मष्टो देवताका बारेमा नेपालका बूढापाका सबै कुलका रुपमा जान्दछन् तर पश्चिमा शिक्षा पढेको आधुनिक ढाँचामा हुर्केको युवा पिढी प्रायः अनभिज्ञ देखिन्छ । यसैको लाभ लिनका लागि केही पश्चिमा परस्त तत्वहरूले नेपाली समाजमा मष्टो बारे अनेक थरि भ्रमहरू फैलाउने मौका छोपेको देखिन्छ ।
मष्टो बारे अहिलेसम्म प्राप्त प्रमाण लिखतमा कुशाभट्टको फाग भन्ने कृति नै उल्लेख्य मान्नु पर्दछ । कुशाभट्टले आफ्नो झोलामा जुम्ला देशको जालन्धर (रास्कोट) बाट एउटा शीला बझाङ लिएर गएको कथा छ । हाल यो जालन्धर कालिकोट जिल्लामा पर्दछ ।
रास्कोट नगरपालिकाको वडा नं. ५ बिजयपुर गाउँको अग्लो डाँडामा मौलाकोट भन्ने स्थान छ । त्यही मौलाकोट शिवको राजधानी हो र त्यो राज्य शिवले अलकापुरीका राजा खस (सक) बहादुरलाई प्रदान गर्नु भएको र राजाको नाम बदलेर देवेन्द्र वा इन्द्र राखिदिनु भएको थियो । तिनै देवेन्द्रले स्वर्ग आफूले लिएर पृथ्वीको राजा आफ्नो छोरा मष्टोलाई प्रदान गरेको फाग जस्ता ग्रन्थबाट थाहा हुन्छ ।
मष्टो हिन्दूहरूको देवादिदेव शिव जस्तै दूग्ध भोगी, ज्ञान कर्म गर्ने र वेद आदि हिन्दू धर्म शास्त्रका रक्षक मानिन्छन् । मष्टोले समुन्द्र मन्थनका बेला इन्द्र पुत्र जयन्तका रुपमा अमृत कलसको रक्षा गरेकोले महादेवले सबै देवताहरूले पूजाको भोग मष्टो मार्फत ग्रहण गर्ने धार्मिक प्रचलन कायम गर्नु भएकोले हिमवत खण्डका समग्र हिन्दू समाजले देवताहरूको पूजा मूल रुपमा कुलायनको पूजा कै रुपमा ग्रहण गरिएको पाइन्छ ।
मष्टोका अनेक स्थानीय रुपहरू छन । मष्टोले आवश्यक परे युद्ध गर्नु परे सती देवीले कालीको रुप धारण गरे जस्तै दाह्रे मष्टो जस्तो भयानक स्वरुपमा आउने गरेको पाइन्छ ।
मष्टोलाई इन्द्रको जाया (छोरा) मात्र नभनी उनकी माता मष्टो मण्डाल्नी अर्थात स्वस्थानीमाताको मण्डलकी अधिपति भनेपछि इन्द्र भगवानकी रानी सची पनि हुन सक्ने कुरा अनुमान गरेको पाइन्छ तर मष्टो मण्डाल्नीलाई प्रष्ट रुपमा फागमा सची नै भनी नलेखेकोले यसबारे अझै अनुसन्धान गर्नु जरुरी छ । हिमवत खण्डको काश्मीरदेखि सिक्किमसम्म कुनै न कुनै रुपमा हिन्दू देवता कै रुपमा मष्टोको पूजा आजा गरिएको पाइन्छ भने विदेशमा पनि उनको कम महत्व छैन । उत्तराखण्डमा ३ दिनसम्म राजकीय सम्मानका साथ चण्डाग मष्टोको पूजा हुने गरेको छ । चीनमा उक्सिन व्यानर भन्ने भित्री मंगोलियाको राजधानीमा सुल्देटेंग्रीको मन्दिरमा मष्टो देवको पूजा गरिन्छ । त्रिशुल र स्वस्तिक चिन्हका साथ विशाल मन्दिर बनाइएको छ । मंगोलहरूमा ८०% भन्दा बढि जनसंख्या सियान अर्थात मष्टो मान्ने हिन्दूहरू रहेको देश हो चीन गणराज्यको भित्री मंगोलिया । यस्तै कोरियादेखि पोल्याण्डसम्म कुनै न कुनै रुपमा टेग्री वा टेन्जर (मष्टो) देवताको पूजा गरिएको पाइन्छ । कज्जाक क्षेत्रमा त राजकीय स्तरमा टेंग्रीलाई राष्ट्र धर्म बनाउने आन्दोलन चलेको पाइन्छ । इराक र इरानमा स्थानीय वेदका रुपमा मानिने जरथ्रुष्ट भन्ने सन्तले लेखेको अभेस्ता भन्ने ग्रन्थका मुख्य देवता मध्ये अहुर मज्दा (मष्टो देव) कै उल्लेख भएको पाइन्छ । हिन्दू धर्मका चिन्ह त्रिशुल स्वस्तिक घण्ट र अनेक मूर्ति जस्तै नन्दी आदि स्थापना गरिएको मन्दिर क्षेत्र विश्वका अनेकौं भूभागमा पाइन्छन् । पश्चिमाहरूले पूर्वका आस्थामाथि अपमान गर्न स्यामानिज्म (जंगली आस्था भएको) जस्ता निम्न कोटीकोेव्याख्या गर्दै आएको पाइन्छ ।
रूहाल अनेकथरी अनुसन्धान भैरहेको छ । योगी नरहरिनाथले शुरु गर्नु भएको मष्टो देवको अनुसन्धान सन् ६० को दशकपछि पश्चिमा विद्वानहरूले पनि छिटफुट लेख्न थालेको तर गम्भीरतासाथ अनुसन्धान गरिएको आजसम्म पाइएको छैन । नेपालका विश्वविद्यालय तथा सरकारले राष्ट्रको कुलदेवता मष्टो बारे कहिल्यै कुनै उत्थान गर्ने सोच राखेको पाइदैन । स्वयम मष्टोका पालीहरूले पनि कुनै खास चासो लिएको देखिदैन । जो विद्वान यस क्षेत्रमा काम गरिरहेका छन् उनीहरू बारे राजनैतिक सामाजिक क्षेत्र पूर्ण रुपमा मौन देखिन्छ । मष्टो पृथ्वीका शासक र कुलायन कर्णालीमा उत्पन्न भएकोले हो कि ? कर्णाली जस्तै पूर्ण उपेक्षित छन् यस्तो उपेक्षाप्रति कर्णाली कहिले जाग्ने हो कुनै ठेगान छैन ।
कर्णालीका रास्कोट मान्म सिंजा जुम्ला लयागत अनेकौं धार्मिक ऐतिहासिक महत्वका क्षेत्रबाट न राष्ट्र जागरुक छ न स्थानीय बुद्धिजीवीहरू नै कहिले कुनै कुरामा अग्रसर छन् । योगी नरहरिनाथ, रत्नाकर देवकोटा आदि जस्तै त्यस क्षेत्रका लागि अनुसन्धान गर्नेहरू पनि हिजोको पञ्चायतकाल भन्दा कयौं गुणा गणतन्त्रमा अपमानित र उपेक्षित छन् । कर्णाली क्षेत्रमा होइन त्यहाँ जरा भएका देवी देवता पनि उपेक्षित र अपमानित भैरहने अवस्थामा सुधार आउने सम्भावना समेत न्यून देखिन्छ ।
–प्रेम कैदी
प्रतिक्रिया