त्यो रात : एक धमिलो स्मृति

दुर्गा लोहनी २०७९ जेठ २९ गते १६:३७ मा प्रकाशित

करोडौं नेपालीका आस्थाका केन्द्रबिन्दु अस्ताएको रात । अब के होला नेपालमा? सबैजना सशंकित , सबैजना त्रसित, सबैको मुहारमा एउटा डरलाग्दो अन्धकार छाएको, एउटा भयंकर अन्यौलको अबस्था । अब त संसार नै रोकिन्छ होला, सृष्टिमा ठुलै उथलपुथल हुन्छ होला जस्तो लाग्थ्यो । तर अचम्म ! पृथ्वीको गति उही रफ्तारमा चल्ने रहेछ । उही धर्ती , उहीँ आकाश , उही प्रकृति , सबै निरन्तर उस्तै गतिले चलिरहेछन् । बदलिएको छ त केबल समय ! अनि त्यही समयमा व्यक्तिगत फाइदा लिनेहरुको होडबाजी ।

वि.सं. २०५८ जेठ १९ गतेको त्यो कालो रात ! अब त घटना भएको पनि एक्काईस वर्ष पूरा भइसकेछ । संझदा पनि कहाली लाग्ने । संसारभरका मिडियाले प्रमुख महत्त्वका साथ राजपरिवारको हत्या भएको कुरा भनिँरहँदा नेपालका मिडिया भने मौन थिए । रेडियो तथा टेलिभिजनमा आएको एकोहोरो शोक धुनले मनलाई झनै बिचलित बनाइदिन्थ्यो । आफ्नो देशको समाचार थाहा पाउन टिभीका विदेशी च्यानल हेर्नु पर्थ्यो ।

बीस गते बिहानसम्म त यो दुर्घटनाले संसारभर नै सनसनी मच्चाएको थियो । नेपालका मिडिया भने मौन भएको कारणले गर्दा पनि नेपालीहरु एकअर्कामा खुलेर यो विषयमा बोल्न डराएको अबस्था थियो । कारण के थियो भने आखिर त्यत्रो सुरक्षा कवच भित्र बसेका राजपरिवारको हत्या कसले गर्‍यो होला ? कसैले पनि गलत नियतले सिधा आँखाले हेर्न सम्म नसक्ने ठाउँमा कसरी त्यस्तो भयो ? सबैका मनमा प्रश्नका पर्खाल मात्र खडा थिए तर चित्त बुझ्दो उत्तर कसैसँग थिएन । पाएको उत्तरमा कसैको चित्त बुझेको थिएन । मनमा जति आँधी चलेपनि बोल्ने हिम्मत कसैमा थिएन ।

सारा नेपालीले साँच्चै नै एउटा असल अभिभावक गुमाएको दिन थियो त्यो । पुरै देश नै सुनसान र शून्य जस्तो लाग्थ्यो । हुन त करोडौं नेपाली मध्ये कतिले उहाँहरुसँग साक्षात्कार गर्न पाएका थिए होलान् र? तर पनि सबैलाई उहाँहरुको याद र अभावले पूरै धर्ती नै शून्य शून्य लागेको थियो । बाहिर बोल्न डराए पनि घर- घरमा, साथिभाइ बीचमा अनेक अड्कलबाजी गरिन्थ्यो । अब के होला? सबैको मनको प्रश्न थियो । "अब आर्मीले लिन्छ होला? होइन, होइन कुनै विदेशी शक्तिको पो चलखेल छ कि ? अथवा जनयुद्धमा होमिएको माओवादी पो हो कि ? कि कतै दरवार भित्रैबाट त होइन ? कहाँ दिपेन्द्र एक्लैले यस्तो गर्न सक्छ ?" यस्तै यस्तै कुराहरु खासखुस हुन्थे एकआपसमा , त्यो पनि दविएको स्वरमा मात्र ।

दिनभर वि वि सि , सि एन एन जस्ता च्यानलहरु हेरिए । राष्ट्र प्रमुखको अन्त्येष्टिमा अन्य देशका प्रमुखहरु समेत आएर श्रद्धाञ्जली दिने चलन हुन्छ । तर यहाँ सोही दिन अर्थात २०५८/२/२० गते अपरान्ह तिर राजारानी, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत अन्य दिवंगत शरीरको दाहसंस्कारको तयारी गरिइयो । शब यात्रा सुरु भयो ।

उहाँहरुको त्यो अन्तिम यात्रामा श्रद्धा सुमन चढाउनको लागि जानेहरूको विशाल जनसागर थियो । सारा काठमाडौं नै बाहिर निस्के जस्तो थियो । कति त राजधानी बाहिरबाट समेत आएका थिए । सबैको मनमा केबल शून्यता र आँखामा आँसु थिए । "हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । हाम्रा राजारानी अमर रहून," भनेर सबैको एकस्वर हुँदा भावविह्वल नहुने सायदै कोही थिएनन् त्यतिबेला ।

राजारानी लगायत राजपरिवारका अन्य सदस्यको अन्त्येष्टिको लागि फूलमालाले सजाइएका चिताहरु लहरै राखिएका थिए । यसको प्रत्यक्ष प्रशारण नेपालकै विभिन्न टेलिभिजन च्यानल मार्फत गरिएको थियो । धेरै मानिसहरु शवयात्रामा सहभागिता जनाए पश्चात् घरघरमा गएर त्यही दृश्य टेलिभिजन मार्फत टुलुटुलु हेरिरहेका थिए । पशुपतिको आर्यघाटमा एकपछि अर्को लासहरु खरानी हुँदै गए । अनि ती लासहरु सँगै नेपालको भविष्य, आस्थाको प्रतिक पनि खरानी हुँदै थियो होला । सायदै यो दृश्य हेर्न भगवान पशुपति नाथलाई पनि गाह्रो भएको थियो होला । त्यही कठोर दृश्य सम्पूर्ण
नेपालीहरुले एकतमासले हेर्दै थिए ।

कसैको माया र श्रद्धा कति छ भन्ने कुराको अनुभव त केबल उसको अनुपस्थितिमा मात्रै थाहा हुने रहेछ । सर्वसाधारणको राज परिवार प्रति यतिधेरै माया, श्रद्धा र भक्ति रहेछ भन्ने कुरा यहि घटनापछि राम्रोसँग थाहा भयो । राजारानीको दाहसंस्कार पछि हजारौं / लाखौं नेपालीले केश मुण्डन गरे । अनि राष्ट्रिय सूचना मार्फत नै तीन दिन आशौच बार्ने भनेर सूचना जारी गरियो । सम्पूर्ण नेपालीले श्रद्धा भक्तिका साथ उक्त सूचनाको पालना गरे । पुरा देश नै शोकमा डुबेको थियो ।
राजगद्दी खाली राख्न नहुने भएकोले मृत घोषणा हुन बाँकी रहेका दिपेन्द्रलाई "राजा" घोषणा गरिएको थियो । यद्यपि त्यत्रो हत्याकाण्डका अपराधी पनि उनैलाई भनिएको थियो । तर नेपाली जनता दिपेन्द्रलाई हत्यारा मान्न तयार थिएनन् ।

दिपेन्द्र पनि जीवित छैनन् भन्ने हल्ला त त्यतिबेलै आएको थियो । जसले यो घटना देखे उनीहरुको मुख बन्द थियो । जसले यो घटना देखेनन् उनीहरुका अनेक अड्कल बाजी थिए । केही दिन त राजदरबार सम्बन्धि अनेक हल्लाहरु फैलिए । तिनै हल्ला भित्र सर्वसाधारणले सत्यता खोज्ने प्रयास गरिरहे ।

जब जेठ बाईस गते दिपेन्द्रलाई नि मृत घोषणा गरियो , स्थिति झनै तनाव ग्रस्त भएको थियो । उनको शब यात्रा सहज नहुने जस्तो देखेपछि काठमाडौंमा कर्फ्यु लगाएर गाडिमा राखेर उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरियो । सारा नेपालीको उनी माथि जति नै सहानुभूति भए पनि उनको शब यात्रामा कसैले सहभागीता जनाउन पाएनन् । नेपाली जनताले उनको दाहसंस्कार भएको दृश्य केबल घरमै बसेर टेलिभिजन मार्फत हेर्नु पर्‍यो । तर
पनि उनी प्रतिको आस्था र सहानुभूति विशेषगरी उनी माथि लागेको दोषको कारणले गर्दा पनि अझै बढेको थियो । उनको अन्त्येष्टि पछि उनी प्रतिको श्रद्धा स्वरुप कपाल मुण्डन गर्ने नेपालीको संख्या ह्वात्तै बढेको थियो । सायदै उनी प्रति श्रद्धा सुमन व्यक्त गर्ने यही एउटा मात्रै माध्यम थियो ।

मान्छेको भाग्य भन्ने कुरा अचम्मको हुँदो रहेछ। राजाको जेठो छोरो, राजगद्दीका उत्तराधिकारी जस्तो मान्छे जो आफैं मारिएको छ , फेरि उसैलाई आफ्नै बाउ, आमा, भाइ ,बैनी सबैको हत्यारा बनाइएको थियो । सायद विधाताको अक्षर यो भन्दा क्रुर अरु हुन सक्दैन होला । भित्र भित्र जति जे अड्कल बाजी भए पनि त्यसलाई प्रमाणित गर्न कसले लागि पर्थ्यो र ?

"त्यतिबेलाका राजाका नजिक थियौं" , यस्तो-उस्तो भएको भनेर सस्तो लोकप्रियताको लागि आजकल जे जति कुरा आएपनि त्यतिबेला सबैका मुख बन्द भएका थिए । यहाँ जिउँदो मान्छेको त पहुँच हेरेर पक्ष-विपक्ष लिन्छन् भने झन् मरेको मान्छेको पक्षमा को बोल्थ्यो र ? अहिले घटना भएको विसौं वर्ष पछि आएका अनेकौं कुरा केबल आफू "हाइलाइट"मा आउनको लागि मात्रै होला । कति स्वार्थी छ यो संसार ! साँच्चै नै त्यतिबेला नेपाल एउटा अभिभावक विहिन जस्तो महशुस भएको थियो । यद्यपि ज्ञानेन्द्र राजा भएका थिए ।

यही अन्यौलको बीचमा तत्कालीन जनयुद्धमा होमिएर भूमिगत रहेका डा. बाबुराम भट्टराईले कान्तिपुर पत्रिकामा छपाएको लेखले निकै चर्चा कमायो । कारण, त्यही लेख छपाए बापत उक्त पत्रिकाका सम्पादकलाई समातिएको थियो ।

कति अत्यास लाग्दा र अन्यौलपूर्ण थिए ती दिनहरु ! मान्छेहरु बोल्न डराउँथे । तैपनि हावामा हल्लाहरु कसरी आउँथे, आउँथे । यस्तो बेलामा जसले जे भने पनि चर्चाको विषय बन्थ्यो । हल्लै हल्लामा दिनहरु बित्थे ।

तारानाथ रानाभाटको प्रतिवेदन मा भएको "र्‍याटाटा र भ्याटाटा" पत्याउने वाला कोही थिएनन् । तर पनि त्यही सदर गरियो । पछि घटनास्थल नै नष्ट गरियो । अब त व्यवस्था नै फेरिएको छ । कतिले दरबार हत्याकाण्डको सत्य तथ्य पत्ता लगाउँछु भनेर लोकप्रीयता पनि कमाए । तर यथार्थ पत्ता लगाउन न त कसैलाई आवश्यकता छ न त फुर्सद नै ! तर अब त चाहेर पनि सायदै कसैले सत्य तथ्य पत्ता लगाउन सक्ने छैन किनकि न त कुनै मुचुल्का , न त मृत शरीरको पोष्टमार्टम, न घटनास्थलको सुरक्षा कसरी वास्तविकता थाहा हुन्छ र ? एक पुस्तासम्म "मैले देखेको हो, यस्तो-उस्तो भएको थियो" भनेर हावामा खेती गर्ने क्रम चलिरहने छ । दुई चार पुस्ता सम्म यसले चर्चा पाउला । त्यसपछि कसैलाई चासो पर्ने पनि छैन ।

वास्तविकता के हो भन्ने कुरा इतिहासको पान्नाले पनि भन्न सक्ने छैन । इतिहासको पानामा दिपेन्द्र हत्याराको रुपमा रहिरहने छन् । समय निकै अगाडि बढ्ने छ । त्यो कालो रात बिस्तारै धमिलो स्मृति मात्रै हुनेछ ।

-दुर्गा लोहनी

प्रतिक्रिया