बलात्कार सम्बन्धी कानुनको दुरुपयोग

मोहन घिमिरे २०७९ भदौ २९ गते १:१२ मा प्रकाशित

फौजदारी कानुनको सिद्धान्त अनुसार कानुनले नगर्नु भनेको काम गर्नु र कानुनले गर्नु भनेको काम नगर्नु अपराध हो। अपराध हुनको लागि दुई वटा कुराको पुष्टि हुनु पर्दछ।  अपराधिक मनसाय र अपराधिक कार्य दुबैको संयोजन भएमा अपराध हुन्छ।  अपराधिक मनसाय दुई तरिकाले हेर्न सकिन्छ। १, विशिष्ट अभिप्राय २, सामान्य अभिप्राय।  विशिष्ट मनसायपूर्वक हुने अपराधमा अपराध घटाउने उच्च स्तरको मनसाय पुष्टि हुनु पर्दछ।  मानसिक अवस्था बिग्रेको र व्यक्तिको पागलपन तथा अपराध हुने तथ्यको वास्तविक तथा व्यवहारिक गल्तिलाई कानुनी रक्षाको रुपमा लिन सकिन्छ।  तर कानुन नबुझेको भनेर तर्क प्रस्तुत गर्न भने पाइन्दैन।  सामान्य अभिप्रायमा भने कानुनी रक्षा केहि जटिल हुन्छ।  मैले मादक पदार्थ सेवन गरेको थिएँ , मैले तथ्य बुझिन भन्ने बहाना बनाउन पाइन्दैन।  अर्थात अपराध घट्ने तथ्य नबुझेको वास्तविक तथा व्यवहारिक पुष्टि हुनु पर्दछ।

            जवर्जस्ती करणी यौन बलात्कार सामान्य मनसायापूर्वक हुने अपराधको सुचिमा राखिन्छ।  यो अपराधको कानुनी प्रतिरक्षा गर्दा अपराध घटाउने व्यक्तिले तथ्य थाह नभएको बहना बनाउन मिल्दैन, अपराध घट्ने तथ्य वास्तविकरुपमा नै नबुझेको हुनु पर्दछ, मादक पदार्थ सेवन गरेको, मानसिक सन्तुलन ठिक नभएको बहना बनाउन मिल्दैन। अपराध पुष्टि हुनको लागि अर्को महत्वपूर्ण तत्व अपराधिक कार्य हो।  तर अपराधिक कार्य अपराधिक मनसायसंग मेल खानु पर्दछ। अपराधिक मनसाय र अपराधिक कार्य मेल खाएन भने कानुनले तोकेको अपराध हुन सक्दैन।  अपराधिक कार्य पुष्टि गर्न वास्तविक कारण र निकटतम अर्थात सम्भावित कारण दुवै प्रष्ट, विस्वस्त र भयरहित रुपमा पुष्टि हुनु पर्दछ।  अपराधिक कार्य र अपराधिक मनसायको समन्वयन भएन भने कानुनले सोचेको अपराध हुन सक्दैन।   यदि तेस्तो भएमा अरु नै अपराधिक  तत्वसँग  मेल खान जान्छ। 

जबर्जस्ती करणी तथा बलात्कार सम्बन्धी  अपराध के हो भन्ने सन्दर्भमा सिद्धान्त त एउटै परिभाषा भए पनि हरेक देशको व्याख्या र व्यवहारिक पक्ष भने फरक फरक देखिन्छन । गैरकानुनी यौन गतिविधि जबर्जस्ती करणी वा बलात्कार मानिन्छ । अर्थात  जबर्जस्ती वा बलपूर्वक वा धम्कीद्वारा पिडितको सहमति बिना यौन सम्पर्क गर्नु बलात्कार हो।  तर पीडितको उमेर कानुनले वयस्क भन्दा तल तोकेको रहेछ र तोकेको उमेर भन्दा तलको उमेर भएकोसंग यौन सम्पर्क भयो भने त्यो यौन सम्पर्क स्वत बलात्कार मानिन्छ। यस्ता कानुनहरु राज्यले निश्चित समुदाय,उमेर र वर्गको हित र सम्र्क्षणका  लागि तयार गरेको हुन्छ।  के बलात्कार हुनको लागि उमेरको हदले मात्र पिडितको सम्र्क्षण गर्छ आज सबैमा यो बहुत खुल्दुलीको विषय बनेको छ।

अपराध र कानुनको सामन्जस्यबाट हेर्दा के उमेर नपुगेका बलातकृत पीडित स्वत पीडित पुष्टि हुन्छन।  हामीले यो कुरा गम्भिर भएर हेर्नु पर्ने हुन्छ। एउटा कसैले कसैलाई बलात्कार गर्यो भने पीडित स्वत बलातकृत भयो भनेर अनुमान गर्दा अर्को पक्षलाई अन्याय त हुन्दैन यो अत्यान्तै सम्वेदनशिल विषय हो।  कानुनको सिद्धान्त अनुसार सय जना अपराधीहरु मुक्त हुन तर एक जना निरपराधी अन्यायमा नपरोस भन्ने हो।  तसर्थ के पीडितको उमेरले मात्र बलात्कार जस्तो गम्भिर अपराध पुष्टि हुन सक्छ।  हुन सक्दैन र हुनु हुन्दैन।  बलात्कार हुनको लागि घटना स्थलमा निम्न परिस्थिति देखिएको हुनु जरुरी हुन्छ। सामान्यतय बलात्कार घटनामा अपराधीको पहिचान नहुन सक्छ। तेस्तो अवस्थामा अपराधीको पहिचानको लागि घटनास्थलमा भेटिएको कपाल, नङ, विर्य, रगत, लगाएको लुगाबाट पसिना लगायत अन्य फेला परेका जैविक नमुनाबाट अपराधी पत्ता लगाउन सकिन्छ यो त भयो अपराधी पत्ता लगाउने आधार तर अपराध सावित गर्नको लागि भने निम्न कुराहरु निष्पक्ष भएर अनुसन्धान गर्ने  निकाय र मेडिकल परिक्षणबाट पुष्टि हुनु पर्दछ।  

पीडितको अवस्था : घटनास्थलमा पीडितको अवस्था कस्तो थियो भन्ने कुरा अनुसन्धान गर्ने निकायले तस्विर सहित घटनस्थल र पिडितको तस्विर लिनु पर्दछ।  घटना स्थलमा झगडा भएको छ छैन, जमिनको अवस्था कस्तो छ , जमिनमा प्राप्त भएका, घटनास्थल वरिपरि कस्तो थियो, कोहि चस्मदित व्यक्तिहरु छन छैनन त्यो संकलन गर्नु पर्दछ।  कसैले पीडितको आवाजहरु सुनेको छ छैन त्यो कुरा संकलन गर्नु पर्दछ

पीडितको शारिरिक अवस्था

, कपालको अवस्था कस्तो थियो , कपाल उखलिएको थियो, कपालमा कुनै रङ्ग लागेको थियो, कपालको लम्बाई एकै थियो कि फरक फरक थियो, यी कुराहरु अनुसन्धन गर्ने निकायले संकलन गर्नु पर्दछ। 

, पीडितको अनुहार : पीडितको अनुहारमा कुनै चोट पटक छ छैन , छ भने कस्तो चोटपटक छ र त्यो चोट पटक बलात्कारसँग सम्बन्धित छ छैन त्यो प्रमाण संकलन गर्नु पर्दछ।  मुख, दाँत, जिब्रो कानको अवस्था कस्तो छ त्यो जस्ताको तस्तै संकलन गर्नु पर्दछ। 

, पीडितको चिच्याहट : पीडितले रोइ कराई गरेका भिडियो, क्यामरा वा चस्मदित व्यक्तिको उपस्थित बयान वा बकपत्र आदि महत्वपुर्ण प्रमाण मानिन्छ।  अनुसन्धान गर्ने व्यक्तिले यी प्रमाणहरु संकलन गर्नु पर्दछ। 

, पीडितको शारिरिक अवस्था र चोट पटक : पीडितको शरीरमा चोटपटक घाउ खत भए नभएको निर्क्योल गर्नु पर्दछ। पीडितको हिड्न सक्ने अवस्थामा छ छैन।  नङ्गको अवस्था कस्तो छ नङ्गमा लगाएको पालिसको अवस्था कस्तो छ भन्ने कुराको प्रमाण संकलन गर्नु पर्दछ। 

, पीडितको योनि मलद्वारको अवस्था : बलात्कार सम्बन्धि अपराधमा सबै भन्दा महत्वपूर्ण प्रमाण पीडितको योनिको अवस्था परिक्षण गर्नु पर्दछ।  महिला प्रहरीको सहयोगमा महिला चिकित्सकबाट योनि र मलद्वारको परिक्षण गर्नु पर्दछ।  यी सबै प्रमाणका आधारहरु घटनास्थलबाट संकलन गर्नु पर्दछ। तव मात्र वास्तविक बलात्कार भएको अनुमान गर्न सकिन्छ। योनिको परिक्षणबाट बलात्कार भएको समय समेत चिकित्सकले बैज्ञानिक परिक्षण गर्न सक्दछन।

          यी माथिका प्रमाणहरु संकलन हुन सकेनन भने समयमा अनुसन्धान गर्ने निकायमा उजुरवाजुर भएन भने बलात्कारको घटना शंकास्पद हुन्छ। अनुसन्धान गर्ने  र न्याय निरुपण गर्ने निकायले गहिरो अध्यान गर्नु पर्ने हुन्छ।   

कानुन निर्माणमा व्यवस्थापिकीय मनसाय र कानुनको व्यवहारिक पक्षमा ध्यान दिंदा के व्यवस्थापिकाको मनसाय अनुरुप नै कानुनको  पालना, कार्यन्वयन र सहि प्रयोग भै रहेको छ भन्ने सन्दर्भमा हेर्दा यी कुराहरु विवादस्पदा छन।  अर्को प्रश्न तेती नै गम्भिर छ के व्यवस्थापिका संसदले यो कानुन निर्माण गर्दा आफ्नु देशको परम्परा, संस्कार, रितिरिवाज, चालचलन र कानुनको व्यवहारिक कार्यन्वयन तर्फ ध्यान दिएको थियो कि थिएन यो महत्वपूर्ण विषय हो।  हाम्रो सस्न्कार र परम्परा अविभावक प्रेरित संस्कार हो। यो संस्कारमा कहिले पनि आधुनिकताले प्रसय पाउन्दैन र पाएको पनि छैन।  हाम्रो संस्कारमा अझै पनि छोरीको विवाह गर्ने उमेर १४ बाट शुरु हुने गर्छ।  कानुनले तय गरेको विवाहको उमेर १८ र २० बर्ष नपर्खने परम्परा र संस्कार हामी संग जिउंदै छ।  राज्यले यो परम्परा र संस्कारको दोहन गर्नु हुँदैन ।  कि त राज्यले विवाह गरेका तर  विवाह सफल हुन नसकेका पीडितलाई क्षतिपुर्ति दिन सक्नु पर्दछ।  विवाह सफल हुन नसके त्यसको जिम्मेवारी अविभावकले नै जिम्मा लिने परम्परा हाम्रो सामु निरन्तर छ।  त्यस कारण राज्यले यो संस्कार भताभुङ्ग बनाउनु हुँदैन ।  हामीले विवाहको उमेर तय गर्दा व्यापक छलफल विचारविमर्स गर्न सक्यौ कि सकेनौ वा हामीले कतैबाट निर्मित कानुन ग्रहण गरौ यो पनि तेतिकै महत्वपूर्ण हुन्छ।  विवाहको उमेर सम्बन्धी  कानुन हाम्रो देश, माटो, जनस्तर, संस्कार र चलनमा आधारित भएर बनाएका छौ कि छैनौ।  यो हाम्रो जिज्ञासा हुनु पर्दछ।   हाम्रा धेरै कानुनहरु व्यवहारिकरुपमा कार्यन्वयन हुन सकेका छैनन यसको मुल कारण हाम्रो देश, भेष, संस्कार, परम्परा र हैसियतसंग  बाझिनु हो। 

विभन्न घटना, परिघटनाहरुले पुष्टि गरेको छ कि बलात्कार, नाबालक, नाबालिग र विवाहको उमेर सम्बन्धी कानुनले  व्यवस्थापकिय मनसाय  भन्दा अरु धेरै सामाजिक समस्या थपेको छ।  हालको यो कानुनले नाबालक नाबालिगहरुको सम्रक्षण भन्दा पनि अरु अपराध र जटिलता थप गरेको देखिन्छ। 

शारिरिक परिपक्क्तामा बृद्धि : उमेरको तुलनामा शारिरिक परिपक्कताको कारणले उमेर पहिचान नहुँदा धेरै बलात्कारका मुद्धाहरु उठेका छन।  २२/२३ वर्ष देखिने तर वास्तविकतामा नाबालिग हुने कारणले मन्जुरीसाथ भएका यौनजन्य घटना विध्यमान कानुनको कारणले गर्दा बलात्कारमा परिणत भएका छन।

खराव मनसाय : १६/१७  बर्ष सम्ममा लगभग १२ कक्षा उतिर्ण गरिसकेकाहरु हरेक क्षेत्रमा परिपक्क नै मानिन्छन।  उनीहरु आफ्नु पक्षमा निर्णय गर्ने सक्ने हुन्छन।   यौन कार्य गर्न सक्षम र मन्जुरी दिन सक्ने देखिए पनि वास्तवमा उनीहरु नाबालिगको हकमा १६ बर्ष तलका हुन्छन। यौन कार्य गर्न मन्जुरी भए पनि कानुनीरुपमा बलात्कार सावित हुन्छ।  यस्ता घटनाले राष्टिय स्तरका कलाकार, खेलाडी बहुप्रतिभाशाली व्यक्तिहरुको चरित्र हत्या भएको देखिन्छ। नाम चलेका युवाहरुको छनौट गर्ने, सामाजिक संजाल प्रयोग गर्ने हरेक कुरामा सहमत हुने, दिन भरि संगै घुम्ने, मादक पदार्थ सेवन गरेर उमेरमा परिपक्कता देखाउने, होटलमा संगै जाने बस्ने मोजमस्ती गर्ने अन्त्यमा नाबालिग भएको भनि बलात्कार भएको दावी गर्ने यसले समाजको नै चरित्र हत्या गरेको देखिन्छ। 

आर्थिक शोषण: आर्थिकरुपमा सवल व्यक्ति छनौट गर्ने आफुलाई उमेरमा बयस्क सावित गर्ने र यौनजन्य कार्य गर्ने, पछि चल अचल सम्पत्ती माग गर्ने आफुले भने जति सम्पत्ती प्राप्त हुन नसके बलात्कार गरेको दावी गर्ने। यसरी समाजमा बलात्कारको नाममा आर्थिक शोषण भै रहेको छ।

वैवाहिक प्रस्ताव: आर्थिक सम्पन्न व्यक्तिलाई शुरुमा विवाह गर्न धेरै लामो समय सम्पर्कमा राख्ने जे जति सकिन्छ उसको सम्पत्ती दोहन गर्ने र अन्त्यमा बलात्कार गरेको दावी गर्ने जस्ता घटना पनि धेरै देखिन्छन।             

यसरी मनसाय खराव भएका व्यक्तिहरुबाट कानुनको सहारा लिएर आफ्नु फाइदा उठाइ रहेका छन, वास्तविक बलात्कृतहरु उल्टो बलात्कार भै रहेका छन भने अर्कातिर सामाजिक सहनसिलताको भांडभैलो भै रहेको छ। यसले विश्व समुदायमा नेपाल र नेपालीको इज्वत, प्रतिष्ठामा समेत धक्का पुगिरहेको छ।  हालको यो कानुनले सुधार भन्दा बिग्रहमा  तौल बढाएको हुँदा सरकारले आफ्नु देश सुहाउँदो हरेक वर्ग, समुदाय, जात, जाति, परम्परा, रितिरिवाजको समेत सम्रक्षण गर्ने गरि बृहतम छलफलबाट कानुनको सुधार गरि व्यवहारिक कानुन निर्माण गर्नु उचित देखिन्छ।

मोहन घिमिरे

लेखक तथा कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया