सञ्जय साह मित्र,बतासले जस्तै कहिलेकाहीँ मान्छेको प्रवृत्ति यस्तो यायावरीय भइदिन्छ कि भुमरीजस्तै घुमफिर गर्न थाल्दछ एकै ठाउँमा तर आफैँमा गतिमान हुन्छ।
अस्ति यस्तै संयोग परिरह्यो।२०७९ जेठको अन्तिम शनिवार (२८गते) सात बज्न केही मिनेट बाँकी छँदै हेटौँडास्थित सोलिड्यारिटी इन्टरनेशनल स्कुलको सभा हलअगाडि उभिइसकेका थियौँ।कार्यक्रम बिहान ७ बजेदेखि राखिएकोले रौतहटबाट म र साहित्यकार मित्र किशुनदयाल श्रीकृष्ण रौतहटको गरुडाबाट बिहान करिब सबा पाँच बजे निस्केका थियौँ।श्रीकृष्णसित कैयौँ यात्रा गरेको छु र कैयौँपटक हेटौँडा पनि पुगेको छु तर यसपटक एउटा यस्तो संयोग मान्नुपर्छ कि घरअगाडि मोटरसाइकलमा बसेर एकैपटक हेटौँडाको कार्यक्रमस्थलसम्म एकपटक पनि नरोकी पुगेका छौँ।
नवसर्जक साहित्य चौतारी नेपालको प्रथम राष्ट्रिय बालसाहित्य उत्सव छ आज । सातै प्रदेशबाट सहभागीहरू गराइएका छन्।सातै प्रदेशमा चौतारीका प्रदेश समितिहरू गठन गरिएका छन्।सबै प्रदेश संयोजक तथा संरक्षकहरू बोलाइएका छन्।म पनि मधेस प्रदेश संरक्षक हुँ।प्रदेश संयोजक रुबि गुप्ता र अर्का बालप्रतिभा अभिजित राम हिजै आइपुगेका छन्।
संस्थाका परिकल्पनाकार वा मुख्य आयोजक दीपक गौतम आइपुगेका छैनन् अझै । कार्यक्रम आयोजना हुने हलभित्र पसेर हेर्दा आगन्तुकमा पहिलो हुन गएको पाउँछौँ।आयोजकले केही मानिसलाई हलको व्यवस्थापन गर्न लगाएका छन्। एउटा विद्यालयको दृष्टिकोणले हेर्ने हो भने यो एउटा भव्य हल हो।यस हलमा मेरो पहिलो प्रवेश हुन्छ।एकैछिनमा दीपक गौतम आइपुग्छन् र दुवै हात जोडेर अभिभावदन आदानप्रदान गर्दै म भन्छु – स्वागत छ कार्यक्रममा । एक बान्की हाँसो फिँजिन्छ वातावरणमा।
मलाई लाग्छ हेटौँडा मेरो माइती हो।म त्यहाँ जन्मेको भने होइन । मेरा माता–पिताको पनि साइनो हेटौँडासित छैन।आफ्नो युवावयको ऊर्जावान् १२ वर्ष हेटौँडामा बिताएको छु।यस अवधिलाई एउटा युग नै मान्न सकिन्छ।एक युगमा अन्य क्षेत्रका साथी निकै कम छन् तर साहित्यको सेवामा लागेका धेरै साथी कमाएको छु । पत्रकारिता क्षेत्रका कतिपय मानिसलाई चिनेको छु । शिक्षा क्षेत्रका केही विशिष्ट मानिसले पनि चिन्न पाएका छन्।यसको कारण यही हो कि हेटौँडामा म जति वर्ष बसें, सक्रिय भएर बसें।शिक्षा,साहित्य र पत्रकारितामा निरन्तर सक्रिय रहेंँ। यसैकारण कहिलेकाहीँ भन्दछु – हेटौँडाको शिक्षा,साहित्य र पत्रकारिताको विकासमा मेरो पनि योगदान छ।
हेटौँडा छोडेको एक युग नाघिसकेको छ तर हेटौँडाको माया भने उत्तिकै लागिरहन्छ । म हेटाँैडासित निरन्तर जोडिएको छु।यही भएर पनि होला, हेटौँडा पुगिरहन्छु।हेटौँडाका साहित्यिक कार्यक्रमहरू र विशेष गरेर विशिष्ट साहित्यिक कार्यक्रमहरूमा पुगिरहेको हुन्छु।हेटौँडाबाट प्रकाशनरत चर्चित पत्रकार गिरिजा अधिकारीको अनलाइन तुखबरडटकममा मैले एउटा स्तम्भ नै सुरु गरेको छु–मकवानपुरको महक।यस स्तम्भमा मकवानपुरको साहित्यिक सुगन्धको चर्चा गर्ने गरेको छु।
र,अहिले पनि साहित्यिक कार्यक्रममै आएको छु।बालसाहित्यको क्षेत्रमा यस किसिमको यो पहिलो प्रयास हो।मनमा उत्साह छ र एउटा कस्तो हो कुन्नि अलग्गै किसिमको अपेक्षा पनि।यो अपेक्षा मेरो आफैँसित छ।कार्यक्रम जति सफल हुन सक्यो,उत्ति खुसी हुन पाउने अपेक्षा।लागिरहेको छ म आयोजक छु।आयोजक नभएर पनि आयोजक छु।यसकारण उत्साहित पनि छु।उत्साहले मनलाई फुरुङ्ग तुल्याएको छ।रुई जस्तो हलुङ्गो भएको छ मन किनभने समयमै आइपुगेको छु सकुशल।
कार्यक्रमको लागि व्यवस्थापन भइरहेको छ । मेरा पुराना दाजु सुमन झापालीलाई फोन गर्छु :
– दाजु नमस्कार,कहाँ हुनुहुन्छ ?
– भाइ नमस्कार,भन कहाँ आऊँ ?
– अहिले सोलिड्यारिटी स्कुलमा छु।
– ल, अहिले म पाँच मिनेटमा आइपुगें।
नभन्दै बाहिर निस्कन नपाउँदै आइपुग्छन् सुमन दाइ।हामी निकै मिल्छौँ।जिएस निकेतन खुलेपछि हेटौँडामा सँगै पढाउन सुरु गरेदेखि हाम्रो संगत छ।हामी बाहिर निस्कन्छौँ चिया खान । त्यहाँ बस्दा नबस्दै धेरै जना साहित्यकारहरू आउँछन् र पच्चिस वर्षभन्दा धेरै वर्षपछि भेट हुन्छन् रामकुमार श्रेष्ठ।श्रेष्ठ प्याब्सन हेटौँडाका अध्यक्ष हुन् भन्ने समाचार फेसबुकबाट थाहा पाएको छु।उनी गाडीमा हुन्छन् र सिसाबाट हेर्दा चिनेको छु।हातको इसाराले बोलाउँछु ।गाडी साइड गरेर आइपुग्छन्।यो मिलन अपूर्व हुन पुग्छ।साँच्चै,माइतीका आफन्त धेरै वर्षपछि भेट हुँदा मनमा कस्तो हुन्छ ? यही अनुभूति अनुहारभरि छचल्किएका छन्।थोरे व्यक्त र धेरै अव्यक्त सम्वादिन्छौँ हामी । मैले हेटौँडामा शिक्षण सुरु गर्दाका हामी साथी जो हौँ।
गफ्फिँदै, जिस्किँदै,मस्किँदै,मुस्कुराउँदै,हाँस्दै विस्तारै कार्यक्रमतिर लाग्छौँ। कार्यक्रम सुरु हुन्छ।कार्यक्रमको आफ्नै भव्यता छ।रम्यता छ।विशिष्टता छ।कहिले कोसित त कहिले कोसित तानिएर बाहिर निस्किरहन्छु।बिहानदेखि पाँच कप चिया भइसकेको छ । अब छैटौँ कपको लागि कविहरू एसके निधन तथा मसान उपासकसित निस्कनु परेको छ।निधनलाई मन पर्ने चियापसल भुटनदेवी मन्दिर छेउमा छ।निधनको गाडीमा छ जना हुइँकिन्छौँ उतैतिर।हँसाउने पाराले वा बढी मानिस भएपछि हो,अद्र्धगम्भीर पारामा निधन भन्छन्–आउनुस् ट्रयाक्टरमा ।
जति मिठो कविता लेख्छन् एसके निधन उतिकै स्वादिलो गाडी चलाउँछन् । गफ त अझ मिठो।गाडी चलाउँदै मन्दिर पुग्न थालेपछि अलिक जिस्किने किसिमले निधन भन्दछन्–मसानलाई लिएर हामी मन्दिर जाँदैछौँ।
मसान उपासक कवि तथा पत्रकार हुन् भने निधन कवि तथा शिक्षक।अन्य हामी चार जना पनि साहित्यसित जोडिएका छौँ।चिया खान गाडीमा पुग न पुग एक किलोमिटर जति टाढा पुग्दैछौँ।मन्दिरको गेटमा रहेको चिया पसलको चिया निधनलाई मन पर्छ।यसैले निधनले नै मसानलाई लिएर मन्दिरको गेटतिर निस्केका हुन्।
मन्दिर हेटौँडामा प्रसिद्ध भुटनदेवी मन्दिर हो।मन्दिरको मुख्यद्वार हेटौँडा स्कुल अफ म्यानेजमेन्टले बनाएको छ।यस मन्दिरको सम्बन्ध महाभारतसित रहेको मानिन्छ । महाभारत पर्वतको फेंदीमा समथर हेटौँडाको प्रसिद्ध शक्तिपीठ हो भुटनदेवी मन्दिर ।गाडीबाट ओर्लिएपछि सोझै चिया पसलमा पुग्छौँ र ठाउँ रोजेर बस्दछौँ।कागती चियाको लागि कागती छैन।यसकारण दूध चिया नै खानुपर्ने हुन्छ।चियाको प्रतीक्षामा छौँ।
अनेक गफ चलिरहेको छ । आ–आफ्नै धुन छ । कहिलेकाहीँ सामूहिक हाँसोले गुन्जिन्छ घर ।
मेरो मनमा भने हेटौँडा र भुटनदेवी मन्दिरको सम्बन्धबारे कुरो आउन थाल्छ । हेटौँडा सहरको नाम नै यही मन्दिरबाट रहन गएको छ । कालान्तरमा भुटनदेवी र हेटौँडा नाम बिल्कुलै फरक जस्तो लागे पनि वा कुनै मेल भएको जस्तो नलागे पनि हेटौँडाको नामकरण यही मन्दिरको नामबाट भएको हो भन्ने मनमा आइरहेको छ ।
महाभारत युद्ध हुनुभन्दा पहिले चुरे र महाभारतबिचको यो क्षेत्रमा विशाल जङगल थियो । भयङ्कर डर लाग्दो यस वनलाई हिडिम्ब राक्षस र हिडिम्बा राक्षसनीले गर्दा अझ डरलाग्दो भएको थियो । कालान्तरमा भीमसेनसित हिडिम्बाको बिहे हुन पुग्छ र घटोत्कच जन्मिन्छ । महाभारतका भीमसेनकी पत्नी हिडिम्बा र घटोत्कचकी आमा हिडिम्बाको ठाउँको रूपमा चिनिन थाल्छ । यही हिडिम्बा शब्दको अपभ्रंश हुँदै उच्चारण सजिलोतिर बग्ने क्रममा हिडिम्बाबाट हेटौँडा हुन गएको हो भन्ने लोकमान्यता रहेको छ ।
जुन हिडिम्बाको नामबाट हेटौँडा सहरको नाम रहन गएको हो, सोही हिडिम्बाको मन्दिरको नाम भने भुटनदेवी रहन गएको भन्ने मान्यता छ । महाभारतमा पाण्डवको विजय भएपछि स्वाभाविक रूपले हिडिम्बाको मान बढ्दछ । महाभारतमा आफ्नो खसमको कुशलताको लागि दिन र रात नभनी प्रार्थना गरिरहने हिडिम्बा महाकालीकी भक्त थिइन् । महाकालीको भक्त भएको र पाण्डवको खानदानसित जोडिन पुगेको कारणले मात्र नभई घटोत्कचजस्तो पुत्रलाई जन्माएको कारणले महाकाली भक्त हिडिम्बालाई देवीकै सरह मान्यता प्राप्त भएको थियो । महाकालीसित हिडिम्बाको पूजा हुन थालेको थियो । हिडिम्बा नाममा राक्षसको गन्ध रहेकोले हिडिम्बाको नाम भुटनदेवी रहन गएको हो । जसरी बिहारको राजधानी पटनाको नामकरणको सन्दर्भ पटनदेवीसित छ त्यसरी नै बागमतीको राजधानी हेटौँडाको सम्बन्ध भुटनदेवीसित छ । भुटनदेवी र पटनदेवी दुवैलाई शक्तिको रूपमा स्थानीयले गर्ने श्रद्धाले सहरको मान बढाएको छ ।
सबैले चिया सिध्याइसकेका छन् । मैले भने बडो मुस्किलले आधा कप खाएको छु । ध्यान छ मन्दिर र सहरको नामकरणतर्फ त चियाको चुस्की लिइयोस् कसरी ? कार्यक्रमको पहिलो सत्र सकिएको सूचना कार्यक्रमस्थलबाट साहित्यकार श्रीकृष्णले दिइसकेका छन् । मोटल एभोकाडोमा भेट्ने सहमति गर्दै निस्कन्छौँ चिया पसलबाट । मनमा अनन्त श्रद्धा छ ।
पत्रकार/लेखक
प्रतिक्रिया