डा. ऋषि बस्ताकोटीको मुक्तक संग्रह “विसङ्गत बस्ती” माथि परिचर्चा कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ साउन ९ गते २१:५५ मा प्रकाशित

२०७९ साउन ७ गते वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा साहित्यकार डा. ऋषि बस्ताकोटीको हालसालै प्रकाशित मुक्तक संग्रह “विसङ्गत बस्ती ” कृति परिचर्चा कार्यक्रम दुइ दर्जनभन्दा बढी साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भयो ।

कार्यक्रममा साहित्यकार रोशन शेरचन, मुक्तकमणि तीर्थराज अधिकारी, र पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ ‘सरु’ बक्ताका रुपमा बोल्नु भएको थियो ।

कार्यक्रमको प्राविधिक संयोजन गर्ने संस्था हिमाली संरक्षण समूह, पोखराका संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै हिमाली संरक्षण समूह र वन तथा वातावरण साहित्यिक समूहले शुरुवात गरेको यस प्रकारको कार्यक्रमले सकारात्मक संदेश छर्ने र सृजनात्मक लेखन भबिष्यमा अझै परिस्कृत बन्दै जाने आशा ब्यक्त गर्नुभयो ।

डा. हिम लाल श्रेष्ठद्वारा संचालन गरिएको सो कार्यक्रममा रोशन शेरचनले साहित्यकार बस्ताकोटीको बन बिज्ञान क्याम्पस, पोखरा पढ्दादेखिको साहित्यप्रतिको अभिरुची, लगनशीलता अनि शालीनताको प्रसङ्ग कोट्याउँदै तत्कालिक समयको प्रखर अभिव्यक्ति उनको रचनामा मुखरित हुने गरेको कुरा उजागर गर्नु भयो ।त्यसै गरि हालै प्रकाशित मुक्तक संग्रह ‘विसङ्गत बस्ती’ मा पनि त्यो उचाई हासिल भएको कुरा उठान गर्नुभयो ।

त्यसै गरी तीर्थराज अधिकारीले प्रस्तुत कृति एउटा उचाई प्राप्त मुक्तक संग्रह भएको र उनले तत्कालको समयमा कविलाई बिझेको बिषय चार पदीय प्रणालीको मुक्तकको रुपमा सार्थक अभिव्यक्त गर्नु भएको कुरा बताउनु भयो ।

प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ले कबि ऋषि बस्ताकोटी उमेरका हिसाबले अनुज भए पनि कबि बस्ताकोटी निकै अनुभबी रचना पस्कनु हुने कुरा बताउनु भयो र साथ साथै हालै प्रकाशित उनको मुक्तक संग्रहमा संग्रहित मुक्तकहरु निकै नै सठीक, सरल, सु-ललित तथा चोटिला पाएको कुरा सुनाउनु भयो ।

साथै उनले बिबिध समय अन्तरालमा लेखिएको मुक्तकहरुले धर्ती, आकाश, माटो, मातृभूमि, शासन, अनुशासन, सुशान, बा – आमालाइ समेटेर बर्तमानमा भोग्नु परेको विरोधाभास र विसंगतिपूर्ण समयको प्रतिनिधित्व गर्दै रचना गर्नु भएको छ भन्नु भयो।

त्यस्तै यस कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरु सृजनात्मक साहित्य लेखनमा क्रियाशील दुई दर्जनभन्दा बढी साहित्यकार एवम साहित्यानुरागी नेपाल, क्यानडा, अमेरिका, बेलायत, भारत लगायतका स्थानबाट जोडिनु भएको थियो ।

कार्यक्रममा बिष्णु आचार्य, कमला रुपाखेती, इश्वर देवकोटा, पदम बिश्वकर्मा, सानु खनाल, शिव पलाँस, विजय हितान, नम्रता गुरागाईं, छत्र कार्की, मुक्ति गौतम, कुशुमाकार शर्मा, युबराज भण्डारी, हिममाया पौडेल, सुरेश भट्ट, नबराज पुडासैनी, देवेन सापकोटा समेत जोडिनु भई छलफलमा सहभागी हुनुहुन्थ्यो ।

उपस्थिति सबै जसो सहभागीले कबि बस्ताकोटी तथा उनको भर्खरै प्रकाशित कृतिको बारेमा बोल्नुभयो । रचनाकार ऋषि बस्ताकोटीले आफ्नो कृतिको बारे छलफलमा उठेका बिषयमा मन्तब्य दिदै सबैप्रति आभार प्रकट गर्दै सबै बक्ताहरुले दिनु भएको शुभ कामना र शुभेक्षालाई मुखरित गर्ने बाचा गर्नु भयो ।

कार्यक्रमको अन्त्य रोशन शेरचनले बन तथा बाताबरण साहित्यिक समूहको आगामी कार्यक्रममाथि प्रकाश पार्दै आगामी दिनमा नेपाली साहित्यमा सिद्धहस्त लेखकहरुको सहभागितामा विधा केन्द्रित मेन्टरशीप कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो।

प्रतिक्रिया