विराटनगर ,९ असार । प्रदेश नं १ मा घुम्न आउने भारतीय पर्यटकलाई सहज वातावरण हुनुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।
पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तर प्रदेश, अन्तराष्ट्रिय पर्यिटन व्यवसायी, पत्रकार र सरोकारवालाहरु बीच अन्तरक्रिया तथा प्रचार प्रसार गोष्ठीमा सहभागीहरुले सरकारले भारतीय पर्यटकलाई २५ हजार भन्दा वढी रकम रकम ल्याउन नदिने व्यवस्थामा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्वुले प्रदेशको धार्मिक, प्राकृतिक र संस्कृतिक पर्यटकीयस्तरको आवश्यक पूर्वाधार निर्माण गरी भारतीय पर्यटकको वसाई लामो अवधिको बनाउने बताउनु भयो ।
उहाँले व्यवसायी र सञ्चारकर्मीहरुले प्रदेशका पर्यटकीय स्थलमामा लगानी गर्न तथा प्रचार प्रसार गरी विदेशी मुद्रा आर्जनमा सहयोग गर्न आग्रह गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य प्रदेश पर्यटन संयोजक भविष श्रेष्ठ, प्रेस क्लव भारत पूर्णियाका प्रमुख नन्दकिशोर सिंह, भारतीय पत्रकार वरुण मिश्र लगायतले भारतीय पर्यटकलाई नेपाल ल्याउनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
दुई दिने अन्तरक्रियामा प्रदेशका ११ जिल्ला पर्यटन व्यवसायी,भारतीय सञ्चारकर्मी,भारतीय पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया