‘तेल भिसा’ मा अभिभावकलाई अमेरिका ल्याउनेहरुको नाममा…

नवीन रायमाझी २०७९ भदौ २५ गते ९:५५ मा प्रकाशित

यो आलेख आफ्ना अभिभावकहरुलाई अमेरिका ल्याएर सुख दिने र इज्जत गर्नेहरुप्रति लक्षित छैन। त्यस्ता सन्तानहरुलाई पंक्तिकार हार्दिक अभिवादन गर्छ र त्यस्ता सन्तानहरु उत्तेजित हुनुपर्ने जरुरी पनि छैन। यो आलेख बाउआमालाई ल्याएर घरको काम गराउने र बच्चा हेर्न लगाउने तर कुनै पारिश्रमिक नदिनेतर्फ लक्षित छ।

सन् १९९९ मा ‘आ अब लौट चले’ नामक एउटा हिन्दी सिनेमा रिलिज भएको थियो। सिनेमाको कथाअनुसार एक पात्र (जतिन सियाल) ले आफ्नो पिता (अच्युत पोद्दार) र माता (सुलभा आर्य) लाई आफूसँग अमेरिका ल्याउँछन्। अमेरिका आउनेबेला सबै जोरीपारीले ती दम्पती कस्तो भाग्यमानी भन्छन् र खुशी हुन्छन्,यद्यपि त्यो खुशीमा इर्स्या पनि मिसिएको थियो।

एकदिन सिनेमाको नायक (अक्षय खन्ना) ले ती वृद्ध दम्पतीलाई छोराको लजमा काम गरिरहेको देख्छ र सोध्छ, ‘तैँले आफ्नो माता-पितालाई सुख दिन्छु भनेर ल्याएर काम गराएको रहेछस्’, त्यसको जवाफमा उसले भन्छ, ‘यदि अमेरिकामा नोकर सस्तोमा पाउँथे भने यी बुढाबुढीलाई किन ल्याउँथे?’ सिनेमा भएर केही नाटकीय भयो होला तर यो वास्तविकता हो।

केही समयअघि पंक्तिकार नर्थ क्यारोलिनामा रहँदा देझेको घटनाहरुलाई यहाँ उल्लेख गर्दै छु। फेसबुकमा आमा र देशलाई तुलना गर्दै स्ट्याटस पोस्ट गरिरहने एक मान्यबर थिए। उनले आफ्नो माता-पितालाई गरेको व्यवहार सम्झिँदा पनि मन अमिलो हुन्छ। उनी आफू काममा जानेबेला माता-पितालाई मल (किनमेल केन्द्र) मा छोड्ने र घर आउँदा लिएर आउने गर्थे। हरेक दिन आठदेखि दश घण्टा नौलो पहिरनमा रहेका वृद्ध जोडीलाई देखेर मलको सुरक्षाकर्मीहरुले अज्ञात शंकामा उनीहरुलाई पक्राउ गर्यो।

भाषाको समस्या भएको कारण ती वृद्ध जोडीले आफ्नो समस्या बताउन सकेनन्। उनीहरुलाई लिन उनका छोरा नआएसम्म उनीहरु सुरक्षाकर्मीकै नियन्त्रणमा रहे। पछि छोरा आएपछि सुरक्षाकर्मीहरुले प्रश्न गर्दा छोराको जवाफ थियो, ‘दिनभरी बाउआमा घरमा बस्दा बिजुलीको बिल धेरै आएको कारण यस्तो गरेको हो।’ सुरक्षाकर्मीहरुले उनको यस्तो हावादारी जवाफलाई स्विकार्ने कुरा थिएन र उनलाई आइन्दा यस्तो नगर्ने चेतावनीसहित फुक्का गरिदिए। अच्चम के छ भने उनी नर्थ क्यारोलिनाको एनआरएन र जनसम्पर्क समितिको ‘बिग सट’ हुन्, भलै यस्तो अर्थहीन संघसंस्थाको कुनै हैसियत छैन।

यस्तै लगभग ७० वर्ष का दुई वद्धलाई पनि छोराछोरीले अमेरिकामा त्यसै बस्न हुन्न भनेर एउटा नेपालीकै रेस्टुरेन्टमा भाँडा माझ्ने काममा हालिदिए। तपाईं कल्पना गर्नुस् त्यस्तो पाको उमेरका वृद्धले रेस्टुरेन्टको ठुला-ठुला भाँडा दैनिक रुपमा सफा गर्दा कस्तो हालत भयो होला? त्यस्तो दुख गरेर पनि तिनीहरु अमेरिकामै किन बसेका होलान् भन्ने कुरामा मलाई अच्चम लाग्छ। यो करिब १६ महिनाअघिको कुरा हो। अहिले ती वृद्धहरु त्यहाँ काम गर्छन् कि गर्दैनन् पंक्तिकारलाई थाहा भएन।

अपवादलाई छोडेर अधिकांश नेपालीहरुले बाउआमालाई अमेरिका ल्याउने छोरी वा बुहारी सुत्केरी हुँदा बच्चा स्याहार्न र त्यो बच्चालाई तेल लगाउन (तेल भिसा) मा र त्यो बच्चा स्कुल नजाउन्जेलसम्म (थाङ्ग्ने भिसा) मा हो। यी दुवै काम सकिएपछि माता-पिताहरुलाई नेपाल फर्काइदिन्छन्।

आउनेहरुले पनि नेपालमा अनेक किसिमका धाक लगाएका हुन्छन् र त्यसै कारण यहाँको सत्यता खोल्न नैतिक सङ्कट पर्न जान्छ। छोराछोरीले पनि बाउआमालाई अमेरिका घुम्न ल्याएको भन्छन् र वर्षौं राख्छन्। जतिसुकै घुमे पनि दुई महिनामा सबै कुरा सकिन्छ र वर्षौंसम्म कोही पनि केवल घुमेर मात्रै बस्न सक्दैन, यो सरासर झुट हो।

अत: तेल भिसामा बाउआमा ल्याउने र छोराछोरीले बोलाए भन्दैमा अभिभावकहरु खुट्टा उचालेर आउने नगर्दा यस्तो अन्याय हुन्थेन कि? चोरको खुट्टा काट भन्दा खुट्टा उचालेको जस्तो गरेर आदर्शका कुरा गरेर विरोध गर्नेहरुलाई स्वागत छ।

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया