राजसंस्था छोडेर गणतन्त्रको एजेण्डा बोक्दा कमल थापा खुशी (भिडिओसहित)

इनेप्लिज २०७९ साउन ८ गते १:५६ मा प्रकाशित

काठमाडौं, ६ साउन । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमल थापाले आफू पार्टी निर्माणको काममा सक्रिय भएको बताएका छन् । उनले आफूहरुले गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई त्यति महत्व नदिएकोले राम्रो परिणाम नआएको स्विकारे । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आगामी संघीय संसद्को निर्वाचनमा पार्टी एक्लै लड्ने बताए ।

यद्धपी उनले केही निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ अन्य दलसँग तालमेल गरेर नै जाने सुनाए । उनले चुनावमा एमालेसँग चुनावी तालमेल हुने सम्भावना रहेको सुनाए । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच व्यक्तिगत रुपमा राम्रो सम्बन्ध रहेको जनाए । उनले राजा र राजसंस्थाप्रति आफ्नो सम्मान रहेको बताए ।

नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना, आधुनिकीकरणमा नेपालका राजाहरुले पुर्याएको योगदानको आफूले उच्च सम्मान गर्ने थापाको भनाई छ । थापाले आफहरुले अहिले लोकतान्त्रिक हिन्दूराज्य बनाएर जाने भन्दै मुख्य एजेण्डा बनाएको बताए । पत्रकार धमलाले अहिले तपाईँ जुन एजेण्डा बोकेर हिँडिरहनुभएको छ, यसमा तपाईँ असन्तुष्ट हुनुहुन्न ? भनेर सोधेको प्रश्नमा थापाले भने-“छैन, निश्चयपनि छैन् । म खुशी छु । बास्तवमा हिजोको दिनमा मैले भनेकै हुँ, नेपालको भूराजनीतिक अवस्था, नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा चुनावी र पार्टी राजनीतिभन्दा माथि उठेको एउटा साझा अभिभावकको रुपमा राजसंस्थाको आवश्यकत्ता देशलाई छ भनेर आएको हुँ, राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली विकास गर्नुपर्छ भनेर पनि भन्दै आएँ, तर १६ वर्षको अनुभवबाट मैले के पाठ सिकें भने, त्यो मान्यताको प्राज्ञिक महत्व हुँदाहुँदैपनि, त्यो कार्यान्वयन हुने कुरा रहेन । मेरो पार्टीमा अहिलेपनि राजाको एजेण्डा बोकेर हिँड्ने साथीहरु पनि हुुनुहुन्छ, राजसंस्था पूनःस्थापना हाम्रो पार्टीको कार्यनीतिक एजेण्डा हुँदैन, तर पार्टीभित्र एउटा वैचारिक बहस हुनसक्छ भनेको छु ।”

प्रतिक्रिया