सर्वेन्द्र खनाल राजनैतिक मैदानमा ओर्लिँदा किन टाउको दुखाइ?

नवीन रायमाझी २०७९ असोज १८ गते २१:३७ मा प्रकाशित

पूर्वप्रहरी महानिरीक्षक तथा मेरा मित्र सर्वेन्द्र खनाल नेकपा (एमाले) को सदस्यता प्राप्त गरेर औपचारिक रूपमा सक्रिय राजनीतिमा लागेका छन्।

उनी राजनीतिक मैदानमा ओर्लिएको समयदेखि नै सामाजिक सञ्जाल तथा चिया गफमा खनालको राजनैतिक जीवनबारे अनेकाैँ टिका–टिप्पणी गर्नेहरूको हैसियत ‘काम पाइनस् बुहारी खै कुन्नि के–के कनाउनु’ भनेजस्तो मात्रै हो। एउटा राजनीतिक यात्रीविरूद्धकाे कूप्रचारले खासै कुनै ठोस उपलब्धि दिँदैन।

पूर्वप्रहरी महानिरीक्षकभन्दा पहिले खनाल नेपाली नागरिक हुन्। प्रहरी सेवाबाट अवकास लिएपछि उनी पनि एक नेपाली नागरिक बराबर कानुनको परिधिभित्र रहेर अरूले जस्तै सबै काम गर्न सक्छन्।

उनले आफूलाई राजनीतिमा उतार्नु उनको नैसर्गिक अधिकार हो। यसमा कसैले किन र कसरी भनेर निरर्थक बकबक गर्नुको कुनै औचित्य छैन। साथै, एउटा जिम्मेवार पदमा बसेर राष्ट्र सेवा गरिसकेको मान्छे भएर पंक्तिकार जस्तै उनका शुभ–चिन्तकहरूले उनलाई प्रोत्साहन र खबरदारी गर्न भने सक्छन्। खनालले पनि यसलाई सकारात्मक आलोचनाको रूपमा लिनु उनकै लागि लाभप्रद हुन्छ।

बाल्यकालदेखि नै पढाइ–लेखाइमा अब्बल रहेका उनी कक्षाका ‘फस्ट बेन्चर’ तथा सम्मानीत परिवारका सदस्य हुन्। खनाललाई प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको पद कसैले टीका लगाएर दिएको होइन। पद र जिम्मेवारी आफ्नो योग्यता र क्षमता प्रदर्शन गरेवाफत पाएका हुन्।

आफ्नो प्रहरी सेवाको सुरूदेखि अन्तसम्म उनी कति सफल वा असफल भए, त्यो बेग्लै बहसको विषय हो। यसलाई जनस्तरबाट भएको मूल्याङ्कन र उनले स्वम् आफै गरेको मूल्याङ्कनले मात्र उचित परिणाम दिने नै छ।

कैयाैँ राजनीतिक पार्टीले अपराधिक गतिविधिमा संलग्न तथा धमिलाे छविका गुन्डाहरूलाई राजनीतिक कार्यकर्ता बनाएका छन्। सत्ता र शक्तिकाे आडमा पालिँदै आएका संगठित गुन्डागर्दीलाई निमिट्यान्न पार्न उनै खनाल अग्रपंक्तिमा खटे।

गुन्डालाई आफ्नो कार्यकर्ता मान्ने कथित नेता र उनका टट्टूहरूले अनर्गल प्रचार गरेर खनालको व्यक्तित्वलाई धुमिल पार्न एकखालकाे अभियान चलाइरहेका छन्। त्यसलाई स्वतन्त्र नागरिक तथा बुद्धिजीवीहरूले राम्राेसित बुझेका छन्। खनालमाथि गरिएको आरोप आरोप–प्रत्यारोप छिट्टै नै पानीको फोका जसरी सकिनेछ। सत्य–तथ्य बाहिर आउने नै छ। वा समयले सबैलाई उचित जवाफ दिनेछ।

अनाहकमा साढे सत्र हजार मान्छेकाे नरसंहार गरेर क्रान्तिकारी बनेका, प्रचण्ड–बाबुराम। प्लेन अपहरण गरेर सरकारी सम्पत्ति लुट्ने र आर्थिक रूपले सबल हुने गिरिजाप्रसाद काेइराला महान नेता ठानिन्छन्। अनि देशमा खनालले राजनीति गर्न नहुने भन्ने विषयमा कुनै तुक छैन।

लामो समयसम्म देश सेवा गरेर अवकास प्राप्त गरेपछि पनि आफ्नो ‘अनुभवको सदुपयोग’ गर्छु भनेर राजनीतिजस्तो अपजसे पेशालाई अपनाउन खोज्नुमा उनलाई प्रोत्साहन र धन्यवाद दिनुपर्नेमा अनेकथरी कुरा गरेर मानमर्दन गर्न खोज्नु सामाजिक र नैतिक अपराध हो।

पंक्तिकार को बिचारमा खनाल लाइ मुल्याङ्कन गर्दा इमान्दारिपुर्बक र निस्पक्ष भएर मुल्याङ्कन गर्न सक्यो भने उचित हुन्छ, होइन भने मदर टेरेसा ले भनेको जस्तो यदी दोष मात्र हेर्ने हो भने यो सँसारमा असल मान्छे कोहि हुँदैन भने जस्तो हुन्छ. यसको साथै खनाल को दोष मात्र हेर्ने हो भने उर्दु उखान “हमाम मे सब नङ्गे है” अर्थात नुहाउने समयमा सबै नाङ्गो नै हुन्छन भनेको जस्तै दोष मात्र हेर्ने हो भने आज सबैले मानेका ठुला ठुला महा पुरुष हरुको पनि कमजोरी हरु रहेका छन्

राजनीतिको माध्यमद्वारा देश सेवा गर्ने अत्यन्तै असल पाइला अघि बढाउने प्रयास गर्दै रहेका खनाललाई शुभकामनासहित सफलताको कामना गर्दछु। प्रस्तुत आलेख पंक्तिकारको नितान्त व्यक्तिगत विचार भएको कारण सहमत हुन नसक्नु भएका पाठक वर्गहरूले अन्यथा नसोच्नुहोला भन्ने आशा गर्दछु।

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया