प्रेम गीत ३ सिनेमा हेरेपछिको मेरो अनुभव

शशी के.सी २०७९ असोज १० गते २१:२७ मा प्रकाशित

केही महिना अगाडी नॅंया नेपाली सिनेमा “प्रेम गीत ३” दशैंको बेला आउन लागेको छ सुनेको थिंए।सदा झैं नेपालमा लाग्दा अमेरिकामा पनि ल्याई हाल्छन् । नजिकै र समय मिले हेर्न जाउॅंला सोचेको थिंए ।

ओहो, यो सिनेमा प्रदर्शन हुने समय नजिकिंदै गर्दा त सोसल मिडिया, युट्युब जताततै निक्कै चर्चा पो सुनिन थाल्यो । सबैभन्दा पहिला त सिनेमा हिन्दी भाषामा पनि आउॅंदैछ सुनेर गज्जब लाग्यो । फेरी भारतको मुम्बई शहरमा यो सिनेमाको पोष्टर टांसेको फोटो सोसल मिडियामा देखें। झन् गज्जब लाग्यो । युट्युब तिर त सिनेमाको नेपाली र हिन्दी भाषाका गीतहरू पनि देखिन थाल्यो । सन् २०२१ को ईन्डियन आईडल पवन दिपले गाएको हिन्दी मिठो गीत हेरें। त्यस्तै सिनेमाको नेपाली र हिंदी दुबै ट्रेलर हेर्दा राम्रो देखें।

नेपाल लगायत भारतमा पनि सिनेमाको निक्कै चर्चा देख्दा, यो सिनेमा त जसरी पनि हेर्छु भन्ने लाग्यो ।कहिले र कता हामी बसेको ठाउॅंतिर ल्याउलान् भनेर कुरी रहेको थिंए। ओहो, झनै गज्जब त यो सिनेमा हिन्दी भाषामा डब गरिएको र अंग्रेजी सब टाईटल रहेको, अमेरिका भरीका बिभिन्न सिनेमा घरहरूमा नेपालमा पहिलो पटक प्रदर्शन भएकै दिन नै पो देखाए । म बसेको भर्जिनिया राज्यको एसबर्न शहरको“ रिगल फक्स सिनेमा हलमा “ पनि एक हप्ता चल्दै रहेछ । पहिलो दिन त जान पाईन। तर दोस्रो दिन शनिबार दिउॅंसो १२.३० र बेलुका ६.४५ को सो रहेछ । दिउॅंसो मिलाएर कस्सिएर हेर्न गएं। मैले हेरेको समयमा धेरै नै नेपाली दर्शक केटाकेटी देखि बुढाबुढी सबै नै थिए ।

सिनेमा हेरिरहॅंदा, जति हल्ला खल्ला गरेर राम्रो बनेको भनिएको थियो । सांच्चै नै सिनेमा राम्रो नै रहेछ। अझ हिन्दी भाषामा देखाउॅंदा नेपाली भाषा, कला संस्कृति लोप हुने भयो भनेर बिरोध गरेको सुनेको थिंए। खै सानैदेखि हिन्दी सिनेमा हेरेर र पनि होकी, यो सिनेमा हिन्दीमा हेर्दा केही फरक नै महशुश ,भएन्। अझ गीतहरू त असाध्यै राम्रो छ, हिन्दी भाषामा । सिनेमा हलको साउन्ड सिस्टम राम्रो भएकोले पनि होला असाध्यै राम्रो सुनिएको ।

मैले नबुझेको चाहीं, आजकल नेपाली विवाहमा धुमधाम मेहेन्दी, संगित कार्यक्रम हुन्छ । तिहार वा दिपावलीलाई दिवाली भन्छन् र त्यो दिन परम्परा अनुसार हरियो गोबरले लिपेर, लक्ष्मी पूजा गर्नुको सट्टा थरीथरीका रंगले रंगोली बनाएर पूजा गर्ने चलन छ । फागु खेल्ने भन्नुको सट्टा होली खेल्ने, दहीच्युरा खुवाउनुको सट्टा बेबी सावर गर्ने, तेस्तै बिभिन्न थरीका नॅंया चलन शुरू भएको छ नेपालमा । ती सबै गरिरहॅंदा चाहीं नेपाली कला, संस्कृती लोप नहुने ? तर एकजना नेपालीले नेपाली सिनेमालाई हिन्दी भाषामा डब गरेर संसारभरका दर्शक माझमा पुर्याउन खोज्दा चाहीं अनेक लान्छना लगाउॅंछन् ।सुन्दै छक्कै परें।

अझ पुराना नेपाली सिनेमामा भारतिय गायक, गायिका कुमार सानु, आशा भोषले आदीले भारतिय टोनको नेपाली गीत गाएको सुन्दै आएका हैनौं ? खै त्योबेला त कसैले कतै बिरोध गरेको सुनिएन त ?

खासमा सिनेमा हेर्न जाने भनेको मनोरंजन लिन र एकछिन भएपनि मन रमाईलो बनाउन हो । एउटा राम्रो सिनेमामा कथा देखि लिएर राम्रो नाचगान, हांस्ने, रूवाउने, भावुक बनाउने दृश्य आदी सबै हुनु जरूरी छ।र पैसा तिरेर हेर्न आएका दर्शकको मन जित्न सक्नुपर्छ ।

प्रेम गीत ३ हेरिरहॅंदा , सिनेमामा हुनु पर्ने सबै कुरा पाएं। सिनेमा अरू मैले हेरेको नेपाली सिनेमाकोदांजोमा स्तर निक्कै माथि रहेछ । अझ ३ बर्ष अगाडी नै बनेको रहेछ सिनेमा , शायद निर्माता र निर्देशकले यसरी हिन्दीमा डबिगं गरेर संसार भर चलाउॅंछु सोचेका पनि थिएनन् होला । नत्र अलिक बढी कथामा जोड दिन्थे होलान की ? अझ दरबारको दृष्य देखाउॅंदा एउटा राम्रो गीत पनि थप्न सक्थे ।सिनेमाको दरबार र लडाईंको दृष्य कताकता हिन्दी नाम चलेको “बाहुबली” सिनेमाको झलक आउने खालको छ । सबै कलाकारले आफ्नो राम्रो प्रस्तुती दिएका छन् । ओहो मनागंको हिंउले ढाकिएका हिमालको दृष्यहरू त यति मनमोहक छ की आजै गएर हिउॅंको वरीपरी रमाउनु जस्तो लाग्छ।

जे होस एक नेपाली निर्माता, निर्देशकले नेपाली सिनेमालाई उत्कृष्ठ बनाएर , हिन्दीमा नै डब गरेर भए पनि नेपाल लगायत संसारभरका बिभिन्न देशमा नेपाली र हिन्दी दुबै भाषामा एकै पटक प्रदर्शन गरेर ईतिहास नै रचेका छन् । धन्यवाद भन्छु उॅंहालाई ।

हामी विदेश बस्नेले नेपाली सिनेमाहरू कुनै चाहीं कलाकारको मायाले गर्दा हेरिदिन्छौं । कुनै ओहो नेपालीपन छ है भनेर र कुनै चाहीं ऐतिहासिक कथामा आधारित छ भनेर हेरिदिन्छौं । प्रेम गीत ३ मा चाहीं मनोरंजन पनि छ, नेपालीपन पनि छ , सुन्दर नेपालका दृश्यहरू त भरपुर छन्। गीत र नाच यतिउत्कृष्ठ छ की जुरूक्क उठेरै नांचु जस्तो हुन्छ । साथै नेपालको पुराना सानातिना राज्य र राजामहाराजहरूको दरबार तिर हुने जालझेल, चालचलन आदी पनि देख्न सकिन्छ ।

समग्रमा भन्नु पर्दा, सिनेमा हेरेको छैन भने आजै हेर्न जानुस् । तिरेको पैसा र समय खेर जांदैन् । मत यो सिनेमा अमेरिकामा नेपाली भाषामा बनेको देखाउन ल्याए भने फेरी पनि हेर्छु ।

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया