निमा शेर्पा म्याकएलहिनी “क्यानडियन इमिग्रेन्ट म्यागेजिन” को उत्कृष्ट २५ आप्रवासीको अन्तिम दौडमा !!

मदन बस्नेत,क्यानडा २०७९ जेठ १७ गते २१:३२ मा प्रकाशित

मदन बस्नेत,क्यानडा। क्यानाडामा बिगत लामो समयदेखी बसोबास गर्दै आएकी र आफ्नो अथक परिश्रम र मेहनतले क्यानेडिली समुदायमा एक सफल उद्यमि, ब्यबसायी र परोपकारी समाजसेवीको नामले चिनिएकी नेपाली चेली निमा म्याकएलहिनी “क्यानडियन इमिग्रेन्ट म्यागेजिन” ले प्रकाशित गरेको क्यानाडाको उत्कृष्ट ७५ आप्रवासीहरुको सूचीमा पर्न सफल भएकी छ्न्।

बिश्व मानचित्रमा उत्तरी अमेरिकामा पर्ने देश क्यानाडा  क्षेत्रफलका हिसावले नेपाल भन्दा ६७ गुणा ठूलो छ भने जनसंख्या करिब पौने ४ करोड छ। त्यस मध्ये लगभग ८० लाख जनसंख्या आप्रवासीको रहेको छ। तिनै आप्रवासी मध्ये क्यानाडामा बसोबास गरेका र क्यानेडियन तथा आफ्नो समाज र समुदायको उत्थानमा खटिएका आप्रवासीहरु मध्ये उत्कृष्ट २५ लाई हरेक बर्ष यो पुरस्कारले सम्मानित गरिदै आएको छ।

विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने उक्त अवार्डको प्रतिस्पर्धामा यो बर्ष निमा शेर्पा म्याकएलहिनी एकमात्र नेपाली प्रतिस्पर्धी हुन्।

उपाधीकोलागी नेपालकी निमा शेर्पा म्याकएलहिनी सहित ब्राजिल, नाईजेरिया, स्विजरल्याण्ड, पाकिस्तान, मेक्सिको, भारत, चीन, मलेसिया, इजिप्ट, ईरान, बेलायत, ईथोपिया लगायतका मुलुकहरूका आप्रवासीहरू प्रतिस्पर्धा गर्दै छ्न्।

संख्याको हिसाबले क्यानाडामा नेपालीको जनसंख्या अन्य आप्रवासीको तुलनामा कम नै भएतापनी निमा शेर्पा म्याकएलहिनीले नेपाली समुदायको अलावा क्यानेडियन समाजमा समेत पुर्‍याएको अतुलनीय योगदानको आधारमा उनको पक्षमा मतदान गर्ने र उनलाई साथ र समर्थन दिनेहरु धेरै देखिएका छ्न्। त्यसै कारण उपाधीको प्रतिस्पर्धामा रहेका कूल ७५ प्रतिस्पर्धीको सूचिबाट उनी उत्कृष्ट २५ को अग्र स्थानमा पर्ने संभावना बलियो बन्दै गएको छ।

खुल्ला भोटिङ्गको माध्यमबाट उत्कृष्ठ २५ आप्रवासीको छनौट गरिने हुनाले उनलाई उक्त उत्कृष्ट २५ को सूचीमा पार्नकोलागी धेरै भन्दा धेरै भोट गर्नु पर्ने हुन्छ। यतिखेर  अनलाइन भोटिङ्ग खुल्ला भैसकेको छ। भोटिङ गर्ने समय सिमा जुन महिनाको १० तारीख सम्ममालागि तोकिएको छ। मतदान कै आधारमा अन्तिम २५ प्रतिस्पर्धीको छनौट गरिने र सबैभन्दा धेरै मत पाउने २५ जनाले उत्कृष्ट आप्रवासीको उपाधि पाउने हुनाले नेपाली चेली निमा शेर्पा म्याकएलहिनीको पक्षमा मतदान गर्न नेपाली समुदायका अगुवाहरुले आव्हान गरेका छ्न्।

क्यानाडाको ठूला कम्पनीहरुको मालिक तथा विभिन्न संघसंस्थाका सीइओ मात्र नभएर ठूला कलाकारहरु समेत रहेको उक्त ७५ को लिष्टबाट २५ को छनौटमा आफूलाई पारेर नेपाली मान र सम्मानलाई क्यानेडेली समाजमा अझ उँचो बनाउन आम नेपाली समुदायले पूर्ण रुपले साथ, समर्थन र सहयोग गर्ने बिश्वास निमा शेर्पा म्याकएलहिनीले व्यक्त गरेकी छिन्।

८० लाख आप्रवासी क्यानेडियनहरु मध्ये नेपाली मूलकी समाजसेवी व्यक्तित्व निमा शेर्पाले एक सफल  ब्यबसायी, वोमेन अफ इस्पिरेसन र अन्य परोपकारी कार्यकोलागि थुप्रै मान सम्मान प्राप्त गरिसकेकी छिन्। नेपालमा छँदै सुरु भएको उनको परोपकार र मानव कल्याणको कार्य क्यानाडाको स्थायी बसोबास पछी पनि निरन्तर अघि बढी नै रह्यो। सर एडमण्ड हिलारी फाउन्डेसनको संचालक समितिमा समेत रहेकी म्याकएलहिनीले बिगत २६ बर्ष देखि नेपालको हिमाली क्षेत्रमा विद्यालयहरुको निर्माणको लागि आवश्यक रकम र विद्यार्थीहरुलाई आवश्यक पाठ्यपुस्तक र पोशाकको बन्दोबस्त गर्दै आएकी छ्न्।

सन् २०१० मा क्यानाडामा ५० मानसिक रुपमा बिक्षिप्त ब्यक्तिहरुको हेरचाह र सेवाबाट सुरु भएको उनको मानव कल्याण र परोपकारी भावाना त्यसपछिका दिनमा झनै मौलायो। हाल उनको प्रत्यक्ष संलग्नतामा दक्षिणी अन्टारियोमा दुई ठुला सुबिधा सम्पन्न ” रिटायरर्मेन्ट होम्स” संचालनमा छ्न् जहाँ सयौंले रोजगारी पाएका छ्न्।    उत्कृष्ट २५ को छनौट खुल्ला प्रतिस्पर्धाका आधारमा इमेल भोटिङ्गको माध्यमबाट हुने हुनाले मतदान स्वेच्छिक रुपमा गर्नु पर्ने हुन्छ। त्यसो भएको हुनाले  उनलाई उत्कृष्ट २५ को छनौटमा पार्ने जिम्मा अब क्यानाडामा बसोबास गर्ने आम नेपालीको काँधमा आइपरेको छ।

निमा म्याकएलहिनीलाई तल दिईएको लिङ्क मा क्लिक गरेर भोट दिन सकिनेछ। www.canadianimmigrant.ca/top25

– मदन बस्नेत। क्यानाडा

प्रतिक्रिया