भियनाको नाशमार्क्ट र बालेनको फुटपाथ नीति

बाबा राजेश्वरी थापा भियना, अष्ट्रिया २०७९ असार १८ गते १२:१२ मा प्रकाशित

गएको पांच वर्षमा तेश्रो पटक भियनाले संसारको सबभन्दा बस्न लायक राम्रो शहरको उपाधि जितेको छ। यो उपाधि जित्नुको कारण, यहाँ धनी मानिस बस्ने वा यहाका राजनीतिज्ञ र नेताहरु गतिला भएर पक्कै होइन। भियनाले पांच वर्षमा तेश्रो पटक संसारको सबभन्दा बस्न लायक राम्रो शहरको उपाधि जित्नुको विभिन्न कारण छन्, जसको प्रमुख कारणहरु यी हुन्, यहाको आवास सुबिधा, यातायात र पूर्वाधार, वातावरण र प्रदूषण, शिक्षा, स्वास्थ्य सेवा, अर्थतन्त्र, अपराध दर, संस्कृति, ग्रामीण इलाकासंगको निकटता। भिएनाको आवाश सुबिधाको कुरा गर्दा हरेक अपार्टमेन्टमा भान्छा र शौचालय अनि तातो र चिसो पानीको सुबिधा विना भाडामा लगाउन पाइदैन। भाडा तोक्दा भाडावालाले त्यस घरमा बस्दा पाउने सुविधा अनुशार दर तोकिन्छ।

त्यस्तै शिक्षाको कुरामा मनटेशवरी र प्राथमिक शिक्षा सुविधाको कुरा गर्दा ६ देखि १० वर्ष सम्मका हरेक बालबालिकाले आफ्नो घरबाट ५०० मिटर वरिपरी विद्यालय जान पाउनु पर्छ। प्राथमिक शिक्षा देखि विश्वविद्यालय सम्म निशुल्क शिक्षा सुविधा छ। यी त भए नागरिकका सहज जीवनका सुविधाका उदाहरण, माथी उल्लेखित अन्य सुविधामा पनि भिएना आफ्नै नीति र नियम छ, जसको अनुगमन र नियन्त्रण गर्ने सर्वाधिकार भिएनाको स्थानीय सरकारलाई छ।

भियना नगरपालिकाको सहज जीवनलाई यहाँ जोड्नुको उद्देश्य, अस्ति बिहिवार शीतल निवासमा राष्ट्रपति कार्यालयमा मेयर बालेन साह र राष्ट्रपति विद्या देवी भण्डारीको दुरी कायम गरी भएको भेटघाटको फोटोले सामाजिक संजाल जति तात्यो त्यो भन्दा बढी हिजो शुक्रवार काठमाडौँको फुटपाथमा घटेको नगर प्रहरी र फुटपाथ व्यापारीको घम्साघम्सीले सामाजिक संजाल लगायत पत्रपत्रिकाहरु बढी तातेको देखिन्छ। काठमाडौँको फुटपाथमा नगर प्रहरी र फुटपाथ व्यापारीको घम्साघम्सी यो पहिलो घटना होइन, यो घटना घटन थालेको दशकौ बितिसक्यो तर यो घटना अहिलेसम्म काठमाडौँ नगरपालिकाको साँचो सम्हाल्ने कुनै पनि नेतृत्वको महत्वमा परेको छैन। यो गम्भीर, जटिल र संवेदनशील समस्याको समाधान नहुनुको प्रमुख कारण यहि नै हो। यस्ता घटना जब घट्छन दुइ चार दिन पत्रपत्रिका, नागरिक समाज र सामाजिक संजाल तात्छ, केहि दिन पछि सबले यो घटना बिर्सिन्छन अनि स्थति सामान्य बन्छ तर सम्बन्धित निकायले वेवास्ता गरिदिन्छ किनकि काठमाडौँ नगरपालिकाको मेयरको समस्या यो होइन, मेयरको समस्या भनेको फोहोर व्यवस्थापन हो, काठमाडौँमा रेल कुदाउनु हो अथवा भनौ हुनै नसक्ने वा नागरिकको आँखामा धुलो छर्ने दशकौ लाग्ने परियोजनाहरुको घोषणा गरेर नागरिकलाई आत्म केन्द्रित गर्ने प्रवृत्ति देखिन्छ। जहाँ सम्म फुटपाथ व्यापारीको समस्या छ त्यो व्यवस्थापन गर्न त नगर प्रहरी छदै छनी भन्ने मानसिकता राख्ने मेयरले किन भुल्छन नगर प्रहरीको परिचालन काठमाडौँको यातायात र पार्किंगको समस्या समेत प्रयोग गर्न सकिन्छ भन्ने।

पुर्व मेयरहरूले गरेका गल्तीबाट काठमाडौँका नागरिकको जीवन स्तर सहज बनाउने र काठमाडौँलाई बस्न लायक शहर बनाउन सक्ने क्षमता देखेर काठमाडौँका जनताले रोजेका नयाँ मेयरको प्राथमिकतामा पनि फुटपाथ व्यापारीको समस्या पर्न नसक्नु दुखद पक्ष हो तर हरेश खाई हाल्नु पर्ने स्थिति छैन भन्ने भनाई बालेन समर्थकहरुको छ। आफुले चुनेका र समर्थन गरेको नेतृत्व प्रति सदैव सहानुभूति राख्ने नागरिकहरुको कमलो मनले गर्दै हरेक नेतृत्व स्वार्थी बन्ने तथ्यलाई स्वीकार गर्नु पर्ने देखिन्छ। फुटपाथ व्यापारीको हकमा पूर्व मेयरहरूले जुन गल्ती गरे बालेन पनि त्यहि पदछाप पहिल्याउदै छन, बेलैमा सचेत हुनु जरुरी छ, आशालाग्दा मेयर बालेन साहले नत्र उनी र अरुमा केहि भिन्नता देखिने छैन।

फुटपाथ व्यापारीको व्यवस्थापन कसरी ?

फुटपाथ व्यापारीको व्यवस्थापनको सम्बन्धमा प्रसंग जोड्न चाहे भियनाको नाशमार्क्टको। १६ औ शताब्दीमा फ्र्याक्सिनस रुख (Fraxinus) अर्थात् आश(Ash) को रुखबाट बनेको काठको ठेकीमा दुध बेचिने हुँदा जर्मन शब्द Aschenmarkt बाट नाशमार्क्टको नाम बनेको हो। नाशमार्क्ट भियनाको सबैभन्दा लोकप्रिय बजार हो। लगभग 1.5 किलोमिटर (0.93 माइल) लामो भिएना नदी को किनार अर्थान भिएना को मुटु स्टेफन डोम चर्च नजिकै छ यो बजार। अन्य दिनमा सामान्य किनमेल गर्न पाइने यो नाशमार्क्ट बजारमा, शनिवार एकदम थोरै भाडा तिरेर जो कोहीले पनि नयाँ, पुराना घरायसी समान, दैनिक उपभोग्य सामान खरिदबिक्री गर्न पाउछ। यो नाशमार्क्ट भियनाको सस्तो बजार मात्र होइन यो भिएनाको पर्यटन आकर्षणको मुख्य केन्द्र समेत हो। भियना घुम्न आउने प्राय सबै पर्यटकहरु नाशमार्क्ट पुगेकै हुन्छन, यो भिएनिज संस्कृतिको धरोहर समेत हो।

भियना नगरपालिकाले जसरी नाशमार्क्टमा न्यून कर दरमा सामान बेचबिखन गर्ने सुविधा उपलब्ध गरेको छ त्यसैगरी भिएनामा रहेका सबै २३ वटै वडाहरुले साना व्यापारीहरुको लागि दैनिक व्यापार गर्ने स्थल तोकेको छ साथै हरेक शुक्रवार र शनिवार नगरपालिकाको समयतालिका अनुशार वर्षैभरी हाट बजार समेत लाग्ने गर्छ, जसले साना तथा ठुला दुवै व्यापारीहरुलाई र न्यून आय भएका उपभोक्ताहरुलाई समेत सुविधा दिएको छ।

यहि व्यवस्थापन काठमाडौँमा गर्न सकिदैन भन्ने छैन , अवश्य सकिन्छ। फुटपाथ व्यापार व्यवस्थापनको लागि ठुलो बजेटको आवश्यकता भन्दा पनि स्थानीय सरकारको नीति नियम र प्रस्ट हुनुपर्छ। फुटपाथ व्यापारीको समस्या काठमाडौँ शहरमा मात्र छैन संसारका अन्य ठुला शहरहरुमा समेत छन्। छिमेकि मित्र राष्ट्र भारतको धेरै शहरमा फुटपाथ व्यापारीहरुको समस्या निकै ठुलो छ। भारत सरकारले सडक बिक्रेता ऐन २०१४ लागु गरेपनि त्यसको रहेका कमीकमजोरी ध्यान नपुराउदा कार्यान्वयन हुन सकेको छैन। मेक्सिको सिटीको पनि प्रमुख एजेन्डा रहेको छ सडक व्यापार, पेरु, सेनेगल लगायत का देशहरुको पनि प्रमुख समस्या रहेको छ सडक व्यापार। भारत, मेक्सिको, पेरु वा सेनेगलमा सडक व्यापार वा फुटपाथ व्यापारीको समस्या जस्ताको तस्तै रहुनु को कारण त्यहाँका शासकहरुको दिमागमा हामीले बनाएको नियममा कसैले विरोध गर्दैन भन्ने दम्भ हुनु हो।

यो संवेदनशील र आर्थिक मानवता संग जोडिएको विषयमा बरु शहरका विज्ञविशेषज्ञ, व्यापारीहरु र सरकारी अधिकारीहरूसँग मिलेर पारदर्शी र निष्पक्ष सम्झौता गर्नु उचित हुन्छ , जसले अन्ततः दुबै पक्षलाई फाइदा पुर्‍याउँछ।

सम्भावित विकल्प र साझा प्राथमिकताहरूको पहिचान गरिनु पर्छ । यसका अतिरिक्त सडक विक्रेताहरूका लागि अन्य सम्भावित सहयोगीहरूले उदाहरणका लागि पर्यटन एजेन्सीहरू, शिक्षाविद्हरू वा शहरीहरू समावेश गरेर सामुहिक समाधान गर्न सकिन्छ ।नकारात्मक सार्वजनिक धारणा परिवर्तन साझा लक्ष्यहरूमा वकालत गर्न नागरिक समाजलाई सक्रिय बनाउनु पर्छ।

सडक व्यापारीहरुको यो समस्या लाई लत्याएर कुनै पनि शासक वा नेतृत्व सफल हुँदैन किनकी नेपालमा नागरिकहरुले अझै पनि सामान्य सुविधाबाट बन्चित छन। भ्रस्टाचार गरेको पैसाले देशविदेश घुम्ने, समुह, घरजग्गा बेचेर समाजमा इज्जत धान्न छोराछोरीको बिहेमा फजुल खर्च गर्ने समुह वा छिमेकीलाई देखाउन बैक ऋणमा सवारी साधन किन्ने समुहलाई खुशी नागरिकको दर्जा दिएर हेरेर बालेनको नेतृत्वले सडक व्यापारीलाइ उपेक्षा नगरोस।

नत्र गरीब निमुखाले ”जाउ कहाँ गाऊ छाडी लुक्ने शहर देख्या छैन , ठुलो महल बनाइ बस्ने त्यो नि मेरो रहर होइन , भत्किएको छाना कहिले होला? बिहान साँझ पेटमा खाना कहिले होला ?” भन्दै गुन गुनाउनु पर्ने अवस्था सधै आउछ।

बाबा राजेश्वरी थापा
भियना, अष्ट्रिया

प्रतिक्रिया