हालै भएको स्थानीय निर्बाचनमा काठमाडौँ महानगरपालिकाको मेयर मा सिर्जना सिंह को हार पछि बिक्षिप्त हुन् पुगेका एक पत्रकार आफ्नो कुण्ठा सामाजिक सन्जालमा पोखिरहेका छन्. उनको यो रोदनले कसकसलाई प्रभाब पार्छ तर मेरो भने एउटा रौँ पनि हल्लिदैन. प्रधानमन्त्री को पदमा रहेका शेर बहादुर देउवा भारतीय राजदुत को अगाडी दास जस्तो भएर उभिएको बेला केही बोल्न नसक्ने नब निर्बाचित मेयर बालेन साह ले प्रधान सेनापती लाइ भेटेको उनलाई पचेको छैन, सायद यही अपच उनी सामाजिक सन्जाल हरुमा बान्ता गर्दैछन, जो कसैको लागि पनि त्यति महत्वपूर्ण नहोला।
डाक्टर, इन्जिनियर, शिक्षक जस्तो यो पत्रकारिता पेशा र पत्रकार लाइ समाजले सकारात्मक रुपले हेर्दैन वा दुइ पैसा मा टेर्दैन, तर बिहानै समाचार सुन्नु वा पढ्नु पर्ने तर त्यो समाचार तयार पार्नेलाई इज्जत नगर्ने हाम्रो समाजको द्वैध मानसिकता पनि आश्चर्यजनक छ।
साथै यो पेशामा लागेकाले आफूलाई सर्बज्ञाता सम्झिने, अर्कै ग्रहको प्राणी हो जस्तो मान्ने गर्नाले पनि अन्य सर्बसाधारणलाई पत्रकार भनेको असल मान्छे हो जस्तो लाग्दैन, भलै कसैले स्वीकार गरोस् वा नगरोस्।
महिनौं सम्म तलब नपाउने, तलब नपाए पनि मैले पाएको छु, अरुको थाहा भएन भन्ने जस्ता झुट बोल्नु पर्ने बाध्यता हाल पनि पत्रकारलाई छ। सम्पादकलाई दाईको फुर्को जोडेर सम्मान गर्नुपर्ने, तलब माग्यो भने जागिर जान्छ र अर्को ठाउँमा तुरुन्तै जागिर नपाउने डर जस्ता कुराले पनि अरुको कुरा खोतल्दै हिँड्ने पत्रकार आफ्नो लागि कसले बोल्दिने हो भन्ने आशामा बसेका छन्।
सबै पत्रकारले आ-आफ्नो बिट (क्षेत्र) अनुसार पत्रकारिता गर्छन्। त्यसमा सबैभन्दा प्रमुख र समाचार माध्यम हामी नभए खतमै हुन्छ भनेर सोच्ने राजनीतिक बिटका पत्रकारलाई छ। नेताको अघि पछि लागेर उनीहरुको महिमा गान गाउन पाउँदा यिनीहरु गज्जक फुलेर बसेका हुन्छन्। म फलानो नेताको नजिक छु वा म ढिस्कानो नेता को सुत्ने कोठा सम्मै पुग्छु भन्न पाउँदा यिनीहरुलाई गर्व लाग्छ। पंक्तिकारलाई आश्चर्य लागेको के भने यिनीहरु पत्रकार हुन् कि नेताका कारिन्दा? यस्ता पत्रकारहरुको एक मात्र लक्ष्य भनेको आफुले कुल देवता मानेको नेता मन्त्री वा प्रधानमत्री भयो भने त्यसको प्रेस सल्लाहकार बनेर तर मार्ने हुन्छ. यस्तै एक राजनीतिक समाचार लेख्ने र हाल आफूलाई नेपालको नम्बर–१ अनलाइनको सम्पादक भन्न रुचाउने पत्रकारको पुस्तक एउटा गुन्डाले प्रकाशित गरिदिएको र त्यसको साक्षी म पनि भएको सबैलाई जानकारी गराउन चाहन्छु।
त्यस्तै ब्यापारीले आयोजना गरेको कार्यक्रममा गएर टन्न मदिरापान गरेर आयोजक सँग ट्याक्सी खर्च माग्ने आर्थिक पत्रकारको ठूलै झुन्ड छ र उनीहरुको संघ पनि छ। बैंकको शाखा र एटीएम उद्घाटन गरेको समाचार छाप्ने र त्यो समाचारको आधारमा बिज्ञापन मागेर आफ्नो गुजारा चलाउने पत्रकारले बजेट भाषणको हावादारी विश्लेषण गरेको देख्दा अर्को अच्चम लाग्छ। विश्व अर्थतन्त्रका समाचारको खासै पहुँच नभएका यस्ता धेरै आर्थिक पत्रकारलाई आइएमएफ भनेको कुन चराको नाम हो, त्योसम्म पनि जानकारी छैन।
आफूलाई अर्कै ग्रहको जस्तो ठान्नेमा पर्छन्, अपराध बिटमा काम गर्ने पत्रकारहरु। प्रहरी अधिकारीसँग दोहोरो संवाद गर्न पाउनुलाई अहोभाग्य सम्झने यिनीहरुलाई अन्य बिटका हरुले पनि सम्मानको दृष्टिले हेर्ने गर्छन। प्रहरी अधिकारीहरुको प्रहरी जवान सँगसँगै बसेर भात खाएको, एउटा पोस्टबाट अर्को पोस्टमा सरुवा भएको जस्तो मूल्यहीन समाचार छाप्रे र त्यसको बदला पेट्रोल, मोबाइल फोन जस्ता उपहार लिएर यिनीहरु जराबाटै भ्रष्ट छन्।
अब पाठकवर्गले आफै अनुमान गर्नुहोस्, यिनीहरुले के सत्य सूचना प्रकाशित गर्लान? यस्ता केही पत्रकारले लगभग हरेक दिन जस्तो सामाजिक सञ्जालमा फलानो एसपी वा ढिस्कानो एआइजीको जन्मदिनको शुभकामना भनेर सकेसम्म उनीहरुसँग कुम जोडेर खिचेको फोटो वा होइन भने उनीहरुको मात्र भए पनि फोटो राखेर बधाई भन्ने पोस्ट अपलोड गर्छन्। यस्ता गतिबिधिबाट उनीहरु के प्रमाणित गर्न खोज्छन्, त्यो पंक्तिकारको मन्द बुद्धिले बुझ्न सकेको छैन।
अरुले खासै गम्भीरतापूर्वक नलिने र आफ्नो बिटका पत्रकारसँग मात्र सम्बन्ध र सम्पर्क हुनेमा पर्छन्, मनोरञ्जन पत्रकार। सिनेमाको प्रिमियरमा नि:शुल्क पास लिनु र म्युजिक एल्बमको सीडी सित्तैमा लिनु वरिपरिनै यिनीहरुको पत्रकारिता घुमेको छ। आफूलाई वास्ता नगर्ने नायक वा नायिकाको चरित्र हत्या गर्नु यिनीहरुको प्रमुख कार्य हो।
मेरा एक मित्रका मित्र तथा चर्चित सिने कलाकार सरोज खनाललाई उनी अमेरिका बसेको वा नेपाल गएको वा फेरि अमेरिका फर्केको जस्ता नितान्त निजी गतिबिधिलाई यसरी उछाले कि सायद कलाकार खनाललाई म किन कलाकार भएछु जस्तो लाग्यो होला। यदी चियोचर्चो वा तर्कबितर्क हुने हो भने उनको अभिनय कस्तो हुनु पर्थ्यो ? कसैलाई उनको अभिनय मन परेन भने पनि त्यो स्वभाविक हो र त्यसमा उनले पनि कुनै चित्त दु:खाइ गर्न हुँदैन र सायद गर्दैनन् पनि होला भन्ने मेरो बुझाई छ।
खनाल कलाकारभन्दा पहिले एक मान्छे हुन् र कानुनको परिधिभित्र रहेर हरेक क्रियाकलाप गर्ने अधिकार अरु जस्तै उनलाई पनि छ। पत्रकारिताको नाममा यतिको अन्याय कसैले कसैलाई पनि गर्नु हुँदैन। यो एउटा उदाहरण मात्र हो, यस्तो अन्याय अरु कलाकारलाई पनि परेको हुन सक्छ। त्यस्तो काम कसैले पनि गर्नु उचित होइन।
चलन चल्तीको भाषामा ट्रयाक सुट भनिने र ज्याकेटको हातमा र सुरुवालको दायाँ बायाँ धर्का भएको टिमिक्क परेको लुगा लगाएर रंगशालाको वरिपरि घुम्ने खेलकुद पत्रकारको पनि कमि छैन, हाम्रा सञ्चार मध्यममा।
खेलको सामान्य ज्ञान नभएकाले प्रस्तुत गरेको समाचार कतिको विश्वासनीय होला प्रबुद्ध पाठकवर्गले आफै अनुमान गर्नुहोला। टेबल टेनिस प्रतियोगिता भएको स्थानबाट न्युज डेस्क मा ‘मिक्स डबल’ भनेको के हो भनेर सोध्ने र ब्याडमिन्टनमा नेपाल प्रथम भन्नलाई ब्याडमिन्टनको ‘ब्ल्याक बेल्ट’ भन्ने बरिष्ठ खेलकुद पत्रकार अझै पत्रकारितामै छन्।
यसको साथै मलाई परिचयपत्र मात्र भएपुग्छ भन्ने पत्रकारहरु नेपाली कांग्रेसका नेता गगन थापा अमेरिका आउँदा उनको मिनेट मिनेटको गतिविधिलाई ब्लग बनाएर छाप्ने र सूचना बिभागको रातो कार्ड बोकेर रोडा बालुवाको व्यापार गर्नेको पनि कमि छैन। जो वास्तविक पत्रकार हुन्, उनीहरु यो आलेख पढेर उत्तेजित हुदैनन् भन्ने मेरो विश्वास हो। तर, जो यो कोटिमा पर्छन्, उनीहरु मेरा शत्रु भएकोमा मलाई खुशी हुनेछ।
अन्तमा पत्रकार लाइ देश को चौथो अङ्ग भनेर कुन उप बुज्रुक ले भन्यो त्यो मलाई जानकारी भएन तर मेरो बिचारमा पत्रकार चौथो अङ्ग नभएर काम नलाग्ने अङ्ग हो एपेन्डिक्स र टन्सिल जस्तो, यिनीहरुलाई शरीर बाट जसरी अलग गरिन्छ त्यसरी नै समाज बाट पत्रकार लाइ अलग गर्नु पर्छ. जनतालाई सुसुचित गराउने भनेर कराउने प्राय पत्रकार हरु को बौद्धिक हैसियत नेपाल सरकार को खरदार बन्ने पनि छैन. यिनीहरु कतै नबिकेर पत्रकार भएका हुन् र यिनीहरु सबै भ्रम मा बाँचिरहेका छन्, सायद भ्रम मा बाँच्न रमाइलो हुन्छ।
-नवीन रायमाझी
पत्रकार तथा लेखक
प्रतिक्रिया