‘आज आजै हो, हिजो होइन’

रजनी (कन्चन) मल्ल २०७९ भदौ २० गते ९:१४ मा प्रकाशित

कुनै पनि घर, समाजमा हरबखत हरेक मानिसहरुको आ आफ्नै परिवेशको भोगाईको आधारमा अनुभब र बिचारहरु फरक फरक हुन्छ। त्यसमा पनि समय अनुसार परिवर्तन भै रहने बातावरण, परिस्थिति अनि परिबेशले गर्दा पुरानो र नया पुस्ता बीचको बिचारधारामा सधै फरक भै नै रहन्छ,जसले गर्दा त्यहाँ दुई पुस्ता बीच मानसिक अन्तर्द्वन्द पनि चलि नै रहन्छ। त्यसमा पनि अहिले त् झन् बिज्ञानको चमत्कारले यति ठुलो संसारलाई नै बिभिन्न कुराहरुको माध्यमले अनि ज्ञानले सानो बनाई सकेको छ। हरेक कुराहरुको प्रभाब एक ठाउबाट अर्को ठाउमा सजिलै संग पर्न सकिन्छ। तसर्थ आजको आधुनिक युगमा मानिसहरुको बिचारधारामा पनि परिवर्तन आइसकेको छ, आउनु पनि पर्दछ।

पुरानो रितिरिवाजमा हुर्केर आएका पुरानो पुस्ताले पक्कै पनि नया रीतिरिवाजलाई सजिलै संग ग्रहण गर्न सक्दैन र पुरानो कुरालाई चटक्कै छोड्न पनि सक्दैन। त्यस्तै नया पुस्ताले पनि पुरानो रीतिरिवाजलाई पूर्ण रुपमा स्वीकार्दैन र नया रितिरिवाज मै रमाउन चाहन्छ जसले गर्दा हरबखत हरेक घर परिवारमा नजादिदो किसिमले दुइ पुस्ता बीच मतभेद उत्पन्न भै नै रहन्छ। पुरानो पुस्तालाई आफु हुर्की बढी आएको समयको समाजको गतिविधिहरुले प्रभाब पारेको हुन्छ। त्यसमध्य बिशेष गरि जातिपाती, छुवाछुत, ठुलो सानो जस्ता अन्य अन्धबिश्वासका कुराहरुले मानसपटलमा जदो गाडेको हुन्छ। त्यसलाई निकाल्न कहिले काही समय लाग्न सक्छ। तर त्यसो भन्दैमा पुरानो पुस्तामा सबै नराम्रो कुराहरु मात्रै छन भन्न मिल्दैन। कतिपय कुराहरु राम्रा पनि छन् जसलाई अहिलेको समाजले पनि स्वीकार्दै आएका छन्। कतिपय कुराहरु उनीहरुले आफ्ना अग्रजहरु बाट सिकेर आएका पनि हुन्छन। जुन समयमा विज्ञानको त्यति प्रयोग भएको थिएन त्यतिखेर प्राकृतिक तवरले प्रयोग गरेर पत्तालगाएका कुराहरु लाई लिन सकिन्छ। जस्तै कतिपय स्वास्थ्य सम्बन्धि प्राकृतिक तवरले गरिने उपचारहरु, आयुर्वेदिक उपचारहरू, योगा, मेदितेसन तथा अन्य प्राकृतिक औषधिहरु जसलाई अहिले को आधुनिक युगले पनि स्वीकारेका छन्, त्यसलाई लिन सकिन्छ। त्यसैले कतिपय कुराहरु पुरानो पुस्ताको पनि सहि छन्। किनकी उनीहरुले आफ्ना अग्रजबाट सिकिआएका आफ्नै तवरको ज्ञान बिज्ञान लाई लिन सकिन्छ। त्यसको साथै आफैले त्यसको प्रयोग गरि अनुभब प्राप्त गरेका पनि हुन्छन। अनुभवको आधारमा गरिने क्रियाकलापहरु सकभर सहि नै हुन्छन पनि।

पहिलेको समयमा आफ्नो सन्तानले केहि जवाफ दियो भने ‘मुखमुखै लागेको’ भन्ने सज्ञा दिइन्थ्यो तर अहिले त्यसो होइन, आफुलाई लागेको कुरा व्यक्त गरेको भनिन्छ। त्यो जायज पनि हुन्छ यदि त्यो अनुशासन र मर्यादाको सीमाभित्र रहेर व्यक्त गरियो भने। बिशेष गरि यस्ता मतभेदहरु छोरा मा भन्दा छोरीमा लागु गरिन्छ। हुन् सक्छ कहिले काही छोरीहरुको सुरक्षा को लागि कुनै कुनै नियमहरु बनाउलान तर त्यसो भन्दैमा संकुचित् विचारधारामा गुत्मुत्याएर राख्न थाल्यो भने हाम्रा छोरीहरु कहिले उभो लाग्ला त्? त्यसैले छोरा छोरी दुबैलाई समान रुपले अनुशासन र मर्यादाको सीमाभित्र राखेर स्वतन्त्रताको साथै, माया, साथ, सपोर्ट र अवसर देऔ। यसको शुरुवात हामीले पहिले आफ्नै घरबाट शुरुवात गरौ। हुन् त् अहिले धेरै कुराहरुमा परिवर्तन आइसकेको छ तर पनि पूर्ण रुपमा परिवर्तन आइसकेको छैन।

पहिलेको समाजमा घर सफा गर्ने, खाना बनाउने, बाल बालिका हेर्ने, स्याहार्ने जस्ता घरेलु कामहरु धेरैजसो छोरी मान्छेले गरिन्थ्यो अनि छोरा मान्छेले घर बाहिरको काम अर्थात् पैसा कमाउने काम गरिन्थ्यो। तर अहिले त्यसो होइन जसलाई जे गर्न मनलाग्छ अर्थात् जसलाई जुन काम गर्न सहज हुन्छ उसले गरिन्छ। धेरैजसो पुरानो रुधिबाधि समाजले अहिले पनि हाम्रा छोरीहरुलाई नै बढी जकदिएको हुन्छ। सानो छदा देखि छोरीमान्छे ले यसो गर्नु हुदैन, उसो गर्नु हुदैन भन्दै चार दिवार भित्र बसेर खेल्ने पुतली, भाडाकुडा हातमा थमाएर शुरुवात गर्छ, अलि ठुली भए पछि कुचो समाउन लगाउने घर सफा गर्न, अनि खाना बनाउन भान्छा कोठामा खाना बनाउने भाडाकुदा हरु प्रयोग गर्न, आगो बाल्न सिकाउछ। महिनावारी हुदा कुनै सरुवा रोग लागेको मान्छेलाई झैँ ‘नछुनी भएको’ नामकरण गरि छुटै राखिन्छ। तिनले छोएको सबै अचोखो मानिन्छ। त्यस्तै धेरै जसो गाउघरमा छोरी मान्छेलाई अर्काको घर जाने त् हो नि भनि छोरालाई जति पढाई मा पनि त्यति प्राथमिकता दिदैनन्। त्यस्तै बिधवा छोरी मान्छेले यो लाउनु हुदैन त्यो लाउनु हुदैन यो गर्नु हुदैन त्यो गर्नु हुदैन भनेर चोट माथि चोट पुर्याउने काम पनि गरिन्छ। यस्ता कुराहरु कति छन कति। पुरानो रितिरिवाज अनि अन्धविश्वासले पनि बढी छोरीमान्छेलाई नै पेलेको हुन्छ र अझ पनि त्यस्ता कुराहरु लुकेर बसेकै छन्। यस्ता कुराहरु आजको आधुनिक युगको लागि लाज को कुरा हो अर्थात् मुर्ख्याई पनि हो।

पहिलेका धेरै जसो मानिसहरु आफ्ना अग्रजहरुले भनेका कुराहरुलाई सजिलैसंग मान्न तयार हुन्छन, चाहे त्यो ठिक होस् या बेठिक। तर अहिलेका नया पुस्ताकाले त्यो कुरालाई मान्नका लागि पहिले प्रमाण खोज्दछन। उनीहरु समाजमा परिवर्तन ल्याउन चाहन्छन।आफुलाई लागेको कुरा स्वतन्त्र रुपमा व्यक्त गर्न चाहन्छन। पुरानो अन्धबिश्वासमा जकडिएको समाजबाट मुक्त हुन् चाहन्छन।

कुनै कुनै परिवार कडा हुन्छन जहाँ नया पुस्ताका आवाज सुन्दैनन् , उनीहरुलाई बुझ्दैनन् जसले गर्दा उनीहरु भित्र भित्रै निस्सासिरहेका हुन्छन जसको नतिजा नकारात्मक हुन पनि सक्दछ। तसर्थ पुरानो पुस्ताले पनि समयको माग अनुसार नया पुस्ताको कुरालाई सुनिदिनु पर्दछ। उनीहरुको भावनालाई बुझिदिनुपर्दछ। नया पुस्ताले पनि शिष्टता र मर्यादाको सीमाभित्र रहेर स्वतन्त्रताको सदुपयोग गर्नुपर्दछ। दुवै पक्ष ले आफ्नो कुरा मात्रै ठिक अरुको बेठिक भन्न थाल्यो भने त्यहाँ सधै मनमुटाब भै नै रहन्छ। नया पुस्ता र पुरानो पुस्ता बीचको मानसिक अंतर्द्वंध हरेक समयमा हुने फरक बिचारधाराको कारणले उत्पन्न हुन्छ, जुन आफुहरु हुर्केको ठाउँ, परिवेश, र समयले निम्त्याएको उपज हो।

कहिले काही पुरानो पुस्ताले “हाम्रा पालामा त यस्तो गरिन्थ्यो उस्तो गरिन्थ्यो, तिमीहरुले पनि गर्नुपर्दछ” भन्दछ तर अहिलेको समय पुरानो पुस्ताको होइन नया पुस्ताको हो भनेर पनि बुझिदिनु पर्दछ। तर फेरि नया पुस्ताले पनि पुरानो पुस्तामा सधै रुढीबाढी, अन्धबिश्वासका कुराहरु मात्रै हुन्छन भनेर सोच्ने होइन कि उनीहरुमा पनि धेरै राम्रा राम्रा परिवार, समाजलाई हित गर्ने कुराहरु लुकेको हुन्छ जुन उनीहरुले भोगेर, अनुभब गरेर आएका हुन्छन भनेर सोच्नु पर्दछ। कुनै पनि समाजमा हरबखत दुई पुस्ता बीचको बिचारको बिभेदको कारणले मानसिक अन्तर्द्वन्द भै अनेकौ चुनौती हरु आइनै रहन्छ तसर्थ त्यसलाई बडो धैर्यताका साथ आफैले पनि बुझेर वा अरुलाई बुझाएर समस्याको समाधान गर्नुपर्दछ। दुई पुस्ता बीचको समयको अन्तरालले अनि अनुभवको आधारले पनि मत भिन्नता हुने कुरा हो।

आफुलाई लागेको कुराहरु दुवै पक्षले प्रस्टसँग भन्नुपर्छ जसले गर्दा एकले अर्कालाई बुझोस् र समस्याको समाधान पनि होस्। रुढीबाढी अन्धबिश्वाशी समाजमा हुर्केर आएका पुस्ताले अनेकौ कुराहरु जसले समाजलाई फाइदा भन्दा बेफाइदा गर्दछ, कसैलाई चोट पुर्याउछ भने त्यस्ता कुराहरुलाई छोड्नु पर्दछ। त्यसको साटो राम्रो राम्रो कुराहरुलाई यथावत् राखी नराम्रो कुराहरुलाई छोड्दै जानाले नया पुस्ताले पनि त्यसको अनुसरण सजिलै संग गर्दछ र खुशी पनि हुन्छ। जसले गर्दा परिवार, समाज अनि देश नै उभो लाग्दछ। कहिले काही बिचारधारामा परिवर्तन हुन् समय पनि लाग्न सक्छ। तर समय, ठाउँ, परिस्थिती अनुसार बिचारधारामा परिवर्तन पनि आउछ र परिआएमा सकिन्छ पनि र सकिनु पनि पर्दछ।

पुरानो पुस्ता र नया पुस्ता बीचको बिचारधारा फरक हुनाले जन्माएको मानसिक अन्तर्द्वन्द्ले निम्त्याएको चुनौतीहरुलाई सरल तुल्याउन पुरानो पुस्ताले आजको समयको मागलाई बुझ्नु पर्दछ। ठाउँ, समय, परिवेश, परिस्थिति अनुसार आफुलाई पनि ढाल्न सक्नुपर्दछ, अनि मात्र जिबन सरल, सहज र खुशी हुन्छ नत्र कठिन र दुखि हुन्छ अनि आफु एक्लो परिन्छ। किन कि आज आजै हो हिजो होइन।

प्रतिक्रिया