गगन थापा लाइ खुल्ला पत्र

नवीन रायमाझी २०७९ असार २३ गते ०:१९ मा प्रकाशित
श्री गगन थापाज्यू– नमस्ते। दोहाेरो परिचय नभए पनि लाखाैं–लाख मध्ये म पनि तपाईंको उच्च कोटीको ‘फ्यान’ हुँ। यसैले आफ्नो मनमा लागेको कुरा लेख्न लागेको छु।
तपाईं ब्यस्त मान्छे, देशले कसरी कोल्टे फेर्छ भनेर सोच्दा सोच्दै देश उत्तानो परिसक्यो तर तपाईं को व्यस्तता घट्ने कुरा आउँदैनतपाईं लाइ म जस्तो निम्छरो भुईँमान्छेले लेखेको लेख पढ्ने फुर्सद सायदै नहोला! तर तपाईले नपढेपछि देश तथा विदेशमा बसेका तपाईंका हनुमानहरूले पढेछन् भने मात्र तपाईले पढेबराबर सम्झने छु।

योभन्दा पहिला पनि तपाईका नाममा यस्तै लेख लेख्ने माैका जुरेकाे थियाे। तपाईले पढ्न नपाएपनि तपाईका धेरै हनुमानहरूले पढे र ‘गगन दाजुलाई यस्तो लेख्ने’ राम्रैखालका मौखिक धम्किहरू दिए। ती धम्कीहरूले केहि समय त बिचलित पनि बनाएका थिए। विस्तारै आफूले आफैलाई नियन्त्रण गरे।

गगन दाजुका हनुमानहरूले मलाई राम्रै गरी लखेट्छन् भन्ने थाहा हुँदाहुँदै पनि फेरी अर्को लेख्ने दुस्साहस गरे। कृपया म बबुरोलाई माफ गरिदिनुहोला।

तपाईं विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको मान्छे। चक्का जाम, ढुङ्गा मुढा गर्ने र सुरक्षाकर्मीलाई बिनाकारण हैरानी दिनेजस्ता महान कार्य गर्न कसैले सिकाउनुपर्दैन। यस्ता काममा तपाईं निपूर्ण हुनुहुन्छ।

तपाईंले आफ्नो कक्षा छोडेरै यस्ता काम कति गर्नुभयो होला? मतदाताहरूले यसको राम्रो मुल्यांकन गर्नुपर्छ जस्तो लाग्थ्यो। जुन गरिरहेका छन्। तपाई जत्तिकै म पनि खुसी छु।

तपाई स्वतन्त्र विद्यार्थी यूनियनमा हुँदा क्याम्पसको पुस्तकालयमा ‘किताब किन्नेदेखि पर्खाल बनाउनेसम्मको कार्यमा कमिसन खान सिपालु हुनुहुन्थ्यो’– भन्छन्, मेरा केहि मित्रहरू। तपाईको नाममा कालो छर्ने उनीहरूलाई चड्कन हान्न मन लाग्छ कहिलेकाही।

मेरा मित्र तथा त्रि–चन्द्र क्याम्पसका पूर्वकर्मचारीहरूले यो बताइरहँदा तपाईलाई बारम्बार सम्झिरहन्छु। र, मेरो निम्छरो मनले अझ् बढि हिसाबकिताब लगाउँछ ‘यूनियनका पदाधिकारीहरूको प्रमुख काम हो, त्यो। गगन थापाज्यू मात्र किन फरक हुन सक्नुहुन्थ्यो।’

मलाई तपाईको मनपर्ने कुरा भने अन्य विद्यार्थी नेता जस्तो केवल क्याम्पसमा भर्ना गरेर समय बिताउनुभएन। परीक्षा दिएर उतीर्ण पनि हुनुभयो। ती मेरा मित्रहरूकाे आराेप छ– ‘कुनकुन विद्यार्थी नेताको परीक्षा कसले कसले दियो भन्ने कुरा कुनै दिन बाहिर आयो भने लाज पनि लजाउँछ।’  कतिपटक त विद्यार्थी नेताहरूको परीक्षा अरूले नै दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थीहरू पक्राउ नै परेका छन्– कि कसाे श्री गगन थापाज्यू?

समय र तपाईको लगाबले पूर्णकालीन नेता हुनुभयो। पूर्णकालीन नेता भएपछि दैनिकी पनि चलाउनैपर्‍याे। तपाईको पनि दैनिकी त अन्य नेताहरूको जस्तै त हो। म सम्झिन्छु एउटा साप्ताहिक पत्रिकाले तपाईलाई ‘हरेक महिना भारतीय अधिकारीबाट पैसा बुझ्छन्’ भनेर आरोप लगायो। अमेरिकी दूतावासको ‘भरिया’ हो भन्ने आरोप लाग्यो। यसमा तपाईका कृया–प्रतिकृया सबै पढेँ–सुनेँ।

सरकारसँग श्री गगन थापाले ‘बाख्रा पालन’को लागि लिनुभएको ऋणको पनि साउँ–ब्याज तिर्नुभएको छैन भन्ने समाचार आयो।

काठमाडौंका गुण्डा नाइकेहरूका लागि त तपाई देउता नै हो भन्थें– उनै मेरा मित्रहरू एकपटक। मैले र तपाईले चिनेकै एउटा गुण्डाले एकपटक भन्थे ‘पहिले चुरोट ल्या…त गगनभन्दा हस् दाजु भन्थ्यों। अहिले नामको पछि ‘जी’ लगाएर बोलाउछ।’

हेर्नुस् त महामन्त्रीज्यू गुण्डाहरूले नी हेपेका..!

राजनीति जोगी बन्न गरिने विषय होइन। लक्ष्य मन्त्री र प्रधानमन्नी हुने नै हो। र समयसँगै तपाई स्वास्थ्य मन्त्री पनि हुनुभयो। आफू पदमा बसुन्जेल कति चमत्कार गर्नुभयो म जानकार छैन। मलाई त यत्ति थाहा छ– आज पनि कुनै गरीबलाई रोग लाग्यो भने त्यो अस्पताल जानुभन्दा आर्यघाट जाँदा सस्तो, सजिलो र छिटो हुन्छ।

र, पनि तपाईका समर्थकहरू ‘गगन थापाले यस्तो र उस्तो गरे’ भनेर घाँटी सुक्नेगरी कराएको सुनेकै सुन्यै छु। के जादू गर्नुहुन्छ हँउ..! थापा ज्यु? अचेल तपाईं का हनुमान हरु लौ अब प्रधानमन्त्री हुने पालो गगन थापा को भनेर कराउन थालेका छन्, यस्तो होहल्ला सुनेर तपाईं लाइ भित्र भित्र खुशी पनि लाग्दो हो, लौ तपाईं लाइ अग्रिम बधाई तथा शुभकामना छ.

तपाईंको हितैषी – नवीन रायमाझी – हालः अमेरिका

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया