अमेरिकामा ‘हरिकन’ को एउटा अनुभब

रजनी (कन्चन) मल्ल २०७९ असोज ८ गते १५:३० मा प्रकाशित

हालसालै पोरोरिकामा आएको ‘हरिकन फियोना’ ले फेरि एकपटक अमेरिकामा अगस्त २०११ सालमा आएको ‘हरिकन आइरिन’ को याद दिलायो। अनि अमेरिकाको जीवनमा पहिलो पटक एउटा मौसम सम्बन्धि डरलाग्दो अनुभब पनि बटुलियो।

चार पाँच दिन अघि देखि नै टि भी रेडियो मा मौसंमबिधरुद्वारा ठूलो ”हरिकन आइरिन” आउदै छ न्यु योर्क, न्यु जर्सी, नर्थ करोलिना, भर्जिनिया अनि एटलान्टामा भनेर दिनदिनै फुकिरहेका थिए। यो जस्तो डरलाग्दो हरिकन अमेरिकाको इतिहासमा कहिल्यै आएको थिएन भनेर भनिरहेका थिए.। हुन त मैले “सुनामी” जस्तो प्रकृतिको एक विनासकारी डरलाग्दो दृश्य अनि त्यसको असरबाट गुज्रिएका हरुको अन्तर्वार्ता पनि हेरेको थिए तर आफुले भोगेको भने थिएन। मैले साथै कसैले पनि त्यस्तो प्रकृतिको ताण्डब नृत्य देखनु नपरोस भबिष्यमा ।

जति जति “हरिकनआइरिन” आउने दिन नजिकदै आइरह्यो त्यति त्यति सावधानका लागि प्रचार प्रसारहरु पनि बढ्दै गैराखेका थिए। दिनभरि जसो टी भी रेडियोमा मेयर,गभर्नरहरुले ठाउँठाउका बाढी आउने ठाउहरु भनि घोषित गरेका स्थानहरु छोडेर आफ्नो नातेदार साथीहरुकोमा र कोहि नभएका हरुको लागि सेल्टरमा जानु, बुढा बुढी अनि असक्तहरुलाई सक्नेहरुले सक्दो मद्धत गर्नु भनेर अनुरोध गरिराखेका थिए। हुन पनि हो कुनै पनि आपत विपतको समयमा एकले अर्काको सक्दो मद्धत गर्नु मानवताको कर्तब्य पनि हुन आउछ। त्यति मात्रै नभएर यदि आफुले कुनै पनि मद्धतको खाचो भएको प्राणीलाई आफुले सक्दो मद्धत गर्दा हुने आनन्दको अनुभूति नै सबै भन्दा ठुलो सन्तोष को अनुभूति हुन्छ नै ।

धमाधम मानिसहरुले पनि पानी, रेडियो, ब्याट्री, बत्ताका खानेकुराहरु, प्राथमिक उपचारका लागि चाहिने औषधि ब्यान्डेज जस्ता सामानहरु,फ्लाश लाइट तथा अन्य दैनिक उपभोग्यका सामानहरु किन्दै जम्मा गर्न थाले। हामीले पनि गर्यौ । त्यस्तै जरुरि परेमा आफु बसेको ठाउँ पनि छोड्नुपर्ने अवस्था आउन सक्छ , त्यसैले आफ्नो गाडीमा पेट्रोल खाली नगर्नु, त्यस्तै आफ्नो पासपोर्ट,अन्य आवश्यक कागजहरु को साथै केहि नगद र आवश्यक सामानहरुको यौटा सुटकेस पनि तयार गर्नु भनेर भनिरहेका थिए ।

सबै पसलहरुमा मानिसहरुको घुइचो देखिन्थ्यो । “हरिकन”आउने एक दिन अघि कुनै कुनै पसलमा त आवश्यक सामानहरु छिटो छिटो सकिन थालेका थिए। एकछिन मैले मेरो देश नेपाललाई सम्झे। यदी मेरो देशमा यस्तो स्थिति आउन लागेको खण्डमा कतिपय खाधान्न र आवश्यक सामानहरुको मूल्य बढ्ने थिए होलान। ब्यापारीहरुले कतिपय सामानहरु लुकाइन्थ्यो होला पछि कालो व्यापार गर्न लाई। सर्ब साधारण जनताले त छुन पनि पाउदैन थिए होलान ति सामानहरु। नेताहरुले पनि जनताको भन्दा पनि आ आफ्नो बचावटको लागि नि पहिले सोच्थे होलान, (जसले आफ्नो देश र जनताको माग अनुसार आफ्नो कर्तब्य लाई निभाउछु भनेर सपथ ग्रहण गरेर आएका थिए।) । “जहाँ कंगाल त्यहाँ चण्डाल” भनेको त्यसैले होला तर हाम्रो देश त्यति कंगाल त छैन नि! संसारका अन्य मुलुकहरु जहाँ राजनीतिले साथै प्रकृतिले पनि अन्याय गरेको छ। श्री पशुपतिनाथको कृपाले भनु वा प्रकृतिले पनि हाम्रो देशलाई अहिलेसम्मलाई न्याय नै गरेको छ बि. सं. १९९० साल र २०७२ सालको ठुलो विनाशकारी भुकम्प बाहेक। मानिसले खप्नै नसक्ने गरिकन त्यति ठूल ठूला बाढी पहिरो भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट हाम्रो देश बचेकै छ अहिले सम्मलाई।

“आज दिउसो देखि हुरीबतास वर्षा शुरु हुन्छ सकभर बाहिर नजानु” भनेर प्रचार प्रसार गर्दै थियो। त्यसैले हामी पनि केहि समान किन्न बिर्सेकाले बिहानै सात आठ बजेतिरै नजिकैको पसलमा गएका थियौ। त्यतिखेरै मानिसहरुको भिड थियो पसलमा। एकछिन स्वात्त पावर मात्रै के गएको थियो सबै एकछिन त तर्से के के न हुन लागे बिहान देखि भनेर। हुन त बिहान देखि नै कालो बादलले आकासलाई ढाकेको थियो,साथै सिमसिमे पानी पनि परिरहेकै थियो, चारै तिर संनाताले छाएको थियो, तुफान आउनु अघिको सन्नट्टा झैँ। दैनिक सामान किन्ने पसलहरुमा भिडभाड नै थियो लाइन लामो थियो। सबैका आखामा अब के हुने हो भनेर डर लुकेको प्रस्ट सितै देखिन्थ्यो। सबै एक अर्कासित कुरा गर्न थाले के के पो हुने हो भन्दै, फेरि पावर आयो हतार हतार समान किनेर सबै आ आफ्नो बाटोतिर लागे। हामी पनि हतार हतार घर तर्फ लाग्यौ।

टि भी, रेडियोमा हरिकन आइरिन कहाँ कहाँ पुग्यो के के हानी गर्दै बिस्तारै अघि बढ्दै छ भन्दै थिए, दृश्यहरु पनि देखाउदै थिए। सत्लैतबाट हेर्दाखेरिको “हरिकन आइरिन ” भनेर देखाउदै थिए। अमेरिकाको इतिहासमै यस्तो खालको हरिकन कहिल्यै आएको थिएन भन्दै थिए। साझदेखि हामीकहा पनि हुरी चल्न थाल्यो। शुरु शुरुमा “हरिकन” भनेको कस्तो हुने रहेछ आफैले देख्न पाउने भयो भन्ने जिज्ञाशा अब भने बिस्तारै डरमा परिणत भयो। बाथ टव देखि लिएर भाडा भाडामा पानी भरे। जुन हामीले पहिले नेपालमा हुदा खेरि पनि गर्दै आएका थियौ। मध्ये रातमा उठेर पनि पानी भर्थियौ। अन्यथा भोलिपल्ट खडेरी लागेको अवस्था जस्तो हुन्थ्यो घरमा। कहिले काही त सधैजसो पानी किन्नुपर्थो ट्यांकी का ट्यांकी, चाहे त्यो कुनै फोहर तलाउबाट भरेर ल्याएको नै किन नहोस्। जे होस् एकछिन आफ्नो देशमा हुदा खेरिको सम्झना दिलाएकोमा मक्ख परे।

पावर गएमा चिया खान नपाउला भनेर थर्मसमा चिया भरे, केहि खाना पनि बनाएर राखे अनि टि भी अगाडि गएर बसे।, सबै च्यानलमा त्यहि “आइरिन” को खबर आइरहेको थियो। त्यो दिन दिउसो देखि ट्रेन बस सबै बन्द गरिसकेका थिए। आज रातको २ देखि ५ बजे बिहान सम्म “हरिकन आइरिन” ले न्यु योर्क न्यु जर्सीमा हान्छ भन्दै थियो। नर्थ क्यारोलिनामा हानिसक्यो भनेर त्यहाको दृश्य देखायो, मनै जिरिग्ग भएर आयो। घनघोर सित वर्षा शुरु भयो। जतिजति “आइरिन” आउने समय नजिकिदै थियो उतिउति डर लाग्दै आइरहेको थियो। बेस्करी हुरी चल्न थाल्यो, घन्घोरसित पानी पर्न थाल्यो। मेरी छोरीले कलेजबाट समय समयमा फोन गर्दै “ममिहरु बेस्मेंटमा जानुस तर्नेदो आउदै छ रे ” भन्थिन् ,मैले पनि “हाम्रो पिर नलिनु आफ्नो ख्याल गर्नु” भन्थे। यतिखेर मलाई यस्तो स्थितिमा आफ्नो परिवारका सबै सदस्यहरु साथै भए हुने थियो भन्ने लाग्यो। मेरी सानी छोरी भने “ममी २०१२ नजिक आउदै छ।” भन्थिन किनकि तिनले पनि ‘२०१२’ मुवी हेरेकी थिई। जुन मुभिमा २०१२ मा संसार ध्वस्त हुदैछ, त्यतिखेर अमेरिकामा कस्तो हुन्छ भनेर देखाएको थियो। एक मनले हासो उठे पनि मनभित्र कता कता डर लागेकै थियो। मैले नडराएको जस्तो गरि भने “त्यो त मुभी मात्रै हो छोरी केहि हुदैन पिर नलिनु।”

त्यतिखेर संसारको अन्त्य हुदैछ वा संसारमा केहि न केहि नराम्रो कुरा हुदैछ भनेर खुब हल्ला पनि चलेको थियो। पसल पसल हरुमा भबिस्यका लागि भनेर खानेकुरा हरु नबिग्रिने गरि बनाएका वा बत्ताहरुमा राखेका खानेकुराहरु अनि आपत बिपतमा चाहिने सामानहरु सफा पानी का लागि पानीमा राख्ने औषधि, चोटपटक लाग्दा आफुले गर्न सक्ने उपचारका सामानहरु, सोलार टर्च लाइट, मास्क इत्यादी जस्ता सामानहरु पनि निकै बिक्रि गरिराखेका थिए। हुन त् अहिले पनि बिक्रीमा छन् त्यस्ता सामानहरु। हामीले पनि त्यस्ता सामानहरु किनेर जम्मा गरेका थियौ। केहि समय भए पनि सर्भाइब गर्न सकिन्छ भनेर। कुनै कुनै टि भी च्यानलहरुले संसार मा केहि भएमा कसरी सर्भाइब गर्ने भनेर देखाइरहेका पनि थिए। हुन त कसलाई के थाहा कुन बेला कहाँ के हुन्छ भनेर। मनमनै ईश्वरसीत पुकारे केहि हानी नहोस भनेर। घन्घोर्सित हुरी बतास अनि मुसलधारे वर्षा भैराखेको थियो। डराई डराई सबै आ आफना कोठातिर सुत्न गयौ। बिहान उठ्दा त पावर पनि गैसकेको रहेछ। सिमसिमे पानी मात्रै परिरहेको रहेछ। ठाउँ ठाउमा रुखका हाँगाहरु छरिरहेका थिए। हाम्रो घरको साइडको एउटा रुख ढलेको रहेछ तर घरमा भने छोएको थिएन। म र मेरो श्रीमान बिहान एक राउण्ड हाम्रो घरको वरिपरी घुम्न गयौ। केहि छिमेकीहरु पनि आ आफ्नो घरमा के के हानी भयो होला भन्दै हेर्दै थिए। बाटो भरि भाचिएका रुखका हाँगाहरु त कतै कतै रुखहरु ढलेका थिए तर धन्य कसैलाई केहि भएको थिएन। त्यो दिनभरि पावर आएन। टि भी इन्टरनेट नभैकन समय बिताउन ज्यादै गार्हो भयो।

कहाँ कहाँ के के भयो केहि खबर थाहा भएन, दिनभरी डरलाग्दो गरेर हुरी चलिनै रह्यो। चिया खान मनलाग्यो तर पावर थिएन। नजिकको एउटा नेपाली साथीको फोन आयो “आउनुस तास पनि खेलौ यहाँ पावर नभए नि ग्यास त छ चिया पिउ सबै संगै बसेर।” भन्नुभो अनि हामी त्यहाँ गयौ, तातो तातो चिया पिउदै तास खेलेर बितायौ त्यो साझ। हरिकन आइरिनले हाम्रो ठाउँ नाघेर गैसके नि बाहिर बेस्करी हुरी चलिराखेकै थियो। तास खेल्नेहरु “अरुलाई अरु धन्धा घर ज्वैलाई खाने धन्दा” भने झैँ “यो आइरिन पनि शनिवार आइतवारको सत्ता अरुवार आएको भए अफिस त जानु पर्दैन थियो नि” भन्दै थिए।

धेरै जसो राति अध्यारोमा बस्नुपर्ने बानि त हामीले हाम्रो देशमै सिकेर आएका हुनाले हामीलाई त त्यति फरक परेन तर मेरी सानी छोरी जो यहाँ नै जन्मेकी थिइन्, तिनी भने टि भी हेर्न नपाएर छात्पतीं। भोलिपल्ट बिहान ९ बजे तिर पावर आउदा त सबैभन्दा पहिले तिनी नै खुशीले उफ्रिन। मैले पनि सबैभन्दा पहिले टि भी खोले। टि भी मा खबर हेर्दा हिजोको हरिकनमा परेकाहरुलाई उद्वार गरेकाहरुलाई ठाउँ ठाउका गवर्नरहरुले धन्यवाद दिइराखेका थिए। त्यो दिन पनि कतिपय ट्रेन बस हरु नचल्ने कतिपय सपिङ्ग सेन्टरहरु बन्द नै हुने खबर आइराखेको थियो। आइरिनले जति हानी गर्छ भनेर सबैले सोचेका वा डराएका थिए, हाम्रो ठाउमा त्यति भएन, यसको लागि ईश्वरलाई धन्यवाद दिनै पर्छ।

हाम्रो ठाउँ वरिपरि त्यति असर नपरे नि विभिन्न ठाउहरुमा त्यो हरिकन आइरिनले ल्याएको बाढी पहिरोको दृश्य अनि ठूल ठूला रुखहरु ढलेर किचिएका गाडीहरु, घरहरु अनि त्यतिखेरको आर्थिक मन्दीको मारमाथि अर्को आइरिनको मारमा परेकाहरुको अनुहारको पीडाको दृश्यले अनि केहि मानिसहरुको मृतुको खबरले भने दिनभरि नरमाइलो लागिनै रह्यो।

-रजनी (कन्चन) मल्ल

प्रतिक्रिया