हाम्रो सरकार तथा सम्बन्धित निकायले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । जुन स्वागत योग्य छ । तर , यो निर्वाचन हामी अधिकांस परेदेशीहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विश्मत भने जस्तो मात्र बनेको छ । किनभने हामी परदेशीलाई परदेश बाट भोट दिन पाउने अधिकार त छैन, छैन । अर्को विडम्बना भनेको चुनावको समयमा आफ्नो अनुकुल मिलाएर नेपाल नै पुगेर भोट खसालौ नत भन्दा पनि हामी अधिकांस परदेशीहरुको भोटर लिष्टमा नाम नै छैन ।
अहिले म कतारमा छु । तर मेरो अहिलेको योजना अनुसार आगामी मंसिर ४ गते म नेपालमै हुने छु । तर दुःखको कुरा म त्यतिखेर नेपालमै भएर पनि आफ्नो मतधिकारको प्रयोग गर्न सक्दिन, किनकी मेरो भोटरलिष्टमा नाम नै छैन । म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । अहिले परदेशमा रहनुहुँने हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरुको अवस्था मेरो जस्तै छ । वहाँहरु चुनावका समयमा नेपाल पुग्दा पनि भोट खसाल्न सक्नु हुन्न, पाउनु हुन्न ।
हामी झन्डै ३५–४० लाख नेपाली परदेशमा छौँ । त्यसमा पनि सबैभन्दा बढी साउदी अरब, कतार, यूएई, बहराइन लगायतका खाडी मुलुक र मलेसियामा छौँ । आफ्नो देशमा रोजगारीका अवसर नपाए पछि परदेशीन वाध्य बनेका हामी जस्ता परदेशीले पठाएको पैसाले देशको अर्थतन्त्र धान्ने गरेको छ । हामीले पठाएको खर्बौं रेमिट्यान्सले अर्थतन्त्र मात्र धानिएको छैन हामीले पठाएको यही रेमिट्यान्स विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पनि बनेको छ । तर संविधानले नै ग्यारेन्टी गरेको हामी परदेशमा रहेका नागरिकको मताधिकारको विषयमा भने हाम्रो सरकार तथा सम्बन्धित निकाय सधैं मौन नै रहदै आएको छ ।
अदालतले विदेशमा रहेका नागरिकलाई भोट हाल्ने उचित व्यवस्था मिलाउन चार वर्षअघि नै आदेश दिँदा पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विदेश बाट पठाएको नोट चल्ने भोट किन नचल्ने – यो कस्तो विडम्बना हो ?
अघिल्लो महिना तिर हुनु पर्छ हामी परदेशी नेपालीहरुका लागि परदेश बाटै मताधिकारको प्रगोग गर्न पाउने व्यवस्था गर्ने सवालमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री र निर्वाचन आयोग समक्ष कुरा राखेका समाचारहरु आए, तर अहिले यो विषय त्यतिकै सेलाएर गएको छ । अहिले, वहाँहरुको प्रयास केवल सस्तो लोकप्रियताको लागि मात्र त थिएन ? भनेर हामी परदेशी मनमा एउटा शंका उब्जन थालेको छ । वर्तमान परिप्रेक्ष्यमा परदेशीहरुका लागि भोटिङ राइट्सको व्यवस्था गर्न पक्कै पनि त्यति सजिलो नहोला । तर हाम्रो सरकार, हाम्रा नेता तथा सम्बन्धित निकाय थोरै पनि जिम्मेवार, थोरै पनि इमानदार बन्ने हो भने परदेशमा रहेका नागरिकहरुको भोटरलिष्टमा नाम दर्ता सम्म गराउन भने अवश्य पनि सम्भव छ । यसो गर्न सक्दा, चुनावका बेला घर पुग्ने परदेशीहरुले आफ्नो मताधिकार बाट पक्कै पनि बन्चित हुँनु पर्ने थिएन ।
अहिले हाम्रो देशका आशालाग्दा युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा आफ्नो पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा हुनुहुन्छ । सरकार पनि वहाँहरुकै पार्टीको छ । देशको प्रधानमन्त्री पनि वहाँहरुकै पार्टीको अध्यक्ष हुनुहुन्छ । यस्तो अनुकुल समयमा गगनजी विश्वप्रकाशजी जस्ता प्रभावशाली युवा नेताले परदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई तत्काल भोटिङ राइट्स दिन नसके पनि कमसेकम भोटर लिष्टमा नाम नभएका र अहिले परदेशमा रहेका इच्छुक व्यक्तिहरुको नाम दर्ता गराउने व्यवस्था सम्म भने हामीले जसरी पनि गर्न सक्नु पर्छ भनेर गम्भीर रूपमा पहल गर्ने हो भने, यो काम गर्न पक्कै पनि असम्भ हुनेथिएन ।
यसकालागी सरकारले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्न सक्छ वा यसलाई पूर्णत अनलाइन प्रणाली मार्फत पनि गर्न/गराउन सकिन्छ । यसका लागि कसैले भयङ्कर केही गरिराख्नु पर्दैन, केवल सरकार तथा सम्बन्धित निकायको नियत सफा भए पुग्छ ।
यसो गर्न सके चुनावको समयमा घर पुगेका हामी परदेशीहरुले आफ्नो मताधिकारको प्रयोग गर्नबाट अर्थात आफुले रोजेको/मनपराएको उम्मेदवारलाई भोट दिन पाउने आफ्नो नैससर्गिक अधिकारको प्रयोग गर्नबाट विमुख हुनु पर्ने थिएन ।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया