शहरको भिडलाई छिचोल्दै अघि बढिरहेका मेरा ती पाइलाहरु अनायास एउटा सारी पसलको अगाडी गएर टक्क अडिन्छ। त्यो पसल् भित्र म पनि छिर्छु। वरिपरिका बिभिन्न प्रकारका सारी हरु हेर्दै जादा सारी को मोलमोलाई भैरहेको त्यो भीड बाट एक युवकले सोध्छ “कस्तो खालको सारी देखाउ? हेर्नुस भर्खरै मात्र बजारमा आएका यी सारीहरुको माग निकै बढिरहेको छ आजकल” भन्दै एक एक गरि बिभिन्न आकर्षित दिजाइनका सुन्दर सारीहरु देखाउछ। त्यसमध्ये एउटा सुन्दर सीतारा भरेको सारी मेरो सामु राख्दै भन्छ उ “यो सारीमा भरिएको बुट्टाहरु हातले भरिएको हो। हेर्नुस यो सारी आजकल निकै चलिरहेको छ।” त्यो सारी देख्ने बितिक्कै र हातले बुट्टा भरेको भन्ने बितिक्कै मलाई त्यो सानो आठ दश बर्षको बालकको पीडादायक अनुहारका आखाहरूबाट बगेको आशुको याद दिलाउछ,जुन आशु उसको साहुको पसलमा सारीमा सीतारा भर्दा बिग्रेकोले कुटाईको पीडाबाट बगेको थियो।
केहि बर्ष अघिको कुरो हो यो , यसलाई कुनै एउटा घटना भनु वा यथार्थ। त्यो मलाई थाहा भएन। कुनै एउटा सारीमा सीतारा भर्ने पसलमा सधै ५/६ जना १०/१२ बर्षका बालकहरुलाई काम गराइन्थ्यो। ति बालकहरुलाई कहाबाट ल्याएका हुन् त्यो चाही थाहा भएन। ति स साना बालकहरु दिनभर सारीमा सीतारा भरिरहेका हुन्थे। कापी कलम समात्नुपर्ने ति स साना हातका औलामा सियोको घोपाइलाइ सहदै दिनभरी सारीमा सीतारा भर्नुपर्ने कस्तो त्यो बाध्यता थियो होला। कहिले काही सीतारा भर्दा बिग्र्यो भने ति बालकहरुले साहुको कुटाई खानु पर्थ्यो। । त्यो बाल बालिकाको आशुले बनेको त्यो सुन्दर सीतारा भरेको सारीको पछाडी लुकेको पीडादायक कथा कसलाई के थाहा ? त्यो सम्झदा मलाई त्यो सीतारा भरेको सारी लाउने ईछ्या हुदैन, अनि त्यसको साटो अर्कै सारी किन्छु।
बाटोमा हिड्दै जादा बाटोको छेउ छाउको पसलहरुमा राम्रा राम्रा सुन्दर गलैचाहरु बिक्रीको लागि राखेको देख्छु। म पसलमा पुग्नासाथ साहुजीले “यो हातले बुनेको कार्पेट हो, यो राम्रो छ” भनेर देखाउंछ। हातले बुनेको भन्नासाथ मलाई मेरो एउटा साथीको याद आउँछ। एकदिन तिनले भनेकी थिइन्। तिनी सानी छदा एकदिन गाउबाट शहरमा दिदीको घरमा बस्दा दिदीले गलैचा बुन्ने ठाउमा लगेको र गलैचा बुन्न सिकाएको तर गलैचा बुन्दा नमिलेर एक चड्कन बेस्सरी गालामा हानेको कुरा कहिल्यै नबिर्सने भनेको कुरा याद आउछ । अनि बालश्रम को बिरुद्दमा सरकारी क्षेत्र बाट जाच गर्न आउँदा उनी जस्तै स साना बाल बालिकाहरुलाई पछाडिको ढोकाबाट भगाएको भनेको कुरा पनि याद आउछ। अनि मलाई स्वतन्त्र भएर खेल्ने, स्कुल जाने उमेरका बाल बालिकाहरुलाई जेलमा झैँ थुनेर गलैचा बुनाएको पिडा बाट बनेको हातले बुनेको गलैचा किन्न मन परेन जसले मेरो साथीको गालाको चड्कन लाई पनि याद दिलाउँछ। तसर्थ म त्यो हातले बुनेको गलैचाको साटो अर्कै गलैचा छान्छु।
ति स साना बाल बालिकाहरुको यातना र श्रमबाट बनेको सामान हरु किन्न मलाई मन परेन। मलाई बालबालिकाहरुको श्रम को प्रयोग गरेर बाल अधिकारको हनन गरि उनीहरुको भबिस्य बिगार्ने उधोगलाई प्रोत्साहन गर्नु ठिक लागेन। बालबालिकाको सुन्दर भबिस्य नै खराब हुने ति क्रियाकलापहरु मलाई मन परेन। हुन् सक्छ घरको कम्जोर आर्थिक अबस्थाको कारणले स्वतन्त्र भएर खेल्ने, कुद्ने उमेरका बाल बालिकाहरु अनेकौ मानसिक र शाररिक पिडा बोकेर, कपि कलम समात्नुपर्ने ति स साना हातहरु खियाएर परिवार पाल्नुपरेका होलान्।
ति बालबालिकाहरुका पनि अन्य बालबालिकाहरु झैँ किताब बोकेर स्कुल जाने कति रहर होलान्, अनि ठुलो भए पछि यो बन्छु, त्यो बन्छु भन्ने सपनाहरु होलान्, अनि स्वतन्त्र भएर खेल्ने कुदने इछ्याहरु होलान्। ति रहर, सपना, इछ्याहरुलाई बन्धकी राखेर एउटा बन्देज भित्र जिउनु पर्ने ति स साना बाल बालिकाहरु भित्र भित्रै कति निस्सासिरहेका होलान्। बरु सकिन्छ भने उनीहरुको उज्ज्वल भबिस्य बनाउने तर्फ लागौ। त्यसको लागि सक्दो सहयोग गरौ। सस्तो ज्यालादरमा काम गराउन पाउछ भनि उनीहरुको श्रमको शोषण गरेर आफ्नो स्वार्थ पुरा नगरौ। उनीहरुलाई पनि आफ्नो सन्तानको ठाउमा राखेर हेरौ, अनि हाम्रो सन्तानको भविष्यलाई बचाऔ ।
प्रतिक्रिया