सवाई लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३४” सम्पन्न ।

इनेप्लिज २०७९ असार १९ गते २२:२७ मा प्रकाशित
काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३४” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३३ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत सवाई लाेक छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

आधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे सवाई लाेक भाका हाल लाेप हुँदै गएकाे अवस्थामा प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै नेपाली लाेक संस्कृतिकाे जगेर्ना गर्न खाेजिएकाे हाे ।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले सवाई लाेक भाका हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक प्रविधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक सवाई लाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको सवाई लाेक छन्द
~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा जम्मा १४ अक्षर हुन्छन्।
~ ८ अक्षरमा विश्राम हुन्छ।
~ सवाई छन्द सूत्र ४+४,४+२=१४ अक्षर

अभ्यासकाे क्रममा सङ्कलन गरिएका सवाई लाेक छन्दका केही टुक्का कविताहरू
[१]
१.
धान रोपी ढुकुटीमा जम्मा गर्छु भनी,
असारको पिरलो यो छिटै सक्ने पनि।
२.
भने जति माया दिने रमाइलो गाउँ,
बनपाखा  सधैँभरी  घमाइलो  ठाउँ।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹

[२]
१.
दरदरी दर्क्यो पानी आगनीमा हेर,
भलबाढी पस्यो आज खेतभरी धेर।
२.
हिलैहिलो लाग्यो हेर कपडामा आज,
देख्नेले नि भन्छन् होला पचाएको लाज।
✍️ प्रदीप के रिमाल
इटहरी ८

[३]
१.
असारमा धान रोपी मंसिरमा झाँट
धान झाँट्ने खले गह्रो कति राम्रो फाँट।
२.
घाम लाग्यो झलमल्ल कति राम्रो दिन,
काम गरि  माम खाने नलागोस् है रिन।
✍️ बेदु न्यौपाने
काठमाडौ

[४]
१.
बारी कान्ला खेत गरा सजााएर चट्ट,
असारमा धान रौपौ र आलीमा भट्ट ।
२.
मानो रोपि मुरी फल्छ खेती गरे राम्रो,
यै हो साथी  परिश्रम गर्ने बेला हाम्रो ।
✍️ सुर्य मणि  रेग्मी
चितवन

[५]
१.
सरकार समयमा मल बिउ देऊ,
किसानले खन्दैछन् लौ मिलाएर छेऊ।
२.
रोपाइँको बेला भयो नगर्नु है ढिला,
बन्नुहुन्न सरकार छाती माथी पिला।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८

[६]
१.
मिलिजुली  जाँऔँ खेत रोपी धान बिउ
नखोजन नानी हिलो लाग्यो भनी  निउ।
२.
यस्तै  हुन्छ बर्खामास  दरिदरि झरी
देखिएकी कति राम्री परिजस्तै चरी ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा, हाल मलेसिया

[७]
१.
जति हेर्‍यो उति धेरै तिम्रो माया लाग्ने
आउँछु म तिम्रो छेउ तिमी टाढा भाग्ने ।
२.
हतारमा गर्नुहुन्न कुनै पनि काम
बिगार्दछ जताततै पाइँदैन माम ।
३.
माया गरेँ आफ्नै ठानी मेरो भुल भयो
उसैले लौ आज हेर छोडेर नै गयो ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

[८]
१.
धान रोप्न व्यस्त भए असारमा सबै
सकिन्न है बाँच्न साथी अन्नबिना कबै ।
२.
असारको मास हुन्छ खास पानी पर्दा
खुशी लाग्छ धान रोप्ने राम्रो मेलो सर्दा।
✍️ दीपक ठटाल जलन
खरसाङ

[९]
१.
बिहानीको  झुल्केघाम  परीक्षण लिन्छ ,
दिउँसोको  समयमा  काम  बाधा दिन्छ ।
२.
असारको  मास  हेर  झुक्याएर पर्ने ,
बालीनाली भित्र्याउन मुस्किलले टर्ने ।
३.
बादलुको छाँया देख्दा आकाशमा डम्म,
धान  खलो  डुबाउला  मनै भयो टम्म ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[१०]
१.
मेरो पनि मन आज बद्लिएको धेर
तिमीसँगै बस्न अब  सक्दिन म हेर ।
२.
मिलेन नि मन हाम्रो बाटो अर्कै खोजौं
आफ्नो आफ्नो दिल मिल्ने सहि साथी रोजौं ।
✍️ दुर्गा भट्टराई
मोरङ

[११]
१.
लाेहा काट्न लाेहा आफैँ भएपनि घाती,
दिलभित्र बस्ने मान्छे लाग्दाे रैछ जाती ।
२.
पखेरीमा मल हालेँ गयो  त्यसै खेर,
दिलभित्र बस्नेले नै दिँदा धाेका हेर ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

[१२]
छुपुछुपु धान राेपाैँ असारकाे मेलाे
कुपुकुपु पार्न मीठाे मङ्सिरकाे खेलाे ।
✍️ निरज काेइराला
इटहरी

[१३]
१.
माैसमकाे राखी ख्याल दाउ छाेपौँ भनी,
पर्म गर्न तिम्रो खेताँ आएको म  पनि ।
२.
लगाउन बाली ढिला नगराैं है साथी,
गराैं छिटो हेरी बादल् आकाशको माथि ।
✍️ रामप्रसाद पुरी, बादेल
खाेटाङ ।

[१४]
झुल्किएको घामसंगै विहानीको सुरु
असारको धान बिउ किसानको गुरु ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड

[१५]
१.
पानी धेरै पर्यो भने,खोला बाढी बढ्छ,
होसियार हुनुपर्छ, पैह्रो पनि गढ्छ।
२.
किसानको चटारो छ,खेतबारी जोत्ने,
घुम छाता बोकि हिड्नु शरीर यो ओत्ने।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[१६]
१.
असारको पन्ध्र आयो प्यारी अल्छी फाल
रोपाइँको मेलो सकी साँझ बत्ती बाल।
२.
सतर्क भै बस्नुपर्छ बर्सादमा धेर
बाढी पैरो लागे जान्छ धन जन खेर।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[१७]
न हेरिदेऊ मलाई लौ भुतुक्कै पारी
तानौला नि तिमीलाई यी पाखुरा सारी ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[१८]
१.
असारको महिनामा पानी पर्यो हेर,
सबै मिली खेती गरौ फलाउँन धेर।
२.
किसानले हल जोते बाँझो पल्टाएर,
दु:ख गरे  कहिले नि  जानेछैन खेर।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा

[१९]
१.
हलो हिॅंड्यो कुटो चल्यो उसै गरी अन्न,
जाँगरिया  हात  चले  बालीनाली टन्न।
२.
पाखोबारी बाँझो बन्यो युवाशक्ति खाडी,
मिहिनेत  केही  छैन  चाहन्छ  ऊ  गाडी।
३.
बेला हो यो गैह्री खेत गोडमेल गर्ने,
राम्रो बीऊ,स्याहारेमा धनसार भर्ने।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[२०]
१.
धान रोप्दा चारै दिशा हरियाली छायो,
रसियामा दौँतरीले माया प्रीति लायो।
२.
परदेशी आँखा भरि गाउँघर आयो,
घर जान नपाएर मन मुटु खायो।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[२१]
१.
आए गए ऋतुहरू फेरिरहे बर्ष,
जताततै हरियाली तर छैन हर्ष ।
२.
यताउता कताकता अल्मलिए जस्तो,
गन्तव्य नै बिर्सियाे की लाग्छ किन यस्ताे ।
३.
झरझर बर्खे झरि खेतीपाती गर्ने,
माना राेपी असारैमा पछि मुरी भर्ने ।
✍️ शान्ति याक्साे
काठमाडौं ।

[२२]
१.
धर्ती हाँस्याे असारमा जताततै झाडी
खेत हेर बाँझै रह्याे युवा गए खाडी।
२.
माैका मिल्याे नेतालाई महङ्गीले कस्याे
भाेट दिई सत्ता सुम्प्याे जनलाई डस्याे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।

[२३]
१.
हेरि हेरि तिमीलाई मन कहाँ मान्छ ,
तिम्रै मीठो बोली सुन्दा झन उतै जान्छ ।
२.
नजरले हान्यौ बाण मुटु फुट्ने गरी ,
घाइते म भाको छु नि  न भन्देऊ सरी ।
३.
माया जाल बुन्छौ तिमी फसाउन भनी ,
बसेकी छौ बाटो हेरि दिनरातै गनी ।
✍️ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा

[२४]
असारमा छुपु छुपु धान राेप्न गए
सकाएर राेपाइँ याे बल्ल शान्त भए।
✍️ रुपा गाैतम
बारा

[२५]
१.
किसानको कर्म भन्नु सम्झि धर्म मेरै
असारमा मेलो चाले धान फल्छ धेरै।
२.
होहोमाले होहोतारे रौसे र रोपारे
छुपुछुपु धान रोप्नौं मेलो छ असारे ।
✍️ योगप्रसाद उपाध्याय चापागाईं
काठमाण्डौं ।

[२६]
१.
रोपो रोप्दै असारको हरियाली देखेँ,
गीत गाई मेला पर्व माया प्रीति लेखेँ।
२.
माया लाग्छ त्यै मोरीको मनभित्र भित्र,
आखिरमा भनी उस्ले तँ त मेरो मित्र।
✍️ दुर्गा आचार्य
मोरङ

[२७]
१.
असारमा माना राेपे मंसिरमा फल्छ ,
खान पुग्ला पेटभरि सालभर चल्छ ।
२.
गर्नसके जमिनमा छर्नसके धान ,
निर्भरमा पराईकाे परिदैन जान ।
३.
खेतीयोग्य पखेरामा गर्नसके श्रम ,
हेपाहा र चेपाहाकाे टुटिजान्थ्याे भ्रम ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[२८]
१.
रोपाइँको दिन हाम्रो  दिने होला पर्म
काम गर्न जाँदा  तिम्रो लाग्ने गर्छ सर्म ।
२.
गर्मी हुँदा खानुपर्छ दही मोही मिठो
खाजा खाने मीठो मानी सातुको छ पिठो ।
✍️ भगवती दवाडी
झापा

[२९]
फाल्नुपर्छ विसंगति उखेलेर अब,
लाग्नुपर्छ दिलैदेखि शिक्षितले सब ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा

[३०]
१.
पानी पर्यो दर्के झरि गोरु जोतौं नारी
बिउ रोप थोरै लुगा माथि तिर सारी ।
२.
मायालुको माया मिठो खेल्दै हिलोसित
खाजाभुजा खाइ गाऔँ असारे त्यो गीत ।
✍️ रिजाल विनोद
माेरङ्ग

[३१]
१.
अभिप्राय हुनुपर्छ व्यवस्था नै फेर्ने,
सुशासन  समुन्नत  देशलाई  हेर्ने ।
२.
सरकारी भत्ता खाई उन्मत्त पो भयौ,
सरकार  छाड्नु  पर्दा  रुँदै रुँदै गयौ ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[३२]
१.
असारको  पन्ध्र वाह ! गमलामा धान,
कृषि हाम्रो मुख्य पेशा राख्नैपर्यो मान ।
२.
बाँझै राखी खेतबारी, क्रान्तिका छन् कुरा,
आयात  गर्दै  खाद्यान्न,  गर्छौँ  लक्ष्य  पूरा ।
३.
न त मिल्छ मल बीउ, आवश्यक पर्दा,
समयले डाँडा काट्छ, कृपा भई झर्दा ।
✍️ वसन्त अनुभव
घोराही १४, दाङ

[३३]
१.
धान राेपी वर्ष भरी, खान्छु बसी भनी,
असारकाे दिन हुँदै, राेपीसके पनि ।
२.
असारको पन्ध्र आज, रमाइलो गाउँ ,
राेपाई नै गरि गरि,हरियाली ठाउँ ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल

>> जय टुक्का! जय साहित्य!! <<

प्रतिक्रिया