स्वतन्त्र मताधिकार विषयमा टुक्का कविता सिर्जना गर्दै अनन्त टुक्का यात्र भाग ८ सम्पन्न 

इनेप्लिज २०७९ असोज २८ गते १०:१३ मा प्रकाशित

काठमाडाै, 
२०७९ असाेज २६ गते बुधवार टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे  “अनन्त टुक्का यात्रा-८” स्वतन्त्र मताधिकार विषयमा टुक्का कविताहरू सिर्जना गर्दै सम्पन्न भएकाे छ । 

प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा ८५ जना टुक्का यात्रीहरूले भाग लिएका थिए । 

अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले स्वतन्त्र मताधिकार भनेकाे बालिग अर्थात मतदान गर्न उमेर पुगेका व्यक्तिहरूले कुनै करकापमा नपरी स्वइच्छाले स्वतन्त्र रुपमा आफूले इच्छाएकाे व्यक्ति वा पार्टीलाई मत दिन पाउने अधिकार हाे भन्ने कुरा प्रष्ट पर्दै चुनावकाे समयमा झुटा आश्वासन सहितका ठुला भाषणहरू गरेर साेझासाझा जनतालाई झुक्याउने, पैसाकाे चलखेल गरेर जीत हात पार्ने र चुनाव जिते पछि जनताकाे प्रतिनिधिकाे रुपमा सेवा गर्नु पर्नेमा कुनै वास्ता नगरी आफैँ कमाउ धन्दामा लाग्ने जस्ता विभिन्न विकृतिहरू देखा परेकाे हुँदा कुनै लाेभ लालचमा वा करकापमा परेर गलत व्यक्तिलाई मत दिन नहुने कुरामा जाेड दिनु भयाे । साथै समाजमा दबाइएका र अन्यायमा पारिएका समुदायकाे पीडाहरू र सामाजिक विकृति, विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” सञ्चालन भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले हरेक नागरिकले आफूलाई मन परेकाे प्रतिनिधि छान्न पाउने अधिकार भएकाे हुँदा कुनै लाेभ लालच वा धाक धम्किमा नपरि स्वतन्त्र रुपमा मतदान गर्न आव्हान गर्दै  नेपाली साहित्यमा नविनतम काव्यिक विधा टुक्का कविताले अनन्त टुक्का यात्राकाे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उद्देश्य लिएर सञ्चालन हुँदै आएकाे र यसले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्‍याउदै जाने व्यहाेरा जानकारी गराउनु भएकाे थियाे । 

कार्यक्रममा सहभागीहरूले सिर्जना गरेका टुक्का कविताहरू टुक्का अभियन्ता शाेभा आचार्य गाैतमले सङ्कलन गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग ८ मा विश्वभरिबाट सहभागी भई स्वतन्त्र मताधिकार विषयमा चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे । 

टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “स्वतन्त्र मताधिकार” सम्बन्धी केही टुक्का कविताहरू

[१]
यहाँ कसलाई दिनु छ र भोट, मासु रक्सी खाएपछि
याद रहँदैन को असल को खराब, नोट पाएपछि ।
◾️राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२]
मतअधिकार स्वतन्त्रता हुन्छ नि लाेभ देखाई जनता किन्छन् ,
जनताले दिएको भाेटले जित्छन,अनि  तिनै जनता कहाँ चिन्छन्।
◾️शाेभा आचार्य गाैतम
काठमाडौ
[३]
राजनीतिक दलले छाेडे आफ्ना सिद्धान्त र आदर्श ,
जन आपसमा जुटेर याेग्य छान्न गराैँ परामर्श  ।
◾️प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४]
पार्टी हेरी वर्षौदेखि भोट दिँदा देश बन्यो नाश
काम गरी जग बनाउने चाहिँ हुन्छन् काेही खास।
◾️रतन पाण्डे ‘पारतन’
दार्जीलिङ ।
[५]
मत खसाल्दा कसैले नबिराउनु
भ्रष्ट नेता  सदनमा नछिराउनु ।
◾️बिके मुखिया
दार्जीलिङ भारत।
[६]
ठुला दलहरू यति चनाखो छन्, आफ्नो मान्छे स्वतन्त्रमा भिड्न लगाए
भोट काटिन्छ, जित हाम्रो पार्टीको सुनिश्चित हुन्छ, भन्ने सोच बनाए।
◾️कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[७]
चुनावी खेल जनतासँग खेल्नु पर्दैन ,
यस्तो भ्रष्टाचार गर्दा देश अघि सर्दैन ।
◾️सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[८]
गठबन्धन सरकारले जनतासँग भोट झुक्याएर हुन्न,
जनतालाई शान्ति हुने देशबन्ने हामीले पाउँछौँ युवा चुन्न।
◾️बेदु न्यौपाने
काठमाडौ
[९]
जताततै चुनावी माहाैलहरू तात्तेका ,
नेता ज्यू मासु भात जाड खाएर मात्तेका ।
◾️केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम, हाल भारतबाट ।
[१०]
देशमा हाम्रो चुनाव आयो पारेर तरङ्ग,
नेतृत्व चुनौँ स्वतन्त्र रही नपरी भरङ्ग ।
◾️डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[११]
छानीछानी राम्राले नै बाजी मार्नुपर्छ,
भ्रष्टाचारी जालीलाई शून्य पार्नुपर्छ ।
◾️ऋषिराम खनाल
मध्यबिन्दु -६ नवलपुर ।
[१२]
योग्य, सक्षम र काम गर्न सक्ने स्वस्थ उम्मेदवारलाई नै मौकामा छानौँ
लहैलहैमा, जो पायो त्यहीलाई मत हालेर पछि भुल भो भन्ने न मानौँ ।
◾️पवन कुमार बुढाथेाकी
काठमाडौं , हाल सिडनी अष्ट्रेलिया
[१३]
म नेता भए सबैको घर तलासी लिनेछु
गरिब निमुखालाई नै  रोजगार  दिनेछु ।
◾️प्रेम सुनार
दैलेख
[१४]
मताधिकार जनताको हो भ्रष्ट व्यक्ति किन तोक्छौ?
बदनाम  भएकालाई  मात्र  काँधमा  कति बोक्छौ ?
◾️प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[१५]
देश र जनता भन्दा पनि नेता भए माथि
छानी छानी भोट हालेर डाँडा कटाओैैँ साथी ।
◾️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[१६]
कसैको हक छैन यहाँ, मेरो मत अधिकारमा,
जसलाई दिन्छु के चासो, न आउनु प्रतिकारमा।
◾️एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[१७]
लुछाचुडी  नगर  पारित  भएकाछन्  गणतन्त्र
यो हाम्रो अधिकार हो जिउन देऊ अब स्वतन्त्र ।
◾️अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[१८]
आफ्नो अधिकारलाई पैसामा नबिकाऔँ,
योग्य उमेदवार छानी  सदैव टिकाऔँ ।
◾️गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[१९]
अब हाम्रा मान्छे होइन राम्रा मान्छे चुनौँ
भ्रष्टाचारी नेतालाई , टाढैबाट नै थुनौँ ।
◾️रत्ना पुन मगर
रुकुम पश्चिम्
[२०]
याे मेराे पार्टी त्यो तेराे पार्टी भन्दै चुनावमा जनता गर्छन् हानाहान
जितेर गएपछि नेताले जनता बिर्सेर गर्छन् नि  कुर्सी  तानातान ।
◾️मित्र `उराठी´ गाैतम
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही
[२१]
हर सम्भव जित्न खोज्ने भ्रममा पारेर
आफू मात्रै बाच्न पो खोज्छन् जनता मारेर।
◾️रतन बिष्ट सिर्जन
आलिताल, डडेल्धुरा
[२२]
यो देशमा खै कहाँ छ स्वतन्त्र मताधिकार
पुराना नेता फाल्नुछ मेची महाकाली पार ।
◾️चूडा निर्भीक
चन्द्रागिरि १० काठमाण्डौ ।
[२३]
नसाटौँ मासु भात र रक्सीमा आफ्नो अमूल्य भोट,
नत्र पछुताउनु पर्ला पाँच वर्ष आफैँले चोट ।
◾️शरद प्रधानाङ्ग
विराटनगर-७
[२४]
रक्सी र मासुमा लाहाछाप बेच्ने हुन यी जनता सबै
हुँदैन मतको सदुपयोग आत्मा  बोध गल्तीको  नभै ।◾️यामनाथ आचार्य
पर्वत
[२५]
जन चाहना बुझाैँ सबैले धाँधली नगराैँ  भाेटमा,
सिधासादा जनकाे लुटी स्वतन्त्रता नपाराैँ चाेटमा ।
◾️रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[२६]
बुझौँ र बुझाऔँ लोभमापरि कसैले नथापौँ नोट,
स्वतन्त्र मताधिकारको अर्थ अनुसार गरौँ भोट।
◾️अरुण कु. भुजेल
गोरूबथान,कालेबुङ्ग, भारत।
[२७]
असल नेतृत्व चुनौँ अब जसले देशको कल्याण गर्छ,
भष्ट्राचारी, स्वार्थी नेतालाई सबै मिलि निर्मुल पार्नुपर्छ।
◾️भावना न्यौपाने
कागेश्वरी मनोहरा ७, काठमाडौं
[२८]
बेच्नु हुँदैन जानीराख पैसामा भोट
भोट बेचुवालाई नेताले दिन्छन् चोट ।
◾️बिके माकजु
भक्तपुर ।
[२९]
कुण्डली जाचाैँ जनप्रतिनिधिकाे असलकाे भनि जान्न
बुद्धि विवेककाे प्रयाेग गराैँ सबैले साँचाे नेता छान्न ।
◾️राजेन्द्र प्रधान पासा
दार्जीलिङ
[३०]
जोडी दुई हात नेताहरू माग्छन् हेर भोट
जितेपछि जनतालाई दिन्छन् यिनैले चोट।
◾️नीता गुरूंग भाटिया
गुवाहाटी, असम भारत।
[३१]
यसपालि पनि मासु भात र पैसाको लोभमा पार्न सक्छन्
जनता सचेत भए पक्कै पनि भ्रष्टको सेखी झार्न सक्छन् ।◾️तेजप्रसाद खनाल
लमही दाङ।
[३२]
जनता सबै एक भए यहाँ कसको चाहिँ के लाग्छ?
सचेत युवाहरू अघि बढे देशद्रोहीहरू भाग्छ ।
◾️परिक्रमा श्रेष्ठ
धरान, सुनसरी ।
[३३]
देश, जनता एकातिर नेता सत्ता मुखी,
मीठा गफ दिन्छन् अगाडि पछि पार्छन् दुखी।
◾️होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[३४]
मौका आउँछ पर्खदैन , बिचार गरौ सबैले ,
मासुभात, नातावादमा भोट नहालौँ कसैले ।
◾️बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[३५]
स्वतन्त्र मतको पद्धति कायम नगरी हुलमा हुन्छन् मत्ता
अस्थिरता छर्न व्यस्त मनुवा अझ चाहियो उनलाई सत्ता ।
◾️प्रेम थापा “मन”
बागलुङ
[३६]
एक छाक खानाले नि वर्षौं गर्न सक्छ बिगार,
सही  ठाउँंमा प्रयोग गरौँ आफ्नो मताधिकार ।
◾️भुपेन्द्र राना मगर
धादिङ
[३७]
अन्धभक्ते नभई लोभमा नपरी, स्वच्छ नेता चुन्न सके,
समृद्धि पनि पलाउँछ, भ्रष्टाचारी प्वालहरू थुन्न सके ।
◾️रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल
[३८]
भोट दिँदा हाम्रालाई भन्दा राम्रालाई छानौँ
ठट्टा हैन याे कुरालाई हामी सबैले मानाैँ ।
◾️आर्मित्मा थापा मगर
स्याङ्जा
[३९]
पार्टी मात्र होइन चाहियाे, उचाल्ने देशको शिर
चुन्नु पर्छ हामीले अब, निस्वार्थी देशभक्त वीर ।
◾️माहादेव भट्ट
दशरथ चन्द नगरपालिका ०१ गुरुखोला कलौन बैतडी
[४०]
को नक्कली को सक्कली नेताहरू चिन्नु पर्छ
तब मात्र देश समृद्धिको बाटो अघि सर्छ ।
◾️बि.कुलुङ
दार्जिलिङ
[४१]
फसाउन आउलान् है तिनै नेता प्रलोभनमा नपरौँ
एक सक्षम उम्मेदवारलाई छानी सहकार्य गराैँ ।
◾️आर के भण्डारी
बझाङ
[४२]
गठबन्धनको जालमा कोही नफस्नुहोस्
जाली झेलीको भरमा कहिले नबस्नुहोस्।
◾️रुपा गौतम
निजगढ बारा
[४३]
भाेट दिँदा साेचेर दिउँ                          
अरूकाे अासमा नजिउँ ।                              ◾️कल्पना भण्डारी

छथर जाेरपाटि ३ धनकुटा

[४४]
जनतालाई काम पर्दा नेता जति बेपत्ता हुने
चुनाव आउँदा गाउँ घरमा नि जान्छन् भन्ने सुने ।
◾️अम्विका अधिकारी
झापा विर्तामोड
[४५]
आफ्नो मतको अधिकार सुनिश्चित गर्नु
घुसखोरी दलाल देखि पर्छ पर सर्नु ।
◾️मन्दिरा सेढाई
मलेखु, धादिङ
[४६]
पाएनौँ हामीले मुक्ति कहिल्यै सधैंँ रह्यौँ पिरै पिरमा
चेत खोलेर ठुटे नेता उछिट्याऔँ आगामी मंसिरमा ।
◾️बाबुराम गौतम
गुल्मी
[४७]
सोझासाझा जनतालाई बाँड्ने हैन नोट
इमानदारी सभ्यताले जितौँ अब भोट।
◾️उसा खपाङ्गी
हसनपुर
[४८]
मताधिकार सदुपयोग गर्नुपर्दछ,

नबिक है मनु एकदिन मर्नुपर्दछ ।

◾️दुर्गा वनवासी

झापा
[४९]
भोट किन्ने काम हुन्छ सधैँ धन खर्चगरि ,
कसैलाई मत नहालौँ  प्रलोभनमा परी ।
◾️जमुना आचार्य
सिन्धुपाल्चोक
[५०]
भोट दिने हाम्रो अधिकार राम्रो मात्र व्यक्ति छानौँ,
काम नगर्ने वृद्ध भन्दा युवा जोसलाई नै तानौँ  ।
◾️भगवती दवाडी
झापा
[५१]
यसपाली पनि भोट हाल्दा कसैले नबिर्सिनु
भ्रष्टाचारीलाई भोट दिन हुन्न है किन दिनु ?
◾️हिउँ खतिवडा
कैलाली
[५२]
गठबन्धन गर्दैछन् नेताले देश लुट्नलाई,
पाँच वर्षे त्याे जागिरको परिपाक भुट्नलाई ।
◾️बिबस पारदर्शी
भद्रपुर   झापा
[५३]
आमा बुवा दिदी बहिनी सचेत बनाैँ है यसपाली
नेताजीले चुनाव जित्लान जनतालाई घास हाली ।
◾️विनोद जोशी
दशरथ चन्द नगरपालीका ०९ , बैतडी
[५४]
सारा खुसी लुटेका छौ अझै पनि लुटिराख
मेरो मताधिकारले  त्याे कर्मकाे फल चाख ।
◾️रिजाल विनोद
माेरङ्ग
[५५]
आयो चुनाव भोट माग्नेको नमस्कार खाइन्छ,
आफ्नो मतको प्रयोग गर्दै स्वतन्त्रमा लाइन्छ।
◾️दुर्गा आचार्य
मोरङ
[५६]
निर्वाचन आयो तर मनमा छैन हर्ष,
काम नगरेर कटाईदिन्छन् पाँच बर्ष।
◾️गणेश तामाङ वाइबा
ताल्ती, धादिङ नेपाल।
[५७]
एक हातमा पैसा बिटा, अर्को हात मतपत्र
देलान् नलिऊँ है जनता, मत हाल्ने हो स्वतन्त्र ।
◾️रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर ।
[५८]
मातृभूमि नै बन्दक राखि तिमीले कमाउन किन खोज्छौ नोट,
स्वतन्त्र अधिकार प्रयोग गरी सही मान्छेलाई खसाल भोट।
◾️शंकर कार्की
थाहा ३, मकवानपुर
[५९]
कहाँ रह्यो स्वच्छ सफा निर्वाचन  कता ,
सुनिदैछ बिटाे बाेकी हिड्छन् जतातता ।
◾️रामकृष्ण दुवाडी
पाेखरा
[६०]
चुनावमा मताधिकारकाे अब सही सदुपयोग गरौँ
विकास प्रेमी नेतालाई जिताई देशमा नयाँ रङ्ग भरौँ।
◾️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर
[६१]
पार्टी होइन मान्छे हेरी हाल्नु पर्छ भोट
खराब नेता छान्दाखेरि देलान् पछि चोट।
◾️सरिता सेढाईँ
[६२]
स्वतन्त्र छ मताधिकार भन्ने  कुरा जानाैँ,
आफ्नो मत प्रयाेग गरी उम्दा पात्र छानाैँ ।
◾️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[६३]
विकासवादी योग्य  युवा उम्मेदवार  नै छान्नु,
मङ्सिर चारमा सक्षम व्यक्ती छानी भोट हान्नु।
◾️नवशिला
बेलबारी- २, लालभित्ती, मोरङ।
[६४]
चुनावको चहलपहलले माहाेल तात्दै गयो
मतदान गर्ने इच्छा जाग्यो कुन पार्टी रोज्ने भयो ।
◾️ईश्वरी अधिकारी
लमजुङ
[६५]
नोट छ त भोट छ बलियो,
भ्रष्टलाई  हालेर  गलियो।
◾️अच्युत घिमिरे
भुटानबाट  🇧🇹
[६६]
कसैको प्रलाेभनमा नपरी गराैँ स्वेच्छिक मतदान
राम्रालाई भाेट दिने राष्ट्रभरि चल्नुपर्छ अभियान।
◾️रामकृष्ण रिजाल
बाग्लुङ
[६७]
जनमतले भ्रष्टलाई धुलो चटाउन
मताधिकारको अब डोजर चलाउन।
◾️ईशहाक हुसैन 
जीतपुर सिमरा १४  बारा
[६८]
देशको लागि बलिदान दिने नेता चिनेर दिनु भोट,
अन्त्यमा तितोपनि मिठो हुन्छ मनमा नलिनु है चोट।
◾️कमला पाण्डे पराजुली
झापा चारआली
[६९]
इमानदार र कर्तव्य निष्ट  नेता छान्ने
आफ्नो मताधिकार के हो भन्ने आफैँ जान्ने।
◾️दुर्गा भट्टराई
मोरङ
[७०]
प्रलोभनमा पर्नु हुन्न मत दिँदाखेरि,
लिउँ शिक्षा समयमै विगतलाई हेरि।
◾️त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[७१]
अधिकार अनि कर्तव्य पनि स्वतन्त्र मताधिकार,
उठाैँ सबै जुटाैँ राम्रालाई चुनाैँ पछि नहाेस् बिगार ।
◾️शान्ति याक्साे
काठमाडौं ।
[७२]
हाम्रोलाई हैन राम्रो उम्मेदवारलाई पहिचान गरौंँ
असल र योग्य उम्मेदवारलाई मात्र मतदान गरौँ ।
◾️छवि किरण अधिकारी
बागचौर नगरपालिका १० पिपलनेटा सल्यान
[७३]
बाख्रालाई जस्तै हरियो घाँस देखाएर नडगाउ ,
गरिबलाई बलिका बोका बनाइ मार्न नलगाउ ।
◾️कर्ण दयाल ‘सोराडी’
मेलौली नगरपालिका- ७, बैतडी
[७४]
न बिक, न झुक, लालचमा नपरि स्वतन्त्रता चिन्नु,
आफ्नै इच्छाले देशभक्त र गणतान्त्रिकलाई बिन्नु ।
◾️सुरेशकुमार पान्डे
दाङ घोराही १८
[७५]
मिठा बात र मासुभातमा बिक्नु हुन्न हामी
भ्रष्ट नेता सबै पाखा लाउँ अब छानी छानी ।
◾️प्रेम कला चापागाईं (सिटौला )
मेचीनगर -१२ झापा
[७६]
आउदैछ  रे   चुनाव   दिनुपर्छ   मतदान
कस्ले मासु दिन्छ भन्दै पार्न थाल्नु ठाडा कान।
◾️दस्ता कौशिक
पाँचथर।
[७७]
चुनाव आयो नेता आउलान फकाउन भोट
नबिर्सनु पूरा नभएका  आश्वासनका चोट।
◾️अबजस चन्द्र
झापा
[७८]
हामीलाई मूर्ख बनाएर गाँठ जाेड्दै आछन्
विदेशी दलालीमा सबैले कमिसन खाछन्।
◾️गणेश तिमल्सिना गति
धनुषा, गणेशमान चारनाथ नगरपालिका
[७९]
भ्याउछन् अब नेता दुर-दराजमा धाई
रमाउछन् फेरि जनता मासु भात खाई।
◾️शारदा बि सी
अर्घाखाँची शितगङ्गा
[८०]
मतदाताले  मत नदिऔॅं  त्यस्ता मनोरोगी,
निधारको खरानी फाली आउला उही जोगी।
◾️म्यामराज राई
भोजपुर
[८१]
बन्छ मुलुक समृद्ध लोभ  लालचबिनाको  मतले
डुब्दछ देश र जाति सब क्षणिक स्वार्थको लतले।
◾️दीपक ठटाल जलन
खरसाङ
[८२]
भोट दिनु को कुनै अर्थ छैन
राम्रो काम कसैले गर्ने हैन ।
◾️सरस्वती श्रेष्ठ
इटहरी
[८३]
कुन नेता कस्ता छन् जान्नुपर्छ
असल  मान्छेलाई  छान्नुपर्छ ।
◾️अम्बिका कोइराला
धादिङ
[८४]
माछा माछा भ्यागुतो भन्दै नेता हात झिक्छन्
जनताहरू नि एक चोक्टो मासुमा बिक्छन् ।
◾️साँग्रीस मानन्धर मोती
क्याक्मी हटिया स्याङ्जा, हाल रुपन्देही
[८५]
स्वतन्त्र मत प्रयाेग गर्न देउ कुप्रभावमा नपार
एक दुई छाक खुवाई लाेभ्याएर पाँच वर्ष नमार ।
◾️ताराप्रसाद चापागाईं
धुनिबेसी ।

जय टु्क्का! जय साहित्य !!

प्रतिक्रिया