गन्तव्य

बिनोद पोख्रेल २०७९ साउन ११ गते २१:४६ मा प्रकाशित

जीवन रुपी गन्तव्य
उडी रहेको आकाशबाट
अवतरण गरेको जस्तो होइन
आमाको छातीमा टाँसिएर
गाउँ बेसी डुलेको जस्तो होइन
गह्रुङ्गा भए पनि ती पाइला
अघाडी बढाउनै पर्छ
कतै बाटोमा ठोकिन सक्छ
कहीँ अङ्कुश लाग्न सक्छ
काँडाहरू बिझ्न सक्छन्
अलि कति ठोकिए, घाउ भए
मलम पट्टी लगाउन सकिन्छ
हिँड्दा हिँड्दै हिँड्न सिकिन्छ
दौडने हतार कहिल्यै गर्नु हुँदैन
एक पटक लडे उठ्न सकिएला
पटक पटक लडे उठ्न गाह्रो हुन्छ
यहाँ उठाउने भन्दा लडाउने धेरै हुन्छन्
एउटा हात समाउने भन्दा
दुई हातले ताली बजाउने धेरै हुन्छन्
सहानुभूति दिने भन्दा
अर्ती र उपदेश दिने धेरै हुन्छन्
गन्तव्यको मैदान समथर देखिन्छ
अलि सहज, सरल पनि देखिन्छ
तर हिँड्दै जाँदा
अघाडी पहाडहरू देखिँदै जान्छन्
अझै पर जाँदा
त्यो भन्दा अग्ला चुचुराहरू देखिन्छन्
पछाडि छेकिँदै जान्छन्
अघाडी भेटिँदै जान्छन्
तर जीवन पर्यन्त सकिँदैनन्
कैयौँ मोडहरू आउँछन्
उकाली ओराली भिर पाखाहरू आउँछन्
सुन्दर बगैँचाहरू पनि आउँछन्
तर ती फेरि छेकिन्छन्
फेरी भेटिन्छन् फेरी छेकिन्छन्
गन्तव्य हाम्रो होइन यात्रा हाम्रो हो
जमिन हाम्रो होइन पाइताला हाम्रो हो
समय हाम्रो होइन चाल हाम्रो हो
चाललाई नियन्त्रण गर्नु पर्छ
हाम्रो गन्तब्यमा पुग्नु धेरै टाढा छ
तर हिँड्नै पर्छ पुग्नै पर्छ
जन्मे पछि अर्को विकल्प छैन
हरेकका आफ्नै गन्तव्य हुन्छन्
यो लामो यात्रामा धेरै भेटिन्छन्
अनगिन्ती दृष्यहरु देखिन्छन्
कयौँ कहानीहरू लेखिन्छन्
तर अन्तिम गन्तव्यको बिश्रामस्थलमा
फेरिएको सासको साथ
सबै कथा र व्यथा सँगै मेटिन्छन् !!

बिनोद पोख्रेल
साहित्य प्रेमी
तुल्सिपुर उप महा नपा- १८ दाङ,बिजौरी
हालः काठमान्डौ
२०७९/०३/३२

प्रतिक्रिया