कालापानी नेपालको हो भन्दै आवाज बुलन्द गर्ने तीन नेताको सालिक निर्माण

वीरेन्द्र रावल २०७९ असार २० गते १५:२२ मा प्रकाशित


वीरेन्द्र रावल,धनगढी, असार २०÷ भारतीय क्षेत्रसंग नेपालका सीमा नाका जोडिएका अधिकाँश स्थानहरुका जनताका आवाज र राष्ट्रियताको सवालमा देशको ध्यान आकर्षित गर्ने राष्ट्रभक्तहरुको सम्मान स्वरुप सालिक निर्माण गरेर दार्चुलामा सम्मान गरिएको छ ।दार्चुलामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलोपटक उठाउने दार्चुलाका तीन जना दिवंगत नेताको सालिक बनाइएको छ । व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको हो ।

सुदूरपश्चिमको वन मन्त्रालयको आर्थिक सहयोगमा प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले सालिक निर्माण गरेको प्रतिष्ठानका अध्यक्ष किसन सिंह धामीले बताए ।

कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा सालिक निर्माण गरिएको हो। यसले इतिहास जीवन्त राख्ने स्थानीयले बताएका छन्।सालिक निर्माणका लागि व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोक बोहराले स्थान छनोटमा सहयोग गरेका धामीले बताएका छन् ।

कालापानीमा रहेको भारतीय अतिक्रमणको विषय पञ्चायतकालमा पहिलोपटक तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले उठाएका थिए । प्रजातन्त्र पुनःस्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए । ऐतवाल र बोहरा कालापानीमुनिको छाङरुका बासिन्दा समेत थिए। यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए ।

छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाले तयारी थालेको छ। गाउँपालिका अध्यक्ष मंगलसिंह धामी भन्छन्,‘मौखिक रूपमा जानकारी गराइएको छ, अब लिखित रूपमै निमन्त्रणा गर्छौं।’व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा छ ।भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपाल चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन ।

नेकपा एमालेको नौ महिने सरकारका पालामा कालापानी किन दुख्दैन राजधानीलाई भनेर संसदमा चर्को आवाज उठाउने स्वर्गिय नेता प्रेमसिंह धामी पहिलो मन्त्री हुनुहुन्थ्यो । त्यसपछिका सरकारका पालामा कालापानीको आवाज उठेतापनि भारतीय हस्तक्षेपलाई भने नेपाल सरकारले परास्त गर्न सकिरहेको छैन ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया