जमैकाको ‘रनअवे बे’ मा अवस्थित ‘बहा प्रिन्सिपे’ रिजोर्टमा पुगेका मात्र थियौं, कसैले ढोका ढकढक्यायो।
१९ डिसेम्बर २०१९ को एकाबिहानै नर्थ क्यारोलाइनाबाट मायामी हुँदै म, मेरी श्रीमती तेजस्वी र छोरा आश्वत स्यान्ग्स्टर अन्तर्राष्ट्रिय विमानस्थल ‘मन्टेगो बे’मा अवतरण गरेका थियौं। मायामीबाट डेढ घण्टाको छोटो उडान थियो त्यो। थाहै नपाई उत्रिने बेला पो भइसकेछ। तीनजना सँगै भएकोले गफैगफमा गन्तव्य आइपुगेको पत्तै पाइएनछ। जाडोको छुट्टी मनाउन हामी त्यहाँ पुगेका थियौं ‘विन्टर बर्ड’को रुपमा।
विमानबाट निस्कनासाथ जमैकाले हामीलाई आफ्नै ठानेर स्वागत गरेजस्तो महसुस भयो। विमानस्थल निकै व्यस्त देखिन्थ्यो, तैपनि सहयोगी हातहरु थुप्रै थिए। यो टापुमा अरु दुइटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि ८० प्रतिशत पर्यटकले यही विमानस्थल प्रयोग गर्ने रहेछन्।
अध्यागमन र भन्सारको काम सकेपछि हामी बाहिर पर्खिरहेको रिजोर्टको भ्यानमा चढ्यौं। अलि महँगो भए पनि म होटलकै गाडी लिन रुचाउँछु। ट्याक्सी खोज्ने र कतिपय ठाउँमा मोलमलाई गर्ने काम मलाई पटक्कै मन पर्दैन।
भ्यान एअरपोर्ट बाट निस्केर क्यरिबियन समुन्द्रको किनारै किनार गुडी रहेको थियो। मधुरो स्वरमा रेगे म्युजिक बजाइरहेका थिए गुरुजीले। करिबकरिब बीच बाटोमा पुगेपछि उनले ‘उसेन बोल्ट पढेको स्कुल त्यही हो’ भनेर देखाए। नेपालको जस्तो लामो दुईतले बिल्डिङ र त्यसको अगाडि फुटबल खेल्ने चौर रहेछ। गुरुजीले उसेन बोल्टको परिचय दिन आवश्यक ठानेनन किनकि उनलाई बिस्वले चिन्दछ।
उसेन बोल्टलाई सबैभन्दा छिटो दौडने व्यक्तिको रुपमा टीभीमा देखेको झल्झल्ती याद आयो। १०० मिटर र २०० मिटर दौडमा उनले धेरै विश्व रेकर्ड तोडेका थिए। सन् २००८, २०१२ र २०१६ को ओलम्पिकमा रेकर्ड कायम गर्दै उनले स्वर्ण पदक जितेको सम्झिएँ।
एयरपोर्टबाट १ घण्टाको यात्रा तय गरेर होटल पुग्नासाथ हामीलाई चिसो सर्वत दिएर स्वागत गरे फ्रन्ट डेस्कमा कार्यरत दुइ स्टाफहरुले।
कोठा होटलको सबैभन्दा माथिल्लो तलामा र झ्यालबाट समुन्द्र देखिने हुनुपर्छ भनेको थिएँ। छोरी मेधावीले सोहीअनुसार बुकिङ गरेकी रहिछन्। पासा पल्टिसकेको छ- अब मेरो क्रेडिट कार्ड बेलाबेलामा मात्र चल्छ।
मेधावी आइपुगिछन् भनेर हत्तपत्त ढोका खोलेको त होटलको स्टाफ पो रहेछन्। ‘वेलकम गिफ्ट’ लिएर आएका रहेछन्। मेधावी भने अमेरिकाको राजधानी वाशिङ्टन डीसीबाट आउने हुनाले हामीभन्दा अलि ढिलो आइपुग्ने योजना थियो। अझै केहीबेर कुर्नुपर्ने भयो।
सन् १४९४ मा क्रिस्टोफर कोलम्बस आउनुअगावै रेडवेर, अरावक र टाइनो जनजातिले बसोबास गरेको टापु हो यो। सन् १९१० मा स्पेन र त्यसपछि ब्रिटेनको उपनिवेश रहेको जमैकाले दास प्रथाको कालो इतिहास बोकेको छ। अफ्रिकन दासहरुलाई उखु खेती गर्न प्रयोग गरिन्थ्यो।
सलाम छ ती ‘मरुण’हरुलाई जसले दास भएर बाँच्न अस्वीकार गरे र रातारात भागेर पहाडी जंगलमा गई लुकीलुकी दास प्रथाविरुद्ध लडे। सन् १८३४ मा दास प्रथा हटेको रहेछ त्यहाँ। अमेरिकामा दास प्रथा हट्न सन् १८६५ सम्म कुर्नपरेको थियो। यो टापु देश ६ अगस्ट १९६२ मा स्वतन्त्र भएको रहेछ, ब्रिटिस कमनवेल्थको सदस्य भने कायमै राखेर।
तिनै उखुबारीमा थुप्रै रिजोर्टहरु बनेका रहेछन्।
जमैकाको बारेमा टीभीमा सुनिरहेका हुन्थ्यौं, अखबारमा पढेका थियौं। म अचम्मित हुन्छु- कसरी एउटा सानो टापु देशले यति धेरै प्रतिभा जन्माउन सक्छ? नेपालको तुलनामा यहाँको क्षेत्रफल १४ गुणा कम छ र जनसंख्या १० गुणा कम।
यो देशले बब मार्ली जस्ता संसारकै सबैभन्दा ठूला संगीत हस्ती दिएको छ। उसेन बोल्ट जस्ता महान् धावक जन्माएको छ। एकपछि अर्को विश्व कीर्तिमान कायम गर्ने अरु धेरै प्रशिद्ध धावकहरु यही माटोमा हुर्किएका छन्। त्यतिमात्र कहाँ हो र? हामी गएकै वर्ष जमैकाकै टोनी-आन सिन्हले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी थिइन्। यसअघि १९६३, १९७६ र १९९३ मा पनि जमैकाले मिस वर्ल्डको ताज आफ्नो पोल्टामा पारिसकेको रहेछ।
जमैकाको पानीमा के होला त्यस्तो? यो जिज्ञासा आइरह्यो मनमा।
नेपाललगायत देशमा हिप्पी आन्दोलन चल्नुभन्दा ३० वर्षअघि नै सन् १९३० मा ‘रास्ताफारियन जीवनशैली’ जमैकामा सुरु भएको रहेछ। केही समयमै रास्ताफारियनलाई जीवनशैली मात्र हैन, धर्म नै हो भन्न थालिएछ। संसारका अन्य भूभागमा फैलिएको पनि रहेछ यो। केही वर्षअघि छोरा आश्वतले पश्चिमि अफ्रिकन देश घाना जाँदा रास्ताफारियनहरुलाई भेटेका रहेछन्। अहिले जमैकामा पाँच प्रतिशतभन्दा कम मान्छेले यो धर्म मान्छन्।
फेरि कसैले ढोका ढकढक्यायो। यसपालि भने मेधावी आएकी रहिछन्। अब हामी चारैजना कोठाबाट निस्केर समुन्द्री तट अर्थात् ‘बीच’तिर लाग्यौं। आएको दिन चाँडोभन्दा चाँडो बीच जान हतार हुन्छ हामीलाई। छोटो फ्लाइट भए पनि थाक्नचाहिँ थाकिँदो रहेछ तर पनि त्यो मनोरम स्थलको अगाडि हाम्रो थकाइ कहाँ जान्छ जान्छ।
सुनजस्तै देखिने बालुवा र शान्त तरंगहरुले भरिएको बे देखेर मन मन्त्र-मुग्ध भइगयो। ठूल्ठूला समुन्द्री छाल नभएको त्यो बे क्षेत्रमा वर्षैभरि तापक्रम २८ देखि २९ डिग्री सेन्टिग्रेड हुने रहेछ। डिसेम्बरमा ११-१२ डिग्री सेन्टिग्रेड हुने जाडो ठाउँबाट आएको हुनाले त्यो न्यानोमा रमाइरहेका थियौं हामी।
जताततै सांगीतिक माहोल हुने रहेछ जमैकामा। हुन पनि बब मार्लीको देश पो हो त। हामी बसेको होटलको स्विमिङ पुलनजिकै एउटा ब्याण्डले लगातार गीत गाइरहेको थियो। टुरिस्टहरु नाचिरहेका थिए जोडी-जोडी मिलेर। त्यहाँ उमेरले कसैलाई पनि भेदभाव गरेको छैन। २५/२६ वर्षका ठिटाठिटीदेखि ८०/८५ वर्षका वृद्धवृद्धा पनि मस्तसँग नाचिरहेका थिए। त्यो देखेर मलाई म ५८ वर्षको हुँदा नेपालका दुई आफन्तले ‘अब त सब छोडेर जप गर्ने बेला आएछ’ भनेको सम्झिएँ।
होटलको पहिलो तलामा भएको बारमा हरेक साँझ लाइभ म्युजिक चल्दोरहेछ। कुनैकुनै साँझ पुलमा विशेष म्युजिकल प्रदर्शनी पनि हुँदोरहेछ। ‘बीच पार्टी’ राति अबेरसम्म चल्दोरहेछ।
श्रीमती र छोराछोरी उठ्नुअगावै हरेक दिन बिहानै कफी पिउन जान्थें। स्थानीय अखबार पनि खोजीखोजी पढ्न मन लाग्छ। एक दिन प्रशिद्ध ‘ब्लु माउन्टेन’ कफी पिउन मन लाग्यो। नजिकैको क्याफेमा गएर पिएँ, महँगै थियो। स्वादमा भने मैले आफ्नै घरमा पिउने कफीभन्दा खासै फरक थिएन। कफी पारखीले भने आनन्द लिन्छन् होला।
सुविधासम्पन्न यो समुन्द्री तटमा के छैन? समुन्द्रमा डुबुल्की मारेर आएपछि लुगा फेर्ने सानो घर, सफा शौचालय, कुर्सीहरु, छाता र डुंगाहरु सबै छन्। खानपिनका लागि ठाउँठाउँमा रेस्टुरेन्ट छन्। हाम्रो प्याकेज अल इन्क्लुसिभ (सबै सुविधा समावेश भएको) हुनाले हामीलाई होटल परिसरमा जहाँ गए पनि खान र पिउन सित्तैँमा उपलब्ध थियो। होटलका धेरैवटा रेस्टुरेन्ट र स-साना फुड स्टलहरु थिए।
होटल छेवैमा सिसाको भुइँ भएका डुंगाहरु, सेलिङ, कायाकिङ र वाटर-स्कीइङ पनि रहेछन् तर हामी त्यतातिर लागेनौं। हामीजस्तै अमेरिका र क्यानडाबाट जाडो छल्न आएका टुरिस्टहरु अर्थात् ‘विन्टर बर्ड’हरु भने ती सुविधाको उपभोग गरिरहेका देखिन्थे। यो सबै देखेर मलाई नेपालको कोशी टप्पुमा साइबेरियाबाट आएका चराहरु हेरेको याद आयो। जाडो छल्न यसरी चराहरु गर्मी ठाउँमा जाने प्रथा संसारभरि नै छ।
पर समुन्द्रमा डुंगामा एउटा रेस्टुरेन्ट रहेछ, पौडिँदै गएर किनेर खानुपर्ने। ताजा माछा पोलेर बेच्दा रहेछन्। म र मेधावी पनि त्यतैतिर लाग्यौँ । पानी गहिरो थिएन। पौडेरै डुंगासम्म मचाहिँ पुग्न सकिनँ, मेधावी भने पुगिन्।
तटमा बसेर हामी सबैले ताजा माछाको स्वाद लियौं। आहा ! कस्तो मिठो माछा। मलेखुमा माछा खाएको याद आयो। फरक यति थियो कि मलेखुको माछा खोलाको थियो भने जमैकाको समुन्द्री माछा। डुंगामा घन्किरहेको म्युजिकले माहोलमा रौनकता थपेको थियो।
एकदिन दिउँसो रिजोर्टकै परिसरमा एक्लै टहलिँदै थिएँ। छेवैमा मेंग्रोब वन पनि रहेछ। ‘के खोज्छस् कानो आँखा’ भनेझैं भयो मेरो लागि। वर्षौंदेखिको मेरो रिसर्च यही वनको अवलोकन गर्नु थियो। वन भित्रसम्म गएर हेरें। बडा आनन्दको अनुभूति भयो। वरिपरि रिजोर्ट भए पनि यो जंगललाई भने सुरक्षित राखिएकोमा खुसी लाग्यो। वनको केही भाग भने रिजोर्ट बनाउन बिनास गरिएको रहेछ।
बीचको अर्को छेउमा गँजडीहरु गाँजा तानिरहेका रहेछन्। एकजना आएर मलाई पनि गाँजा बेच्न प्रयत्न गर्दै थिए। मैले पैसा बोकेको छैन भनेर टारें। पछि होटलबाट डलर ल्याएर दिए पनि हुन्छ भनेर कर गर्दैथिए उनी। गाँजा खाने मान्छे इमान्दार हुँदा रहेछन् जस्तो लाग्यो।
दिउँसो स्वीमिङ पुलमा संगीत र नाचसँगै कसरत गरिँदो रहेछ। तेजस्वी र मेधावी सामेल भइहाले। म भने त्यहाँको लोकल बियर ‘रेड स्ट्राइप’को आनन्द लिइरहेको थिएँ। दिउँसोको खानामा ‘आकी र सल्टफिस’ चाख्यौं हामी सबैले जुन त्यहाँको राष्ट्रिय खानेकुरा हो।
जमैकामा लोकगीत, मेंटो, स्का र रेगे म्युजिक प्रचलित भए पनि रेगे म्युजिक भने संसारभर नै प्रशिद्ध छ। बब मार्ली रेगे म्युजिकका जन्मदातामध्ये पर्छन् र उनले गर्दा नै यो म्युजिक संसारभर प्रशिद्ध भएको हो भन्दा अत्युक्ति नहोला। जमैकन संगीतलाई संसारभर फिँजाएर प्रचलित बनाउने श्रेय गायक, संगीतकार र गीतकार बब मार्लीलाई नै जान्छ।
रिजोर्टको दुनियाँबाट अलि बाहिर निस्कने सल्लाह भएपछि हामी चारैजना ‘डन्स रिभर फल्स’ तिर लाग्यौं। टिकट किनेर पार्कभित्र प्रवेश गरेपछि हामीलाई एउटा ग्रुपमा सामेल गराइयो। हामी सबै छहराको तल अवस्थित क्यारेबियन समुन्द्रको छेवैमा पुग्यौं। अब हामीलाई पानी बगेको उल्टो दिशामा उकालो चढ्नु थियो।
तीव्र गतिले बगेको छहरा छिचोल्दै पानीको मुहानतिर लाग्नु त्यति सजिलो थिएन। ठाउँठाउँमा उकालो ठाडै थियो अनि चट्टानैचट्टान पनि। गाइडको निर्देशनमा १५-२० जनाको समूहमा हातमा हात समाएर हिँडेको हुनाले अलि सजिलो भयो। हेर्दा मान्छेले बनाएको जस्तो देखिए पनि यो झरना प्राकृतिक नै रहेछ।
पानीले हामी सबै निथ्रुक्क भिजेका थियौं। बीचबीचमा गाइडले विविध रमाइला खेलहरु पनि खेलाए। एक ठाउँमा गाइडले पछाडि फर्केर पानीमा डुबुल्की मार्न भने। सहज थिएन तैपनि डुबुल्की मारिदिएँ। उनले झर्को नमानी पालैपालो सबैको फोटो पनि खिचिदिए।
पानी सफा थियो। गर्मी ठाउँमा भिजेर मज्जा आयो। नदीको वरिपरि सुन्दर बोटबिरुवा थिए। ठाउँठाउँमा जंगली फूलहरु देख्न पाइन्थ्यो। चराचुरुंगीको आवाज पनि सुनिन्थ्यो।
एक घण्टा लगाएर ९६० फिट लामो त्यो पानीको झरना चढेर फोटो खिच्दा सगरमाथा चढेजस्तै लाग्यो। जमैका आएपछि जानैपर्ने यो ठाउँ रहेछ डन्स रिभर फल्स। धेरैले आफ्नो ‘बकेट लिस्ट’ पनि राख्छन् भन्ने सुनेको छु। यो ठाउँमा जेम्स बण्डको सिनेमा ‘डा. नो’ छायांकन गरिएको रहेछ।
नेपालमा पनि यस्ता अनगिन्ती ठाउँ छन् तर तिनको प्रचारप्रसार र मार्केटिङ हुन नसकेकोमा च्वास्स घोच्यो।
बेलुका होटल आएर रम पिउने सुरसार गरें। संसारमा सबैभन्दा धेरै रम बार कहाँ छन् भनेर कसैले सोध्यो भने त्यसको उत्तर दिन जान्ने भएँ म। एक बोतलको ५० लाख रुपैयाँसम्म पर्ने रम पनि यही देशमा रहेछ। म भने रिजोर्टले सित्तैंमा दिएको रमको आनन्द लिइरहेको थिएँ, बार टेण्डरको कुरा सुन्दै।
एक साँझ होटलकै माइक्रो बसमा चढेर आधा घण्टाजतिको बाटोमा रहेको लुमिनस लगुन गयौं। हामीमात्र थियौं त्यो बसमा। जमैका गएर लुमिनस लगुन जानु है भनेका थिए मेरा सहकर्मी डा. रस लुनेटाले। उष्णकटबन्धीय मेंग्रोब वनले घेरिएको यो शानदार लगुनमा लाखौं-करोडौं माइक्रोस्कोपिक जीवहरू बस्दा रहेछन्। जब उनीहरुलाई चलाइन्छ, उनीहरुले फ्लोरेसेन्ट प्रकाश उत्सर्जन गर्छन् र पूरै पानी उज्यालो देखिन्छ। संसारमा जम्मा चार ठाउँबाट मात्र देख्न सकिन्छ यस्तो सुन्दर दृष्य। त्यसमा पनि जमैकाको यो लगुनचाहिँ संसारकै उत्कृष्ट भनेर चिनिँदो रहेछ। मैलेचाहिँ बाँकी ३ वटै लुमिनस लगुन हेरिसकेको थिएँ।
माइक्रो बसबाट फलमाउथ भन्ने बजारमा उत्रिनासाथ गाइडले हामीलाई बेको किनारमा रहेको एक रेस्टुरेन्टमा लगे। केहीबेर पर्खेपछि उनले हामीलाई अरु केही विदेशी टुरिस्टहरुसँग मिसाए र आवश्यक निर्देशनहरु दिए। वातावरणलाई जोगाइराख्नु र आफू सुरक्षित हुनु प्राथमिकता हो भनेर हामीलाई बुझाए।
अब फेरि केहीबेर पर्खनुपर्ने भयो डुंगाको अन्तिम तयारी गर्नलाई। त्यही फुर्सदको समयको फाइदा लिएर कोही खाना, कोही पानी र कोही उपहारहरु किन्नतिर लागे। हामीलगायत केही भने लाइभ म्युजिकको आनन्द लिँदै डान्स हेर्नतिर लाग्यौं।
यहाँका माइक्रोस्कोपिक परजीवीहरु सबैभन्दा तेजिलो हुनुमा मुख्यत: यहाँको उपयुक्त वातावरण नै रहेछ। वातावरण मिलेकोले यहाँजति परजीवी अन्त कतै पाइँदैनन। यो लगुन ‘मार्था ब्रे’ नदी क्यारेबियन समुन्द्रमा मिसिएको ठाउँमा अवस्थित छ। ताजा पानी र नुनिलो पानीको सम्मिश्रण छ यहाँ। फेरि लगुनको गहिराइ पनि ३ देखि ८ फिटमात्र छ। यस्तो वातावरण माइक्रोस्कोपिक परजीवीहरुको लागि उत्कृष्ट मानिँदो रहेछ।
जुनेली रात थियो, अनि सफा आकाश। हाम्रो डुंगाका क्याप्टेनले साधारण जानकारी दिँदै बेको गहिराइतर्फ लगे। बेको बीचतिर पुगेपछि लाइफ ज्याकेट लगाएर पालैपालो डुंगाबाट पानीमा हामफालेर पौडिन थाल्यौं। पानी त पूरै उज्यालो भयो। पानीमा भएका माछाहरु आकाशमा भएका ताराहरुजस्तै देखिए। फरक के थियो भने ती ताराहरु पौडी खेलिरहेका थिए।
यो सम्पदा जोगाइराख्न बारम्बार सम्झाइरहे गाइडले। हुन पनि हो, लुमिनस बे बिनास भए यहाँको पर्यटन उद्योगलाई ठूलो घाटा हुन्छ। परम्परागत र आधुनिक औषधिको रुपमा समेत प्रयोग हुँदा रहेछन् यी माइक्रोस्कोपिक जीवहरु।
समय नबित्दै क्याप्टेनले डुंगामा चढ्न आदेश दिए। एउटा अविस्मरणीय साँझ थियो त्यो। संसारकै उत्कृष्ट लुमिनस लगुन हेरेर फर्केका थियौं हामी।
राजधानी “किङ्ग्सटन” र “नौ माइल बीच” आदि ठाउँहरु हेर्ने चाहना लाई थाँती राख्नु पर्नु भयो। हाम्रो सात दिने यात्रा पत्तै नपाई सकिई सकेछ। हरेक असल कुराको अन्त्य हुनुपर्छ वा हुन्छ भनेजस्तै यो छोटा यात्रा सकेर हामी अमेरिका फर्कियौं। फर्किदा हामीलाई थाहा थिएन, कोभिडले २ बर्ष सम्म घरमै थन्काउछ भनेर।
जुलाई, २०२२
नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका
प्रतिक्रिया