अमेरिकामा नेपालीले भोगिरहेका ‘कल्चरल सक’

नवीन रायमाझी २०७९ साउन १० गते २३:२२ मा प्रकाशित

एउटा नेपाली अमेरिका आउने सपना देख्छ, बैध वा अबैध बाटो हुँदै। अमेरिका आउन सफल पनि हुन्छ। अमेरिकाको भिसा लाग्ने बितिकै उसको बिशेष सम्मान सुरु हुन्छ। सबैले उसलाई देखाएर उ पनि अमेरिका जादैँछ भन्ने शैलीमा सकारात्मक प्रतिक्रिया दिन थाल्छन्। सफल नभएकाहरु मलाई अमेरिका गएर बस्न मन छैन भनेर आफ्नो चित्त पनि बुझाउँलान्।

केही समय खुशियालीमा पिउनेपिलाउने कार्यक्रम पनि हुन्छ दैनिक जस्तो। यसै बेलादेखि उसले आफूलाई बिशेष अनुभब गर्छ। जब अमेरिका आएर यहाँको वास्तविकतासँग ठक्कर खान्छ अनि मात्र उ झसङ हुन्छ। समाजशास्त्रको भाषामा यसलाई ‘कल्चरल सक’ अर्थात सांस्कृतिक बिचलन भनिन्छ।

धारा खोल्नदेखि बत्ति बाल्नसम्म र झ्याल ढोका खोल्नदेखि चुलो बाल्नसम्म लगभग सबै कुरा पहिलो पटक देखेको, सुनेको र प्रयोग गरेको भए पनि उसले त्यसलाई स्वीकार गर्न सक्दैन। जब वास्तविक स्विकार गर्न सकिन्न, त्यसबाट सुरु हुन्छ प्रमुख समस्या। जसको फलस्वरूप कुनै घाटा नहुने घटनादेखि ठूला दुर्घटनासम्म पनि भएको छ।

यहाँ सांस्कृतिक बिचलन भन्नाले बृहत अर्थ राख्छ। आफ्नो मुख्य समस्या स्विकार गर्न नसक्नु वा नगर्नु, वास्तविकतालाई लत्याउने तर काल्पनिक कुराको पछाडि लागेर समय र धन नष्ट गर्ने, आफ्नो गलत परिचय दिनु वा नेपालमा गर्ने काम यता पनि गर्छु भन्नु जस्ता सबै ‘कल्चरल सक’ भित्र पर्दछन।

‘कल्चरल सक’ भित्र मूलत: तीन प्रकारका मान्छे पर्छन। पहिलो– यता आउने बितिकै वा आएको केही समयपछि यहाँको वातावरणसँग समाहित हुन् नसकेर, भाषाको समस्याले वा महिलाहरुको खुल्ला पहिरनको कारण सबै नेपाल कै राम्रो, बरु उतै बसेको भए म सुखी हुन्थे वा बेकारमा यता आएछु भनेर चिन्ता गर्नेहरु पर्छन।

अमेरिकामा नेपालबाट आएका लगभग सत प्रतिसतको जीवनशैली नेपाल हुँदाको जीवनशैलीभन्दा उत्कृष्ट भएको कारण यसको पक्ष वा बिपक्षमा बहस गर्नु निरर्थक छ। पक्तिकारको एक परिचित नेपालमा हुँदा नेपाली सेनाको एक तारे अर्थात् ब्रिगेडियर जनरल थियो। नेपालमा उनको सेवामा खटिनेहरु सेनामा उनीभन्दा तल्लो र्याकका धेरै थिए। हाल उनी अमेरिकामा बसोबास गर्छन। आफूले खाना खाएको थाल धुन पनि उनलाई अपमान गरेको जस्तो अनुभव हुन्छ तर उनको त्यो समस्या यहाँ कसैले बुझ्दैन् र बुझ्न सम्भव पनि छैन।

यदि उनी अमेरिकामा बसोबास गर्ने हो भने यो वास्तविकतालाई उहाँले स्वीकार गर्नुपर्छ। जति छिटो वास्तविकतालाई उहाँले स्वीकार गर्नुहुन्छ, त्यसले उहाँलाई नै फाइदा पुग्ने हो।

दोश्रो– यता आउन पाउनुलाई आफ्नो भाग्य सम्झिने र क्षमता अनुसारको काम गर्ने, त्यो कामको बारेमा खुलस्त भन्ने, प्राय: नेपालमा आफ्नो हैसियत बारे बेप्रसंग कुनै कुरा नगर्नेहरु पर्छन। यस्ता मान्छेहरु आफ्नो क्षमता अनुसार काम गर्छन र वास्तविकता स्वीकार गर्दै अगाडी बढिरहेका छन्। कसैले आफू आएको पाँच–सात बर्षमै आफ्नो सीप र योग्यतालाई अभिबृद्धि गर्दै उच्च पदमा पनि पुगेका छन् र आफ्नै ब्यबसाय गरेर अर्थोपार्जन गर्न पनि सफल छन्।

तर उनीहरुको यो सफलता नेपाली समुदायको लागि मात्र ठूलो हो, भारतीय वा अरु समुदायको जस्तो होइन। पक्तिकारको बिचारमा यस्तो बर्ग निकै कम छ। यिनीहरुलाई भने केवल चाडबाड र पर्बले मात्र यस्तो ‘सक’ दिन्छ, अरु कुराले खासै असर गर्दैन।

तेश्रो– सबैभन्दा बढी ‘कल्चरल सक’ पर्नेहरुमा यता आउने बितिकै दाल,भात मुखबाट नजाने र खानको लागि पिज्जा वा बर्गर नै चाहिने, मासुमा पनि बिफ अर्थात् गाईको नै खानु पर्ने, सी फुड महंगो हुने कारण त्यस्ता बस्तु खानु पर्ने, आफ्नो उमेर र जिउडाललाई नसुहाउने लुगा लगाएर मान्छेको बीचमा हास्यको पात्र हुने, नेपाली बोले भने इज्जत गएको सम्झिने र केवल अंग्रेजी मात्र बोल्ने, आफूले युट्युबमा दोहारी गीत मात्र सुन्ने तर पाहुना आएको समय सीएनएन र फक्स न्युज बजाउने, जनै लगाउन अफ्ठ्यारो मान्ने आदि जस्ता क्रियाकलाप गर्नेहरु पर्छन।

यद्वपि यिनीहरुले पर्याप्त जानकारीको अभावमा कुनै पनि गतिबिधि गर्ने कारणले प्राय: सबै क्रियाकलापहरु अमिल्दो र अधकल्चो देखिन्छ। भाषाको समस्याले अंग्रेजी बोल्न नसकेर नेपाली, भारतीय र पाकिस्तानीको पसल वा पेट्रोल पम्पमा काम गर्ने र खैरेहरु कहा पनि काम गर्छ भनेर पाखुरा सुर्किनेहरु पनि ‘कल्चरल सक’ का उदाहरण हुन्।

‘कल्चरल सक’ को साथै आउँछ, ‘आइडेण्टिटी क्राइसिस’ अर्थात् आफ्नो वास्तविक परिचय लुकाउनु पर्ने अवस्था र ‘फल्स इगो’ अर्थात गलत अहङ्कार।

पक्तिकारको एक परिचित नेपालमा उपप्राध्यापक थिए। हाल उनी अमेरिकामा एउटा लुगा पसलमा सेल्सम्यानको काम गर्छन। अब उनलाई आफ्नो वास्तविक परिचय भन्न लाज लाग्छ होला सायद, उनी अपरिचितहरुको अगाडी अहिले पनि आफूलाई शिक्षण पेशामा छु भन्छन्।

यस्तै नेपालमा महिनौसम्म तलब नपाएर पनि काम गर्न नछोड्ने पत्रकारहरुले आफूलाई पत्रकार भन्ने, नेपालमा हुँदा कलाकारिताको पारिश्रमिकले खान पुग्दैन भन्नेहरुले आफूलाई कलाकार भन्ने र सबैभन्दा हास्यास्पद कुरा यता राजनीति गर्छु भन्ने जस्तै हो। यो सबै ‘कल्चरल सक’ का उदाहरण हुन्।

पक्तिकारले यो पक्ति लेखिरहनु पनि ‘कल्चरल सक’ नै हो। किनकी यो पक्तिकारको मुख्य पेशा होइन, केवल पत्रकारिताको धंगधंगी मात्र हो।

एक स्थानबाट अर्को स्थानमा आउने हरेक मान्छेलाई यस्तो प्रकारको ‘कल्चरल सक’ धेरै वा थोरै भए पनि हुन्छ। झन् देश छोडेर विदेशको अत्यन्तै फरक वातावरणमा आउदा सबैले यस्तो प्रकारको समस्या भोगेका हुन्छन् तर यस्तो ‘सक’ बाट जति सके छिटो निस्कनु सबैको कल्याण हो।

अन्तमा यी पङ्क्ति हरु पढी सकेपछि आफैलाई भनेको जस्तो लागेर ठुला ठुला प्रतिक्रिया दिनु पनि कल्चरल सक र हिन भाबना ले ग्रस्त भएको गतिलो उदाहरण हो.

–नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया