“बा”शब्द नै काफी छ। यस धर्तीमा जन्म दिएर ताते ताते भन्दै डोर्याई अरुको सहारा लिन नपर्ने गरी दीक्षित मात्र नगराएर ,आईपरेका सम्पूर्ण समस्याहरूलाई संम्यमीत भई सुल्झाउन उपदेश दिने व्यक्ति छोरा छोरीका साक्षात देवता हुन् ।
आफ्नो अनेक इच्छा र आकांक्षाहरूलाई लुकाएर भविष्यमा हुनसक्ने सकारात्मक हॉसोको सहारामा संसार भुलाउन सक्ने अद्भुत क्षमताले गर्दा नै बा प्रति उसको बाल्यकालमा अगाध विश्वास थियो।
अरुको ज्वरो सिटामोलले निको हुन्थ्यो तर उसको बा को सामिप्यताबाट । आज पनि अचम्म मान्छ ऊ किन यस्तो भयो होला हँ भनेर ? युवा अवस्थाबाट नै व्यवहारिक कुरा गर्ने उसले सुख र दुखका अनगिन्ती अनुभवहरु लिदै भविष्यमा विज्ञान विरोधी भएर जुनेली रात मात्र हेर्ने सोचमा पुगेको थियो।
एक दिन घोत्लिएर विगत र वर्तमानलाई निहाली रहदा उसलाई जीवनमा खुशीका दिनहरु दिन दुगुना रात चौगुना गरी अगाडी बढीरहेको भान पर्न थालिसकेको थियो। बा का सकारात्मक आशाहरु पुरा हुने क्रम अगाडी बढीरहेका थिए। काला बादल फाटी सकेका थिए । सूर्यको लाली पुर्व दिशामा देखापरीरहेको थियो तर बिचबाटो पनि पुग्न नपाउदै छोरो परदेशी हुदै थियो ।
उसलाई नै थाहा छैन भविष्य कस्तो छ भनेर ! अगाडी चकमन्न अनकन्टार अध्यारो औशीको रात आउदै थियो वा पूर्णिमाको उज्यालो ? त्यो सबैले वनाई दिएको सपनाको देशमा पाईला टेक्ने झिनो आसमा, संघर्षले भरीपूर्ण हुदै गरेको वर्तमानलाई घाटी निमोठी कुहीराको काग हुन खोज्दै गरेको उस मा होस नै हराएको थियो त्यतिवेला । वृद्ध बा आमाको अनुहार अनि कलिला पालुवाहरुको विचमा आफुलाई पाउदा बेचैन हुन्थ्यो।
सुकेको रुखमा आगो लाग्न मात्र बॉकी थियो ।बा आमाको लागी घर सँग जोडीएको अर्को घरमा उत्तीकै हकलाग्ने भएकाले खासै फरक पर्दैनथ्यो तर उसलाई हरेक वेलुका खान खाईस, तातो दुध पिएर सुत है भन्दै घुम्लुगं पछ्यौरा ओड्दै भनिदिने देवगणको अभाव र अनयासै आत्तिने उसको मनलाई मलम पट्टी गरीदिने बाणीहरूको अभाव महशुस भईसकेको थियो।
जतिजति बिदाईको दिन आउदै थियो उसको मनमा अन्यमनस्कता बढ्दै थियो। आज एका बिहानै ट्याक्सी घर आउछ।
त्यती वेला दुई चार वटा गज्जबका सुटकेस मज्जाले उसलाई हेरीरहेका हुन्छन तर त्यस हेराईले गिज्याई रहेको भान हुन्छ । के भईरहेको छ यहाँ अचम्म मान्दा मान्दै केही क्षणमा नै ट्याक्सीमा ओत लागी सकेका हुन्छन् ती सुटकेसहरु, गाडीको आवाजले ऊ झसंग हुन्छ केही बेखबर जस्तो केही नभए जस्तो मनलाई बुझाउन तल्लिन देखीन्छ ऊ । जीन्दगी एउटा यात्रा हो जहि त्यही सहज हुदैन अनि सोचेको जस्तो पनि हुदैन देखेको जस्तो पनि हुदैन जस्तो भोग्यो उस्तै हुन्छ।
बाटो विराएर सधै गलत ठॉउमा पुगीन्छ भन्ने पनि छैन कहिलेकाही विराएको बाटोले तपाईले खोजेको गन्तव्यमा पुर्याउछ भन्ने महसुस गरी शुभसाईतको टिकालगाउन लामबद्ध ऊ टीका थापेर अगाडी बढेको वेला छोरा छोरीले टिका लगाउदै थिए ।
अनायासै कालो बादलबाट मेघ गर्जन सहीत पानीको बर्षा भएझै बा को आँखाबाट आँसुका धॉराहरु बगीरहेका थिए।
जुन ऑजसम्म पनि उसको मनमा प्रश्नै प्रश्नहरुको हुलमा एउटा प्रमुख प्रश्न बनेर मडारी रहेको छ ! बा हजुर किन रुनु भो?
प्रतिक्रिया