मोरङ, ११ भदौ(रासस):पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महास मोरङद्वारा शनिवार विराटनगरमा आयोजित कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार२०७८ र खिलेश्वरी स्मृति पुरस्कार२०७९ वितरणमा समारोहमा प्रदेश नं १ सभामुख प्रदीपकुमार भण्डारीले नेपाल पत्रकार महासका पूर्व सभापति विष्णु निष्ठुरीलाई कोशराज पुरस्कारबाट पुरस्कृत गर्दै । तस्बिरः मनोज दाहाल÷रासस
विराटनगर,११ भदौ । नेपालको पहिलो पत्रकारको रुपमा मानिएका मोतिराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ दुई पत्रकारहरुलाई पुरस्कृत गरिएको छ।
पीताम्वर –खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल पत्रकार महासङ्घका पूर्व सभापति बिष्णु निष्ठुरीलाई नगद रु २५ हजार सहित पुरस्कृत गरिएको छ।
यसैगरी खिलेश्वरी स्मृति पुरस्कार–२०७९वाट मोरङका पत्रकार दुर्गाप्रसाद भट्टराईलाई नगद रु ११ हजार सहित सम्मान गरिएको छ ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी सम्मानित सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै पत्रकारहरुको जिविकापार्जन र सुरक्षा उपलव्ध गराउन राज्यको ध्यान जानु पर्ने बताउनु भयो ।
उहाँले पत्रकारको कलम धारिता एवं तिखो वनाई जनताको आवाज उठाउन आग्रह गर्नु भयो ।
उहाँले पत्रकारिता पेशालाई मर्यादित, जनउत्तरदायित्व र निश्पक्ष बनाउन स्व.कोशराज रेग्मीले देखाएको वाटो मार्गदर्शन हुने धारणा राख्नु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको भाषा र साहित्यको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभापति विपुल पोखरेलले प्रेस स्वतन्त्रता अक्षुण राख्न राज्यका सबै निकायको दायित्व रहेको छ भन्दै व्यवसायिक पत्रकारिताको संरक्षण , विकास र प्रवद्र्धनमा राज्यले उपयुक्त नीति बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासङ्घका मोरङ अध्यक्ष सन्जिव खनाल, पुरस्कृत व्यक्तित्व महासङ्घका पूर्व सभापति निष्ठुरी,महासङ्घका प्रदेश अध्यक्ष लिला वल्लभ घिमिर,मोरङ उपाध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, र गोपाल पोखरेललले पत्रकारिताको विकासका लागि प्रविधिका साथै भाषाको सहि प्रयोग गर्न आग्रह गर्नु भयो ।
सोही अवसरमा सभामुख भण्डारीले कोशराज रेग्मी स्मृतिका पानाहरु पुस्तकको विमोचन गर्नु भएको थियो ।
प्रतिक्रिया