आफ्नो खुसीका लागि स्वयम् जिम्मेवार बनौ

रमेश ढकाल भद्रपुर–झापा (हाल दोहा–कतार) २०७९ असार ३० गते २१:२९ मा प्रकाशित

 

सधैं खुसी भएर बाँच्न सके हाम्रो जीवन कति आनन्दित हुनेथियो होला ! समय समयमा हामी प्रायः सबै यो बिषयका बारेमा सोचिरहेका हुन्छौं, होइन र ? यस्तै प्रसङ्गमा एकपटक एउटा एनिभर्सरी पार्टीमा एकजना महिलाले आफ्नो साथीलाई सोधिन्, के तिमीलाइ तिम्रो पतिले सधैं यसरी नै खुसी राख्छन् ?

उनको यो प्रश्न संगै उक्त पार्टीमा उपस्थित सबैजना ती महिलाले अब के उत्तर दिनेहोलिन् भनेर आ–आफ्ना कान ठडा पारेर सुन्नका लागि उत्साहित देखिन्थे । उनका पति झनै उत्साहित देखिन्थे, किनभने आफ्नी श्रीमतीले यो प्रश्नको सकारात्मक उत्तर दिने कुरामा उनी एकदमै विश्वस्त थिए । उनी यसकारण विश्वस्त थिए किनकि अहिलेसम्म उनिहरुको वैवाहिक जीवनमा वास्तवमै उनकी श्रीमतीले कहिल्यै कुनै पनि कुराको बारेमा कुनै गुनासो गरेकी थिनन् ।

तर उनी लगायत पार्टीमा उपस्थित सबैजना एकदमै स्तब्ध भए, जब उनकी श्रीमतीले स्पस्ट शब्दमा ‘अहँ मलाई मेरा पतिले कहिल्यै पनि सुखी राख्दैनन्’ भनेर जवाफ दिइन् ।

आफ्नी श्रीमतिको त्यस्तो उत्तर सुनेर पति छक्क परे ! तर उनकी पत्नीले आफ्नो भनाइ जारी राखिन् र अगाडि भन्दै गइन्, मेरो पतिले मलाई कहिल्यै खुसी बनाउँदैनन् । वास्तवमा मलाई खुसी पार्ने जिम्मेवारी उनको होइन पनि । म खुसी छु कि छैन भन्ने कुरा मेरा पतिमा निर्भर गर्दैन, यो त म आफुमा निर्भर हुने कुरा हो । म मेरो जीवनको हरेक परिस्थिति र हरेक क्षणमा खुसी रोज्ने गर्दछु । आफ्नो मनको खुसीको रिमोट कन्ट्रोल अरुको हातमा सुम्पियौ भने अधिकांस समय हामीले निराश भएर बस्नु पर्ने, बाँच्नु पर्ने अवस्था आउन सक्छ ।

उनका कुरालाई पार्टीमा उपस्थित सबैले ध्यान दिएर सुनि रहे । उनी भन्दै गइन्, मलाई विश्वास गर्नुस्, बाहिरी दुनियाँमा जे जे भए पनि हामीले आफुलाई सधैं खुसी राख्न सिक्नु पर्छ, सक्नु पर्छ । चाहे म संग धेरै होस् या थोरै, म सधैं खुसी रहने गर्दछु । म बाहिर जाउ वा घरमा एक्लै बसु, म सधैं खुसी रहने गर्दछु । म सुख र दुःख यी दुबै अवस्थामा सधैं सन्तोष मानेर बस्ने गर्दछु ।

म अहिले विवाहित छु, तर म अविवाहित हुँदा पनि उत्तिकै खुसी थिएँ । मैले मेरो अविवाहित जीवनको भरपुर आनन्द उठाए । हामी आफैँ खुसी रहन सक्नु पर्छ, सिक्नु पर्छ । म मेरो जीवनलाई धेरै माया गर्छु । म सधैं खुसी रहन्छु । यसकारण हैन कि मेरो जीवन अरू कसैको भन्दा फरक छ अथवा रमाइलो छ । म यसकारण खुसी रहन्छु, किनकी मैले जस्तो सुकै परिस्थितिमा पनि खुसी रहन सिकेकी छु । मतलब, हामी हाम्रो खुसीको लागि आँफै जिम्मेवार हुन सक्नु पर्छ, सिक्नु पर्छ ।

मेरो पति साँच्चिकै राम्रो मान्छे हुनुहुन्छ । वहाँले मलाई असाध्य धेरै माया पनि गर्नु हुन्छ । मलाई खुसी राख्नका लागि वहाँको क्षमताले भ्याए सम्मका सबै प्रयास गर्नु हुन्छ । तर जब म मेरो खुसीका लागि मेरो पति वा अरू कसैलाई उत्तरदायी नठानेर, आफ्नो खुसीको दायित्व आफैँ लिन्छु, म मेरो पति लगायतका मेरा आफन्तहरुलाई मलाई खुशी राख्ने एउटा जिम्मेवारीको बोझ बाट स्वतन्त्र राख्न सक्छु ।

हामीले यसो गर्नाले, आफ्नो मात्र हैन हाम्रो परिवार वा समाजमा सबैको जीवन सहज बन्न बनाउन मदत गर्छ । हामी सबैको जीवन खुसी र सुखी बन्न सक्छ । त्यसैले, खुसी रहनु हामी सबैको आ–आफ्नो जिम्मेवारी हो, दायित्व हो । हामीले हरेक पल हरेक समय खुसी रोज्न सक्नु पर्छ, सिक्नु पर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, जस्तो सुकै परिस्थितिमा पनि हामीले आफ्नो मनको खुसीको जिम्मा आफैँले लिन सक्नु पर्छ, तब मात्र हाम्रो जीवन सुखी बन्छ ।

रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)

[email protected]

 

प्रतिक्रिया