नेपालमा गाई पुज्ने आमाबाको धर्म ठुलो की? त्यही गाईको मासु र बर्गर बेचेर तिनै बाउ आमा पाल्ने सन्तानको कर्म ठुलो?

नबिन बि.क (हाल अमेरीका) २०७९ जेठ २२ गते १:५५ मा प्रकाशित

 

बैशाखको अन्तिम हप्ता तिरको कुरा हो । बाल्टीमोरमा अझै बिहान बेलुका जाडो नै थियो ,पानी पर्यो भने र हावा चल्यो भने त झन खुत्रुक्कै पार्ने जाडो हुन्छ, न्यानो कपडा लाउनु पर्ने हुन्छ। पानी र हल्का हावा एकै साथ कुस्ती खेलेको हुदा मौसम जाडो थियो । छुट्टी पनि परेको दिन, खशीको मासु ल्याएर चट्ट झोल हालेर टाठो पिरो बनाएर जाडो भगाउने बिचार गरेर नेपाली किराना पसल तिर लागे, जहा मासु देखी नेपाली मरमसला लगायत नेपाल बिर्साउने सबै खानेकुराहरु र मर मसला पाईन्छ। १० मिनेटको ड्राईभमा नेपाली पसलमा पुगे, त्यहा ढोकाबाट छिर्ने बित्तिकै मङ्ग अगर बत्तिको बास्ना आयो र सानो सुमुधुर आवाजमा गायत्री मन्त्र “ ॐ भूर् भुवः स्वः,तत् सवितुर्वरेण्यं,भर्गो देवस्य धीमहि,धियो यो नः प्रचोदयात् “ मिठो भजन बजिरहेको थियो, अगर बत्तिको बास्ना र गायत्री मन्त्रले मनमा एक किसिको शान्ति र आन्नद आई रहेको थियो। यहा आउदा नेपालकै कुनै एउटा किराना पसलमा भएको महसुस हुन्छ।

अचानोमा बिफ (गाई गोरुको मासु) त्यै छ, मैले किनेको खशीको साप्रा पनी त्यै ठुन्काउदै छन केशबजीले।त्यो मासु लिएर जानु न छोडेर जानु एक छिन त सोच्नै सकिन।अघिको अगर बत्तिको बास्ना, गायत्री मन्त्र सबै बेकार रैछन जस्तो लाग्यो

म सिधै मासु सेक्सनमा मासु किन्न गए , म भन्दा अगाडी एक जना अफ्रिकाकी महिला मासु किन्दै थिईन, उनले मासु किनी सकेसी मेरो पालो आयो, मैले खशीको एउटा साप्रो दिन आग्रह गरे केशबजी लाई, उनी पाल्पाका अधिकारी रहिछन, अमेरिका आएको भर्खरै ४-५ महिना मात्रै भएको रहिछ। केशबजीले भित्र रेफ्रिजेटरमा गएर एउटा खशीको साप्रो लिएर जोख्न खोज्दै थिए, मेरो नजर अचोनोमै रहेको एउटा ठुलो रातो मासुमा र भुईमा रहेको ठुला ठुला हड्डीमा पर्यो, यो रातो मासु र हड्डी खसीको त होईन, कुखुराको त झन हुने कुरै भएन, केशबजीलाई सोधिहाले के को मासु हो हजुर यो ? उनले पनी सजिलै फ्याट्टै भनिदिए “ बिफ” ।म त एकछिन अक्क न बक्क परे , अचानोमा बिफ (गाई गोरुको मासु) त्यै छ, मैले किनेको खशीको साप्रा पनी त्यै ठुन्काउदै छन केशबजीले।त्यो मासु लिएर जानु न छोडेर जानु एक छिन त सोच्नै सकिन।अघिको अगर बत्तिको बास्ना, गायत्री मन्त्र सबै बेकार रैछन जस्तो लाग्यो, अनि मलाई महसुस भयो “धर्म भन्दा कर्म ठुलो रैछ”। फेरी यसो सोचे म मात्रै पहिलो नेपाली वा हिन्दु त होईन होला सबै नेपालीले यहिबाट लगेर खान्छन, बरु घर गएर मज्जाले धोएर पकाउनु पर्ला जस्तो लाग्यो र २ डलर टिप्स टोकरामा हाल्दिएर केशबजीलाई धन्यबाद दिदै घर फर्किए।

कर्मकै आधारमा सानो ठुलो हुने भए आज फलानो बुटिक र फलानो टेलरिङ भनेर खोलिएका हजारौ आधुनिक नब दमाईहरु पनि त सानै हुनु पर्ने होईन र?

त्यस पछि मैले डोरड्यास,ग्रुबहब, उबर ईट्समा फुड डेलिभरी गर्ने हजारौ नेपालीहरुलाई सम्झे, जहा उनीहरुले बिफ बर्गर, पिज्जा, लगाएत कैयो बिफजन्य खानेकुराहरु रेष्टुरेन्टबाट लिएर ग्राहकोको घर घरमा पुर्याउछन। एउटा हिन्दुको छोरा, त्यसमा पनि क्षेत्रीबाहुन समुदायका ब्याक्तिहरु यसरी सहज रुपमा बिफ ( गाई गोरुको मासु) बोकेर हिड्नुको कारण हो हरियो डलर, हरियो डलर तब मात्रै पाईन्छ जब काम गरिन्छ। धर्म ठुलो भैदिएको भए त मठमन्दिरमा पुजा र आरती गरेर र बेद पुराण पढेर मात्र बसे हुनी हो तर यसरी हाम्रो हिन्दु धर्मले कल्पना समेत नगरेको काम गर्नु पर्दैनथ्यो। फेरी यसो सोचे त्यही मासु काटेर बेच्नेलाई नेपालमा कसाई भनेर तल्लो ब्यबहार गर्नेहरु नै अमेरीका आएसी चै बुचरी ( माछा मासु बेच्ने बिभाग) सेक्सनमा काम गरे पनि उत्तिकै सम्मान पाईरहेका हु्न्छन। नेपालमा भैसी र राँगाको मासु खानेलाई हेयको दृष्टीले हेर्ने र छिछी र दुदु गर्नेहरुनै अमेरिकामा गाई र गोरुको परिकार बोकेर हिड्को देख्दा मैले पुन सोच्न बाध्य भए , यो धर्म संस्कार र परम्परा त केवल एक ढोंग रहिछ, मान्छेले आफ्नो सुबिधा र पायक अनुसार आफैले बनाएको नियम र काईदा मात्रै रहिछन।

जसरी पण्डितले गाई नभए कुसलाई गाई मानेर पुजा गरे जस्तै, माने र गरे जे पनि हुने रहिछ। सबै स्वार्थी , सबैले आआफ्नै हिसाबले बर्णन र ब्याख्या गरेका। त्यसैले नेपालमा गाई गोरु काटेर खाए भनेर सार्की ,तामाङ राई लिम्बुहरुलाई अनाकहमा जन्म कैद जस्तो गम्भीर र अब्यबहारीक दण्ड दिएर प्रजातन्त्रको उपहास गर्न हुदैन र यो दन्डको कुनै तुक पनि छैन।

कपडा सिलाएर हामी सबैको ईज्जत ढाकि दिने दमाई दाईको ईज्जत र जात कसरी उनैले सिलाईदिएर दौरा सुरुवाल, ढाकाटोपी मा सजिएका बाहुन दाईको भन्दा कम भयो? कर्मकै आधारमा सानो ठुलो हुने भए आज फलानो बुटिक र फलानो टेलरिङ भनेर खोलिएका हजारौ आधुनिक नब दमाईहरु पनि त सानै हुनु पर्ने होईन र? छालका जु्ता, पेटी , ज्याकेट, झोला बनाउने सार्कीदाईहरु जस्लाई गाई गोरु खाए वा मारेर छालाको काम गरे भनेर हेप्नेहरु कसरी आज अमेरीका र युरोपमा गाई र गोरुको पिज्जा बर्गर बोक्ने र खाने बाहुन क्षेत्रीहरु भन्दा सानो भए ? सार्की दाईहरुले आफ्नो कर्म गरेका थिए आफ्ना परिवार पाल्न । केशब अधिकारी र उनको साहुले पनी आफ्नो परिवार पाल्नलाई केवल एक कर्म गरेका हुन, तर एउटै काम गर्दा सार्की दाई सानो र अरु ठुला कसरी भए ? आज अरुले फलानो जुत्ता कारखाना वा फलानो फुटवेयर भनेर त्यही गाई गोरुको छालाको कारोबार गर्दा उ समाजमा सम्मानित उधोगपति हुन्छ त सार्की दाई चाई हाम्रो समाजकै सबै भन्दा तल्लो निच जातको मान्छे हुन्छन।

कामी दाईले हातहतियार बनाए, बन्दुक बनाए , त्यै हतियारले बडामहाराज पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे, हामीलाई चाहिने फलमाका सबै सरसमान बनाए, भाडा कुडा बनाए , मुर्ति बनाए , मन्दिरको घन्टी बनाए तर त्यै घन्टी बजाउने र त्यै मुर्तिमा अछेता चढाउने बाजे चै उच्च भए तर बनाउने कामी दाई चै समाजमै नचल्ने निच भए ? यहाँ दुबैले आआफ्नो कर्म गरेका छन तर किन एउटा चै ठुलो र अर्को चै सानो बनाईयो? कुन मापदन्डले नापेर वा के को आधारमा मुल्यांकन गरेर यो सानो र ठुलो घोषणा गरियो? त्यसैले यहाँ तपाई हामी सबैले घोत्लिएर सोच्ने र आत्मसात गर्ने बेला आएको छ कि धर्म भन्दा कर्म ठुलो हो भनेर।

छालाका काम गर्ने सार्कीदाईहरु जस्लाई गाई गोरु खाए वा छालाको काम गरे भनेर हेप्नेहरु, कसरी आज अमेरीका र युरोपमा गाई र गोरुको पिज्जा बर्गर बोक्नेहरु , ताल परे लुकेर ठोक्नेहरु भन्दा सानो भए ?

अमेरिका युरोप तिर सजिलै पाईने काम भनेकै रेष्टुरेन्ट र फुड डेलीभरी हो। यहाँको रेष्टुरेन्टमा सबै भन्दा मिठो खानामा बिफजन्य ( गाई गोरुको मासु बाट बनेको) खानाहरु धेरै हुन्छन, त्यो खाना प्याक गर्ने देखी डेलिभरी गर्ने काम सबै गर्नु पर्छ। यस्तै कामबाट कमाएको पैसाबाट नेपालमा आमाबालाई ३ -४ तले घर , सुनको गहना र लक्जरी कार किनेर राखेका हुन्छन तर बाउआमा भने चै गाईलाई पुजा गर्छन। मैले यहा गाई पुजाको बिरोध गरेको होईन, गाई मात्रै होईन, कुखुरा र खसी पुजा गरेपनि मलाई कुनै आपत्ति छैन, प्रजातन्त्रमा मान्छेले अरुको स्वतन्त्रता र अधिकार हनन नगरीकन, अरुलाई नपिरीकन जे गरेपनी पाईन्छ तर यहा करनी र गरनीमा फरक पाईयो, त्यसैले धर्मको कारणले र अन्धबिश्वासको कारणले नेपालमा आज पनि धेरै ठुलो संख्यामा प्रताडित भएका समुदायहरु छन, ति कुराहरु तुरुन्तै बन्द हुनपर्यो।जुनसुकै धर्मका कुचिकार होस वा मुर्तिकार, कसाई होस वा कन्डक्टर, हाकिम होस वा पिउन सबैको उत्तिका सम्मान गर्ने संस्कारको जरुरी छ। संसारमा कर्म भन्दा ठुलो कुनै धर्म छैन।

नबिन बि.क (हाल अमेरीका)
क्षेत्रीय उप-संयोजक, एशिया
एनआरएनए , केन्द्रिय समिती

प्रतिक्रिया