ह्याप्पी फादर्सडे

सुरेन उप्रेती पाँचथर हाल अटवा क्यानडा । २०७९ असार ५ गते १:४१ मा प्रकाशित

सुरेन उप्रेती,

उनका आँखाका कोसबाट दुई ढिक्का आँशु ओर्लिए । चिँउडो सम्म बग्न नपाउँदै बालुवामा परेको पानी जस्तै भएर ती बिलाए । नजिकै रहेको बक्सबाट टिसु निकालेर आँखा पुछे र दायाँबायाँ हेरे । कसैले हेरीरहेका त छैनन् भन्ने लाग्यो । उनका अगाडि टेवलमा अंगुर, स्याउ, स्ट्राबेरी, ब्लूबेरी, खरबूजा, हनीड्यू ,क्यान्टालोप र भैँकटरका चानाहरूलाई प्लास्टिकका खण्डेथालभरी राखेर प्लास्टिको विर्कोले छोपिएको थियो । अर्को थालमा बिभिन्न प्रकारका बिस्कुट र मिठाईहरू थिए । काजु, बदाम, ओखरहरूका छुट्टाछुट्टै भरी डब्बाहरू सजाएर राखेका थिए । सुन्दर रंगीन कागजले र्याप गरेका बक्समा उपहारहरू पनि थिए । उपहार संगै रंगीन खाममा ह्याप्पी फादर्स डे लेखेका खाम थिए । तीनवटा खाम भएकाले तीनैजना छोराछोरीले पठाएका हुन भन्ने
लखकाट्न मुस्किल परेन ।

उनी बसेको शोफाका अगाडिको सिसाबाट घरभित्रै घाम छिरेर उज्यालो भएको थियो । यसरी सिसाबाट पसेको घामले कोठालाई नै तातो बनाएको थियो। उनलाई पुसमाघ महिनामा स्कुलको चौरीमा बसेर घाम तापेकोसम्झना आयो । उनले झ्यालबाहिरको निलो आकाशलाई एकटकले नियाले । बादलका ठूला लुम्साहरू ऐटिँदै गरेको प्यूरी चर्खाबाट निस्किए झैँ सुलुलुलु गर्दै निस्कन्थे । बादलका थुङ्गाहरू बन्थे । एकहुल चराहरू बादल भन्दा अलि तलबाट उडे । यी चराहरू पनि जीवनको खोजीमा कतै भौँतारिएका होलान् । कतै पुगेर आफुजस्तै अडिनेछन् । यात्राको बिट मर्नेछ । रहरले होस या बाध्यताले होस गन्तब्यमा बिराम लाग्नेछ ।

उनलाई वाल्यकालको सम्झना आयो । दाजु दिदीहरू बुबा काकाहरू फूपूदिदिहरू सँगै हुँदा कती रमाईलो हुन्थ्यो । चाडबाडमा सबै भेला हुन्थे । नाचगान हुन्थ्यो । पूजाआजा हुँदा गाउँभरीका मान्छे भेला हुन्थे ।

सिलोक भन्नेहरू छुट्टै हुन्थे । बालन नाच्ने र संगिनी खेल्नेहरू थिए । नाचगान गर्ने केटाकेटीहरूका टोली छुट्टै थिए । को भन्दा को कम जसरी नाच्थे । नाचगान गर्दा रातगएको पत्तै नहुने । गाउँमा कोही बिरामी भयो भने पनि गाउँलेहरू भेला भएर रूँग्ने चलन थियो । औषधी गर्नेहरू देखि धामीझाँक्रीहरू आआफ्नो सिप
देखाउँथे । मर्दाका मलामी पर्दाका जन्ती भनेझैँ जतीवेला पनि साथ सहयोग पाईन्थ्यो । गाउँ एक प्रकारले ठूलो सागर जस्तो । तर त्यही गाउँको मान्छे प्रगति र उन्नतिका नाममा शहर पस्छ । शिक्षाका नाममा शहरमा होमिन्छ । माया,ममता,आत्मियता, आफन्तका सागरबाट अलगिँदै अलगिँदै गएर सानो खहरे जस्तो नितान्त एक्लो बन्छ । म जस्तै एक्लो ! नितान्त एक्लो ! आकाश तर्फ हेरेर टोलाएका आँखामा बर्षादको कुवामा पानी भरिए झैँ आँशु टिलपिल भए । नरम टिसुपेपरले दुबै आँखामा आएको पानीलाई ओभाए र आँखा चिम्म गरे ।

मन नलागी नलागी खाम खोलेर कार्ड निकालेर पढ्न थाले । “तपाई मेरो जीवनको पथप्रदर्शक हो । आफु खिइएर, घोटिएर, बालुवा बनेर मलाई कंकृट बनाउँने, तपश्वीहो । मेरो भगवान हो । ह्याप्पी फादर्स् डे तपाईकी प्यारी छोरी करूणा ! “ कार्डमा लेखिएको थियो । त्यस पछी अर्को खामबाट कार्ड निकाले । “मेरो आदर्श हजुर नै हो । म जे छु हजुरको देनले नै म यहाँछु । आफु जलेर हामीलाई उज्यालो दिनु भयो । परिवार शिक्षित बनाउँनु भयो । आई लभ यू बुबा । ह्यप्पि फादर्स डे !” छोरा अनमोल भन्ने लेखेको रहेछ । उनले तेश्रो खामलाई हातमा लिए । बस्दा बस्दा घुँडा दुखेजस्तो भयो । उभिएर खुट्टा सिधा बनाए । हातलाई पनि तलमाथि गराए । तीन चार पाईला हिँडे । फेरी आएर शोफामा बसे । छोटो समयभए पनि पल्टनमा परेडखेलेको यादआयो । हातको खामलाई निकाल्दै कार्ड पढ्न शुरू गरे । “आफ्नो जन्मभूँमीलाई नचाहाँदा नचाहँदै हाम्रै खुशीका लागि छोड्नु भयो । भाषा संस्कृति र संस्कारलाई नौलो परिवेशमा धान्नु चानचूने कार्य हैन । हामीलाई कुशल बनाउँनका लागि आफ्ना सबै खुशीहरूलाई बिर्सिदिनु भयो । धन्ने बुबा हजुर हाम्रो भगवान हो ।

ह्याप्पिफादर्स डे !” छोरा सजल । लेखिएको थियो । मलाई देखेर उनी झसङ्ग भए । बुबा नमस्कार भनेर सम्बोधन गरेँ । ए सर ! बसौन । मनेर कूर्सी
तर्फ ईसारा गरे । मैले पनि ह्यप्पी फादर्स डे बुबा भनेँ । उनका अगाडि थुप्रै खानेकुरा र उपहारहरू थिए । मैले ती उपहार र खानेकुरा तर्फ देखाउँदै भने बुबालाई छोरा छोरीले त खुब माया गर्दा रहेछन् नी हैन ? हो बाबु !

तर यी जति नै उपहार र खानेकुरा भन्दा पनि बरू खालीहात नै आएर एक दुई घण्टा कुरा गरी दिए हुने थियो । हेर्न पाए र भेट्न पाए उपहार भन्दा लाख गुणा ठूलो हुने थियो । भेटेर सँगै बोल्दा कस्तो रमाईलो हुने थियो जस्तो लाग्छ । बाबु तपाई चैँ बुबाआमालाई भेटगर्न जानु होस है । बाँचुन्जेल त हो । भगवान भन्छन् नी । जन्म दाताहरू भगवान हुन नी । उनको अनुहार उज्यालो भएको थियो ।बर्तन सकिएर धिपधिप गर्नलागेको दियोमा बर्तन भरिए जस्तै भएर उर्जा भरिएको थियो । धरै बेर उनका कुरा सुनेँ । र भनेँ बुबा म त्यस्तो भाग्यमानी कहाँ हुँ र दुबै जन्मदाता भगवानलाई गुमाएको मान्छे । मेरा कुराले खै उनलाई कस्तो
लाग्यो कुन्नी ।

प्रतिक्रिया