले परिस्थितीलाई आफ्नो अनुकुल होइन, आफुलाई परिस्थिती अनुकुल बनाउने कोशिस गर्नु पर्छ बहिनी।” कुरा गर्दै जाँदा हाम्रो खाना आइपुग्यो।

दिदी! यो दुर्घटनाको शुरुवात मेरो विवाहबाट शुरु भयो, मेरो विवाह भएको आठ वर्ष भयो, सात वर्षको छोरा छ घरमा।

खानासंगै उसले आफ्नो व्यथा शुरु गरी, ”दिदी! यो दुर्घटनाको शुरुवात मेरो विवाहबाट शुरु भयो, मेरो विवाह भएको आठ वर्ष भयो, सात वर्षको छोरा छ घरमा। मामु ड्याडीको इच्छा विरुद्ध मैले बिहा गरे, मेरो जिद्दीको अगाडी मामु ड्याडीले मेरो बिहालाई स्विकार्नु भयो तर विवाह पछिको जीवन मैले सोचे जस्तो थिएन, जुन व्यक्तिलाई मैले साचो मनले माया गरेर परिवारसंग संघर्ष गरेर विवाह गरेको थिए उहा त् विवाहित हुनुहुदो रहेछ। विवाह पछि मेरो वैवाहिक जीवन समस्यैसमस्यामा पर्यो बाबु त जन्मियो तर धेरै दुख पाए मैले र मेरो कारण श्रीमान पनि समस्या मात्र भोग्नु पर्यो। माइती घरमा कहिले नदेखको र नभोगेको दुख भोग्नु पर्यो। म त् उहासंग छुट्टिएर आफ्नो तरिकाले जीवन बाच्न चाहन्थे तर श्रीमानले न त् छुट्टिन दिनु हुन्थ्यो न जीवन नै सजिलो बन्न दिनु हुन्थ्यो। तैपनि म बाचेकै थिए, सानो छोराको मुख हेरर। बाबु हुर्किदै गए पछि म श्रीमान लाइ फकाएर बैंकमा काम गर्न थाले। त्यही मेरो भेट बृजेशसंग भयो। बृजेश र मेरो एउटै अफिस थियो, समय बित्दै जादा बृजेशसंग म नजिकिन थाले, उसले मलाई गर्ने सहयोग, उसले मलाई गर्ने केयर त्यो सबमा मैले आशा गरेको श्रीमानको व्यवहारको झल्को आउथ्यो। अचानक बृजेश तालिमको लागि दुइ हप्ता अमेरिका गयो। बृजेश अमेरिका गएको बेलामा मलाई थाहा भयो, म त उसलाई प्रेम गर्न थालेछु। दिदी! एउटी विवाहित महिलालाई आफ्नो श्रीमान बाहेक परपुरुषसंग प्रेम गर्ने छुट हाम्रो समाजमा छैन भन्ने त् मलाई थाहा थियो, तैपनि मैले आफ्नो प्रेम उसलाई व्यक्त गर्न सकेको थिइन् तर अमेरिका तालिममा हुँदा बृजेशले मलाई लेख्यो, ”स्मृति, थाहा छैन यो लेख्न हुन्छ या हुँदैन तर तिमि मेरो प्राप्ति हौ, अमेरिका आएर दुइ हप्ता तिमीसंग छुट्टि दा यो कुराको महशुस भयो।” दिदी! उसले शुरुवात गरे पछि मैले पनि आफ्ना प्रेम भाव उसलाई व्यक्त गरे। उसैको कुरा विश्वाश गर्दा उ पनि म जस्तै पत्नी पिडित थियो। हामी एकअर्काको कुरा सेयर गर्थ्यो, हाम्रा धेरै कुरा मिल्थे, उसले मेरो भावना बुझ्थ्यो र मैले उसको। श्रीमानसंगको सम्बन्ध सोचेजस्तो नभए पनि ब्रिजेश जस्तो मन बुझ्ने साथी पाउदा मलाई केहि सजिलो भएको थियो। तर बेलाबेलामा बृजेशले गर्ने व्यवहारले म दुखि हुन्थे। आइतवार देखि शुक्रवारसम्म सधै मेरो सेवामा हाजिर हुने बृजेश शनिवार वा अरु छुट्टीको दिन हराउथ्यो, श्रीमतीसंग राम्रो सम्बन्ध नभएको घटनाहरु मलाई सुनाइ रहने बृजेश बेला बेलामा श्रीमतीसँग बसेका अनेकौ पोजका फोटोहरु सामाजिक संजालमा पोस्ट गरिरहन्थ्यो तर मैले प्रश्न गर्न नपाउदै भन्थ्यो, छोराछोरीको करले फोटो सामाजिक संजालमा हाल्नु पर्यो, तिमि माइन्ड नगर है स्मृति। म उसका सबै कुरा विश्वाश गरिदिन्थे किनकी मलाई बल्लबल्ल पाएको माया गुमाउने मन थिएन। कतिपय कुरा देखे न देखे झैँ गरिदिन्थे, उसलाई खुशी पार्न म संसार लुटाउन तयार थिए। त्यसैले कतिपय कुरा चुपचाप सहिदिन्थे। उसलाई गुमाउनु नपरोस भनेर म सबै कुरामा सम्झौता गर्थे, उसको चित्त नदुखोस भनेर म मेरा सबै आनिबानिमा सजग हुन्थे तर उ चाही श्रीमती खुशी पार्न मै व्यस्त भएको झैँ लाग्थ्यो। मैले उसको लागि जति समर्पित भए पनि श्रीमतीसँग सानो मनमुटाब हुँदा उ मसंग बोल्दैनथ्यो, मलाई बेवास्ता गर्थ्यो, श्रीमतीसँग राम्रो हुदा मलाई पनि असाध्यै माया गर्थ्यो । त्यसैले मनमनै लाग्न थाल्यो म उसको लागि बिस्तारै बोझ बन्दैछु।”

यति भनुञ्जेल उसले टिस्युपेपरको पुरै बक्स खाली गरिसकेकी थिइ। मैले अर्को बक्स मगाए र उसको हात समाएर भने, ”बहिनी! न म तिमीलाई चिन्छु न तिम्रो उसलाई तर दिदी भनेर सम्बोधन गरयौ, एउटा कुरा सोधु?” कयौ दिन देखि नसुतेर डार्क सर्कल बसेको र रोएर सुन्निएको आँखाले मलाई हेरेर हल्का मुस्कुरौदै टाउको हल्लाई।

”बहिनी! तिम्रो श्रीमान विवाहित भएरै तिम्रो विवाहित जीवन दुखि हुदाहुदै फेरी किन अर्को विवाहित पुरुषक प्रेममा फस्यौ?” मेरो कुरा पुरा हुन नपाउदै ऊ रुदै भन्न थाली, ”हजुर पनि अरु सबै जस्तो मलाई नै दोषी देख्नु हुन्छ है दिदी।”मैले आफ्नो प्रश्नलाई सच्याउदै फेरी सोधे, ”बहिनी मेरो मतलब त्यो होइन, दोष तिम्रो होइन बहिनी दोष तिम्रो सहनशीलताको हो, सायद तिमि पनि विद्रोही भएको भए न त् तिमीले श्रीमानले त्यसको फाइदा उठाउथे न त बृजेशले, न तिमीले नै जीवन देखि हार मानेर ७ वर्षे कलिलो बालकलाई टुहुरो बनाउन खोज्थेउ। मैले भन्न खोजेको यति मात्र हो बहिनी।”

”दिदी! श्रीमानबाट धोका पाएको मैले बृजेशलाइ मन भित्रैबाट माया गरेको थिए, उसलाई विश्वाश गरेको थिए, उसको हरेक कुरालाई मैले सहेको थिए तर दिन बित्दै जादा मलाई उसले मेरो मायालाइ आफ्नो आवश्यकता अनुसार प्रयोग गरेको महशुस भयो, माया त ऊ आफ्नी श्रीमतीलाई नै गर्थ्यो, यो कुराको अनुभव मलाई राम्रोसंग थियो। मैले आफ्नो मनलाई सम्झाएको थिए। आफनै मनलाई वशमा राख्नु गार्हो काम रहेछ। तिहार शुरु भए देखिनै म बिरामी थिए। उसलाई सबै कुरा थाहा थियो तर घरको वातावरण नमिलेको भन्दै उसले मलाई फोन गर्न छाडिदियो, सधै सबै सामाजिक संजालमा अनलाइन बसेर पनि मेरो मेसेज सम्म तीनचार घण्टा हेर्न र जवाफ दिन छोड्यो, मलाई आत्मग्लानी हुँदै गएको थियो। मसंग बिरामी भएर फोन नचलाएको बहाना बनाएको बृजेशले अचानक लक्ष्मी पुजाको दिन श्रीमतिसंग कम्मर मर्काइ मर्काई नाचेको भिडियो जब अपलोड गर्यो मैले चारैतिर अध्यारो देखे। मैले केहि नसोची घरमा भएको सबै औषधिका ट्याब्लेट खाइदिए तर भगवानलाई पनि बोझ बनेछु, मलाई लगेनन दिदी।” उ घोप्टो परेर फेरी रुन थाली।

मैले उसलाई सम्झाउदै भने, ”बहिनी! तिमि जस्तो बहादुर मान्छे बाच्नु पर्छ, तिम्रो यो यो व्यथा कसैको लागि बाच्ने प्रेरणा बन्न सक्छ, यो व्यथा सुनाएर अरु दिदीबहिनीहरुलाई हामीले बचाउनु पर्छ, तिम्रो जस्तै कथा मेरो पनि छ, तिमीले त् आफ्नो जीवन सकाएर यो लडाई जितिन्छ भन्ने सोच्यौ तर म त् बाचेर अझै लड्दै छु। नपत्याए हेर मेरो फेसबुकको वालमा।”

मैले उसलाई मेरो फेसबुकको वालमा हिजो मात्र मैले छोरासँग बसेको फोटो र त्यहाँ लेखिएको क्याप्सन देखाए, उसले आँशु पुछेर मलाई अंगालो मारी। मेरो फेसबुकमा मैले लेखेको थिए:

”हांस्दिन भन्दा हांस्नु पर्छ यिनको लागि
बांच्दिन भन्दा बांच्नु पर्छ यिनको लागि!
नत्र रक्सीको बोतल जस्तो जीन्दगी
एक सासमा पिएर रित्याईदिन्थे!
नत्र सलाईको काटी जस्तो जीन्दगी
आफै कोरेर जलाई निभीदिन्थे”

( कथाका पात्र र प्रसंग काल्पनिक हुन् कसैको जीवनसँग मिल्न गए संयोग मात्र हुनेछ।)

बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया