राजनैतिक अतिवाद, राजनैतिक अपराधीकरण, भ्रस्टाचार र दलीय स्वार्थका लागि भैरहेका गठवन्धनका कारण देश संकटमा छ। तर, यी संकटहरुबाट मुक्ति दिलाउने सवालमा देशका मुख्य राजनैतिक पार्टीहरु असफल भएको अवस्था छ। आम मानिसले आफ्नो जनप्रतिनिधि छनोटको मौका र चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्न पाउने अभ्यास लोकतन्त्रको मेरुदण्ड हो। तर, गठवन्धनको राजनीतिले गर्दा यी दुवै स्तम्भ गर्ल्यामगुर्लुम ढल्ने अवस्थामा छन्।
आम जनता वैकल्पिक राजनीतिको खोजीमा छन्। नयाँ राजनैतिक दलहरु चुनावको बेला अकस्मात अस्तित्वमा आउछन्। नेपालका सन्दर्भमा यो एउटा राजनैतिक प्रवृत्ति नै भएको छ। चुनावपछि नयाँ राजनैतिक दलहरु सामाजिक र राजनैतिक रुपमा समुदायमा सक्रिय नभएका कारण लोप हुने पनि गर्दछन्।
नयाँ राजनैतिक दलसंग राम्रो राजनैतिक रेसिपी छ। तर, यसका लागि आवश्यक पर्ने इन्ग्रेडिएन्टको अभाव छ। पर्याप्त इन्ग्रेडिएन्ट नै नभएको अवस्थामा यिनीहरुले जनतालाई स्वादिस्ट खाना कसरी पस्कन सक्लान्? नयाँ राजनैतिक दलले देशमा आमूल परिवर्तन ल्याउछु भन्नु राम्रो हो। यस्ता घोषणाहरुको स्वागत गरिनुपर्छ। आम जनताले पनि यही चाहेका हुन्छन्।
त्यसैले देशमा नयाँ राजनैतिक दलको गठन हुनु राम्रो हो। तर, नेपालमा गठन भइरहेका नयाँ राजनैतिक दल वास्तवमा देशको मुहार फेर्न सफल होलान् त? कतै यी राजनैतिक दलहरु धेरै गडगडाउने खहरे खोला जस्तै त होइनन्? के यिनीहरु पनि विगतमा अस्तित्वमा आएका नयाँ राजनैतिक दलहरु जस्तै लोप भएर जाने त होइनन्?
नयाँ राजनैतिक दलहरुले देशको विकास र रक्षा गर्छन् भन्ने वलियो आधार के हुन्? आम जनता नयाँ दलहरुप्रति किन विश्वस्त हुन सकिरहेका छैनन्? विगतमा गठन भएका विवेकशील र अन्य राजनैतिक दलहरु किन असफल भए? कतै नयाँ राजनैतिक दलका विचारधारा साघुरा त छैनन्? जनताको वास्तविक रुचिलाई जगाउन असमर्थ भएका हुन् कि? अहिले गठन भइरहेका नयाँ राजनैतिक दलहरु विगतमा असफल भएका दलहरुबाट केही सिक्दै नयाँ ढंगले जनतामाझ आइरहेका हुन् वा कुनै पाठ नै नसिकी अध्यारोमा तीर हानिरहेका हुन्?
नयाँ राजनैतिक शक्तिले समयमै यी र यस्तै राजनैतिक सवालका बारेमा ध्यान दिन सकेन भने बहुमत जनता विस्तारै स्वतन्त्र उम्मेदवारको पक्षमा नजालान् भन्न सकिदैन। यसको संकेत स्थानीय चुनावले स्पस्ट रुपमा दिइसकेको छ। समावेशी लोकतन्त्रका लागि यो कदापि राम्रो होइन।
विश्वको ईतिहासलाई केलाउने हो भने राजनीतिमा सफल भएका नयाँ राजनैतिक दल सामाजिक आन्दोलनको गर्भबाट जन्मेका छन्। भारतको आप पार्टीलाई नै उदाहरणका रुपमा लिने हो भने अरविन्द केजरीवाल सामाजिक आन्दोलनबाट राजनीतिमा आएका सफल व्यक्ति हुन्। सामाजिक आन्दोलनका सवालमा अरविन्द केजरिवालको संघर्ष र काम धेरैका लागि प्रेरणाको स्रोत भएको छ। केजरीवाल अकस्मात राजनीतिमा आएर सफल भएका व्यक्ति होइनन्। राजनीतिमा आउनु अघि उनी आम मानिस, देशको माटो र समुदायसंग जोडिएका प्रेरणादायी व्यक्ति हुन्। त्यही भएर उनी राजनीतिको रेसिपी र इन्ग्रेडिएन्ट दुवै जनतामाझ पस्कन सफल भएका हुन्।
नेपालका हकमा धरानका मेयर हर्क राई पनि सामाजिक आन्दोलनकै उत्पादन हुन् भन्न सकिन्छ। उनमा सेवक नेतृत्वका गुण छन्। हर्क राईमा पनि नयाँ राजनैतिक शक्तिलाई हाक्न सक्ने सम्भावना देखिन्छ।
पहिला नै मृत्यु भैसकेका राजनैतिक दलका सिद्दान्त र संगठनलाई नयाँ राजनैतिक दलहरुले व्युताउने काम गर्नु भनेको नयाँ राजनैतिक दल खोल्ने ढोंग मात्रै हो। नयाँ राजनैतिक दलले नयाँ विचार दिएर जनतामा नयाँ आशाको संचार गर्न सक्नुपर्छ। कम्तिमा पनि ५० वर्ष पछिको देशको भविष्यको ठुलो चित्र अहिले नै नयाँ राजनैतिक शक्तिले आफ्नो राजनैतिक दूरदृष्टिमार्फत जनतालाई प्रस्ट रुपमा देखाउन सक्नुपर्छ।
जनता, समाज र देश परिवर्तनशील हुन्छन्। कुनै एक कालखण्डका लागि अभ्यासमा ल्याइएका राजनैतिक दर्शन र सिद्धान्त अहिले काम लाग्दैनन् भन्ने हेक्का नयाँ राजनैतिक दलहरुले राख्नुपर्ने हुन्छ। अहिलेका नयाँ राजनैतिक अभियन्ताहरुले कांग्रेस र कम्युनिस्टकै शैली अपनाएर राजनीति गर्न खोजे सतप्रतिशत असफल हुने कुरोमा कुनै शंका छैन।
नयाँ राजनैतिक दलले देशका समस्याहरुलाई नयाँ ढंगले समाधान गर्ने कुरो गरेर जनतालाई देशको नयाँ मार्गचित्रमा डोर्याउन सक्नुपर्छ। पुराना राजनैतिक दलहरुले सिर्जना गरेका समस्या, विसंगति, वेथिति र नेपाली समाजमा ल्याएको विभाजनलाई रोक्ने वा मेटाउने काम पनि नयाँ राजनैतिक शक्तिले गर्नुपर्छ।
नयाँ राजनैतिक दलहरुले पनि उही पुरानै राजनैतिक दलहरुको अनुकरण गर्दै यो नीति र त्यो नीतिका बारेमा कुरा गरिरहेका छन्। यो कालखण्ड भनेको पुराना राजनैतिक दलहरुले जनता र देशलाई संकटमा धकेलेको अवस्था हो। यसका कारण देश, जनता र लोकतन्त्र संकटमा छन्। राजनैतिक पद्दति नै संकटमा परेका बेला नीति पस्केर समस्याको समाधान हुदैन भन्ने कुरो नयाँ राजनैतिक दलहरुले कहिले बुझ्ने होलान्? संकटको बेला नीति होइन, संकटबाट जनतालाई मुक्ति दिलाउने विचार, विधि र अस्त्रको आवश्यकता पर्छ भन्ने कुरो नयाँ राजनैतिक शक्तिले बुझ्नुपर्छ।
नयाँ राजनैतिक दलहरुले नेपाल र नेपाली जनताले सामना गरिरहेका संकटसंग लड्नुपर्छ। समस्याको समाधान यसरी गर्न सकिन्छ भनेर आम जनतालाई आफ्नो विश्वासमा लिन सक्नुपर्छ। नत्र जनताले नयाँ र पुराना राजनैतिक दलका बीच फरक छुट्याउन असमर्थ हुनेछन्। यसैका कारण विगतमा नयाँ राजनैतिक दल असफल भएका थिए। फलस्वरूप भविष्यमा गठन हुने नयाँ राजनैतिक दलहरुलाई पनि सफल हुन धेरै गारो हुनेछ।
अहिले कांग्रेस र कम्युनिस्ट कै कार्यकर्ताहरु पनि विकल्पको खोजीमा छन्। यो अवसरलाई नयाँ राजनैतिक दलहरुले आफ्नो पक्षमा पार्न सक्नुपर्छ। त्यसै गरी दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी राजनैतिक पार्टीका समय सुहाउदा र सान्दर्भिक राजनैतिक पक्षहरु नयाँ राजनैतिक शक्तिले अङ्गीकार गर्न हिच्किचाउनु हुदैन।
देश विकासका लागि समान स्वार्थ भएका असल मानिसहरु एकै थलोमा आउनुपर्छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि नयाँ राजनैतिक शक्तिले स्पस्ट विधि र प्रक्रिया अनुसरण गर्नुपर्छ। नत्र जसरी पुराना पार्टीहरुभित्र थरीथरीका झुण्ड छन् त्यही अवस्था नयाँ राजनैतिक शक्तिले पनि सामना गर्नु पर्ने हुन्छ।
निर्वाचन र चुनाव चिन्हका लागि मात्रै एक ठाउँमा आउनु भनेको व्यक्तिगत वा पार्टीगत स्वार्थलाई प्राथमिकतामा राख्नु हो। नयाँ राजनैतिक दलहरुले निर्वाचनमा विजय हासिल गरुन् वा नगरुन् चुनावपछि गठवन्धनमा विग्रह हुने ठुलो सम्भावना रहन्छ। अन्तिम उद्देश्य सम्प्रभु जनताकै सेवा गर्नु छ भने किन निर्वाचन र चुनाव चिन्हका लागि मात्रै साना दलहरु गठवन्धन गर्छन्? उद्देश्य र स्वार्थ समान भए एउटा सिंगो नयाँ राजनैतिक शक्तिका रुपमा किन अगाडी बढ्न सक्दैनन्? यसको अर्थ हो नयाँ राजनैतिक शक्तिले पनि जनतालाई गुमराह गर्न खोज्दैछ।
पुराना राजनैतिक दलहरुले यो र त्यो नीतिका बारेमा कुरा गर्दै आम जनतालाई भ्रममा राखेको कुरा त जगजाहेर नै छ। नयाँ राजनैतिक दलहरुले पनि यही शैली अपनाए जनताको मन जित्ने स्थिति देखिदैन। पुराना राजनैतिक दलहरुले आगामी चुनावका बारेमा मात्रै चिन्तन-मनन् गर्छन। नयाँ राजनैतिक दलले जनता, समाज र देशको सुनौलो भविष्यका बारेमा सोच्नु पर्ने होइन र? किन चुनावको मुखमा मात्रै आएर नयाँ राजनैतिक दलहरु दर्ता हुन्छन्? नयाँ राजनैतिक दलहरुले सामाजिक आन्दोलनका माध्यमबाट दशकौदेखि आम जनता र जमिनसंग जोडिने काम किन गरेनन्?
नीतिमा आधारित नयाँ राजनैतिक दलले अहिलेको अवस्थामा जनतामा आफ्नो पकड बनाउन सक्दैन। देशले भोगिरहेका नयाँ र जटिल समस्याहरुका आधारमा रणनीति बनाउदै पुराना राजनैतिक शक्तिलाई ठुलो धक्का दिन सक्नुपर्छ। देशका सामु रहेका समस्याहरुको समाधान नयाँ ढंगले दिन सकिएन भने आम जनताले नयाँ राजनैतिक शक्तिमा विश्वास गर्न गारो हुन्छ। त्यसैले बहुमत आम जनताले स्वीकार गर्न सक्ने राजनैतिक विचारधारा, दर्शन, सिद्धान्त र विकासको मोडल देशलाई दिन सक्नुपर्छ। एउटा साझा कारणका लागि सारा नेपाली जनतालाई संगै लिएर हिड्न सक्ने नयाँ राजनैतिक दल अहिलेको अपरिहार्य आवश्यकता हो।
नयाँ राजनैतिक दलले देशका भविष्यका बारेमा दिने सकारात्मक संदेश के हो? यसले विशेष महत्व राख्छ। नयाँ राजनैतिक शक्तिले समाज र देशका लागि के चाहदैन भनेर सोच्ने होइन। नयाँ दलले जनताका लागि आफुले के चाहेको छ भन्ने स्पस्ट संदेश जनतालाई दिन सक्नुपर्छ। फलानो राजनैतिक दलले यो गर्यो वा त्यो गर्यो भनेर आलोचनामा समय खर्च गर्नु मुर्खता मात्रै हो।आलोचना गर्न राजनैतिक क्याम्पेन चलाउन आवश्यक छैन।
आफ्नो दलको सकारात्मक संदेश जनताकहाँ पुर्याउन राजनैतिक क्याम्पेनको आवश्यकता पर्छ। अनि मात्रै नयाँ राजनैतिक शक्तिले आफुलाई जनताको वास्तविक पहरेदारका रुपमा स्थापित गर्न सम्भव हुन्छ। नयाँ राजनैतिक शक्तिले भोलिको सुनौलो संसारका लागि एउटा साझा राजनैतिक योजना आम जनतालाई पस्किन सक्नुपर्छ। नयाँ राजनैतिक दल सकारात्मक, अग्रगामी र नयाँ समाधान दिन सक्ने हुनुपर्छ।
अहिलेका मुख्य राजनैतिक दल राजनैतिक आन्दोलनबाट अस्तित्वमा आएका हुन्। यी राजनैतिक प्रयत्नहरुले व्यवस्था परिवर्तन गर्न सहयोग गर्यो। तर, जनता र देशको दशा र दिशा रुपान्तरण गर्न भने असफल भए। नयाँ राजनैतिक दलका लागि यही कुरो देश विकासका लागि प्रस्थान बिन्दु हुनुपर्छ।
नयाँ राजनैतिक शक्तिका लागि सामाजिक र राजनैतिक आन्दोलन गर्ने थलो स्थानीय समुदाय हुनुपर्छ। समुदायस्तरबाटै भविष्यका सेवक नेताहरु उत्पादन हुनुपर्छ। यसका लागि जनताकै माझमा सेवक नेतृत्वका रुपमा प्रत्येक राजनीतिकर्मीले काम गर्नुपर्छ। नेताको जन्म राजनैतिक हाइकमाण्डको खल्तीबाट हुने परम्पराको अन्त्य नयाँ राजनैतिक शक्तिले गर्न सक्नुपर्छ।
केही पटके राजनैतिक क्याम्पेन गर्दैमा नयाँ राजनैतिक दलले जनताको मन जित्न सक्दैन। प्रारम्भमै सिंहदरबारलाई जित्ने लक्ष्य नयाँ राजनीतिक दलले लिन्छ भने त्यो घातक हुनसक्छ। शुरुमा देशको कुनै एउटा प्रदेश वा महानगरमा आमूल परिवर्तन ल्याउने उद्देश्यकासाथ काम गर्नुपर्छ। नयाँ राजनैतिक दलका लागि यो परीक्षा हो। आफुलाई जनतामाझ प्रमाणित गर्ने मौका हो। यसले देश सुहाउदो विकासको मोडललाई स्थापित गर्न पनि ठुलो मद्दत गर्नेछ।
अनि विस्तारै त्यही विकासको मोडललाई अरु प्रदेश वा स्थानीय निकायमा समायोजन गरेर लागु गर्दा जनताले नयाँ राजनैतिक शक्तिलाई विश्वास गर्न सक्छन्। नयाँ राजनैतिक दल स्थापनाको आरम्भमै देशभरी चुनाव लड्ने र प्रधानमन्त्री बनेर देशको मुहार फेर्छु भन्नु मुर्खता सिवाय केही होइन। संयोगवस सफल भए पनि नयाँ राजनैतिक शक्ति दिगो हुन सक्दैन। यो सोचले नयाँ राजनैतिक शक्तिको अवसान मात्रै हुनेछ।
नयाँ राजनैतिक दलले आफ्नो सामाजिक अभियान स्थानियस्तरमा निरन्तररुपमा चलाउन सक्नुपर्छ। अनि मात्रै नयाँ राजनैतिक शक्तिले आफ्नो विचारलाई जनतामाझ स्थापित गर्नसक्छ। नयाँ राजनैतिक दल सामाजिक आन्दोलनको जगमा उभिनुपर्छ। नयाँ राजनैतिक दलले चुनावको बेलामात्रै आफुलाई सतहीरुपमा सक्रिय बनाउनु भनेको पुराना राजनैतिक शक्तिलाई माहुरीले डंक मारे जस्तै हो। अहिले नेपालमा माहुरीले जस्तै डंक मार्ने नयाँ राजनैतिक दल होइन, बारुलाले जस्तै चिल्न सक्ने नयाँ राजनैतिक दलको आवश्यकता छ।
राजनैतिक परामर्शदाताको सहयोगमा आफ्नो दललाई अगाडी बढाउन खोज्ने नयाँ राजनैतिक शक्ति पनि देशमा छन्। सच्चा नयाँ राजनैतिक शक्तिले स्थानिय पूर्वाधार, स्थानीय ज्ञान, जनता, संगठन र विचारका आधारमा आफ्नो जगलाई बलियो बनाउने प्रयास गर्नुपर्छ।
नयाँ राजनैतिक दलको आफ्नै थिङ्कट्यांक हुनुपर्छ। थिङ्कट्यांक परिचालन गर्न बुद्धिजीवी र विचारकहरुलाई उपयोग गर्नुपर्छ। तर, यो वर्गलाई आफ्नो पार्टीको झोले बनाउने प्रयास गर्नु राम्रो होइन। यसका साथै ताजा विचार जनतासामु राख्न पत्रपत्रिका वा सामाजिक संजाल प्रयोगमा ल्याउनुपर्ने हुन्छ। नयाँ राजनैतिक दलले आफ्ना ताजा, समयसापेक्ष र सान्दर्भिक विचारहरुलाई मिडियामार्फत जनतासमक्ष पस्किनु सक्नुपर्छ। देशव्यापी नेटवर्क सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ। किनकि नयाँ राजनैतिक शक्तिले विस्तारै देशभरी आफ्नो संजाल विस्तार गर्नुपर्ने हुन्छ। यसका कारण स्थानीयस्तरमा असल भावी नेता र समर्थक पहिल्याउन सजिलो हुनेछ।
नयाँ राजनैतिक दलले शिक्षा, स्वास्थ्य, न्याय, कर्मचारीतन्त्र, संघीय संरचना, चुनावी प्रक्रिया, धर्म, सुशासन र देशले सामना गरिरहेका विवादित मुद्दाहरुका बारेमा आफ्नो स्पस्ट विचार र अडान आम जनतालाई संचार गर्न सक्नुपर्छ। अनि मात्रै यो पार्टी हाम्रो पार्टी हो भन्ने मान्यता आम जनतामा स्थापित हुनेछ। जनता र देशलाई धोका दिदा हाम्रो हालत पनि पुराना राजनैतिक दल वा लोप हुदै गरेका पार्टीको जस्तै हुनेछ भन्ने कुरो सधै मनमा राखेर जनसेवा गर्नुपर्छ।
नयाँ राजनैतिक शक्तिले मतदाता र राजनैतिक छनोटका बीच आउने अवरोधहरुलाई हटाउन सक्नुपर्छ। जस्तै: समानुपातिक चुनावी व्यवस्थाको दुरुपयोग कसरी रोक्ने? एउटा सानो देशमा कर्मचारी र जनप्रतिनिधिहरुको संख्या चुस्त र दुरुस्त कसरी बनाउने? देशका संवैधानिक संस्थाहरुलाई बलियो र स्वायत्त कसरी बनाउने? चुनावी प्रक्रियामा सुधार कसरी ल्याउने? यी सबै लोकतन्त्रका आधारस्तम्भ हुन्। यी देशका प्रणालीगत समस्या हुन्। थिङ्कट्यांकको सहयोगमा अन्य थुप्रै समस्याहरु पनि पहिचान गरेर देशलाई सफलतापूर्वक हाक्न सक्ने प्रभावकारी राजनैतिक र प्रशासनिक मोडल जनतालाई दिन सक्नुपर्छ।
राजनीतिमा छनोटको अवसर र स्वस्थ चुनावी प्रतिस्पर्धालाई विना अवरोध चल्न दिने हो भने देशको राजनीतिलाई सही बाटोमा डोर्याउन सकिन्छ। आम नेपालीहरुलाई राजनीतिमा बढी से बढी छनोटको मौका दिनु भनेको हाम्रो सभ्यता, जनजीविका र हाम्रो जीवन जिउने तौरतरिकाका लागि मैदान तयार गर्नु हो।अनि मात्रै आम जनतालाई आफुलाई वास्तविक रुपमा आफ्नो समुदाय र देशमा कसैले प्रतिनिधित्व गरिरहेको छ भन्ने आभास हुनेछ।
पुराना राजनैतिक दलहरुले हाम्रो खेल विगार्न नयाँ राजनैतिक दल मैदानमा आइरहेको भन्ने आरोप लगाए पनि देशमा पहिले नै देश बिगार्ने राजनैतिक खेल अस्तित्वमा रहेको तथ्यलाई नयाँ राजनैतिक शक्तिले बुझ्नुपर्छ।
यी सबै कुरामा नयाँ राजनैतिक शक्तिले आफ्नो अर्जुनदृष्टि लगाउन सक्यो भने एक दिन सिंहदरबार जित्नसक्छ।
(मदन नाथले क्यानाडाको क्याल्गेरी विश्वविद्यालयबाट अन्तरराष्ट्रिय र सामुदायिक विकासमा स्नाकोत्तर गर्नु भएको छ)
प्रतिक्रिया