कविता : गोमन सर्पहरु र दुध !

इनेप्लिज २०७९ जेठ २२ गते १९:०४ मा प्रकाशित

पाल्न मन लाग्छ मलाई,
गोमन सर्पहरू पनि !
देख्छु म जब तिनीहरूलाई
भुईँमा बल्ल तल्ल घिस्रिँदै गरेका
लाग्छ ओहो कति आपत होला,
बिचरा यिनीहरूलाई,
न समाउने हातहरू छन्
न टेक्ने खुट्टाहरू
गिद्धहरू घुमिरहेका छन् आकाशमा
शिकारको खोजीमा
जीवन जोखिममा छ यिनको
दया लाग्छ
माया लाग्छ
अबोध ती छेङ्गुलेहरुको
अनि समाउन मन लाग्छ
कोमल हातहरूले बिस्तारै बिस्तारै
सिनित्त परेको शरीर
लिन मन लाग्छ काखमा
स्पर्श दिन मन लाग्छ मायाको
खुवाइ रहन मन लाग्छ दूध
बिहान साँझ, बारम्बार
खुवाउँदै गयो
पियाउँदै गयो
बित्दै जान्छन् दिनहरू
बित्दै जान्छन् रातहरू
छेङ्गुले सर्पहरू
बढ्दै जान्छन् हर्लक्क
एक बित्ताका छेङ्गुले सर्पहरू
पुग्छन् पाँच सात हात सम्म
अनि उठाउन थाल्छन् टाउको
जेल्न थाल्छन् खुट्टाहरू
ठुङ्न शुरु गर्छन् स्वाँ स्वाँ गर्दै
गाड्छन् दाँतहरु
छोड्छन् विष
अनि बल्ल खुल्छन् आँखाहरु
गोमन सर्प पाल्ने म र म जस्तै हरुका
अनि डौदिनु पर्छ झार्न विष
क्लिनिक र अस्पतालहरू तिर
बेलैमा उपचार नपाए जान सक्छ ज्यान
त्यसैले सर्पहरू सँग टाढै रहेको राम्रो
गोमन सर्पहरू सँग त झन टाढै रहेको राम्रो
बारम्बार डसिए पछि
आजकल म सचेत हुन थालेको छु
विषालु सर्पहरू सँग
गोमन सर्पहरू सँग !

– रामप्रसाद खनाल
May 04, 2022

प्रतिक्रिया