अमेरिकामा बस्नेले क्यान्कुन शहरको नाम नसुन्ने को नै होला र? अमेरिकाको दक्षिणको छिमेकी देश मेक्सिकोको क्यारेभियन महासागरको पुछारमा पर्ने सुन्दर शहर “क्यान्कुन” अमेरिकनहरूको छुट्टी मनाउन जाने एउटा प्रसिद्ध ठाउॅं हो।अझ स्प्रिंग ब्रेकमा त त्यहां अमेरिकाका बिभिन्न कलेजका बिधार्थीको भिंड नै लाग्छ।
हामी अमेरिका बसेको झण्डै दुई दशक पछि सन् २०२० को जनवरीमा ४ दिन घुम्न त्यॅंहा पुग्यौं । हुनत कतिलाई त्यतिका बर्ष पछि बल्ल गएको भन्ने लाग्ला। तर हामी जस्ता विदेश बस्ने नेपालीलाई यसो उसो गर्यो पैसा र छुट्टी जम्मा गरेर अरूठाउॅं जानु भन्दा आफु जन्मे, हुर्केको आफ्नै देश नेपाल जान मन लाग्ने रहेछ। दुईदिन र दुईवटा प्लेन बदलेर धेरै पटक नेपाल पुगिसकें तर मेक्सिको गएको थिईन।
मेक्सिको जान हिचकिचाउनुको अर्को कारण डरले गर्दा पनि हो। समाचारमा मेक्सिकोमा भएका अपराधिक गतिबिधि धेरै देखिन्छ। र साथै आफु मेरिल्याण्डमा बस्दा मेक्सिकन र साउथ अमेरिकनहरू बस्ने एरियामा धेरै अपराधिक घटना हुन्थ्यो। त्यो एरिया प्राय: जान डर लाग्थ्यो। तर के चाहीं होला । सबै गई रहेका छन् भनेर आंटै बटुलेर दुई बर्ष अगाडी“क्यान्कुन” गयौं।
अमेरिकाको बिभिन्न शहरबाट सिधै एक फ्लाईट वा दुई फ्लाईट लिएर क्यान्कुन शहर पुग्न सकिन्छ। अनि तपाईंअमेरिकन नागरिक वा ग्रिनकार्ड होल्डर हो भने मेक्सिकोको भिषा लिनु पर्दैन। त्यहा पुगेर एयरपोर्टमानै अन अराईभल भिषा छाप लगाई दिन्छ । त्यस्तै तॅंपाईको अमेरिकाको टुरिष्ट वा अरू कुनै भ्यालिड भिषा वा भनौं अमेरिका फर्कन कुनै रोक टोक नहुने अवस्था छ भने पहिले नै भिषा लिनु पर्दैन। त्यंहाको एयरपोर्टमा नै भिषा दिन्छ ।
हामी क्यान्कुन शहर, घर नजिकको, भर्जिनियाको डलस एयरपोर्टबाट पहिलो आधा घण्टाको प्लेनमा उडेर नर्थ क्यारोलिना र त्यॅंहा बाट अर्को साढे तिन घण्टाको प्लेनमा उडेर पुग्यौं। आउॅंदा चाहीं क्यान्कुनबाट टेक्ससको ड्यालस र डयालस बाट भर्जिनियाको डलस एयरपोर्ट फर्कियौं।
क्यान्कुन जनवरीमा गएका थियौं। भर्जिनियामा जाडो थियो, त्यहा पुग्दा त गर्मी रहेछ। पुग्दै मन आनन्द भयो।
अझ प्लेनबाट तल निलो समुन्द्र र त्यसको वरीपरी ठुला ठुला होटेलहरू देख्दा कहिले पुग्नु जस्तो लागेको थियो ।क्यान्कुनको एयरपोर्ट सानो रहेछ। तर निक्कै व्यवस्थित। भिषाको काम सकिएर बाहिर निक्लियौं।
बाहिर सबै नै पर्यटक थिए। बिभिन्न होटलमा जानेहरू ठाउॅं ठाउॅंमा बस र ट्याक्सी कुरेर लाइन बसेका रहेछन्। त्यहां काम गर्ने दोभाषे : अंग्रेजी र स्पेनिस बोल्ने थिए। आफ्नो होटेलको नाम भनेर ठिक ठाउॅंमा लाइन बस्यौं।एयरपोर्ट शहर भन्दा टाढा रहेछ। बसबाट आधा घण्टामा अरू पेसेन्जरलाई उनीहरूको होटेल छोड्दै हामीलाई हाम्रो होटेलमा छोडिदियो।
होटेल ८-९ तल्ले, सफा, व्यवस्थित र पछाडी पट्टीको भाग समुन्द्रमा फर्केको रहेछ। चेक इन गरेर आफ्नो दोस्रो तल्लामा रहेको कोठा गयौं। कोठाको सानो बाल्कोनीबाट निलो समुन्द्र पर देख्दा त ओहो मनै आनन्द भयो। दिउॅंसोको समय बाहिर अलिक गर्मी नै भए पनि पर पर सम्म समुन्द्रको किनाराको बालुवामा केटाकेटी देखि बुढाबुढीसम्म कोही कुर्सीमा सुतिरहेका, कोही पानीमा खेलिरहेका र कोही होटेलको पौडी पोखरीमा पौडी रहेको देखियो।
लामो प्लेनको यात्राबाट त्यॅंहा पुगेको हुनाले दिॅंउसो केहीबेर आराम गरेर बेलुका शितल भएपछि डिनर खान र समुन्द्रकिनारा घुम्न निक्ल्यौं। मेक्सिकोमा पुगेपछि खाने नै तेंहाको लोकल खाना त हो। होटलमा रहेको एक मेक्सिकन रेष्टुरेन्टमा खाना खायौं। चिप्स र ग्वाकोमली मिठो, ताजा ल्याए। धेरै पर्यटक आउने हुनाले होला, होटलका कर्मचारीआफ्नो काममा सिपालु, प्रोफेसनल र अंग्रेजी पनि बोल्न जान्ने रहेछन्।
बेलुका शितल, मन्द मन्द बतास चलेको, समुन्द्रको पानी किनारामा ठोक्किएको आवाज आई रहेको, पर मधुरो मिठो स्पेनिस गीत बजिरहेको असाध्यै रोमान्चित बातावरण लाग्यो। बालुवाको किनारामा हिंडिरहेका मान्छेहरू देख्दा आफु पनि मन थाम्न नसकेर केही बेर चप्पल खोलेर हिंडे। जे होस् भर्जिनियाको जनवरीको जाडोमा घर भित्र थुनिएर बसेको म, त्यॅंहा शितलमा हिंडन पाउनु त स्वर्गिय आनन्द अनुभूती भयो। अझ राती बाल्कोनीबाट पर निको आकाशमा जुन टहटह लागेको र तल पर समुन्द्रमा त्यसको छांया, त्यो दृष्य मनमोहक बयान गरी साघ्य थिएन्।
दोस्रो दिन प्लान अनुसार संसारको सातौं आश्चर्य मध्येको मेक्सिकोमा रहेको हजारौं बर्ष पुरानो माया सम्यताको अवशेषरहेको “ चिचेन ईज्जा टेम्पल (Chichen Itza)” बस चढेर हेर्न गयौं।
बस बिहानै सात बजे लिन आउॅंछ भनेकोले ६:५० मा नै तयार भएर होटेलको ढोकामा आएर बस्यौं। ओहो ७:१० सम्म तबसको अत्तोपत्तो छैन त? भित्र काउन्टरमा गएर भन्यौं। बसलाई फोन गरिदिए। हामी दुईजना मात्र हुनाले बस माथि नल्याएर, टुरिष्ट गाईड माथि आएर हाम्रो नाम बोलाएको रहेछ। अब तेस्ले कसरी बोलायो तेही जानोस्। तर धन्न नजिकैको अर्को होटेलमा बस रहेछ। ट्याक्सी चढेर पुग्यौं। ओहो, त्यो टुरिष्ट गाईड त हांसेर तिमीहरू चाईनिज जस्तो त छैनौ रे। अब हाम्रो नाम उसले चाईनिज टुरिष्टको सोचेछ। दिनभर जति बेला पनि हामीलाई देख्योकी तिमीहरूलाई छोड्दिन भनेर रमाईलो गरिरहयो। बस सुव्यवस्थित , ऐसी भएको थियो । र बोतलको पानी, ड्रिकं अनि स्न्याक पनि दिए ।
बसमा टुरिष्ट गाईडले कॅंहा कॅंहा जाने, के के गर्ने सबै अंग्रेजीमा बतायो। उसले सबै बताउॅंदै गर्दा साच्चैं निकै नै प्रोफेशनल रहेछन् जस्तो लाग्यो। बस आधा घण्टा शहरमा घरै घर भएको ठाउॅंबाट कुदे पछि जंगलै जंगलको बाटो लाग्यो। अर्को एकघण्टा पछि एक सानो शहरमा बस रोक्यो। एउटा मेक्सिकन सामानहरू पाईने पसलमा किनमेल गर्न गयौं। तेसपछि एकघण्टामा चिचेन ईज्जा टेम्पल पुग्यौं।
त्यॅंहा पुग्दा बिहानको साढे एघार बजेको थियो । घाम लागेको र गर्मी पनि निक्कै रहेछ बाहिर त। तर घुम्न त पर्यो नै।गाईडको पछि पछि हामी बसमा भएका सबै लाग्यौं। उसले माया सभ्यताका बारेमा र वरीपरी रहेका , बचेका ऐतिहासिक घरका भग्नावशेष, कुदिंएका चित्रहरू, ईनार आदीको बारेमा बयान गर्र्यो। हामी उसको कुरा सुन्दै र फोटो पनि खिच्दै यताउता घुम्यौं।
त्यॅंहा रहेको भर्यांग नै भर्यांग भएको मुख्य पिरामिड वा डोमको अगाडी तल एक ठाउॅंमा उभिएर सबैलाई शान्त बस्नु भनेर थप्पडी बजायो। गज्जबै, उसले बजाएको थप्पडीको आवाज पिरामिडमा ठोक्किएर प्रतिध्वनि ( एको) भएर आयो।
वरीपरी घुमेपछि बसतिर जांदा बाटोको दुबैतिर लहरै रहेका स-साना पालका पसलमा बेच्न राखेका सजाउने सामान, चुरा, लुगा आदी आफुलाई मन परेको सामान हेर्दै र केही उपहार किन्यौं । बस त्यॅंहाबाट आधा घण्टाको दुरीमा रहेको लन्च खानेठाउॅंमा रोक्कियो। पैसा पहिल्यै तिरेको हुनाले बफे स्टाईलमा लाईन बसेर खाना लियौं।
खाना मेक्सिकन परिकार साथै पास्ता, पाउरोटी, केक, आईक्रिम आदी रहेछ। खाना खांदै गर्दा तिनजना महिलाहरूमेक्सिकन पहिरनमा हातमा थाल र ४-५ रक्सिको गिलास बोकेर आए। अनि सबैको अगाडी स्पेनिस म्युजिकमा प्लेटलाईकहिले टाउको र कहिले हातमा राखेर नचाउॅंदै खुट्टा बजाएर नाचे। राम्रो नाच हुने रहेछ।
त्यसपछि बसमा टिनममा ( Tinum) रहेको अर्को एउटा प्रसिद्ध ठाउॅं सिनोट ईकिल ( Cenote Ikil or sinkhole) गयौं।यो सिनोटमा माया सभ्यताको समयमा पानी संरक्षण गर्ने गरेको रहेछ । यो सिनोट निक्कै गहिरो रहेछ । वरीपरीलाई मस्टोनको चट्टान रहेछ। पौडी खेल्न जान्नेहरू भर्यांग चढेर माथिबाट डाईभ हान्ने, कोही लाईफ ज्याकेट लगाएर पौडी खेल्ने रहेछन् । हामीले पौडी त खेलेनौं तर माथि भर्यांग बाट झरेर तल पुगेर हेर्यौ । सिनोटको निलो पानी निक्कै राम्रो देखियो। केही फोटो नजिक पुगेर खिच्यौं । केही माथि हेर्ने ठाउॅंबाट खिच्यौं। बाहिर निक्लने गेटमा चाहीं माया सभ्यताका मान्छे जस्तै लुगा लगाएर केही पुरूषहरू नाचिरहेका देखियो। डरले नजीक गएनौं । परबाट फोटो लिएं। त्यसपछि बसमा चडेर केही घण्टामा बेलुका आफ्नो होटेल फर्कियौं।
क्यान्कुन जानु र समुन्द्रको पानीमा नरमाउनु त हुनै नसक्ने कुरा। तेस्रो दिन त समुन्द्रको किनाराको वीचमा नै पुरै दिन बित्यो। केही बेर होटेलको पौडी पोखरीमा पौडी खेल्यौं । केही बेर बालुवामा भलिवल खेलेर , केहीबेर मज्जाले घाममा सुतेर र केहीबेर समुन्द्रको छालमा खेलेर बितायौं। होटेलबाट खाना आदी पनि त्यहीं मगाएर खायौं। बेलुका घामअस्ताएको हेरेर कोठामा गयौं।
त्यो दिन दोस्रो तल्लाको कोठाबाट आठौं तल्लामा सर्यो । सर्नुको कारण चाहीं कोठा समुन्द्रतिर फर्केको लिएका थिंयो ।तर खै होटेलले कोठा खाली नभएर हो की तिमीहरूलाई राम्रो कोठा दिएका छौं भनेर दोस्रो तल्लाको कोठा, समुन्द्र पर पर्नेदिएर टारेको थियो । तेस्रो दिन चाहीं कोठा खाली भएछ क्यार सर्न सक्छौ भन्यो। आठौं तल्लाको कोठाको बाल्कोनीबाटसांच्चै निलो समुन्द्र नजिकै राम्रो देखियो । तर जुन खुशी कोठा पाउॅंदा भएको थियो राती त पछुतो भयो । राती त समुन्द्रमाअलिक आंधी पनि आएछ क्या र ! रातभरी समुन्द्री छाल र हावाको स्वां स्वां हल्लाले सुत्नै दिएन ।होटेल नै हल्लेको जस्तोलाग्ने रहेछ ।
चौथो दिन बिहानै छिट्टै उठेर सुर्योदय हेर्न समुन्द्रतिर गयौं। अरूहरू पनि थिए समुन्द्र किनारामा। मन्द मन्द बतास चलेको, चिसो बिहानीपख ,पर पूर्वबाट अलि अलि गरेर बिस्तारै सुर्य उदय भएको र त्यसको छांया समुन्द्रमा परेको निक्कै हेर्नलायक दृष्य देखियो। ओहो धन्न हिजो, अस्ति जस्तो बादल लागेर सबै नदेखिए जस्तो भएन भन्ने लाग्यो। केहीबेर बसेर, फोटो लिएर होटेल आयौं।
त्यही दिन बेलुका फर्किने टिकट थियो। दिउॅंसो त खाली नै थियो। तर पहिलो पटक त्यंहा गएको, त्यो पनि हामी दुईजना मात्र, होटेलबाट नजिकै रहेको डाउनटाउन घुम्न जाने पनि आंट नै आएन । दिॅंउसोभरी होटेलबाट अलिक पर हिंडदै यता उता नरीवलको बगैंचा र होटेल भित्रैको जिम, स्पा, स्वीमिगं पुल, फोटो सजाएर राखेको ठाउॅं आदी घुम्यौं। होटेल आफै पनिराम्रो ठाउॅंमा हुनाले वरीपरी रमाईलो नै थियो । होटेलको रेष्टुरेन्टमा खाना खाएर ट्याक्सीबाट एयरपोर्ट गयौं।
एयरपोर्टमा अमेरिका जाने चेकपोष्टतिर जान लाग्दा एउटा रमाईलो घटना भयो । एक जना महिला खुशी भएर कुद्दै मेरो नजीक आएर स्पेनिस भाषामा केही भनिन् । मैले अंग्रेजीमा “तिमीले के भनेको बुझिन” भनें। उनले सरी भनिन। म जस्तै देखिने मेक्सिकोमा एकजना प्रसिद्ध सेफ रहिछिन् । उ नै होला भन्ठानेर कुरा गर्न आएकि रहिछन् । खासमा उनी झुक्किईन्। बिचरीलाई बोर नै भयो। त्यहीबेला उनले भनेको सेफको नाम गुगल गरेर खोजेको हुन पनि तिनी कताकता म जस्तै देखिने नै रहेछिन्। हुन त हाम्रो लवाई वा बनोट केही साउथ अमेरिकनसॅंग मिल्ने हुनाले अरू बेला पनि तेता तिरका मान्छे अमेरिकामा पनि झुक्किएर स्पेनिस भाषामा बोल्न खोज्छन् । त्यस्तै हामी नेपालीलाई पनि उनीहरू कोही कोही त नेपाली जस्तै लाग्छ । संसारको दुई बिपरित ध्रुवका बासिन्दा, कसरी उस्तै देखिएको, गज्जबै हो ।
जे होस् क्यान्कुनको भ्रमण सुखद नै भयो। हेर्ने कुरा त धेरै थिए होलान् । तर चार दिनमा पनि निक्कै देखियो। समुन्द्र त अमेरिकाको बिभिन्न ठाउॅंबाट हेरिएकै हो। तर समुन्द्रको निलो पानी चाहीं त्यहीं पहिलो पटक देखें। त्यस्तै क्यान्कुन शहर, पर्यटक निक्कै जाने हुनाले ठुलाठुला होटेल जताततै रहेछन् । अमेरिकामा काम गर्न आउने मेक्सिकनहरू प्राय: अंग्रेजीन बोल्ने, बाटो , घर आदी बनाउने लेबर काममात्र प्राय: गरेको देखेकोले, त्यो देश गरीब, केही छैन होला जस्तो लाग्थ्यो ।कॅंहा हुनु, गरीब देश त हैन रहेछ नी ।
अन्त्यमा, निलो समुन्द्र हेर्न, माया सभ्यता हेर्न, केही रमाईलो समय बिताउन मन भए तॅंपाईहरू पनि मिलाएर घुम्न जानु होला मेक्सिकोको “क्यान्कुन” !
शशी के.सी
लेखिका
प्रतिक्रिया