कथा- सडक किनाराबाट श्रद्धान्जली

बाबा राजेश्वरी थापा भिएना, अष्ट्रीया २०७९ असार ११ गते २२:२१ मा प्रकाशित

चारैतिर रुवावासी थियो, सन्नाटा छाएको थियो। मोनाको शरीर घरको आँगनमा बीचमा लडेको थियो, पछाडी टाउकोको घाऊ बाहेक अरु केही थिएन, तर अनुहारमा यस्तो चमक थियो, यस्तो लाग्थ्यो ऊ थाकेर मस्त निन्द्रामा छे। मैले नजिकै गएर निहालें, बोलाउन खोजे तर आवाज़ नै निस्केन मेरो मुखबाट। उसको मृत्युको खबर सुनेदेखि मेरो मनमस्तिष्कमा एउटा आवाज़ गुञ्जिएको थियो। हिजो मात्रै फोन गरेर मलाई भनेकी थिई,”आस्था ! जीन्दगीले किन मसंग खेलवाड गरिरहेको छ? यस्तो लाग्छ यो खेल सधैको लागि बन्द गरिदिऊ। मेरे मात्र भाग्य किन यस्तो, म त थाके लड्दालड्दा।” मैले सम्झाएको थिए, सम्झाउदा सम्झाउदै फोनमै सुक्क सुक्क गरेर रोई, तैपनि मैले सम्झाई रहे । मेरो कुरा नसकिदै उसले फोन काटी दिइ, मैले सोचे केहि काम पर्यो होला तर कल्पना पनि गरेको थिइन् यस्तो घटना घट्ला भन्ने । पहिले पनि बेलाबेलामा यसरी नै कुरा गर्दागर्दै अचानक फोन काट्ने गर्थी मोनाले तर पछि फेरी फोन गर्ने गर्थी तर हिजो फोन आएन। मैले सोचे केहि काम पर्यो होला तर मलाई के थाहा उसको त्यो टेलिफोन वार्ता नै हाम्रो जीवनको अन्तिम संवाद होला भन्ने।

घटनास्थलमा प्रहरी आयो, प्रहरीसंगै उसको माइती पक्ष पनि आइपुगे। लासको मुचुल्का उठाउनु अघि माइती पक्षले घरकालाई घटना बारेमा प्रश्न माथि प्रतिप्रश्न गर्न थाले, माहौल विस्तारै अशान्त हुन थाल्यो र भिड अनि हल्ला समेत बढ्न थाल्यो। हेर्दाहेर्दै माइती पक्षले मोनाको श्रीमान र सासूलाई यो दुर्घटनाको अपराधी मानेर हातपात गर्न थाले। एकाएक मोनाको घर रणसंग्रामस्थल बन्यो, शोक मनाउन आएकालाई लाठी चार्ज गरेर प्रहरीले तितर-बितर गर्यो भने, माइती पक्षको चर्को विरोधको कारण मोनाको श्रीमान, सासुससुरा र नन्दलाई हिरासत लिएर उसको लासलाई पोस्टमार्टमको लागि अस्पताल लगियो ।

जीवनभर माया र साथ खोजिरहेकी मेरी बच्चपनकी साथी मोना मृत्यु पछि पनि विना आफन्त एक्लै अस्पताल जान बाध्य भई। बच्चपनकी साथी गुमाउनुको पीडा त आफ्नो ठाऊमा थियो तर पछिल्लो समय उसले भोगेको नियती साह्रै दर्दनाक थियो। म रातभर उसैलाई सम्झिएर निदाउनै सकिन्! बिहान करिब दश बजे मेरो मोबाइल फोनमा अपरिचित कल आयो। प्रहरी थानाबाट आएको रहेछ, टेलिफोनमा इस्न्पेक्टर साबले भन्नुभयो, ”आस्थाजी ! मोनाजिको मोबाइल फोन ट्रयाक गर्दा पटकपटक र अन्तिम संवाद यहासंग भएको रहेछ, यो घटना संवेदनशील भएकोले तपाईबाट केहि कुराको जानकारी लिन चाहन्छौ, एकपटक प्रहरी थाना आइदिनुहोस न। ”

म ट्याक्सी लिएर प्रहरी थाना हिडे, बाटोमा सामाजिक संजाल खोले, सामाजिक संजालमा उसको फोटोमा रिप लेख्ने र श्रदान्जली दिनेको घुइचो लागिसकेको रहेछ, आखाबाट तरतर आँशु बग्यो। मोनाको मृत्युको खवर शायद उसको माइती पक्षले प्रेसलाई दिएछन, अनलाइन पत्रपत्रिकाहरुले बढाई चढाई छापिसकेछन्।म थाना पुग्दा अधिकारकर्मी र मानवाधिकारवादीहरुको भिड थानामा जम्मा भइसकेको रहेछ। त्यहा जम्मा भएका मानिसहरुलाई देखेर, मलाई मनमनै लाग्यो, एउटा मानिसको मृत्यु दुर्घटना हो, आत्महत्या हो या हत्या हो, यो अनुसन्धान गर्ने काम त प्रहरीको हो अदालतको हो, तर मानव समवेदनाको आधारमा सजाय तोक्नु पर्ने कस्तो कानुन हाम्रो देशको?

म भित्र जान खोज्दै थिए, भीडबाट एउटी महिलाले मेरो पाखुरा च्याप्प समात्दै भनिन्, ”ए बहिनी! ती मृतक बहिनि र उनको माइतीलाई कति अन्याय भएको छ बुझेकी छौ तिमीले? महिलाको कुरा हो त्यसैले महिला हिँसाको मुद्दालाई सहयोग पुग्ने गरेर बयान दिनु, यो दुर्घटना पनि होइन, आत्महत्या पनि होइन हत्या हो त्यसले विचार गरेर बोल्नु।”मैले उनको अनुहारमा हेरे, ती महिला अधिकारकर्मीको अनुहारमा मलाई थुक्क मन लागेको थियो तर आफुलाई सम्हाले मैले। भित्र गएर आफ्नो बयान दिएर फर्किदा फेरी अघिकै तिनै महिलासंग जम्काभेट भयो। च्याठिदै फेरि सोधिन् , ”के बयान दियौ भित्र? मैले भने अनुसार बोल्यौ होइन ?” मैले हो भनेर टाउको हल्लाए। शायद मेरो हैसियत यो देशको कानुन लेख्ने भैदिएको भए, सहरमा बसेर अधिकारको नाममा भ्रम छर्ने यस्ता अधिकारकर्मीहरुलाई कडा कानुनको व्यवस्था गर्थे।

कलेज पढ्दै गर्दा मोनाको प्रेम कसैसंग थियो तर उसको परिवारले स्वीकारेन। उसको परिवारले उसको इच्छा विरुद्ध मागी विवाह गरिदियो। आफ्नो विवाहलाई मोनाले स्वीकार्न सकिन्। उमेर पुगेका छोराछोरीको विवाहलाई आफ्नो प्रतिष्ठासंग जोडेर छोरीलाई सम्झौताको जीवन बाच्न उसैको माइतीले सम्झाउदा, श्रीमानले गरेका शारीरिक हिँसाको कुरा उसले मलाई सुनाउथी, मलाई मात्र होइन उसका माइतीलाई पनि यो कुरा थाहा थियो तर सबैको सुझाव थियो छोरी मान्छेले सबै सहनु पर्छ। विवाह भैसक्यो अब मिलेर बस्ने, श्रीमान र घरपरिवारलाई खुशी राख्ने सल्लाह सबैले उसलाई दिन्थे। कसैबाट साथ नपाए पछि मोनाले सम्झौता गरी आफुसंग तर ढिलो भैसकेको थियो किनकी उसको श्रीमानले उसलाई उसको पूर्व प्रेमीको नाम अनेकौ मानसिक र शारीरिक यातना दिने कुरा उसले मलाई पटक पटक सुनाएकी थिइ। मैले उसलाई पारपाचुके गरेर विदेश जाने सल्लाह नदिएको होइन तर यो सब गर्न उसलाई उसैको माइतीले रोकेका थिए। आज यी सब कुरा मेरो मनमा सिनेमाको दृश्य झैँ आइरहेका छन।

धेरै दिन बितिसक्दा पनि मोनाको मृत्युले शान्ति पाउन सकेन। उसकै मृत्युलाई लिएर नारा जुलुस भइरहे। एघारौ दिनको दिन एउटा आफन्तको फोन आयो, उहाले भन्नुभयो, ”नानी! मोनाको अन्तिम सस्कारको आज हुदैछ।” ट्याक्सीमा आर्यघाट जाँदा मोबाइल फोनमा अनलाइन पत्रिका हेरे, मोनाको फोटोसहित समाचार लेखिएको रहेछ, मानवाधिकारवादी र महिला अधिकारकर्मीहरुको रोहबरमा क्षतिपुर्ती दिने सम्झौतामा मोनाको माइती, मोनाको अन्तिम सस्कार गर्न राजी भएछ। ट्याक्सी ड्राइभरलाई त्यहि रोक्न लगाएर म बीच बाटोमा ओर्लिएर सडकको किनारामा गएर बसे।धिक्कार लाग्यो यो आधुनिकतासंगै मौलाएको यो विकृती देखेर, छोराछोरीलाई आफ्नो जीवनसाथी खोज्ने अधिकार नदिने तर कुण्ठामा जीवन त्याग्ने आफ्नै छोरा छोरी को मृत्युको कारण पत्ता लगाउन छोडेर सन्तानको मृत्युको क्षतिपुर्ती माग्ने व्यावसायिक आमा बुवा अनि यो धन्दा चलाउने अधिकारवादी र कर्मीहरुलाई टिठ लाग्दो व्यवहारलाई त्यहि सडक किनाराबाट श्रद्धान्जली म रुदै घर फर्के।

(कथाको विषयवस्तु र पात्र काल्पनिक हून, कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ)

-बाबा राजेश्वरी थापा
भिएना, अष्ट्रीया

प्रतिक्रिया