काठमाडौंको फोहोर कस्को !

-शशी के.सी २०७९ असार १ गते २:१० मा प्रकाशित

“काठमाडौंको फोहोर” बर्षौं देखिको , बेलाबेलामा बल्झी रहने र कहिले नसुल्झने समस्या जस्तै हुंदै गएको देखिन्छ।

केही हप्ता वा भनौं काठमाडौंको मेयर बालेन शाह भएदेखि काठमाडौंको फोहोरको चर्चा चुलिएको छ । झन् मेयरको सपथग्रहण गरेको केही घण्टामा डम्पिगं साईट पुगेर अवलोकन गर्नु, त्यॅंहाका जनताको समस्या सुन्नु र जबसम्म काठमाडौंकोफोहोर व्यवस्थापनको समस्या समाधा हुन्न तबसम्म मेयरमा बिजय भएको उपलक्ष्यको सगुन खान्न, खादामाला लगाउन्नभनेर उनले भने, झन् चर्चा त बढ्ने नै भयो ।

खासमा हामी सानो हुंदा काठमाडौं फोहोर नै थिएन र फोहोरकोसमस्या भएको थाहा नै छैन्। त्योबेलाको काठमाडौं भनेकोअहिले घरैघर भएको ठाउॅंमा जताततै खेत नै खेत थियो । राती त पर पर स्याल कराएकोसम्म सुनिन्थ्यो। घरहरू पनिपुराना कांचो माटोले बनेको, खपडा र टिनको छत भएकोदेखि सिमेन्टले बनेका नॅंया घरहरू थिए।

मुख्य गाडी गुड्ने सडक न्युरोडदेखि एयरपोर्टसम्म, सिंहदरवार, भद्रकाली, पुतलीसडक, गौशाला, नॅंया वानेश्वर, कोटेश्वरतिरको चाईनिज रोड आदी बाटोको दुबैतिर लहरै रूखहरू थिए। त्रिपुरेश्वरदेखि सुर्यबिनायकसम्म नेपालकोएकमात्र बिजुलीबाट चल्ने हरियो रंगको ट्रलीबस चल्थ्यो। बसमा यात्रा गर्दा बाटोको दुईतिर खेतमा काम गरिरहेकादेखिन्थे। त्यस्तै रिंगरोड वरीपरी खेत बाहेक केही थिएन। काठमाडौंका नदीनालामा पानी नै बग्थ्यो। अहिले जस्तो ढलबग्दैनथ्यो । माछा मार्ने, नुहाउने, लुगा धुने गर्थें। ठाउॅं ठाउॅंमा ढुगेंधारामा पानी लिनेहरू गाग्री बोकेर बसेको देखिन्थ्यो।

घरबाट निक्लने फोहोर सबैले आफ्नै जग्गामा खाल्टो खनेर फाल्थे। फोहोर के नै पो हुन्थ्यो र । अहिले जस्तो प्लाष्टिककाझोला र सामानको चलनचल्ती नै थिएन्। भान्छाबाट निक्लने तरकारीको बोक्रा आदी फोहोर गलेर मलकोरूपमा अर्कोसाल करेसाबारीमा प्रयोग गर्न मिलिहाल्थ्यो । केही फोहोर चाहीं आफ्नो घर वरिपरि रहेका खाली जग्गामा फाल्नेगरिन्थ्यो। बाथरूमको फोहोर आफ्नै जग्गामा खनेको सेफ्टीट्यांकीमा जम्मा हुन्थ्यो। भरीएपछि सफा गर्ने ट्रक बोलाएरफोहोर लग्थ्यो।
त्योबेला दूग्ध बिकाश संस्थानको दूध सिसाको बोतलमा पाईन्थ्यो ! आफ्नो घरको खाली बोतल दियो र दूधले भरिएकोबोतल किन्यो । आजकल त प्लास्टिकको पोकामा दूध पाईन्छ । त्यस्तै दही माटोको कतारामा बेच्थे। आईसक्रिमकागजको बट्टामा, चिज कागजले बेरेर दिन्थे।

किराना पसलमा चिनी, दाल आदी किन्दा कागजको पोकामा दिन्थे। प्लाष्टिकको झोला त कतै थिंदै थिएन।किरानापसलले किन्ने भएर होला, कतै कतै घरका आमा, हजुरआमाहरू पुराना पत्रिकाबाट कागजको व्याग घरमै पिठोको माडपकाएर बनाउनु हुन्थ्यो र आफुलाई चाहिने खर्चको पैसा जोहो गर्नु हुन्थ्यो।

तरकारी किन्न घरबाट तारको झोला वा जुटको झोला लग्नु पर्र्थ्यो। मासु त पहिले पातमा बेरेर दिन्थे। पछिपछि चाहींपत्रिकामा बेरेर दिने चलन गरे। अझ रमाईलो त हलुवा, जेरी, स्वारी पत्रीकामा बेरेर दिंदा , सेतो स्वारीमा पत्रीकाको कालोअक्षरको छाप नै लाग्थ्यो। कपडा आदी किन्दा पसलले खेरो कागजको व्यागमा कपडा राखेर दिन्थे। जे होस बजार जांदाआफ्नै झोला नबोकी हुन्नथ्यो।

हर्लिक्स, जुस, जाम आदी सबै सिसीमा पाईन्थ्यो। ती सिसीहरू नफुटुन्जेलसम्म तेल, मट्टीतेल राख्न, अचार हाल्न वासिसीमा गेडागुडी, दाल, चिनी आदी राख्न प्रयोग हुन्थ्यो। सबै कुरा आफै पुन प्रयोग भएर रिसाइकल हुन्थ्यो। घरघर घुम्दैआउने “खाली सिसी, पुराना कागज, फलामका टुक्रा “ किन्ने व्यापारीहरूले घरमा रहेका पुराना पत्रिका, किताव कपी रकोकोकोला, बियर आदीका बोतल , फलाम जोखेर किनेर लग्थे। फोहोर आफै तह लाग्थ्यो।

घरमा स्टील, फलाम, सिलावर, तामा, पित्तलका भांडाकुंडा हुन्थे। माटोको गाग्रो, सुराहीमा पानी चिसो र मिठो हुन्छ भनेरराख्ने चलन थियो। पानी पनि घर नजिकको ढुगेंधाराबाट ल्याएको ताजा राख्ने। लुगा घुने बाटाहरूपनि सिलावरकोहुन्थ्यो। त्यस्तै ध्यु, तेल, दही राख्ने ट्यामी पाईन्थ्यो। सांचो नै लगाउन मिल्ने ।

शहर बजार, न्युरोड, असन, हनुमान ढोका दरबार क्षेत्र, मन्दिर आदीतिर काठमाडौं नगर पालिकाका कर्मचारी प्राय: महिलाहरू बच्चालाई पछाडी पिठ्युंमा बोकेर पनि कुचो, झाडु लगाएर सफा गर्थें। फोहोरलाई का.न.पा लेखेको सडककोछेउमा राखेको डोकोमा फाल्ने चलन थियो । समग्रमा काठमाडौं सफा नै थियो । रत्नपार्क, टुटिंखेल निर सार्वजनिकशौचालय थियो । त्यॅंहा जरूरी पर्दा निशुल्क दिसापिसाब गर्न पाईन्थ्यो।

सन् १९९० पछि जब नेपालमा राजतन्त्र समाप्त भयो र प्रजातन्त्र आयो। काठमाडौंमा गाउॅंगाउॅंबाट मान्छेहरू ओईरिनेकोबाढी नै आयो। हुन त तेसभन्दा अगाडी क्याम्पस पढ्न, जागीर खान र विदेश जान आउने नै गर्थे। ओहो, सबै स्वतन्त्र, जनताको शासन, जे गरेपनि, जे बोलेपनि, जे लेखेपनि कस्ले रोक्ने र। सबै ठुला मान्छे भए। झन् नेता र तिनका आसेपासेत छोईनसकिने भए।

बिना रोकटोक जथाभावी काठमाडौंका खेतहरू, मन लाग्दो भाउमा जताततै काटेर बिक्री हुन थाले। ससाना टुक्रामा घरबने। खेतका आली काटेर बाटोहरू र ढलहरू जताततैबाट निकालिन थाले। घरको ढल सिधै सडकको ढलमा मिसाउने नॅंयाचलन आयो । अनि त्यो सडकको ढल सिधै लगेर बाग्मती, धोबीखोला, बिष्णुमती, टुकुचामा बग्न थाले। अहिले तकाठमाडौंको सबै नदीनालामा पानीको सट्टा ढल बग्छ। पुरानो सफा, हराभरा काठमाडौं केही रहेन।

एक त मान्छे धेरै बढ्न थालेसॅंगै, फोहोर पनि बढ्ने नै भयो। फोहोर घरमा राख्न भएन, फाल्नै पर्यो कतै त , सडक पेटीकोकुना काप्चामा थुपारिन थाले । आफ्नो टोल फोहोर देखेर टोलबासीले फोहोर थुपार्ने कुनामा भगवानको फोटो, मुर्ती पनिराखे। तर समस्या छ फोहोर फाल्ने ठाउॅंको अभाव, एकठाउॅंमा भगवान देखेर डराएर नफालेपनि अर्को ठाउॅंमा फेरी थुप्रने नैभयो।

यसरी भएन भनेर फोहोरको समस्या समाधान गर्न फोहोर उठाउने कम्पनीहरू खुले। शुरूआती दिनमा महिनाको एक सयमाफोहोर उठाउने गर्थे। अहिले महिनाको साढे चारसयसम्म तिर्नुपर्छ। पैसा तिरेर फोहोर उठाउन आउने भएपछि त भान्छाबाटनिक्लने, गलेर मल बन्ने फोहोर पनि को छुट्याओस भन्दै सबै मिसाएर पोको बनाएर राख्छन्, घरघरमा फोहोर उठाउनेलाईदिन। तर फोहोरको समस्या पैसा तिरेर पनि सकिएको छैन्। काठमाडौंको फोहोर लगेर फाल्न छुट्याईएको सिस्ने, बंन्चरेडांडामा बेलाबेलामा फाल्न नदिएर फोहोर महिनौं दिनसम्म नउठ्ने भई रहन्छ।

पैसा तिरेकैछ, फोहोर उठाउनेले लग्छ भन्दैमा गल्ने र कम्पोष्ट मल बनाउन सकिने फोहोरहरू त छुट्याएर आफ्नै जग्गामाखाडल खनेर पुर्दा पनि हुन्छ नी। नगल्ने फोहोर मात्र दिए हुन्न ?

बिहान बिहान पसल कुचो लगाउॅंछन् । फोहोर सडकमा फाल्छन् । तर बिर्सन्छन्, पसलमा आउनेले तेही फोहोर कुल्चेर तआउॅंछन् भन्ने । कमसेकम आफ्नो पसलको फोहोर पोको पारेत हुन्छ नी । त्यस्तै आफ्नो घर कम्पाउण्ड चाहीं आफ्नो, सफा पनि गर्ने तर आफ्नो घर अगाडीको बाटो सार्वजनिक । कस्ले गर्ने सफा, अझ कुकुर पाल्नेहरू त कुकुरलाई दिशापिसाब बाटोमै गराउने । पछि आफु सररर गाडीमा निक्ल्यो तेही बाटोबाट केही नभएको जस्तो गरेर ।
संसारभर प्लाष्टिक प्रयोग हुन थालेसॅंगै , नेपालमा पनि अत्यधिक प्लाष्टिक प्रयोग हुनथाल्यो । ओहो, काठमाडौंमा त झनैबेसी प्रयोग हुन्छ। नेपाल सरकारले केही बर्ष अगाडी प्लाष्टिकको प्रयोगमा निक्कै कडा गरेको थियो । अहिले पनि कानुनत छ तर नेपालीले टेर्नै छोडेछन्। ४-५ बर्ष अगाडी असाध्यै कडा गरेको र जरीवानासम्म तिर्नु पर्ने हुनाले तरकारी वा सामानकिन्दा पोलिथिनको झोला दिंदैन थिए। एक महिना अगाडी नेपाल पुगेर आएको म, ओहो ससाना तरकारी पसल देखिलिएर ठुला पसल सबैले असाध्यै प्लाष्टिकको झोला प्रयोग गर्न थालेछन् फेरी । यी प्लाष्टिक नै हुन बर्षायाममा पानीमाबगेर गएर ढलमा अड्कने र बाटोमा ढल जाम हुने, घरघरमा ढल फर्केर पानी पस्ने ।

खासमा सबैलाई काठमाडौं चाहिएको छ तर घर हैन डेराको रूपमा । जबसम्म काठमाडौंलाई आफ्नै घर सोचेर सफाराखिन्न । तबसम्म काठमाडौं फोहोर नै रहन्छ ।

आफ्नो घर सफा गर्नु सबैको दायित्व हो !
( केहिदिन यता बालेन शाह मेयर नियुक्त भएर , उनले धमाधम काठमाडौं बनाउन र फोहोरको समस्या समाधान गर्नलागिपरेको देखेर , काठमाडौंका युवाहरू स्वत: एकजुट भएर सडकपेटीमा छरपष्ट रहेको फोहोरलाई प्लाष्टिकको ठुलोठुलो बोरामा जम्मा गरेर काठमाडौं सफा बनाउॅंदैछन् । जय होस् युवाहरूको, हामी हुर्के,बढेको तर तिमीहरूले अनुभव गर्ननपाएको, नदेखेको स्वच्छ, हराभरा काठमाडौं बनाउने जिम्मा अब तिमीहरूको हातमा छ )

-शशी के.सी

 

प्रतिक्रिया