सत्ता निर्लज्ज हुन सक्छ
महामहिम विवेकहीन हुनसक्छ
ज्ञान प्रयोगमा नआउन सक्छ
लोग्ने स्वास्नीलाई जुवामा हार्न सक्छ
सय सन्तानकी आमा बाँझी हुनसक्छिन्
सभा मृत हुन सक्छ
हुन सक्छ
नदेख्नेहरुले छर्लङ्गै देख्न सक्छन् छोराको श्रीपेच
नसुन्ने हरुले सप्पै सुनिदिन्छन्
नभनिएका कथा
सिद्दान्तले ठहरै पार्न सक्छ व्यवहारलाई
बलात्कारीले बडेमानको माला पहिरिएर
सम्मानित पनि हुनसक्छ
सबथोक हुनसक्छ
बतासले भतभती पोल्न सक्छ
जेठको घाम चि…सो हुनसक्छ
कुनै दिन ममत्वले धिक्कारेछ भने पनि
बेदनाले सरगमी आलाप उराललेछ भनेपनि
सम्झिदिनु
आँसु कमजोरी मात्रै नहुँदो रहेछ
शक्ति सञ्चयको उम्दा अभ्यास पनि रहेछ
बुझिदिनु
लाचारीका थुप्राहरुबाटै
जीवन बाँच्ने नजीर तयार हुन सक्छ
विवशता
अँध्यारो जब्बर चेतना जलाउने
आगो पनि बन्न सक्छ
निरीहता
पुस्तालाई मार्गचित्र कोर्न सक्ने
समयको दरिलो हतियार पनि हुनसक्छ
नसोचेका धेरै धेरै धे…..रै कुराहरु हुन सक्छ
सनातनी मौनताको
नांगो अभ्यासमा ।।
प्रतिक्रिया